site stats
बाह्रखरी :: Baahrakhari
देश
सहमतिपछि बीपी प्रतिष्ठानको आन्दोलन टुंगियो

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, शिक्षक तथा कर्मचारीको आन्दोलन टुंगिएको छ । शनिबार प्रतिष्ठान व्यवस्थापन र आन्दोलनरत शिक्षक तथा कर्मचारी कल्याण समाजबीच ६ बुँदे सहमतिपछि विगत २७ दिनदेखि जारी आन्दोलन टुंगिएको हो ।

सहमतिअनुसार आन्दोलनरत शिक्षक, कर्मचारी तथा चिकित्सक आइतबार (भोलि)देखि नियमित काममा फर्कनेछन् । दुवै पक्षबीच रोकिएको बढुवा प्रक्रिया अगाडि बढाएर आउँदखो फागुन ६ गतेदेखि अन्तर्वार्ता सुरु गर्ने र त्यसको एक सातभित्र नतिजा प्रकाशन गर्ने सहमति भएको छ ।

Argakhachi Cement Island Ad

आन्दोलनकारीलाई पूर्वाग्रह राखी कुनै बहानामा कारबाही नगर्ने पनि सहमति भएको छ ।

उच्च अदालत विराटनगरले बढुवा प्रक्रिया अघि बढाउन सक्ने आदेश दिएपछि शुक्रबार राति नै कार्यकारिणी समितिको बैठक बसेको थियो । उक्त बैठकबाट फागुन ६ गतेदेखि बढुवाको प्रक्रिया सुरु गर्ने निर्णय गरिए पनि आन्दोलनरत शिक्षक, कर्मचारीले प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा. डा. प्रल्हाद कार्कीले वार्ता गरेर लिखित सहमति जनाउनुपर्ने माग गरेपछि शनिबार वार्ता भएको हो ।

सहमतिपत्रमा प्रतिष्ठानका कामु उपकुलपति प्रा. डा. कार्की, शिक्षाध्यक्ष प्रा. डा. सञ्जिवकुमार शर्मा, रजिस्ट्रार प्रा. डा. सूर्यप्रसाद संग्रौला, अस्पतालका निर्देशक डा. जगतनारायण प्रसाद, शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेराल अहमद खान, कर्मचारी कल्याण समाजका अध्यक्ष कविता ढकाल र विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. ओमशान्ति रजकले हस्ताक्षर गरेका छन् । रासस

प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  २२:१८
प्रतिक्रिया दिनुहोस्