site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसका दुई महामन्त्री : गुट एउटै, विचार विपरीत !

ललितपुर । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच वैचारिक मतभेद देखिएको छ । महामन्त्रीद्वयको संसदीय दलको चुनावयता सहकार्य जारी छ । तर, वैचारिकरूपमा महमन्त्रीद्वय विपरीत धारमा देखिँदै आएका छन् ।

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गर्दादेखि पार्टीभित्र उमेरहदको विषयसम्म महामन्त्री थापा र शर्मा विपरीत धारमा देखिएका थिए ।

ललितपुरको गोदावरी जारी कांग्रेसको महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेस गरेका थापा र समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका अर्का महामन्त्री शर्मा विपरीत धारमै देखिएका छन् ।

महामन्त्री थापा चुनावी गठबन्धनको विरुद्धमा स्पष्ट उभिँदा अर्का महामन्त्री शर्मा भने गठबन्धनप्रति नरम देखिएका छन् । शर्माले 'भोट ट्रान्सफर'को विषय चुनौतीपूर्ण भए पनि उपलब्धिको जस गठबन्धनलाई नै दिएका छन् ।

त्यसको विपरीत थापाले गठबन्धनका कारण कांग्रेसले मतदाताको विश्वास गुमाएको र कांग्रेसको आत्मविश्वास घटेको तर्क गरेका छन् । उनले भविष्यमा चुनावी गठबन्धन नगर्ने संकल्पका लागि प्रस्ताव गरेका छन् ।

Global Ime bank

महामन्त्री थापाले 'स्थायित्व दिने' भन्दै निर्वाचनमा जनतासँग गरेको वाचा र अन्य दलसँगको सम्झौताका आधारमा तत्काल गठबन्धन कायम रहे पनि भविष्यमा चुनावअघि गठबन्धन नगर्ने प्रस्ताव गरेका छन् ।

"नेपाली कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छ," प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले भने, "हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै तागतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न 'रुख'मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौँ ।"

उनको प्रतिवेदनमा निर्वाचनबाट कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा भने निर्वाचन पछाडि निश्चित साझा नीति तथा कार्यक्रममार्फत सरकार सञ्चालनका लागि अन्य दलसँग स्वाभाविक तालमेल गर्न सकिने उल्लेख छ ।

महामन्त्री शर्माले भने गठबन्धनका विषयमा पार्टीभित्र पर्याप्त प्रश्न रहे पनि अहिलेको अवस्थाको श्रेय गठबन्धनलाई दिए ।

'गठबन्धन : फरक मतको चुनौतीपूर्ण सहयात्रा' शीर्षकमा महामन्त्री शर्माले ०८९ को चुनावमा तीनै तहमा कांग्रेस पहिलो दल हुनुको श्रेय गठबन्धनलाई दिएका छन् ।

"निर्वाचनमा 'भोट ट्रान्स्फर'को विषय निश्चय नै चुनाैतीपूर्ण थियो," शर्माले प्रतिवेदन प्रस्तुत गर्दै भने, "तर, ०७४ को निर्वाचनको तुलनामा नेपाली कांग्रेस तीनवटै तहमा पहिलो दलका रूपमा स्थापित हुनुमा गठबन्धनको महत्त्वपूर्ण योगदान रह्यो ।"

उनले स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये ३२९ स्थानीय तह, प्रदेश सभातर्फ ५५० मध्ये १७५ र प्रतिनिधिसभामा २७५ मध्ये ८९ सिट गठबन्धनकै कारण प्रप्त गरेको उल्लेख गरे ।

"तीनवटै तहमा कांग्रेसको पहिलो स्थान जनताको विश्वास, पार्टी पंक्तिको मेहनत र गठबन्धनका सहयात्रीहरूको जोडबलले थियो भन्ने तथ्य हामीले बिर्सन मिल्दैन," महामन्त्री शर्माले भने ।

महामन्त्रीद्वयका 'परस्पर विरोधी विचार'सहितका प्रतिवेदन पेस भएसँगै अब कुन प्रतिवेदनले आधिकारिकता पाउला भन्ने प्रश्न उठेको छ । महासमिति सदस्यहरू महामन्त्रीद्वयको विपरीत धारका प्रतिवेदनले अन्योल बढाएको बताउँछन् । महामन्त्रीद्वयबाट निकास आउने अपेक्षा राखेका नेताहरू विपरीत विचार देख्दा केही निराश भएका छन् । 

"महामन्त्री शर्मा १४औँ महाधिवेशनमा सभापति भन्दा फरक र तटस्थ भएर निर्वाचित हुँदा धेरै आशा जागेको थियो," सुनसरीका एक महासमिति सदस्यले बाह्रखरीसँग भने, "उहाँको विचार सभापतिसँगै मिलेको देख्दा त्यो आशामा तुषारापात हुन्छ कि भन्ने चिन्ता बढेको छ ।"

चितवनका महासमिति सदस्य प्रकाश अधिकारी प्रतिवेदन आपसमा बाझिँदा केही निराशा देखिए पनि केही न केही निकास निकाल्नैपर्ने बताउँछन् ।

"प्रतिवेदनमा गठबन्धन गर्ने वा नगर्ने विषयमात्र नभएर धेरै कन्ट्राडिक्सन छन्," अधिकारीले भने, "तर, कांग्रेसले निकास दिनैपर्ने छ र दिन्छ । र्‍याडिकल भएर कांग्रेसले आफ्नो पहिचान फर्काउने निर्णय गर्नैपर्छ ।"

नेपाली कांग्रसका पूर्वमहामन्त्री विमलेन्द्र निधि भने कांग्रेस बहुलवादमा विश्वास गर्ने पार्टी भएकाले फरक विचार आउँदैमा त्यसको निरुपणको चिन्ता लिनुनपर्ने बताउँछन् । त्यस्ता विषयको निरुपण कांग्रेसले सहजरूपमा गर्ने उनको दाबी छ ।

"कांग्रेस बहुलवादमा विश्वास गर्ने पार्टी भएकाले यसमा आउने फरक विचार स्वाभाविक हुन्," निधिले भने, "हामीसँग विगतको अभ्यास छ, महासमितिमा उठेका विषयमा बहस हुन्छ, निरुपण हुन सकेन भने केन्द्रीय समितिले संश्लेषण गरी निर्णय गर्छ ।" 

केन्द्रीय सदस्य मधु आचार्य महामन्त्रीद्वयका फरकफरक विषयका प्रस्ताव भएकाले संगठनसँग सम्बद्ध भए थापा र राजनीतिक विषय भए शर्माको विचारलाई आधिकारिक मानेर विवाद निरुपण हुने बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  २३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu