site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘लेखनमा सन्तुलित समीक्षा खै ?’ 

पोखरा । साहित्य क्षेत्रमा कलम चलाउने जमात ठूलो छ । प्रकाशित साहित्यिक रचनाका पुस्तक बजारमा सजिलै उपलब्ध छन् । यी रचनाका पाठक भने निकै थोरै छन् । रचनाले पाठकमाझ चर्चा कमाउन सकेका छैनन् । विशेष गरी युवामाझ अहिलेका लेखकले छाप छो्न सकेका छैनन् ।

साहित्यले युवाको गुम्फन लेख्न नसकिरहेको सुनाउँछिन्, लेखक बिना थिङ । “समकालीन युवाहरूको गुम्फनको कुराहरू लेख्नै सकिरहेका छैनौँ । त्यो कुरालाई हामीले सम्बोधन नै गर्न सकेका छैनौँ,” उनले भनिन् ।

त्यसैले पनि आफ्नो र बजारमा उपलब्ध सिर्जनाबाट सन्तुष्ट नभएको उनी सुनाउँछिन् । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११औँ संस्करणको तेस्रो दिन ‘कथाखरी बाह्रखरी’ सत्रमा बिनाले अहिलेको लेखरचना पुरानो पुस्ताको शिल्पशैली बोकेर लेखिरहेको बताइन् ।

“म किन सन्तुष्ट छैन भने हामी अहिले पनि ५० को दशकको धङधङी बोकेर, ५० कै दशकको शिल्पशैली बोकेर कथा लेखिरहेका छौँ,” बिनाले सुनाइन् ।

पुरानो शैलीमा साहित्य सिर्जना रहिरहनुको अर्को कारण वाहवाही गर्ने मित्रमण्डली रहेको उनको भनाइ छ । सन्तुलित समीक्षक नहुँदा पनि साहित्य खारिन नसकेको उनको विचार छ ।

“समीक्षक आफ्नो मन पर्ने, आफ्नो कित्ताका विचार मिल्ने, चिन्तन मिल्ने, साँझको रमरम मिल्ने साथीहरू हुनुहुन्छ भने काँधमा बोकेर हिँड्नुहुन्छ । एन्टी विचारको छ भने भित्तै पुर्‍याइदिनुहुन्छ । सन्तुलित समीक्षा खै आएको ?,” उनले प्रतिप्रश्न गरिन् ।

सत्रमा बिनासँगै छलफलमा जुटेका थिए, तै तैँ धिताल र मनोजबाबु पन्त । यी तीनैजना बाह्रखरी मिडियाले आयोजना गर्ने कथा प्रतियोगितामा उत्कृष्ट तीन भइसकेका कथाकार हुन् । बिनाको कथा प्रतियोगितामा प्रथम भएको थियो । यी लेखकको छलफलमा सहजकर्ताको भूमिकामा थिए, नयनराज पाण्डे ।

छलफलमा मनोजबाबु पन्तले पनि पुरानो शैलीमा नेपाली साहित्य अघि बढिरहेकामा सहमति जनाए । लेखकहरू धेरै भए पनि, कथाहरू धेरै आए पनि फरक शैलीको आउन नसकेको उनको भनाइ छ ।

“अहिले पनि जति कथा पढिरहेको छु, ती कथाहरू गुरुप्रसाद मैनालीले सिर्जना गरेको सामाजिक यथार्थवाद, बीपी कोइरालाको कथाको शैली छ । फरक जनरामा काम हुन सकेको छैन,” पन्तले भने ।

साहित्यमा छाप छोडे पनि सन्तुष्ट सिर्जना हुन नसकेको उनको भनाइ थियो । उनले विदेशी लेखकको शैली उदाहरण दिँदै भने, “कथाकारहरू सोसल कन्टेन रियालिटी कथावाचनको शैली, त्यो चिजबाट टाढा जान नसकेको, कोसिस गर्दा पनि कोसिस बलियो हुन नसकेको, प्रयास पनि अचकल्टो भएको ।”

फरक शैली अपनाउन नसकेको समयमा कथाकार नयाँ ‘डाइमेन्सन’मा पुग्ने विषय पर रहेको उनले उल्लेख गरे ।

बाह्रखरी कथा प्रतियोगितामा उत्कृष्टमा छानिएकी अर्की कथाकार हुन्, तैँ तैँ धिताल । बर्मेली नागरिक उनी नेपाली साहित्यमा रुचि राख्छिन् । नेपाली भाषामा कथा लेखे पनि बर्मामा विविध कारणले छापिन नसकेको बताउँदै उनले सो अवसर बाह्रखरीले दिएको सुनाइन् ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro