site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इमरितिया
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

हरियर लत्ती, हरियर फत्ती
हरियर बाँसक पात,
ताहूस जे हरियर देखल
गोरिया मुहक पान ।  
 
(हरियो लहरा, हरियो फट्यांग्रा
हरियो बाँसको पात,
अझ हरियो मैले देखें
गोरी–मुखको पान ।)

ढकाई मडर दुबै हातले ढोलकमा धाप मार्दै गाउँछ । चिलिममा एक दम मारेर मुखबाट धूवाँ फ्याँक्दै कुसेसर पनि साथ दिन्छ... हो हो पान, गोरिया मुहक पान ।

–मालिक... कुसेसर चिलिम बढाउँछ । तर ढकाई मग्न छ गाउनमा । ढोलकको ढाप अझ चर्को हुन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

ताहूस जे हरियर देखल ..., उसको स्वर भाव–सागरमा झन्झन् डुब्दै जान्छ ।

कुसेसरलाई थाहा छ मालिकलाई यस्तो बेलामा चलाउन हुन्न । लाग्छ— ढकाईसँगको उसको साथ जन्म–जन्मको साथ हो । उसले निकै बुझेको छ आफ्नो मालिकलाई ।

Royal Enfield Island Ad

ऊ चिलिम सुटु–सुटु आफैं तान्छ र गीतको आखिरी हरफमा भाखा थपिदिन्छ... हो हो सान, गोरिया देहक सान...

रात गहिरिँदै जान्छ । जाडोको रात । गाउँ घर, आगो, थाङने दोलार्इं र पुरानो काम्लोमा गुट्मुटिएर निदाएको छ । साह्रै शान्ति छ, चकमन्न रात ।

ढकाईको आवाज चिसिँदै जान्छ । कतै–कतै स्वर फाट्छ । घुरमा (अगेनामा) कुसेसर दुई चार सन्ठी थपिदिन्छ । एक छिन आगो दन्कन्छ । सन्ठीको आगो एक छिनमा हुर्र एक छिनमा फुर्र... तर मालिकको गीत एकनास निस्किराखेको छ छातीबाट । गीत हो कि गुइँठाको आगो हो, भित्रभित्रै सल्किराखेको ।

कहिलेकाहीँ कुसेसरलाई नै रीस उठ्छ इमरितियामाथि । देउता जस्तो मालिकलाई धोका दिएर गई । स्वास्नीमानिसको जात र होटेलको भात, यसको संगत कसैलाई नपरोस् ।

कुसेसरको मुखै तीतो हुन्छ । कसाई हुन् यी होटेलवालाहरू, जूठो चोखो, बासी–ताजा केहीको विचार छैन । जात पनि लेउ ज्यान पनि लेउ... कसाईहरू । ऊ थुकिदिन्छ... कान समात्छु, किजात भए होटेलको भात खाउँला र किजात भए स्वास्नीमान्छेको संगत गरूँला । तर इमरितिया ! ऊ भनेको चीजै अर्को ...।

ढकाई गाउँदै छ । तर उसको स्वर अब निक्कै फाटिसकेको छ । कुसेसर गाँजाको अर्को चिलिम सल्काउँछ । एक दम मार्छ । छाती कस्तो खाली–खाली जस्तो । फिसिक्क–फिसिक्क धुवाँ मात्र निस्कन्छ । राम्ररी चिलिम सल्कँदै सल्कन्न ।

यसपल्ट ढकाई आफैं उसको हातबाट चिलिम खोस्छ र मुखमा लाउँछ । सर्—सर् कस्तो तानेको मालिकले । चिलिमको मुखबाट झिल्का निस्कन्छ–झिलिक् झिलिक् ।

जे होस् इमरितिया थिई चीज । तातो चिलिम जस्तै जीउ । आँखा हो कि झिल्का हो आगोको । एकपल्ट हेरी उसले कि कलेजोभित्र दनदन केही दन्कन थाल्ने ।

चिलिम तान्छ ढकाई मडर । तर छाती सल्किरहेको छ कुसेसरको मानौ इमरितियालाई उसले अहिल्यै छोएको होस् ।

हरेक दिन, मध्याह्नमा पिडुलासम्म सारी फर्काएर भन्थी, ‘कुसेसरा जीउ थिच’ र ऊ घुटुघुटु थुक निल्दै उसको मख्खन जस्तो चिल्लो पिडुला सुम्सुम्याउन थाल्दथ्यो ।

‘भतुवा, एक थाल भात घिचेको तागत यही हो ?’ हप्काउँथी उसलाई र ऊ इमरितियाको जीउमाथि उक्लेर खुट्टाले थिच्न थाल्दथ्यो । जीउ हो कि भट्टीमा पोल्न राखेको इँट हो, तातो र त्यस्तै साह्रो ।

कुसेसर थुक निल्दछ–घुटुक्क । ‘मालिकको मुख देखेर छाडिदिएँ मैले । नत्र...’ उसका आँखामा इमरितिया बत्तीको राँको जस्तै काम्न थाल्दछे ।

अब ढकाईको गीत पनि सकिसकेको छ । कुसेसर फेरि दुई–चार सन्ठी घुरमा थप्छ । हुर्र, आगोका लप्काहरू उठ्छन् । उसलाई लाग्छ मानौ मालिकको जीउबाटै निस्केको लप्का होस् । कस्तो थियो जीउ, खाए–खेलेको मस्त जीउ । चिन्ताको चितामा डढेर कस्तो भइसक्यो । हाड–छाला । टुलुटुलु दुइटा आँखामात्रै बाँकी छन् ।

इमरितिया हो खराब । महन्तले बेकार नाम राखे कृष्णसखी । पातर्नी मोरी । भन्थी— कुसेसरा पान लिएर आ । र दिनभरि कचर–कचर पान चपाई राख्थी । थिई स्वास्नी मान्छे, खान्थी जर्दा पान । त्यसैले त जीउ चिलिम जस्तै सल्किराख्थ्यो जहिले पनि ।

भन्थी— कुसेसरा पानी ल्या । ऊ दिनभर इनारबाट पानी भरी भरी ल्याइराख्थ्यो । र, इमरितिया दिनमा दसपल्ट जीउमा पानी खन्याइराख्थी । भन्थी— कुसेसरा पिठ्यूँमा साबुन लगा ! मगमग बास्ना चल्ने साबुन र ऊ कुसेसरातिर नाङ्गो पिठ्यूँ फर्काइदिन्थी...।

कुसेसरा फेरि थुक निल्दछ–मालिकको मुख देखेर मन कमजोर भइदियो । नूनको असर हो क्या रे ! नत्र...,  आगो फेरि मद्धिम हुन्छ । ढकाई काम्लो तन्काएर सुत्न थाल्दछ ।

‘मालिक, अलिकता सेवा गरिदिऊ...’ कुसेसर काम्लोभित्र हात लगेर मालिकको खुट्टा थिच्न थाल्दछ ।

‘छाड्दे, सुत् तँ पनि...’, ढकाई कोल्टे फेर्छ ।

तापनि ऊ एक छिनसम्म मालिकको खुट्टा थिछिराख्छ । मालिक निदाए जस्तो लागेपछि खादीको खस्रो ओढ्ने तानेर त्यहीँ घुरछेउमा ऊ पल्टन्छ ।

तर आज कुसेसरलाई निद्रा लाग्दैन । बारबार इमरितिया आइराखेकी छे उसका अगाडि । जवान इमरितियाको सोलोडोलो जीउ, उसको हाँसो र उसको चरित्र । साँच्चिकै हो, गोसाईले (देउता) पनि बुझ्न सक्दैनन् तिरिया चरित्तर... मान्छेको त के सामर्थ्य ।

...झूलाको मेला । ऊ पनि मालिकसँगै गएको थियो किसन भगवान्को लीला हेर्न । कमलामाईको तीरमा मन्दिर । मन्दिरभित्र झूला, मन्दिरबाहिर मेला । भित्र किसनलीला, बाहिर मानुस–लीला । कति मान्छेहरू जम्मा भएका ! दस गाउँ जम्मै कमलातीरमा खनिएका थिए ।

तर सारा मान्छे एकतिर, ऊ थिई एकतिर । आलता लाएको रातो पाउ, पाउमा चाँदीको छम–छम पाउजेव । हिँड्थी, लाग्थ्यो सारा भीड उसका पछि–पछि हिँडिराखेको छ । रोकिन्थी, लाग्थ्यो सारा भीड रोकिएको छ । आँखा ठूलठूला चकचके हरिन जस्तै । तिनै आँखाहरूले घायल पारिदिए मालिकलाई ।

मालिक पनि के कम । कमलाछेउको दस बिघाको एकलौटी खेती । घरमा नोकर–चाकर, गाई–भैसी, न सेवाको कमी, न खानाको कमी । बिहान–बेलुका अखाडामा कुस्ती खेलेको जीउ । दस गाउँमा नाम । दसका बीचमा धाक ।

उसले पनि बुझी क्यारे, जुन मान्छे उसको अगाडि–पछाडि अगाडि–पछाडि गर्दैछ त्यो कुनै भीडको मान्छे होइन । त्यो मान्छे हो लाखमा एक ।

अनि जब मौका पाएर मालिकले सोधेको थियो, ‘तिम्रो नाम...?’

ऊ गर्मीमा झुल्सिएको परेवीजस्तै लल्याकलुलुक परेकी थिई । एकै ठाउँमा गुटुमुटु । कहाँ हराए ती छम–छम गर्ने पाइलाहरू, कहाँ हराए तो चकचके आँखाहरू ! ऊ उभी राखी भुइँमा मुन्टो गाडेर । 

मालिकले फेरि सोधे— तिम्रो नाम के हो ?

इमरितिया..., र आफ्नो सारीभित्र खुम्चिदै ऊ झटपट मन्दिरतिर दगुरी हाली ।

अगाडि अगाडि इमरितिया, पछाडि पछाडि मालिक । इमरितिया कुटीमा गएर हराई । इमरितिया भित्र, मालिक बाहिर । केही बेरपछि कुटीबाट निस्कन्छे एउटी माइराम । लख्खी माइराम । लोग्ने मरेपछि जोगिनी भएर कुटीमा आएकी थिई लख्खी ।

एकरात घरबाट एउटा पोको बोकेर भागेकी थिई लख्खी बिधुवी जीवनको दुःख सहन नसकेर । र आई किसन भगवान्को शरणमा । किसन गोसाईको दयाको हिसाब छैन । आफू त मूर्ति । न बोल्न सक्ने न चल्न सक्ने ! मोहनिया महन्तको मनमा जगाइदिए माया ।

महन्तले भने, ‘को भन्छ तिमी बिधवी हौ । तिमी त हो साक्षात् लक्ष्मी । विष्णुकी प्रिया । अखण्ड सोभाग्य छ तिम्रो । आजदेखि तिमी भयौ लख्खी माइराम ।’

जब त्यस रात लख्खी माइराम भएर पसी महन्तको कुटीमा, अन्धकार चिर्दै एउटा कुनाबाट प्रकट भई इमरितिया— म पनि आएकी छु आमा ।

लख्खी त भई अब माइराम । ऊ अब कस्की आमा, कस्की पत्नी, कस्की बुहारी । अब त ऊ दासी हो किसन गोसाईकी । भनी— मेरो कुनै छोरी छैन । मेरो अब कुनै संसार छैन । मेरो जे छ किसन गोसाई छ । तँलाई जहाँ जान मन छ जा ।

किसन गोसाईले फेरि मुरली बजाए । मोहनिया महन्तको छातीमा फेरि जाग्यो दया । भने, ‘यत्रो ठूलो संसारमा विचारी जान्छे कहाँ ? त्यो पनि यो मध्यरात्रिमा । जहाँ कृष्ण हुन्छ, त्यहाँ सबको शरण छ । आजैदेखि यी भइन् कृष्णसखी ।’

र, त्यस रात इमरितिया पनि कृष्णसखी भएर पसी महन्तको कुटीमा । तर भगवान्को लीला एकातिर मानुसको मन अर्कोतिर...।

त्यो मेलाको दिन लख्खी माइराम जोगिनी भेशमा कुटीबाहिर निस्किन् र सोधिन्— बच्चा, तिमीले कसलाई खोजेको ?

ढकाई मडरले भन्यो— माई मैले इमरितियालाई खोजेको ।

माईले भनिन्— इमरितिया त यहाँ कोही छैन, यहाँ कृष्णसखी छे ।

त्यसैबेला निस्की इमरितिया कुटीबाहिर, बत्तीसै दाँतले हाँसो छर्दै ।

ढकाईले भन्यो— ऊ त्यही हो इमरितिया ।

माइरामले भनी— मैले पनि उसलाई भनेको । ऊ हो कृष्णसखीे ।

यदि ऊ किसनसखी हो भने म पनि हूँ किसनसखा– मडरले भन्यो ।

आए महन्त । भने— ठीक छ, गोसाईको जे इच्छा । तर यहाँ चाहिन्छ वैराग्य । ढकाई मडर, कृष्णसखा हुनु खेल छैन । तिमीले धन छोड्नु पर्छ । तिम्रो मान छोड्नु पर्छ । तिम्रो अभिमान छोड्नु पर्छ ।

धन्य भगवान्को लीला । मडरले भन्यो— मलाई मञ्जुर छ । आजदेखि मेरो जम्मै कञ्चन–काया गोसाईलाई ।

अनि उसले कुसेसरलाई भन्यो— तँ घर फर्की । अब त यही कमलामाई मेरो तिरिथ । यही मन्दिर मेरो धाम । जहाँ–जहाँ किसनसखी त्यहाँ त्यहाँ किसनसखा ।

कुसेसरले भन्यो— मालिक, मैले हजूरको नून खाएको छु । हजुरलाई छोडेर जाउँ कहाँ । मालिकको जे गति नोकरको पनि त्यही गति ।

महन्तले भने— न कोही मालिक न कोई नोकर । तेरो पनि इच्छा छ भने बस । तँ किसनभगत । गोसाईको भोगका लागि सरजाम जोडेर ल्याउने काम तेरो ।

फूलबारी फूलबारी फूल टिपेर ल्याउने कृष्णसखी । चन्दन घोट्ने कृष्णसखा ढकाई मडरको खेतबाट भोगका लागि सरजाम बोकेर ल्याउने कृष्णभगत । आरती डोलाउने लख्खी माइराम । मन्तर र सिलोक पढ्ने मोहनिया महन्त । र आरती प्रसाद पाउन बाहिर उभिने हजारौं मानिस ।

धन्य लीला भगवान्को । किसन बिहारीलालको... तर धन्य इमरितिया ! उसको आफ्नै लीला छ । किसनसखी त उसको बाहिरी रूप हो । भित्री रूप अनन्त छ । उसलाई चाहिन्छ छापाको सारी, छापाको बुलौज । अमला तेल, बास्ना चल्ने साबुन, पाउमा आलता, पाउजेब । मुखमा चौबीस घण्टा पान । छुट्टै नुहाउने ठाउँ, छुट्टै कोठा र छुट्टै नोकर ।

महन्त भन्थे, ‘वैराग्य बैराग्य । संसारको वस्तुसित केको मोह–माया । के को सम्बन्ध !’

बत्तीस दाँत देखाएर हाँसिदिन्थी इमरितिया । जे होस्, उसको हाँसो थियो खूब । भन्थी— आफ्नै लख्खी माइरामलाई सिकाऊ यो पाठ । हाई रे तिरिया ! न लाज न सरम ।

महन्त चूप । टाउको भुइँमा गाडेर जान्थे भित्र कुटीमा ।

ढकाई मडरले छोड्यो संसार । घर सम्पत्ति सबै लेखिदियो महन्तको गुठीलाई । कृष्णसखीका लागि बन्यो कृष्णसखा । तर भाग्यको लेख कसले देख । कृष्णसखी भागी अर्को सखासित । ढकाई मडर हेरेको हेर्यै ! छः महिनाको साथ, जीवनभरि लात । हाय इमरितिया ।

आउँथ्यो रामसुख यादव दिनका दिन । सूरज भगवान् डिग्न सक्छन् । रामसुख डिग्न सक्दैन । आउँथ्यो ठीक बाह्र बजे, एक लोटा दूध लिएर । गोसाईको चरनामिरितका लागि ।

एक महीना अटूट उसले गोसाईलाई दूध चढायो । अर्को महिनाको शुरू बिहान गोसाईले इच्छा पूरा गरिदिए । इमरितिया गई झिसमिसे उज्यालोमा कमला नदी, पहिलो कत्तिका नुहाउन । नुहाउँदै रही । कार्तिक स्नानभन्दा पनि ठूलो प्रेम–स्नान । 

रामसुख यादव ढकाई मडरको पनि गुरु निस्क्यो । ढकाई मडरले चढायो दस बिघा जमीन । यादवले चढायो मात्र तीस सेर दूध । के थाहा, त्यसमा दूध कति पानी कति । प्रेमको लीला विचित्र ! एकातिर धन, अर्कोतिर मन ।

इमरितिया रामसुखसित भागी । मालिकको सूरै हरायो त्यस दिनदेखि । उसले छोडिदियो चन्दन घोट्न । छोडिदियो मन्दिर, छोड्यो गेरुवा वस्त्र । गाउँ–गाउँ खोज्दै हिँड्यो इमरितियालाई । अगाडि अगाडि मालिक, पछाडि पछाडि ऊ ।

आखिर उसले नून खाएको छ मालिकको । सुखमा साथ त दुःखमा पनि साथ । गयो कमला, गयो बलान । गयो मोरंग, गयो गलगलिया । खोज्यो परिकरमा मेलामा, खोज्यो पताइर मेलामा, खोज्यो पूर्णिया मेलामा ।

त्यहीँ खायो उसले होटेलको भात । छिः छिः त्यो पनि कुनै भात हो ! त्यसै पूर्णिया मेलामा देख्यो उसले मेन्टिल बत्तीमुनि पातर्नीको नाच । छिः छिः त्यो पनि कुनै नाच ! न जिउको लाज, न आँखाको लाख । धन्य तिरिया जात । जे खेल खेल, जे खेल खेलाऊ ।

कति कुराहरू छन् । एक–एक जम्मै कुसेसरका आँखा अगाडि नाच्तछन् । आँखामा दुनियाँको नाच अनि कहाँ हुन्थ्यो नींदको दास । ऊ फेरि उठ्छ । आगोमा सन्ठी थप्छ । र, उज्यालोमा चिलिम खोज्न थाल्दछ र खोज्दछ गाँजाको चानी ।

कुसेसरा रे..., ढकाई फेरि कोल्टे फेर्छ । ‘अलिक कडा बना’ कुसेसरको अकिलै गुम । मालिक पनि जागेछन् ।

सोध्यो— मालिक नींंद लागेन ?

अब कहाँ नींद । कहाँ चैन । ढकाई उठ्छ, ‘ल्या कुसेसरा ढोलक ।’ जे होस्, इमरितिया खान्थी पान खूब पान खाँदा उसको रूप पनि हुन्थ्यो अनूप ।

कुसेसर ढोलक ल्याएर मालिकका अगाडि राखिदिन्छ । ढकाई एक–दुई धाप मारेर ढोलकमा सुर मिलाउँछ । अनि गाउन थाल्दछ—
हरियर लत्ती, हरियर फत्ती...

यसबेला कुसेसरलाई गीतमा साथ दिन मनलाग्दैन । ऊ चिलिम सल्काउँछ र गाँजा तान्न थाल्दछ..., एक दम, दुई दम, तीन दम..., गाँजा अलिक कडै बनेको रहेछ । जाडो, झुप्रो, मालिक र मालिकको गीत–यी जम्मैबाट टाढा कुनै आकाशमा पुगे जस्तो लाग्छ उसलाई । शब्दहरू कुनै अर्को दुनियाँबाट आउँदैछन् र अस्ताउँदै उसका कानमा पर्दैछन् जस्तो...,

गोरी, पान, इमरितिया, ढकाई, महन्त, रामसुख, नून, नूनको भारा, कुसेसरा, मालिक, नोकर... टुक्रा–टुक्रा शब्दहरू... क्रमशः अस्पष्ट अस्पष्ट ध्वनिमा रूपान्तरित हुँदै महाकाशमा हराउँदै गए जस्तो...।
(अधिकारीको ‘अस्वीकृत’ कथाकृतिबाट)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०८०  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro