site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल–भारत सीमा समस्या समाधान गर्न कूटनीतिक पहल सुरु भइसक्यो : मन्त्री साउद
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपाल–भारत सीमा समस्या समाधानका निम्ति कूटनीतिक पहल सुरु भइसकेको बताएका छन् । भारतको ७५औँ गणतन्त्र दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा गएका बेला उनका समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानको पहल अघि बढाइएको मन्त्री साउदले बताए ।

Argakhachi Cement Island Ad

प्रशासनिक रूपमा रहेको ‘मेकानिजम’ पनि क्रियाशील भई अहिले तथ्यका आधारमा दुवै देशबीच समस्या समाधानका निम्ति कूटनीतिक पहल भइरहेको उनले जानकारी गराए ।

हालै भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा पनि सीमा समस्या समाधानको प्रतिबद्धता जनाइएको उनले उल्लेख गरे ।

“...दुईवटै छिमेकीले एकापसमा कूटनीतिक किसिमले बसेर यो समस्याको समाधान गर्नुपर्छ । यो कुरा दुवै देशको बीचमा सुरु भइसकेको छ,” उनले भने, “भर्खरै मात्र भारतका परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको सिलसिलामा पनि हामीले दुवै देशको बीचमा वार्ता, छलफलको प्रक्रियाबाट यो समस्याको समाधान गर्छौँ भन्ने प्रतिबद्धता व्यक्त गरिसकेका छौँ ।”

मन्त्री साउदले देशले अहिले आर्थिक चुनौती भोग्नुपरेको बताए । आर्थिक समस्या समाधानका निम्ति सरकारले हाइड्रो इनर्जीलाई विस्तार गरी भारत, बंगलादेशसँग विद्युत् व्यापार बढाउनुपर्ने उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्