क्याप्टेन वीरध्वज आफ्नी सानी नातिनीसँग सिकुवामा खेल्दै थिए । उनका छोराबुहारी यूकेतिरै बस्छन् । यसपालिको दसैँ मनाउन भनेर छोराबुहारी र नातिनी गाउँ आएका छन् ।
अचानक उनको आँखा आँगनछेउ रहेको एउटा जुठो डबकामा पर्यो । डबका देखेर रिसको पारो चढेर आयो र उनी चिच्याए–
“हैन, यो माइला कामीले भर्खरै जाँड खाएको डबका हैन ? नमाझी गएछ कि क्या हो !”
“हो त । यो त त्यही डबका हो !,” क्याप्टेनीले थपिन् ।
माइला कामी दिउँसो दाउरा चिर्न क्याप्टेनकहाँ खेताला आएको थियो । सम्झेर क्याप्टेनलाई सही नसक्नु भो ।
“लोकतन्त्र र गणतन्त्र आएपछि यसले सारै पो हेप्न थाल्यो हौ ! पेल्नुको पनि सीमा हुन्छ नि गाँठे, भित्तामै पो पुर्याउन थाल्यो त !”
त्यसपछि क्याप्टेनले माइलालाई मोबाइलमा लगातार फोन गरे । फोन उठेन । उनको रिसको पारो झन्झन् चढ्दै गै’रहेको थियो । त्यसपछि त झन् सारो झोक्किँदै ‘त्यसलाई घिसारेर ल्याउँछु’ भन्दै माइलाको घरतिर लम्किए ।
एक घण्टापछि क्याप्टेन वीरध्वज अघिअघि माइला पछिपछि उही आँगनमा आइपुगे । बुढाको रिस मरेकै थिएन । गनगन गरिरहेकै थिए । माइला भने डराइडराइ ‘भुसुक्कै बिर्सेछु काका, म माझिहाल्छु’ भन्दै थिए ।
अचानक सबैको आँखा एकसाथ डबकामा पर्यो । डबका चम्किरहेको थियो । कसैले अघि नै माझिसकेको थियो । जुठोको कुनै अवशेष थिएन ।
बुढा फेरि कड्किए, “कसले माझ्यो हँ यो डबका ?”
यूकेवासी सानी नातिनीले झिनो स्वरमा जवाफ दिई, “हजुरबा, मैले माझेको नि ! हजुर बेस्सरी रिसाइस्यो, अनि मैले माझिदिएँ । जसले माझे’नि भै’हाल्छ नि जाबो एउटा भाँडा त !”
क्याप्टेन वीरध्वज अक्क न बक्क परे । माइलाले मनमनै सोच्यो– ओहो, यो गणतन्त्र, समानताजस्ता कुरा भनेका त बालापन र बालमनमा मात्रै पो हुँदो रहेछ !