site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१६औँ पञ्चवर्षीय योजनाले राष्ट्रिय आवश्यकता सम्बोधनको आस गर्न सकिँदैन : पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले योजना आयोगले राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने गरी योजना बनाउने आस गर्न नसकिने बताएका छन् । उनले आयोगले मुलुकको वर्तमान राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने, विगतका अनुभवको जगमा उभिएर योजनाबद्ध प्रयासलाई सार्थक रूपमा गति दिने गरी योजना निर्माण गर्ने अवस्था नदेखिएको बताएका हुन् ।

उनले वर्तमान सरकारको मातहतको आयोगले अघिल्लो सरकारले बनाएको १५औँ योजनालाई उपेक्षा गर्ने गरी योजना बनाइरहेको आरोप लगाए । आयोग १६औँ योजनाको निर्माणमा अलमलिरहेको उनको भनाइ छ ।

वर्तमान र दीर्घकालीन आवश्यकतालाई सम्बोधन गरी योजना निर्माणको काममा सरकार लाग्नुपर्नेमा राजनीतिक पूर्वाग्रहका आधारमा आयोग अलमलिरहेको जिकिर उनले गरे । आयोग १६औँ योजना बनाउने विषयमा ‘कुहिरोभित्रको काग’जस्तै भइरहेको उनको टिप्पणी छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले बनाएको १५औँ योजना धेरै दृष्टिकोणले महत्त्वपूर्ण रहेको पौडलले बताए । उनले १५औँ योजनाले नेपालको योजनाबद्ध विकासमा ‘डिपाचर’ हुने गरी नयाँ दिशाबोध दिएर विकासका परम्परागत अभ्यासलाई ‘ब्रेक थ्रु’ गरेको उनले उल्लेख गरे ।

आयोग १५औँ योजनाका सकारात्मक योगदानलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको पौडेलको आरोप छ ।

“...अहिलेको सरकारले १६औँ योजना निर्माण गरिरहँदा १५औँ योजनाले संस्थागत गरेका निष्कर्षहरूलाई आत्मासात् गर्ने, आवश्यक विषयलाई निरन्तरता दिने र नयाँ योजना भए सम्बोधन गरी जानुपर्ने हो । तर, १५औँ योजनाहरूलाई तिरस्कार गर्दै बिर्सन र कुल्चिएर उपेक्षा गर्न चाहेको छ,” उनले भने, “त्यसका सकारात्मक योगदानहरूलाई निरन्तरता दिने मान्यताबाट विचलित भएको छ ।”

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले १६औँ योजनाले संविधानले नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यावहारिक रूपमा कसरी उपलब्ध गराउने भन्ने विषयमा प्राथमिकता दिनुपर्नेमा जोड दिए । सरकारले १५औँप्रति पूर्वाग्रह राखेर १६औँ योजना बनाउन नहुने उनले बताए ।

“राष्ट्रिय योजना आयोगको तयारी हेर्दा १६औँ योजना गतिलो हिसाबमा आउने अवस्था छैन । १६औँ योजनाले संविधाने नागरिकलाई प्रदान गरेका अधिकारलाई व्यावहारिक रूपमा उपलब्ध गराउने कसरी भन्ने विषयमा योजनाले प्राथमिकता दिनुपर्ने हो,” उनले भने, “तर, योजना आयोगले यो विषयमा तयारी गरेको पाइँदैन । १५औँ योजनालाई अस्वीकार गर्ने र अहिलेको अवस्थाअनुसार नयाँ योजना दिन नसक्ने खालको दुविधामा १६औँ योजनाको तयारी अगाडि बढेको देखिन्छ ।”

उनले १६औँ योजनामा मानवीय विकासका आवश्यकताका विषयमा बढी ध्यान दिन सुझाव दिए । १६औँ योजनामा शिक्षालाई मुलुकको आवश्यकताअनुसार बनाउने गरी सीप विकास, रोजगारी र आत्मनिर्भरतातर्फ केन्द्रित हुनुपर्ने उनले बताए । उनले विद्यार्थीले देशभित्र गुणस्तरीय शिक्षा आर्जन गर्न सकिन्छ भन्ने विषयमा विश्वासको आधार निर्माण गर्नेमा केन्द्रित हुनुपर्ने औँल्याए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १०:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro