काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्यान्ड्सविरुद्धको खेलमा उत्कृष्ट खेलेर नतिजा हात पार्ने बताएका छन् ।
आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको तेस्रो खेलमा नामिबियासँगको दुई विकेटको हारपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दे कप्तान रोहितले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन् ।
“मेरो भूमिकाले एकदमै निराशजनक भयो, म जिम्मेवारी लिन्छु । म शून्य रनमा आउट हुनु नै एउटा नराम्रो पक्ष थियो । सोचेजस्तो सुरुवात भयो । तर, पावर प्लेमा नै हामीले तीन विकेट गुमायौँ । त्यो क्षेत्र हेर्नुपर्ने जरुरी छ । त्यसपछि पनि एउटा पार्टनरसिप भयो, त्यसपछि मेरो, दिपी दाइको विकेट गयो । त्यसले गर्दा १७० भित्रै समेटियौँ । ब्याटिङ अर्डरलाई लिएर स्पष्ट छौँ । अन्तिम गेममा बेस्ट क्रिकेट खेल्ने छौँ,” रोहितले भने ।
यसअघि नेपालले लिग–२ को पहिलो खेलमा पनि नामिबियासँग नै चार विकेटको हार बेहोरेको थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुनः नामिबियासँग पराजित भएको हो ।
नेपालले अब शृङ्खलाको अन्तिम खेलमा आइतबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।