अपराध व्यक्तिको भ्रष्ट मानसिकताको उपज मात्र नभई सरकारको अकर्मण्यताको द्योतक पनि हो । अपराध कुनै प्रकारको होस् या कसैप्रति होस्, हरेक स्थितिमा समाजमा अस्थिरता, विघटन र त्राशमात्र फैलाउने गर्छ ।
यतिखेरको परिवर्तित अवस्थामा मानिसको अभावग्रस्त जीवन र अति महत्वाकांक्षी प्रवृत्तिले गर्दा समाजमा असामान्य रूपले अपराध बढेको देखिन्छ ।
यस्ता घटना समाजमा कुनै न कुनै किसिमले कतै न कतै भइरहेका हुन्छन् । हामीकहाँ अपराध नियन्त्रण गर्न कानुन र अदालत नभएका पनि होइनन् । अपराध गर्नेलाई दण्ड सजायको व्यवस्था भएता पनि अपराधमा वृद्धि हुनु भनेको मानिसमा कानुनसँग डर–भर हराउँदै जानु हो ।
जसको अर्थ राज्यमा गैरकानुनी क्रियाकलाप तथा अनैतिक शक्तिहरूले शिर उठाउँदै जानु हो । समाजमा हरेक दिन घटिरहने घरेलु–हिंसा, बलात्कार, आत्महत्या, भ्रष्टाचार, चोरी, अपहरण, वैदेशिक रोजगारी ठगी, किर्ते जालसाजी, हत्या, नशालु पदार्थको ओसार–पसार, मानव बेचबिखन, गुणस्तरहीन विकास निर्माण, विज्ञापनको आडमा कमसल बस्तु बिक्री, मिसावट कालाबजारिया, वन्यजन्तु चोरी निकासी, सुन तस्करी, बैंककसुर र साइबर दुरूपयोग जस्ता तमाम अपराधहरूले समाजलाई नराम्रोसँग गाँज्दै लगेको छ ।
यसले समाजलाई प्रतिकूल प्रभाव पार्छ भने देशको अर्थतन्त्रमा नकारात्मक असर पुर्याइरहेको हुन्छ । वस्तुतः समाजमा सीमित परिवारको सम्पन्नता, भड्किलो जीवनशैली र प्राप्त इज्जत आदि असीमित परिवारको नजरमा प्रतिस्पर्धा र प्रतिष्ठाको विषय बन्न पुगेका हुन्छन् ।
जसले गर्दा समाजका इमान्दार कर्मठ तथा श्रमजीवी ब्यक्तिहरू अरुको सम्पन्नताकाअगाडि आफ्नो आर्थिक अवस्था कमजोर पाउँदा आत्महिनताको बोध गराएको हुन्छ । किनकि अरुले जुन चमत्कारी गतिमा आर्थिक सम्पन्नता हासिल गरेका हुन्छन्, त्यो हैसियतमा पुग्न अरुले पनि गलत बाटो अपनाउनुको अर्को विकल्प देख्दैन ।
जसका खातिर समाजका अन्य ब्यक्तिहरू पनि आफ्नो वर्षौंको इज्जत, प्रतिष्ठा दाउमा राखेर जस्तो सुकै जोखिम मोलेर पनि समाजमा आ–आफ्नो उच्च हैसियत देखाउने प्रतिस्पर्धाले अपराध निम्त्याइरहेका हुन्छन् ।
यद्यपि समाजमा अपराध बढ्नुमा ब्यक्तिका आ–आफ्ना उद्देश्य आवश्यकता र परिस्थितिजन्य अवस्थाहरू फरक रहेपनि कुनै न कुनै किसिमबाट समाजका अधिकांश ब्यक्तिहरू गैरकानुनी क्रियाकलापमा संलग्नता रहेको देखिन्छ ।
फरक यतिमात्र हो कि कोही आफ्नो पेटको आगो निभाउन गलत बाटो समाउन विवश हुन्छन् भने कोही नियतबस मुनाफा कमाउने र सेटिङबाट राष्ट्रको ढुकुटी रित्याएर मुलुक र जनताप्रति घात गर्ने एकप्रकारको होडबाजी चलेको प्रतीत हुन्छ ।
हरेक क्षेत्रमा जताततै घुस कमिसन छलकपट हिंसा, जालसाजी र ब्यभिचार आदिले आक्रान्त समाजभित्र बाँकी रहेका इमान्दार नैतिकवान निष्ठावान श्रमजीवीहरू पाखा लाग्दै जाने र भ्रष्ट अपराधीहरूले सत्ताको बागडोर समाल्ने जस्ता प्रवृत्तिले समाजिक विभेदलाई चर्काउँदै लगेको छ ।
जसकाकारण एकातिर मानिसमा दया धर्म परोपकार मानवीयता र सहिष्णुता दिनानुदिन खोक्रो बनिरहेका छन् भने अर्कोतिर मानिस हिंसक र व्यभिचारी बन्दै आएका छन् । आज कुनै पनि महिला घरबाहिर मात्र असुरक्षित छैनन्, बरु आफ्नै घरपरिवारभित्र पनि आफ्नैबाट सुरक्षित देखिँदैन ।
यो सबै हाम्रो जीवनको मूल्यहरूमा आएको परिवर्तनका कारण सामाजिक आर्थिक राजनीतिक मनोवैज्ञानिक र जैविक गतिविधिमा आएको विभेदको अन्तर हो । त्यसैको परिणामस्वरूप आज हामी अत्यन्तै स्वार्थी बन्दै गएको हुनाले हाम्रो नैतिक स्तर झन्झन् खस्किदै गएका छन् ।
यस्तो सामाजिक परिवेशमा कुनैपनि ब्यक्ति सहज र नैतिक किसिमले जीवन अघि बढाउन चुनौतीहरू पनि उत्तिकै छन् । यसरी अपराध बढ्नुमा मुख्यतया तल प्रस्तुत आधारहरू हुन सक्छन् ।
फितलो कानुनी व्यवस्था
सरकारी कार्यालयहरूमा ढिलासुस्ती र कार्यान्वयनमा कन्जुस्याइँ, कानुनी छिद्रहरूको दुरूपयोग, कठोर दण्ड सजायको अभाव, राजनीतिक हस्तक्षेप, न्याय ब्यवस्थामा आर्थिक चलखेल र कर्मचारीहरूमा जवाफदेहीताको अभाव आदि कमजोर पक्ष छन् ।
तिनै कमजोरीहरूबाट लाभ प्राप्त गर्ने हिसाबले गैरकानुनी क्रियाकलापहरू हाबी हुँदा न्याय व्यवस्थाप्रति जनआस्था घट्दै गएका छन् ।
यदि आफूसँग पैसाको शक्ति र नेताको भक्तिभाव भएपछि बाँकी तपसिलका कामहरू आफ्नो अनुकूल पार्न सकिन्छ भन्ने आमधारणाले अपराधलाई मलजल गर्न सहयोग पु¥याएको हुन्छ ।
भ्रष्टाचारको बिगबिगी
भ्रष्टाचार एउटा अक्षम्य सामाजिक अपराध हो । जसले मुलुकको चौतर्फी क्षेत्रलाई कमजोर बनाएका हुन्छन् । हरेक साना–तिना समस्या समाधान लेनदेनमा टुंगिएको देख्दा पुरै समाज भ्रष्ट बन्दै गएको आभास हुन्छ ।
यसै समाजका एकथरि सधैं सत्ताको सेरोफेरोमा सधैं रमाइरहने विशिष्ठ वर्ग छन् जो बाह्य आवरणमा ब्यवसायी राजनीतिज्ञ र समाजसेवीको बर्को ओडेका हुन्छन्, तर अपरोक्षरूपमा समाज र राष्ट्रलाई हानी नोक्सानी पुर्याउने राष्ट्रका प्रमुख शत्रुहरू हुन् ।
चलनचल्तीको भाषामा यिनीहरूलाई सफेद पोशाकका अपराधी मानिन्छन् ।
अफसोच यिनै अपराधीकर्मीहरूलाई ‘माथि’को आशिर्वाद प्राप्त रहेको हुँदा उनीहरूकाविरुद्ध मुद्दा दर्ता गर्न नदिने, पुलिस–प्रशासनमा सुनवाइ नहुने, अदालतले मुद्दालाई लम्ब्याउने या पेण्डिङमा राख्ने जस्ता शक्ति पर्दापछाडि लुकेर खेल खेलिरहेका हुन्छन् ।
यस्ता ठूला अपराधीहरू आफ्नो दिगो संरक्षणका लागि प्रायः राजनीतिको आश्रय लिन पुग्छन् । तिनैले राजनीतिलाई भर्याङ्ग बनाएर उल्टै हामीमाथि शासन गर्ने बिडम्बनापूर्ण अवस्थाको कारण भ्रष्टाचार राजनीति र अपराधबीचको साँठगाँठलाई सहजै बुझ्न सकिन्छ ।
जनजीवनको सहजीकरण
सामान्यतया जनताका आधारभूत आवश्यकताको परिपूर्ति र दैनिक प्रशासनिक कार्य चुस्तदुरुस्त बनाउन राज्यले खासै चाँसो नदेखाउँदा जनताका जल्दाबल्दा समस्याहरू क्रमशः सल्किन थालेका छन् ।
जब कुनै ब्यक्तिको पेटको भोक बढेर दिमागसम्म पुग्छ, तब त्यो भोकलाई शान्त पार्न दालभातले होइन क्रान्ति नै चाहिन्छ क्रान्ति ! भन्ने कुराको हेक्का शासकहरूले राखिदिएको भए केही दिनअघिको बालकुमारी घटनालाई रोक्न सकिन्थ्यो ।
भनिन्छ, कानुनको नजरमा हरेक नागरिक समान छन्, तर राज्यको सौतेनी व्यबहार टिठ लाग्दो पाइन्छ । देशमा काम, माम र सुरक्षाको ग्यारेन्टी छैन । ब्यवस्था फेरियो, तर अवस्था फेरिएन । फेरियो त केवल कानुनविपरीत अनैतिक काम गर्नेहरूको मात्र ।
समाज वैज्ञानिक फ्रैंक पीयर्स भन्नुहुन्छ– ‘‘कानुनको फाइदा सत्ता अधिनस्थ ब्यक्तिले पाउने गर्छन् । किनकि यो शासकवर्गको उपकरण हो । यो सत्तानिकट ब्यक्तिको हितका लागि सक्रिय रहने गर्दछ ।’’
उनको यो अकाट्य भनाइले पनि यसलाई थप पुष्टि गर्दछ ।
भौतिक सुखको चाहना
आजको उपभोक्तावादी समाजमा ब्यक्तिको आफ्नो घरायसी आवश्यकताभन्दा पनि आफ्ना निजी तृष्णा र बासना पूरा गर्न ब्यक्ति बढी लालायित देखिन्छन् । साँचो अर्थमा ब्यक्तिको घरायसी आवश्यकता त पूरा गर्न सकिन्छ, तर ब्यक्तिभित्र लुकेको तृष्णा र भोगवादी लिप्सा पूरा गर्न सकिन्न ।
भगवान बुद्ध भन्नुहुन्छ; ‘‘हाम्रा असीमित इच्छा आकांक्षाहरू दुःख र अपराधका कारण बन्दछन् । तथापि मानिस शारीरिक तथा बाह्य विषयवासनाको आकर्षणको पछाडि यसरी डुब्न खोज्छन्, जसरी पानीमा एकपछि अर्को भेडा बथान ।’’
सोसल मिडियाको असर
लोकप्रिय बन्दै गएको सोसल मिडियाको असर जनजनसम्म फैलिएको छ । यसको दुरूपयोगले फेसबुक इन्स्टाग्राम टिकटक आदिमा अरुको अनुमतिविना फोटो प्रयोग गरेर मानहानी गर्ने, अश्लील फोटोमार्फत फिरौती माग्ने, नक्कली प्रोफाइल बनाएर अपराधिक गतिविधिमा संलग्न हुने कर्म बढ्दै गएका छन् ।
अर्काको वेबसाइटबाट महत्वपूर्ण जानकारीको चोरी ठगी, प्रेम प्रसंग, बैंक खात ह्याक गर्नेदेखि अश्लील विज्ञापन र नग्न तस्बिर प्रदर्शनले समाजमा ब्यभिचारलाई प्रोत्साहित गर्छ ।
जसले ब्यक्तिमा आशक्ति उत्पन्न गर्छ र त्यही आशक्तिले अपराध जन्माउन बल पुर्याएका हुन्छन् ।
बालबालिकाहरूको हेरविचार
आधुनिक मनोविज्ञानको खोजअनुसार बाल्यकालमा आमा–बुवाहरूको माया र स्याहार–सुसार सही वातावरणमा हुर्कन नपाउँदा उनीहरूको मनमा यावत किसिमका हिनताको मानसिक ग्रन्थीहरू विकसित हुन्छ । जसकाकारण केटाकेटीहरू दिग्भमित हुन्छन् ।
डाक्टर अल्फ्रेड एडलरका अनुसार, जुन बालबालिकाको मनमा हिनताको मानसिक ग्रन्थीहरू विकसित भएका हुन्छन्, त्यस्ता केटाकेटीहरू प्रायः अपराधिक गतिविधिहरूमा संलग्नता हुने गर्छ ।
यसबाहेक अन्य मनोवैज्ञानिक कारणहरू प्रेममा असफलता, दुर्ब्यसन परिवारिक कलह, बेरोजगारी, भड्किलो जीवनशैली, ब्यापारमा असफलता, मादक पदार्थ सेवन, वैमनश्यता र सामाजिक बहिष्कार, नैतिक शिक्षा र संस्कारको अभावलगायत विभेद र अनैतिक क्रियाकलापहरूलाई प्रोत्साहित गराएका हुन्छन् ।
जबकि सरकारसँग अपराध नियन्त्रण गर्न तमाम किसिमका जनशक्ति श्रोत साधन र संयन्त्रहरू हुँदा पनि ठूल्ठूला अपराधीहरूको गतिविधिमा अंकुश लगाउन सरकार असमर्थ रहनुको कारणलाई ज्यादा खोतल्नु नपर्ला ।
सारांशः समाजमा अपराध गर्ने अपराधी भन्दा पनि अपराध गर्नुको कारण बुझ्न सकियो भने दिगो समाधान भेट्याउन सकिन्छ । राज्य अभिभावक भएपछि आफ्ना नागरिकको रोग, भोक र शान्ति सुरक्षाको जिम्मा सरकारको दायित्वभित्र पर्छ ।
राज्यले आफ्ना नागरिकप्रति जवाफदेही नहुने हो भने उत्पन्न परिस्थितिको भागी नागरिक होइन, स्वयं सरकार हुनुपर्छ । तर, यसो भन्दै गर्दा नागरिक समाज यसबाट उम्कन भने मिल्दैन । किनकि हाम्रो घर परिवारबाटै अपराधीहरू जन्मने हुँदा निश्चिति रूपमा हामीले पनि स्वस्थ्य समाज निर्माणमा आफ्नो सकारात्मक भूमिका निभाउन जरुरी छ ।
यसैगरी राज्यले पनि खुट्टा नकमाइ कम्तीमा सफेद पोशाकका राष्ट्रिय अपराधीहरूमािथ छानबिन गरी न्यायको कठघरामा उभ्याउने र सख्त कारबाहीको दायरामा ल्याउन सक्यौ भने धेरै हदसम्म समाज र राजनीतिका अपराधीहरूलाई कस्न सफल हुनेछौँ ।
यद्यपि तत्कालीन अवस्थामा अपराधलाई पूर्णरूपले नियन्त्रण गर्न नसकिए पनि कम्तीमा कानुनको नजरमा सबै नागरिक समान छन् भन्ने मान्यतालाई समाजमा स्थापित गर्न मुहान सफा गर्न जरुरी छ । किनकि स्वस्थ्य राजनीतिविना स्वस्थ्य समाज र समृद्ध राष्ट्रको कल्पना गर्न सकिन्न ।
तसर्थ, सरकार र न्याय ब्यवस्थाको कार्यशैलीमा सुधार र नागरिकमा जागरुकता बढाएर नैतिक विकास गर्न सकेको खण्डमा न्यायपूर्ण समाजको स्थापना त्यति टाढा छैन ।