‘सपना पिएर’ नेपाली गायनजगत्का एक उज्ज्वल नक्षत्र योगेश वैद्य अस्ताएका छन् । संगीतजगत्लाई एक से एक गीत गाएर सुम्पिने वैद्यलाई स्रोता ‘ट्रेजडी किङ’को विशेषणबाट सम्मान सम्बोधन गर्दथे ।
‘सपना भुलाइ सारा आँसु पिएर जाऊ, मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ’ जस्ता कालजयी गीतका गायक वैद्य सर्वदा साधनाका पक्षमा अडिग रहे । हरेक सर्जकका निम्ति साधना अपरिहार्य रहेको तथ्यप्रति उनी सधैँ अडिग रहे ।
‘हुने बिरुवाको चिल्लो पात’ योगेश वैद्यमाथि सधैँ लागु भयो । सानै उमेरदेखि गायनमा उनको रुचि रह्यो । वैद्यको गायन क्षमता देखेर मरुटोलस्थित शान्ति निकुञ्ज विद्यालयका शिक्षक अष्टमंगल बज्राचार्यले उनलाई सदैव गाउन उत्प्रेरित गरे । त्यति मात्रै नभएर गुरु बज्राचार्यले उनलाई संगीत प्रवीण नरराज ढकालको सामीप्यमा पुर्याए, शास्त्रीयगायन शिक्षाका लागि ।
कलिलो उमेरमै पनि उनको आवाज र गायकीले हरेक शिक्षक र विद्यार्थीलाई प्रभावित पारेको थियो । त्यसैले पनि विद्यालयमा हुने विविध कार्यक्रम र वार्षिक नतिजा आउने दिन उनको काम हुन्थ्यो, मञ्चमा उभिएर गीत गाउने । शिक्षक, विद्यार्थीहरूबाट मिलेको उत्प्रेरणाले उनलाई गायकीको लक्ष्यतर्फ अघि बढिरहन हौस्याइरह्यो ।
गीत गाए पनि उनले अध्ययनलाई प्राथमिकतामा राखे । उनी अमृत साइन्स कलेजमा आईएससी, बीएससी पढ्दै थिए । तथापि, उनको गाउने क्रम रोकिएन । मौका मिल्यो कि उनी कलाको प्रयोग गर्दै सांगीतिक कर्ममा खट्न कुनै कसर बाँकी राख्दैनन् थिए । जब एमएससी पढ्न थाले, त्यसपछि उनले केही समयका लागि गायनबाट विश्राम लिए । पढाइ नै उनको लक्ष्य बन्यो ।
पशुपति, जयवागेश्वरी मूल थातथलो भएका योगेश वैद्यका पितापुर्खा नरदेवी बसाइँ सरे । उनको बाल्यकाल, किशोरकाल पनि त्यहीँ बित्यो । त्यहीँ उनको गायन साधनाले उचाइ लिँदै गएको थियो, संगीत प्रवीण ढकालको छत्रछायामा ।
२०२२ सालमा रेडियो नेपालमा स्वरपरीक्षा उत्तीर्ण गरेर विधिवत् रेडियो गायक बनेका योगेशले पहिलो गीत नेपालभाषामा रेकर्ड गराए । त्यसपछि अरू पनि नेपालभाषाका गीतहरू आए । तर, उनलाई नेपालभरिका स्रोतामाझ परिचित गरायो, ‘कति प्यासी छ जिन्दगी, विधवाको सिउँदो जस्तो...’ शब्दको गीतले ।
विद्यार्थी, शिक्षक, साथीभाइबीचबाट योगेश वैद्य रेडियोमार्फत नेपालका कुनाकन्दरामा घन्किए । सर्वत्र सुनिन थाले गायक वैद्य, जो हरेकका जीवनमर्म गीतको गहिराइसम्म पुगेर अभिव्यक्त गर्दथे ।
‘आँखैमा रात गली शीतमा तारा डुबे...’, ‘सपना भुलाइ सारा...’, ‘यहाँ एक मन छ...’, ‘मेरो जिन्दगी यो कस्तो कस्तो...’, ‘माटो भन्नु मुटु रै’छ...’, ‘नेपाल मेरो तिमीलाई...’ जस्ता दर्जनौँ कालजयी गीत स्रोतालाई सुम्पिने गायक वैद्यका गीतका मूच्र्छनामा मदहोस नहुने सायदै कोही होलान् ।
स्रोताका मनमनमा बसेका गायक वैद्यले संगीत कलाको कुरा गर्दा सधैँ साधनालाई मूलमन्त्र बनाउन आग्रह गर्थे । साधनाविना लक्ष्य प्राप्त गर्न कठिन हुन्छ । हरेक संगीतकर्मीले दीर्घ साधना रम्नुपर्छ भन्ने उनको मान्यता थियो । संगीत प्रवीणको सानिध्यमा रहे पनि गीत गाउनुपर्दा उनी आफैँ एउटा गीतका लागि महिनौँ रियाज गर्थे । उनको यही अभ्यासले वैद्यलाई त्यो उचाइ मिलेको हो ।
तर, उनले गायनलाई पेसा बनाएनन् । पेसाकर्मीका रूपमा उनी सरकारी सेवामा आबद्ध रहे । कृषि मन्त्रालयअन्तर्गतको खाद्य अनुसन्धानशालामा उनले ३३ वर्ष जीवन बिताए ।
मुलुकले नेपाली गीत–संगीत र साहित्यका सर्जकहरूको योगदानको कदर तिनको जीवनकालमै गर्न चुक्दै आएको छ । एउटा स्रष्टाको मुलुकप्रतिको योगदान भनेकै उसको सिर्जना हो । जब सिर्जनाको कदर हुँदैन, त्यसपछि सर्जकले पृथक् बाटो अँगाल्छ । योगेश वैद्यका हकमा पनि त्यही नै देखियो ।
उनले गायनलाई पेसा बनाउन नसक्ने नदेखेरै खाद्य अनुसन्धानशालामा तीन दशक बढी सेवामा बिताए । सायद राज्यले उनको स्वरलाई उचित सम्मान दिएको भए हजारौँ कालजयी गीतहरू स्रोताका लागि सुम्पिएका हुन्थे ।
यदि, राज्यले कलासाहित्य क्षेत्रका सर्जकहरूको मूल्यांकन तिनको जीवनकालमै गरिदिएको भए हरेक स्रष्टाको छाती गौरवले फुल्ने थियो । हाम्रो शासकीय वृत्त राजनीतिलाई सर्वेसर्वा ठान्ने गर्छ । कलासाहित्य वा अन्य महत्त्वपूर्ण विधामा खटेका र सिर्जनशील कर्म गरेका व्यक्ति पहिचान गर्ने र सम्मान गर्ने प्रचलन स्थापित गर्न अझै हाम्रो राज्य अग्रसर छैन । त्यति मिठो स्वरका धनी वैद्यलाई राज्यले उचित सम्मान दिन सकेन । तिनै वैद्यप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली ।