site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई किसिमका कामदार जान पाउनेछन् जापान, जिम्मा म्यानपावरलाई दिँदा ठगिने जोखिम कति ?

काठमाडौं । सरकारले जापानमा नेपाली कामदार पठाउने बाटो खुला गरिदिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक कार्यविधि पास गरेसँगै नेपाली नागरिक जापानमा काम गर्न जान पाउने बाटो खुलेको हो ।

यसका लागि नेपाल र जापानबीच सन् २०१९ मा स्पेसिफाइड स्किल्ड वर्कर्स (एसएसडब्ल्यू) सम्झौता भएको थियो । सम्झौता अनुसार सरकारले कार्यविधि बनाउन नसक्दा नेपालीका लागि काम गर्न जापान जाने बाटो खुलेको थिएन । कार्यविधि पास गरेसँगै अब नेपाली कामदार जापान जान पाउने मन्त्रालयका प्रवक्ता एवं सहसचिव राजिव पोखरेलले बताए ।

“कार्याविधि बन्न नसक्दा डिमान्ड आउन सकेको थिएन । नेपालीले जापान जाने अवसर पाएको थिएनन् । अहिले मन्त्रालयले एसएसडब्ल्यू कार्यविधि स्वीकृत गरेर कार्यान्वयनका लागि जापानस्थित नेपाली दूतावासमा पठाएको छ,” मन्त्रालयका प्रवक्ता पोखरेलले भने ।

Dabur Nepal

दुई किसिमका कामदार जान पाउने

मन्त्रालयका प्रवक्ता पोखरेलका अनुसार विशिष्ट सिप भएका (स्पेसिफाइड स्किल वर्कर) र सिकारु (ट्रेनी) गरी दुई किसिमका कामदार जापान जान सक्ने छन् । प्रोफेसनल कामदारको काम यतैबाट तय हुने छ । सिकारुले उता काम सिकेर सोही अनुसार रोजगारी पाउने छन् ।

“प्रोफेसनलसँगै सिकारु कामदार पनि पठाउन सम्झौता गरेका छौँ । त्यसकारण आगामी दिनमा नेपाली कामदारका लागि जापानी मार्केट ठूलो संख्यामा खुला हुने छ र माग प्राप्त हुने आशा राखेका छौँ,” प्रवक्ता पोखरेलले भने ।

“नेपालीलाई मन पराउने भएका कारण जापान सरकारले डिमान्ड दिन्छौँ भनेर पटकपटक हामीसँग भएको मिटिङ भन्ने गरेको थियो । त्यसैअनुसार ठूलो संख्यामा प्राप्त हुन्छ भन्ने हाम्रो अनुमान छ,” उनले भने ।

जिम्मा भने म्यानपावर कम्पनीलाई

कामदार जापान पठाउने जिम्मा भने सरकारले म्यानपावर कम्पनीलाई दिएको छ । त्यसैले जापान कामदार पठाउने सम्झौता दक्षिण कोरियामा कामदार पठाउने भन्दा फरक हो ।

“रिक्रुटमेन्ट एजेन्सी (म्यानपावर)ले डिमान्ड ल्याउने हो । त्यसैले अहिले नै हामीले वार्षिक यति डिमान्ड हुन्छ भनेर भन्न सकिने अवस्था छैन,” मन्त्रालयका प्रवक्ता पोखरेलले भने ।

ठगी हुने चिन्ता

कामदार पठाउने जिम्मा निजी क्षेत्रलाई दिएसँगै सरकारको यो सम्झौता खाडी र केही युरोपेली मुलुकहरूसँगको जस्तै देखिन्छ । ती देशहरूमा पठाउने म्यानपावर कम्पनीहरूले विभिन्न बहानामा ठगी गर्दै आएका छन् ।

लोभलाग्दो गन्तव्य बनेको जापानमा काम गर्न जान धेरै नेपाली इच्छुक हुने देखिन्छ । त्यसैले म्यानपावर कम्पनीहरूले ठगी गर्न सक्ने चिन्ता पनि उत्तिकै छ ।

यस विषयमा सरकारले निश्चित सेवा शुल्क तोक्ने तयारी गरिरहेको मन्त्रालयको भनाइ छ । ठगी हुन नदिन सेवा शुल्क पारदर्शी बनाउन र यकिन गर्न मन्त्रालयअन्तर्गत एक टिमले काम गरिरहेको मन्त्रालयका प्रवक्ता पोखरेल बताउँछन् ।

“टिकट खर्च, तालिम खर्च, स्वास्थ्य परीक्षणलगायत खर्च यकिन गरी नेपाल सरकारले तोक्ने र सोही अनुसार सेवा शुल्क लिने भन्ने विषयमा टिमले काम गरिरहेको छ,” उनले भने ।

“सरकारले रिक्रुटमेन्ट फी यति हो भनेर तोक्नुपर्‍यो । सरकारले तोक्न नसक्दा नै अहिले धमिलो भइरहेको छ,” म्यानपावर कम्पनीहरूबाट ठगी हुने गरेको र जापानको मामिलामा पनि त्यस्तै हुन सक्छ कि भन्ने प्रश्नको जवाफमा उनले भने ।

खाडी मुलुकमा कामदार पठाउन सरकारले न्यूनतम सेवा शुल्क तोके पनि म्यानपावर कम्पनीहरूले ठूलो रकम असुल्ने गरेका छन् ।

एकातिर राम्रो आम्दानी र आर्कषक गन्तव्यका रूपमा रहेको जापानमा रोजगारीका लागि जान मिल्ने राम्रो अवसर देखिएको छ । अर्कातिर खाडी र युरोपेली मुलुकहरूमा पठाउने भन्दै हुने गरेको ठगी जापानका सन्दर्भमा झनै मौलाउने चिन्ता छ ।

ठगी रोक्न सरकारले लागत मूल्य तोक्नुपर्ने बताउँदै मन्त्रालयका प्रवक्ता पोखरेलले भने, “त्यसकारणले त्यो देशमा जान लाग्ने लागत हिसाब गरेर सरकारले तोक्नुपर्छ भन्ने हाम्रो भनाइ हो । त्यसका लागि अध्ययन समितिले काम गरिरहेको छ । अध्ययन भइसकेपछि हामी क्याबिनेट (मन्त्रिपरिषद्) मा स्वीकृतिका लागि प्रस्ताव पठाउँछौँ ।”

हेर्नुहोस् कार्यविधि

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ०७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro