site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
राजाले बीपीको कुरा सुनेको भए राजतन्त्र स्थायी बन्न सक्थ्यो

आज पुस १६ अर्थात् राष्ट्रिय मेलमिलाप दिवस । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आठ वर्षसम्मको जेल र आठ वर्षको निर्वासित जीवन अन्त्य गर्दै राष्ट्रिय शक्तिबीच मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिन । 

आफूविरुद्ध मृत्युदण्डसहित सातवटा मुद्दा रहेका बेला बेपर्वाह स्वदेश फर्किएका बीपी कोइरालाले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्र रक्षाका लागि राष्ट्रिय शक्तिबीच एकताको नीति लिएर आएका थिए । नेपाल फर्किंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी थुनिएका बीपीले राजतन्त्रलाई स्थायी शक्तिका रूपमा स्वीकार गरेका थिए ।

०३३ सालमा बीपीले लिएको उक्त कदमले नेपालमा प्रजातन्त्र पुनःस्थापनाको जग स्थापित भएको मानिन्छ । त्यसबेला बीपीले लिएको मेलमिलाप नीतिको भाव र सन्दर्भका विषयमा बाह्रखरीले उतिबेला सक्रिय पत्रकारितामा रहेका पत्रकार होमनाथ दाहालसँग कुराकानी गरेका छाैँ । सक्रिय पत्रकारितामार्फत राजनीतिक दलका पक्षमा मत निर्माणको भूमिका निर्वाह गरेका दाहाल पछि पत्रकार महासंघ अध्यक्ष तथा नेपाल सरकारको कृषि तथा सहकारी मन्त्रीसम्म भए । प्रस्तुत छ : उनै दाहालसँग बाह्रखरीका रमेश वाग्लेले गरेको कुराकानीको सम्पादित अंश ।
 
राष्ट्रिय मेलमिलाप नीति बीपीले कस्तो अवस्थामा लिएका थिए ? 
त्यसबेला देश ठूलो संकटमा थियो । सबै शक्ति राजा र राजनीतिक दल मिलेर मात्र राष्ट्रको अस्तित्व बचाउन सकिन्छ भन्ने बीपीको भावना थियो । राष्ट्रिय संकटको समाधान राजा र राजनीतिक शक्तिहरूले मिलेर गर्नुपर्छ भन्ने उहाँको विचार थियो ।

पाकिस्तान टुक्रिएर बंगलादेशको जन्म भएको थियो । सिक्किम भारतमा गाभिइसकेको थियो । भारतीय प्रधनमन्त्री इन्दिरा गान्धीले संकटकाल लगाएकी थिइन् । संकटकाल फिर्ता गरेपछि चुनाव गराएकी थिइन् । उक्त चुनावमा उनले जेल पुर्‍याएका व्यक्तिहरूले चुनाव जिते । उनी र उनका समर्थकहरूले चुनाव हारेका थिए । 

उक्त चुनाव हुनुभन्दा पहिले नै बीपी नेपाल आउनुभएको थियो । उहाँलाई सातवटा मुद्दा लगाइएको थियो । त्यसमध्ये एउटामा त फाँसीको माग गरिएको थियो । फैसला गर्ने न्यायाधीशले नै भनेका थिए– मलाई पटक–पटक फाँसी दिनेगरी फैसला गर्नुस् भन्ने दबाब थियो, मैले त्यसो गरिनँ ।

Global Ime bank

त्यहीबेला अमेरिकामा पनि राष्ट्रपति चुनावमा जिमी कार्टरले एउटा नारा दिए, ‘अमेरिकी परराष्ट्र नीतिको आधार : मानव अधिकार ।’ त्यो नाराको असर संसारभर पर्‍यो । तिनै दबाबले यहाँ पनि बीपीलाई तारिखमा छाडियो । बीपी तारिखमा छुटेपछि आन्दोलन चर्किँदै गयो । २०३६ मा जनमत संग्रह भयो । त्यसमा अनेक तिकडम र सरकारी प्रभावबाट निरंकुश पञ्चायती व्यवस्थालाई नै जिताउने काम भयो ।

मुलुकको राष्ट्रिय अध्ययन र अस्तित्व बचाउने र देशभित्रका शक्तिहरू राजा र राजनीतिक दलबीच मेलमिलाप गरी मुलुकलाई  बाह्य हस्तोपबाट मुक्त बनाउने राष्ट्रिय मेलमिलाप नीतिको मूल उद्देश्य थियो । 
    
त्यसबेला बीपीले ‘राजासँग मेरो घाँटी जोडिएको छ’ भन्नुको तात्पर्य ? 

नेपालमा एकातिर राजा थिए, अर्कातिर राजनीतिक दल । राष्ट्रिय शक्ति राजा र प्रजातान्त्रिक शक्ति नेपाली कांगे्रस थिए । यी दुईको मेलमिलापबाट मात्र बाह्य चुनौतीसँग जुध्न सकिन्छ भन्ने उहाँको निस्कर्ष थियो । यी दुवैको सहकार्यविना राष्ट्रको सार्वभौमसत्ताको रक्षा हुँदैन भन्ने आधारमा एउटा प्रतिनिधि राजा र अर्को जनताको प्रजातान्त्रिक शक्तिको प्रतिनिधिमा आफूलाई उभ्याएर उहाँले सहअस्तित्व बुझाउन त्यो वाक्य प्रयोग गर्नुभएको हो ।

विदेशी शक्तिहरूको चहलपहल बढेको थियो । अफगानिस्तानलाई सोभियत संघले कब्जा गरिसकेको थियो । पाकिस्तान टुक्रिएर बंगलादेश बनेको थियो भने सिक्किम भारतमा विलय भएर दक्षिण एसियामा पूरै उथलपुथल भइरहेको थियो । त्यस्तो बेलामा फाँसीको सजाय हुने अवस्था रहँदा पनि उहाँ नेपाल आउनुभयो ।
 
वीरेन्द्र ‘प्रजातान्त्रिक राजा’ भन्ने भाष्य निर्माण भएको थियो । उनले बीपीले लिएको मेलमिलाप नीति किन बोक्न सकेनन्, ०३६ सालमा निर्दललाई जिताउने भूमिका किन निर्वाह गरे ?

कसले के भन्छ, कसैलाई रोक्न सकिन्न । राजा वीरेन्द्रले राजनीतिक दलहरूलाई प्रतिस्पर्धा गर्न दिएर जनताको बल एकीकृत गर्ने र आफू संरक्षकको भूमिकामा बस्ने सवालमा केही गर्न नसकेकै हुन् ।

बीपीले त बेलायतको सन्दर्भ देखाएर राजाले पञ्चायतलाई पार्टीकै रूपमा अघि बढाउन् र नेपाली कांग्रेसले त्यो पार्टीसँग प्रतिस्पर्धा गर्छ । दलीय प्रतिस्पर्धाको अभ्यासमा जाऔं भनेर पटक–पटक भन्न खोज्नुभएको थियो । सार्वजनिक रूपमा भनिएको पनि थियो । त्यो कुरा राजा वीरेन्द्रले अघि बढाउन सकेनन् । बीपीको स्वास्थ्य पनि त्यहीबेला बिग्रदै गयो । जनमतसंग्रहमा तत्कालीन राजादेखि सरकार र कम्युनिष्ट पार्टीले पनि निर्दल रोज्ने काम गरे । फलस्वरुप जनमत संग्रहबाट पञ्चायतलाई नै जिताउने काम भयो । 


बीपीले दिएको पटक–पटकको मौका राजाले उपयोग गर्न र अघि बढाउन सकेनन् । बीपीको प्रस्ताव स्वीकार गरेर राजा अघि बढाएर पञ्चायत र कांग्रेसबीच मात्रै भए पनि प्रतिस्पर्धा गराउन सकेको भए राजतन्त्र पनि रहन्थ्यो र मुलुकको अवस्था पनि अर्कै हुने थियो । 

तर, राजाले सही कुरा के हो भनेर बुझ्न सकेनन् वा बुझेको कुरा अघि बढाउन सकेनन् । फलस्वरुप आन्दोलनको बलमा प्रजातन्त्र स्थापना गर्नुपर्‍यो । ०४६ को जनआन्दोलनबाट प्रजातन्त्र आयो । राजाले प्रजातान्त्रिक शक्तिका बीचमा खेल्ने काम भयो । राजाले प्रजातान्त्रिक शक्तिलाई मित्र शक्तिका रूपमा अघि बढाउन नसक्नु नै ऐतिहासिक भूल भयो । माओवादी समस्या चर्किएर गयो । राजा त्यसको समाधानभन्दा प्रजातान्त्रिक शक्तिहरूलाई कमजोर पार्ने अवसरका रूपमा उपयोग गर्ने रणनीतिमा देखिए । फलस्वरुप राजतन्त्र गयो ।

राणाविरोधी आन्दोलनमा कांग्रेसले जनतासँगै राजतन्त्रलाई केन्द्रमा राख्यो । राजाले विभिन्न शक्तिको प्रयोग गरेर शक्ति आफूले लिँदा कांग्रेसले राजतन्त्र नै भन्यो, महेन्द्रको युवराजधिराज पद खोसिन लाग्दा बीपीले नै सहयोग गरे, तर राजा कांग्रेसप्रति सँधै ‘नकारात्मक’ किन भए ? 

०१७ साल पुुस १ को महेन्द्रको कदम राष्ट्रिय दुर्भाग्य थियो । वास्तवमा नेपालमा राजतन्त्रका विरुद्धमा एउटा विचार निर्माण गर्ने काम त्यो घटनाले गरेकै हो । जसमाथि  जनताको विश्वास छ, उसैमाथि राजाको बक्रदृष्टिले नै राजतन्त्रका विपक्षमा मत निर्माण भएको हो ।

महेन्द्रले त्यसबेला जननिर्वाचित सरकार र संसदलाई व्यवस्थित रूपमा अघि बढाउन भूमिका खेलेको भए देशको अवस्था नै अर्कै बन्न सक्थ्यो । त्यो सुनौलो अवसर राजा महेन्द्रले मात्र होइन नेपालको राजतन्त्रले नै गुमाउँदै आएको छ ।
 
तर, जतिबेला राष्ट्रिय मेलमिलापको नीति लिँदै बीपी स्वदेश फर्कनुभयो र राष्ट्रिय शक्तिबीचको एकताको विचार राख्नुभयो त्यसलाई राजा वीरेन्द्रले नकार्न सकेका थिएनन् । बीपीले भारत बसाईमै राष्ट्रिय सुरक्षामा चुनौती देखेर स्वदेश फर्कनु भएको थियो ।  अन्तर्राष्ट्रिय शक्ति केन्द्रको खेलमा नेपालका शक्तिहरूलाई प्रयोग गरेर देशको अस्तित्व नै समाप्त बनाउने खेलमा कसैले लाग्नु हुँदैन भन्ने सन्देश लिएर आउनुभएको बीपीको प्रस्ताव राजाले अघि बढाउन सकेनन् ।

घटनाक्रम अर्कैतिर मोडियो । यदि, त्यो समयमै राजा र प्रजातान्त्रिक शक्तिको सहकार्य हुन सकेको भए देशको अवस्था अर्कै हुने थियो । त्यसपछिका थुपै्र घटनाक्रम हामीले देख्नु पर्दैन थियो होला । अस्थिरता, अराजकता देख्नुपर्ने अवस्था नहुन सक्थ्यो । राजा सम्मानित स्थायी शक्तिका रूपमा रहन सक्थे । स्थिर सरकारको निरन्तरताले देशको मुहार अर्कै बन्थ्यो । राजाको अदूरदर्शिताले देश गणतन्त्रमा आइपुगेको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu