site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वर्ष २०२३ : यी हुन् खेलकुदका चार महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२४ आजदेखि सुरु हुँदा सन् २०२३ खेलकुदका लागि सन्तोषजनक रह्यो । यस वर्ष फिफा महिला विश्वकपले नयाँ विजेता पायो । 

क्रिकेटतर्फ महिला ट्वान्टी–२० विश्वकप सम्पन्न हुँदा कोभिड–१९ महामारीले निर्धारित समयमा हुन नसकेको एसियाली खेलकुद पनि सफलतापूर्वक सम्पन्न भए । क्रिकेटमै पुरुष एकदिवसीय विश्वकपबाट नयाँ विजेताको टुंगो लाग्यो । वर्षको अन्तिमतिर विश्वकपको उपाधि जितिसकेको श्रीलंका विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीबाट प्रतिबन्धमा पर्‍यो ।

यसरी हेर्दा वर्ष २०२३ विश्व खेलकुदमा उतारचढावपूर्ण रह्यो । खेलकुदमा गएको वर्षमा भएका प्रमुख चार प्रतियोगितालाई बाह्रखरीले यसरी समेटेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आईसीसी महिला ट्वान्टी–२० विश्वकप क्रिकेट
सन् २०२३ मा दक्षिण अफ्रिकाले आईसीसी महिला ट्वान्टी–२० विश्वकपको सफल आयोजना गर्‍यो । फेब्रुअरी १० देखि २६ सम्म सञ्चालन भएको प्रतियोगितामा कुल १० टिमको सहभागिता थियो । महिला विश्वकपको यो संस्करणको उपाधि अस्ट्रेलियाले जितेको थियो । अस्ट्रेलियाले फाइनलमा घरेलु टिम दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै छैटौँ पटक विश्वकपको उपाधि जित्यो ।

प्रतियोगितामा कुल २३ खेल भएका थिए । अस्ट्रेलियाका अस्लेघ गार्डनर सर्वोत्कृष्ट खेलाडी चुनिइन् । २३० रनसहित दक्षिण अफ्रिकाकी लौरा वोल्भार्डिट सबैभन्दा धेरै रन जोड्ने खेलाडी बनिन् । यस्तै, इंग्ल्यान्डकी सोफी एक्लेस्टोन ११ विकेटसहित सबैभन्दा धेरै विकेट लिने खेलाडी बनिन् । महिला विश्वकपको यो संस्करणमा कुनै पनि एसोसिएट राष्ट्रको सहभागिता थिएन ।

Global Ime bank

फिफा महिला विश्वकप
यस वर्षको जुलाई २० देखि अगस्ट २० सम्म अस्ट्रेलिया र न्युजिल्यान्डले महिला विश्वकपको सफल आयोजना गरे । पहिलो पटक ३२ टिमले प्रतिस्पर्धा गरेको प्रतियोगिताको उपाधि स्पेनले जितेको थियो ।

पहिलो पटक महिला विश्वकपको उपाधि उचालेको स्पेनले फाइनलमा इंग्ल्यान्डलाई १–० ले हराएको थियो । फाइनलमा स्पेनलाई च्याम्पियन बनाउन ओला कार्मोना गार्सियाले निर्णायक गोल गरेकी थिइन् । स्पेनले उपाधि जित्दा इंग्ल्यान्ड उपविजेता, स्वीडेन तेस्रो र सह–आयोजक अस्ट्रेलिया चौथो भएको थियो ।

विश्वकपका कुल ६४ खेल भएका थिए । जसमा कुल १६४ गोल भएका थिए । जापानकी हिनाता मियाजावा पाँच गोलसहित प्रतियोगिताको उच्च गोलकर्ता बनेकी थिइन् । स्पेनकी आइतेना बोनमती प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिँदा स्पेनकै साल्मा पाराइलो उदीयमान खेलाडी घोषित भएकी थिइन् । इंग्ल्यान्डकी म्यारी एराप्सले ‘गोल्डेन ग्लोब्स्’ जितिन् । यस्तै, जापानले प्रतियोगिताको ‘फेयर प्ले अवार्ड’ पाएको थियो ।  

१९औँ एसियाली खेलकुद
एसियाली खेलकुदको १९औँ संस्करण सन् २०२२ मा हुने तालिका थियो । तर, कोभिड–१९ को महामारीले एसियाली खेलकुदको यो महाकुम्भ निर्धारित मितिमा हुन सकेन । जुन २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङझाउमा सफलतापूर्वक आयोजना भयो । १९औँ एसियाली खेलकुदमा कुल ४५ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । यस्तै, राष्ट्रबाट प्रतिनिधित्व नगरी १२ खेलाडीले स्वतन्त्रपूर्वक ओलम्पिकको झन्डामा प्रतिस्पर्धा गरेका थिए ।

एसियाली खेलकुदको यस संस्करणमा नेपालबाट कुल २५३ खेलाडीको सहभागिता थियो । जसमध्ये खेलमा मात्र नेपाल पदक जित्न सफल भयो । करातेकी एरिका गुरुङ र महिला कबड्डी टिमले नेपाललाई पदक दिलाएका थिए । एरिकाले रजत पदक जित्दा कबड्डी टिमले कांस्य जितेको थियो ।

आयोजक चीन कुल ३८३ पदकसहित खेलकुदको शीर्ष स्थानमा रहन सफल भयो । जसमा २०१ स्वर्ण, १११ रजत र ७१ कांस्य पदक थिए । दोस्रोमा रहेको जापानले ५२ स्वर्णसहित कुल १८८, तेस्रोको दक्षिण कोरियाले ४२ स्वर्णसहित १९०, चौथोको भारतले २८ स्वर्णसहित १०७ र पाँचौँको उज्वेकिस्तानले २२ स्वर्णसहित ७१ पदक जिते ।

आईसीसी पुरुष एकदिवसीय विश्वकप
आईसीसी पुरुष एकदिवसीय विश्वकपको १३औँ संस्करण पनि सन् २०२३ मै सम्पन्न भयो । भारतले आयोजना गरेको विश्वकपको यस संस्करणमा कुल १० टिमको सहभागिता थियो । अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म गरी करिब डेढ महिना चलेको प्रतियोगितामा कुल ४८ खेल भएका थिए ।

राउन्ड रोविन लिग पद्दतिमा सञ्चालित प्रतियोगिताका शीर्ष चार टिम सेमिफाइनल प्रवेश गरेका थिए । एकदिवसीय विश्वकपको सबैभन्दा सफल टिम समेत रहेको अस्ट्रेलियाले छैटौँ पटक उपाधि जित्यो । प्याट कुमिन्सको कप्तानीमा रहेको अस्ट्रेलियाले फाइनलमा घरेलु टिम भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।

उपाधि अस्ट्रेलियाले जिते पनि व्यक्तिगत विधातर्फ भने भारतीय खेलाडीको दबाब रह्यो । भारतका विराट कोहली प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । ७६५ रनसहित कोहली नै सबैभन्दा धेरै रन बनाउने खेलाडी बने । यस्तै, भारतकै मोहम्मद सामी २४ विकेटसहित सबैभन्दा धेरै विकेट लिने खेलाडी बने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १६:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय