site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोमसोम थकाली – ३

भर्जिनियालाई हात हल्लाएर बिदा गरेको आधा घण्टापछि म पनि झोला बोकेर हिडेँ, धर्म कमाउन । पार्कमा पुग्दा मुक्तिनाथ जाने जीप छुट्ने बेला भएको रहेछ ।

ब्रह्माण्डको चाहना त्यही थियो होला सायद, भर्जिनिया र मेरो फेरि भेट भयो । त्यही जीपको डालोमा ।

“मलाई किन नभनेको ?,” उसले यति प्रश्न गरी । अपूर्ण प्रश्न ।

मैले प्रश्नको आशय बुझिसकेको थिएँ ।

भन्दिएँ, “मलाई अमेरिकी केटी मन पर्दैन ।”

“कुनै दिन अवश्य मन पर्छ,” उसले यसरी भनी, मानौँ उसले नै हो मेरो मनलाई निर्देश गर्ने । उसले यसो भनिरहँदा उसका आँखाभित्र विश्वासको दियो बलेजस्तै देखियो । धपक्क बलेको ।

“त्यसो भएछ भने मलाई मन पर्ने अमेरिकी केटी भर्जिनिया हुनेछे । भर्जिनिया उल्फ,” उसको मनभित्र हानेँ ।

“सुडानका हब्सी केटी रिसाए भने त मलाई काँचै खान्छन् नि फेरि !,” मेरो काँधमा उसको बायाँ हात र उसको बोली एकैचोटि बिसायो ।

जोडले हाँसी । खितित्त । लामो हाँसो ।

“तपाईं गाइड हो भाइ ?,” अनुहार ठोक्किने गरी बसेकी अर्धबैँसे आइमाईले चञ्चले आँखा झिमिक्क पार्दै सोधिन् ।

‘होइन । ऊ मेरो साथी हो । बाटोमा भेट भएकी साथी’ भनेर चिनारी दिएँ ।

“उसो भए यो कुइरेनी केटीलाई दह्रोसँग पट्ट्याउनुभएछ त भाइ !”

जीपको डालोमा बसेका सबै यात्रु एकैपटक हाँसे । जोडको हाँसो ।

ड्राइभरले अगाडिपट्टिको ऐनाबाट पछाडिका हामीलाई पुर्लुक्क हेर्यो । यता भर्जिनिया झस्की । कुहिनो ठोक्किएर करेन्ट लागेजस्तो गरी ।

गाडी मुक्तिनाथ जाने उकालो नचढी कागबेनी बजारतिर लाग्यो । त्यहीँ झरिन् ती महिला ।

झर्दै गर्दा आफ्नो होटेलको नाम बताएर झरेकी थिइन् । भन्दै, “जोमसोम फर्कंदा पस्नुहोला ।”

‘हुन्छ’ भनेँ ।

भर्जिनिया पनि कागबेनीमै झर्छु भन्दै थिई । मैले रोकेँ ।

भन्दिएँ, “मुक्तिनाथको दर्शन नगरी गयौ भने तिम्रो सपनालाई एबोर्सन गर्नुपर्छ !”

मुहारको आकृति फेरियो उसको । र, रोकिई ।

जीप कागबेनीबाट उकालो लाग्न थाल्यो । ग्यास्ट्रिकले ग्रस्त बिरामीझैँ । मुक्तिनाथ पुगेपछि जीप रोकियो । दर्शन गरेर फर्कियौँ ।

मलाई जोमसोम नै फर्कने मन थियो । तर, उसले रोकी ।

होटेल वेस्ट स्टेप इन । रानीपौवा । मुक्तिनाथ गा.वि.स., मुस्ताङ ।

भर्जिनिया कोठा नं. ३०७ मा । म कोठा नंं ३०८ मा । 

बाहिर मौसम सफा थियो । नेपाली राष्ट्रिय झन्डाको किनाराजस्तो कञ्चन आकाशमा घाम मस्त पारामा थियो ।

“साँझ पर्न त निकै बेर छ, अब कता जाने घुम्न ?,” प्रश्न भर्जिनियाको ।

“जाऊँ, झारकोटसम्म पुगेर फर्कौँला,” उत्तर र प्रस्ताव दुवै मेरो ।

गुगलमा मुस्ताङका तस्बिर हेर्दा उसले झारकोट पनि देखेकी रहिछे । गाउँ पस्न लागेको चितुवासहितको झारकोटे तस्बिर ।

सोधी, “चितुवा पाइन्छ ?”

मलाई पो के थाहा र ! तैपनि भन्दिएँ, “पाइएला नि त, केटाकेटीका किताबभित्र !”

विस्तारै ओरालो लाग्यौँ । झर्दै गर्दा खोल्सापारि देखियो, खरबारीमा एक हुल महिला केही टिप्दै थिए, लामो भाकाको गीत गाउँदै ।

“तिनीहरू के गर्दै छन् ?,” सोधी भर्जिनियाले ।

“त्यहीँ गएर हेरौँला,” यति भनेँ ।

त्यतै लाग्यौँ । ठ्याक्कै खोल्सामा पुग्दा एउटा सानो मैदान देखियो । स्कुल पढ्ने बेला खोलाको सिस्नु फाँडेर हामीले बनाएको भलिबल ग्राउन्डजत्रै ।

मैदानको उत्तर–दक्षिण भित्तामा एकएकवटा फल्याक उभिएका थिए । फल्याकको टाउकानेर रातो रङले गोलाकार आकृति बनाइएको थियो । विकासानन्दको प्रेमवादको चित्रमा तलपट्टि लुर्किएको भाग कोर्न बाँकी भएजस्तो ।

‘ठ्वाक्क,’ एउटा केटोले हानेको वाण त्यही गोलाकार चित्रको केन्द्रमा रोपिएर आवाज आयो ।

“वाउऽऽऽ प्लेइङ सुटिङ गेम,” चोरऔँलाले केटोतिर देखाएर भनी भर्जिनियाले ।

सातवटा वाणका निसाना कुनै पनि त्यो गोलचक्रभन्दा बाहिर लागेनन् । केटो फुच्चे नै थियो । हुँदो हो १४–१५ वर्षको । अरू कोही थिएन । वाण हान्ने ऊ एक्लो केटो ।

“भाइ, तिम्रो नाम के हो ?,” केटोप्रति मेरो रुचि जागेको थियो, सोधेँ ।

“आइते गुरुङ ।”

“अनि, कति कक्षामा पढ्छौ त भाइ ?,” फेरि सोधेँ । भर्जिनिया साथमै थिई ।

‘५ कक्षा पढेर छोडेको हो सर’ भन्यो र एकपटक ताँदोको रस्सी तान्यो ।

“अनि, यो वाण हान्न कसले सिकाएको नि तिमीलाई ?,” उसमा वाणमोह अलि बढी नै भएजस्तो मानेर म पनि त्यतै तानिएँ ।

‘आफैँ सिकेको हो सर’ भन्यो र फेरि ताँदो खेलायो ।

“कसैले त सिकायो होला नि त भाइ,” ती कलिला हातलाई वाण हान्न सिकाउने गुरुलाई चिन्न मन लाग्यो । चिन्न त के चिन्नु र, जान्न मन लाग्यो ।

“भगवान्ले सिकाएको हो सर,” उसले भन्यो ।

सरासर हिँड्यो । पारिपट्टिको फल्याकमा पुगेर वाण झिक्यो । अनि, हामी भएतिरको फल्याकमा हान्न थाल्यो । लाग्छ कि भनेर म डराएँ, तर लागेन । निसाना घेराभित्रै परे ।

यतिन्जेल भर्जिनियाले हामीबीच के कुराकानी भयो भनेर सोधेकी थिई । मैले त्यही उल्था गर्दिएँ ।

त्यही बेला जिन्स पाइन्टको बायाँपट्टिको खल्तीमा सुतेको मोबाइलमा पुष्प नेपालीले गीत गाउन थाले– टाढा टाढा जानु छ साथी, एक फेर हाँसिदेऊ...।

होटेलबाट फोन गरेका रहेछन्, साँझको खाना के पकाउने भनेर ।

भर्जिनियालाई सोधेँ र भनेँ– मटन सेट ।

हामी आइतेसँग बिदा भएर हिँड्यौँ ।

एक हुल महिला तोरा टिप्दै रहेछन् । अघि भर्जिनियाले इंगित गरेर सोधेको हुलका महिला ।

“के बनाउनुहुन्छ दिदी यसको ?,” मुख मिठ्याउँदै एउटी महिलालाई सोधेँ ।

“जुस बनाउँछ हो सर । अच्छा जुस बन्छ यसको,” उस्तै गरी भनिन् ।

“बेच्नुहुन्छ कि आफैँ खाने हो नि ?,” फेरि सोधेँ ।

“बेच्छ त सर । तपाईंहरूजस्तै घुम्न आउनेले किन्छ नि ।”

“बजारमा लगेर बेच्नु हुन्न ?,” घुम्न आउनेले मात्रै कति नै पो किन्लान् र जस्तो लाग्यो ।

“जोमसोममा बेच्छ सर । पोखराबाट पनि अर्डर गर्छन्,” एउटी भर्खरकी केटीले उत्तर दिई योपटक ।

ती महिला त्यहाँको आमा समूहका रहेछन् । आमा समूहको संयुक्त सक्रियता र लगानीमा तोराको जुस बनाउँदा रहेछन् । अनि, त्यसबाट कमाइने पैसा पनि सामूहिक रूपमा लगानी गर्ने ।

एकछिन भर्जिनियाले बोकेको क्यानोन कम्पनीको ठूलो क्यामेरा व्यस्त रह्यो । पोजपोजका तस्बिर खिच्न थाली उसले ।

त्यहाँबाट निस्किएपछि हामी गाउँमा पस्यौँ । घुम्यौँ । साँझ पर्ने बेलामा फर्कियौँ रानीपौवा ।

झारकोटमा न भर्जिनियाले सोधेजस्तो चितुवा भेटियो न मैले भन्दिएजस्तो किताबभित्रका भए पनि चितुवा देखियो । 

बेलुकी खाना खाएर छतमा निस्कियौँ हामी । छतमा कुर्चीमा बसेनौँ । उभिएर हेर्यौँ आकाशको जूनलाई । जूनले शीतल पठाइदियो । हामीले सूर्यको बाफ ।

“आशीर्वाद के माग्यौ त भर्जिनिया ?,” उसले मन्दिरमा के आशीर्वाद मागी होली भन्ने खुल्दुली दिउँसोदेखि नै मनमा सुसाइरहेको थियो ।

“केही पनि मागिनँ । माग्नु पनि हुँदैन,” उनले भनी । उसको यो वाक्य साँच्चिकै थियो वा बनावटी, भगवान् नै जानून् ।

“तिमीले माग्यौ र ?,” सोधी मलाई ।

“मागेँ ।” थपेँ फेरि, “जोमसोम थकालीको खोलामा पौडी खेल्न पाऊँ भनेर ।”

“भेटेका छौ ?,” सोधी ।

“कसलाई ?”

“जोमसोम थकालीलाई ।”

“छु । सपनामा । तिमीलाई पनि थाहा छ नि त ।”

“उसो भए पौडी पनि सपनामै खेल,” भनी उसले ।

खुरुखुरु भर्याङ ओर्ली । लुरुलुरु उसको पछि लागेँ ।

कोठा नं. ३०७ । ढोकामा उभिएर हेरिरही मलाई ।

कोठा नं. ३०८ । ढोकामा उभिएर हेरिरहेँ उसलाई ।

आँखा जुधिरहे । ढुकुरजोडी जुधेजस्तै ।

ढोका एकैचोटि उघ्रिए, चुइक्क गर्दै ।

ढोका एकैचोटि बन्द भए, ढ्याप्प गर्दै ।

निदाएँ । भर्जिनियाको इमेल आईडी नै बिर्सिएँ ।

सपना देखेँ, जोमसोम थकाली मेरो घरको डिलमुनिको धारोमा नुहाउँदै थिई ।

त्यही बेला मोबाइलको म्यासेज टोन बज्यो । ब्युँझिएँ ।

म्यासेज हेरेँ । एनसेलको नम्बरबाट आएको म्यासेज ।

पढेँ । लेखिएको थियो– आई एम आउटसाइड अफ योर डोर बट इनसाइड अफ हर्ट ।

बुझेँ, भर्जिनिया मेरो कोठाको ढोकाबाहिर छे । उठेँ । ढोका खोलेँ । पसी ।

आँखामा आँसु भरिएको थियो । भर्खरै धान रोपेको गरामा पानी भरिएजस्तै । पुछिदिएँ । अँगालो मारी । सर्प बेरिएजस्तै ।

रोएँ । पुछिदिई । बोल्न मन लाग्यो । सकिनँ ।

ओठ चलाई । बोली सुनिनँ ।

विस्तारै बिस्तारामा गई । कुनामा सुती । म छेउमा ।

मेरो बायाँ हातलाई सिरानी बनाई । बागवान फिल्ममा हेमा मालिनीले अमिताभ बच्चनको हातलाइ सिरानी बनाएजस्तै ।

त्यही बेला झ्यालबाट जूनले चियाएर हेर्‍यो । लाज लागेर हो कि, सिरक तानी ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro