हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपुत मरेर नगए
जब सहिद सप्ताह सुरु हुन्छ, तब नेपालीजन कवि भूपी शेरचनका यी शब्द गुनगुनाउन पुग्छन् । सहिदले रगत बगाएपछिको परिवर्तित व्यवस्थामा शासकीय कुर्सीको स्वाद लिएका या लिइरहेकाहरू पनि साता दिन यही धुनमा घोत्लिछन् । अनि, तिनमध्ये थोरै भावनात्मक चेत भएकाहरू स्मरण गर्छन्– ‘हो त, तिनै सहिद र कतिलाई सहिद बनाउँदै हामी आनन्दको जिन्दगीमा पुगेका हौँ ।
यो वर्ष पनि साता दिन सहिद सप्ताह चलिरहेको छ, आज अन्तिम दिन हो । कम्तीमा सात दिनका निम्ति भए पनि मुलुकले सहिद सम्झेको छ । सहिद सप्ताह तत्कालीन काठमाडौं नगर (हाल महानगरपालिका)को संयोजनमा मनाइने क्रम बस्यो । महानगरका कुर्सीमा बस्नेले चाहेर या नचाहेर पनि विक्रम संवत् २०१२ देखि सहिद सप्ताहलाई निरन्तरता दिइरहेकै छन् ।
सहिद भन्नासाथ धेरैका आँखामा चार सहिदका तस्बिर झलझल्ती आइपुग्छन् । भद्रकालीबाट सुन्धरा पार गर्दैगर्दा सहिदका सालिकमा आँखा पर्ने नै भयो ।
तिनैका बलिदानीका कारण मुलुकले प्रजातन्त्र देख्न पायो । अझ पुरानो इतिहास पनि स्मरण राख्नेहरूले लखन थापालाई समेत सम्झन्छन् । यद्यपि, धेरैपछि मात्र सहिद सूचीमा उक्लिएका हुन् थापा ।
जति पछि सहिद सूचीमा समाहित भए पनि नेपालको पहिलो सहिद उनै हुन् । जसले शक्तिशाली हुकुमी शासक जंगबहादुर राणा र उनको शासनविरुद्ध क्रान्तिको झिल्को पैदा गरेका थिए । त्यही झिल्कोमा क्रान्तिको दियो बाल्दै सहिद बन्दै मुलुकमा प्रजातन्त्र स्थापना भएको हो ।
निरंकुश जहानियाँ शासन फाल्न जीवन आहुति नपर्नेको संख्या बढ्दै गयो । राणाविरुद्धको क्रान्तिमा संलग्न शुक्रराज शास्त्रीलाई पचलीमा मृत्यदण्ड दिइयो । धर्मभक्त माथेमालाई सिफलमा फाँसी दिइयो । दशरथ चन्द र गंगालाल शोभाभगवतीमा सहिद भए ।
राणाशासक ‘क्रूर’ थिए, एक साताका बीचमा राजनीतिक तथा सामाजिक अभियानमा लागेका चार व्यक्तिलाई मृत्युदण्ड दिए, फाँसीमा चढाए । तिनले रगतको होली खेले । धेरैले ठान्छन् कि प्रजातन्त्र सजिलै प्राप्त भएको पद्धति हो । होइन, लोकतन्त्र र स्वतन्त्रता प्राप्तिमा धेरैको जीवन र जवानी लगानी भएको छ ।
यतिखेर राणा हुन् कि शाह, तिनी र तिनका अनुचर हुकुमी शासनको निरन्तर मोहमा छन् । राजा त्रिभुवनलाई अपवादमा लिनुपर्छ, २००७ मा श्रीपेच दाउमा लगाउँदै प्रजातन्त्रप्रति आस्था र निष्ठा व्यक्त गरेका थिए । अनि, दुर्भाग्य भन्नुपर्छ कि तिनका छोरानाति र नातागोता ‘प्रजातन्त्र’विरुद्ध उभिँदा फेरि क्रान्ति गर्नुपर्यो । नागरिकले पटक–पटक सहिद बन्नुपर्यो । यो प्रजातन्त्र या लोकतन्त्र, राणा–शाह र तिनबाट लाभान्वित कुलिन वर्गलाई मन परेको छैन ।
राजाको प्रत्यक्ष शासनमा सञ्चालित निरंकुश पञ्चायती व्यवस्थामा पनि इतर–मत राख्नेलाई ‘सहिद’ बनाइयो । पञ्चायत व्यवस्थाविरोधी पहिलो जनआन्दोलन २०४६ र २०६१ माघ–१९ पछिको ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध दोस्रो आन्दोलनमा पनि नेपाली नागरिक सहिद भए । राजतन्त्र रहँदा तिनका दास–भक्त–सेवक निगाहका पदमा रमेकै हुन्, तिनबाट लाभाान्वित वर्ग अझै त्यही सपना देख्दै छन् । अझै बेलाबखत ‘भूत’ फर्काउँदै त्रासदी होम्न प्रयत्न गरिरहेकै छन् । तिनीहरू नेपालीको ‘लघुस्मृति’को फाइदा उठाउने भरपुरको योजनामा छन् । सँगै प्रजातन्त्र वा लोकतन्त्रको शब्द जप्दै शासकीय कुर्सीमा पुगेकाहरूको पनि नियत त खराब नै छ ।
दलीय भावनाले ओतप्रोत भएकाहरू पनि आफ्नै पार्टीप्रति मात्र मोह राख्छन्, तिनका लागि लड्नेलाई मात्र ‘सहिद’ सम्झन्छन् । मुलुकमा प्रजातन्त्र स्थापना, पुनःस्थापना, लोकतन्त्र बहालीका निम्ति जीवन आहुति दिएकाहरू तिनको इच्छित कोटीभित्र ‘अपवाद’मा मात्र पर्छन् ।
दुर्भाग्य नै भन्नुपर्छ, लोकतन्त्रपछि राजनीतिक पहुँचका आधारमा सहिद घोषणा गर्ने होडबाजी चल्यो । सत्ता र राजनीतिक शक्तिका आधारमा सहिद घोषणा भएका दृश्यसँगै बल प्रयोग अर्थात् चक्काजाम तथा आन्दोलन गरी सहिद घोषणा भएका÷गराएका दृश्य पनि मञ्चन भएकै हुन् । अर्थात्, जसको बल पुग्यो, तिनीहरू सहिद सूचीमा दर्ज भए या गराए । त्यसबापत राज्यबाट प्राप्त गर्ने राहत–सुविधा लिएकै हुन् ।
यस्तो भद्रगोल दृश्यकै कारण ‘गौरवशाली सहिद’ शब्दकै अवमूल्यन हुन पुग्यो । ‘वास्तविक सहिद’ र बल या प्रभावमा आधारमा घोषित ‘सहिद’ टीकाटिप्पणी समाजमा व्याप्त छ । त्यस्ता कथ्य र भाष्यले वास्तविक सहिदका परिवारलाई ‘चोट’ पुगेको हुनुपर्छ । शासकीय शक्तिको दुरुपयोग गरी जथाभावी शैलीमा सहिद घोषणा हुँदै गएपछि ‘परिभाषा’ गर्नुपर्नेसम्म माग निरन्तर छ ।
‘सहिद’ नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘शाब्दिक परिभाषा’ नगरेको होइन । उसको शाब्दिक परिभाषामा सहिद भन्नाले ‘आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताका प्राप्तिका लागि बलिदान भएर लोकहितमा लाग्ने अमर व्यक्ति ।’
तर, अनेक सौदाबाजी र भागबन्डामा व्यस्त दलहरूलाई सहिदको ‘परिभाषा’ गर्ने समेत जाँगर चलेको पाइँदैन । हुन पनि कानुनी परिभाषा भएको खण्डमा तिनको तजबिजी शैली अन्त्य हुनेछ ।
अनि, लोकतन्त्र बहालीपछि बम विस्फोट हुँदा मृत्यु भएका, दुर्घटनामा ज्यान गुमाएका, निर्वाचनका बेला मृत्यु भएका पनि सहिदमा दर्ज भए । माओवादीको सशस्त्र युद्धका बेला राज्यपक्ष र माओवादी दुवैतिरका मृतक सहिद सूचीमा चढे । त्यसपछि मधेस तथा थरुहट आन्दोलनमा ज्यान गुमाउनेहरू सहिद भए ।
खासमा सहिद घोषणा हुँदा दश लाख रुपैयाँ क्षतिपूर्ति पाइन्छ भन्नेसम्मको तथ्य स्थापित हुँदा त्यसैका निम्ति बल प्रयोगका घटना भए । त्यहीकारण देशमा सहिद संख्या १२ हजार २०० को हाराहारी पुगेको छ । दलका सहिद एकातिर हुन सक्छन्, समाजका हरेक तह–तप्काले स्वीकार गरेकाहरू वास्तविक सहिद हुन् ।
सहिद तिनै हुन्, जसले मुलुक हितका लागि आत्म–बलिदान गर्ने साहस गरे । जसको नाम लिँदा आजका दिनमा पनि श्रद्धाले शिर झुक्छ । जसले मुलुकको स्वाधीनता, स्वतन्त्रता, प्रजातन्त्र, लोकतन्त्रका निम्ति आफ्नो जीवन उत्सर्ग गरे । मुलुकका निम्ति आफ्नो जीवन आहुति दिनेहरू नै वास्तविक सहिद हुन् । मुलुकको स्वाधीनता, प्रजातन्त्र–लोकतन्त्र, स्वतन्त्रताका निम्ति जीवन उत्सर्ग गरेका सहिदप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जली ।