
काठमाडौं । त्रिमूर्ति निकेतनले नाट्यसम्राट् बालकृष्ण समको १२२औँ जन्मजयन्तीको अवसर पारेर १७औँ त्रिमूर्ति दिवस मनाएको छ । उक्त अवसरमा तीन सर्जक प्रा. मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र जयप्रसाद पाण्डेलाई पुरस्कृत गरियो ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा भाषासाहित्य र छन्द कविताको सिर्जना एवं प्रचारप्रसारमा संलग्न स्रष्टा प्रा. उपाध्यायलाई ‘लेखनाथ पौड्याल पुरस्कार’, नेपाली नाट्य विधामा क्रियाशील अभिनेता हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ र ६ दशकदेखि काव्य साधनामा निरन्तर लागिपरेका तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादन गरी प्रकाशन गरेबापत जयप्रसाद पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरियो ।
पुरस्कारका साथ ताम्रपत्र र जनही एक लाख रुपैयाँ नगद राशि प्रदान गरिएको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।