site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘रामग्राम स्तूप क्षेत्रको अध्ययन गर्ने निजी कम्पनीसँग समझदारी भएको छ’ 

काठमाडौं । लुम्बिनी विकास कोषले निजी कम्पनी द प्रमिस्ड ल्यान्ड प्रालिसँग रामग्राम स्तूप क्षेत्रको अध्ययन तथा अनुसन्धान गर्ने गरी समझदारी भएको जानकारी गराएको छ । कोषले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिलाई यस्तो जानकारी गराएको हो ।

कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले रामग्राम स्तूप रहेको कोषको १२० बिघा जग्गा निजी कम्पनीलाई ९९ वर्षका निम्ति भाडामा दिएको भन्ने खबर बाहिरिएपछि समितिले लामालाई आइतबार बैठकमा बोलाएको थियो ।

बैठकमा उपाध्यक्ष लामाले लुम्बिनी विकास कोष र रामग्राम स्तूप क्षेत्रलाई भाडामा दिने विषयमा हालसम्म गरिएका निर्णयहरू पेस गरेका थिए ।

Dabur Nepal
NIC Asia

“जहाँसम्म नेपाल सरकार, अर्थ मन्त्रालय तथा पुरातत्त्व विभागको असहमति हुँदाहुँदै पनि उल्लिखित कार्य अगाडि बढाउनु बाध्यता किन सिर्जना भयो भन्ने सन्दर्भमा रामग्राम स्तूप क्षेत्रको अध्ययन, अनुसन्धान गर्ने गरी समझदारी भएकोसम्म हो । सर्वसाधारणको जग्गा अधिग्रहण गर्ने, रामग्राम स्तूप क्षेत्रमा उत्खनन गर्ने, बौद्ध स्तूप निर्माण गर्ने तथा बिनाप्रतिस्पर्धा निजी कम्पनीलाई ९९ वर्षसम्म भाडामा दिने गरी कुनै सम्झौता भएको छैन,” उपाध्यक्ष लामाले समितिमा बुझाएको कागजातमा उल्लेख छ ।

रामग्राम स्तूप क्षेत्रको व्यवस्थित विकास गर्न विषय विज्ञबाट अवधारणात्मक योजना निर्माण गरिएको कोषले जनाएको छ । उक्त योजनाअनुसार स्तूप वरिपरि ५०० मिटर गोलाइ क्षेत्रलाई प्रयोग गरी तीर्थयात्री एवं पर्यटनमैत्री योजना निर्माण गर्ने अवधारणा लिइएको कोषको भनाइ छ ।

गएको असोज ६ गते कोषको कार्यकारिणी समितिको बैठकबाट रामग्राम स्तूप क्षेत्रको पुरातात्त्विक मूल्य–मान्यताअनुसार संरक्षण र सम्वर्द्धनका निम्ति आवश्यक स्रोतको व्यवस्थापन गर्न, लुम्बिनी विकास कोषले तयार पारेको अवधाराणात्मक योजना एवं थप अध्ययन गरी विस्तृत योजना निर्माण गरी सहकार्य गर्ने निर्णय गरिएको थियो ।

“...नेपाल सरकारबाट प्राप्त निर्देशन तथा स्वीकृतिपश्चात् मात्रै सम्झौता गर्ने गरी हाललाई उक्त संस्थासँग समझदारी (एमओयू) गरी परियोजनाको अध्ययन, अनुसन्धानलगायतका कार्यहरू अघि बढाउन व्यवस्थापनलाई निर्देशन दिने निर्णय भएबोजिम लुम्बिनी विकास कोष र द प्रमिस्ड ल्यान्ड प्रालिबीच अवधारणात्मक समझदारी (एमओयू) भएको हो । लिज सम्झौता भएको होइन, छैन,” कोषले भनेको छ ।

द प्रमिस्ड ल्यान्ड प्रालिले समझदारीबमोजिम अध्ययन र अनुसन्धानको कार्य गर्दा समेत आवश्यकताअनुसार सरोकारवाला निकायको पूर्वस्वीकृति लिएर मात्र कार्य अगाडि बढाउने गरी समझदारी भएको कोषले जनाएको छ ।

सम्बन्धित निकायको पूर्वस्वीकृति लिएर कोषको अधीनमा रही रामग्राम स्तूप क्षेत्रको बृहत्तर गुरुयोजना निर्माण तथा कार्यान्वयन सम्बन्धमा अध्ययन, अनुसन्धान (सम्पदा प्रभाव मूल्यांकन), वातावरण प्रभाव मूल्यांकन, पूर्ण आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने अधिकार प्रमिस्ड ल्यान्डलाई दिइएको छ ।

“रामग्राम स्तूप क्षेत्रको महत्त्वलाई समेटी अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गरी विशाल तीर्थयात्रा एवं पर्यटनको गन्तव्यका रूपमा विकास गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छिमेकी मुलुकलगायतका विभिन्न धार्मिक गुरुहरू, बौद्ध विद्वान्हरू एवं सरोकारवाला समूहहरू समेतको सहभागितामा लगानीकर्तालाई आकर्षित गर्न लुम्बिनी विकास कोष र द प्रमिस्ड ल्यान्ड प्रालिले संयुक्त रूपमा प्रवर्द्धनात्मक कार्यहरू गर्ने,” समझदारीपत्रमा उल्लेख छ ।

रामग्राम स्तूप क्षेत्र युनेस्को विश्वसम्पदाको सम्भावित सूचीमा छ । यो क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक पहल गर्ने पनि समझदारीपत्रमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro