site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बोतल्ची 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad


ऊ अर्थात् श्यामानन्द बोगटी । श्यामानन्द बोगटी अर्थात् बोतल्ची ।

विगत एक दशकदेखि मानिसको स्मृतिकोषबाट श्यामानन्द बोगटी नाम ओझेल पर्दै गएको छ । अर्थात्, यसो भनूँ – यस नामलाई ‘बोतल्ची खर्दार’ले करिबकरिब विस्थापन गरिदिएको छ ।

उसको फाँटमा परेको काम छिटोछरितो रूपमा लिनु छ भने अरू कुनै उपायले हुँदैन । अरू कुनै चिज कबुलेर पनि हुँदैन । उसलाई हातहाती नखतको पनि कुनै लोभ हुन्न । बरु, आँखा झिम्क्याएर औँलाको इसाराले बोतल र गिलासको संकेत गर्दै ‘भरे एक बोतलको व्यवस्था पक्का हुन्छ’ भनेपछि फाइल सटासट अगाडि बढ्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हातले बोतलको भाउ लाउनेबित्तिकै उसको चेहेरामा एक स्थित मुस्कान दौडिन्छ । बोतलको कुरा आउनासाथ अझ यसो भनूँ – बेलुकाको दारुपानीको छाक ग्यारेन्टी हुनेबित्तिकै उसको सेक्सनबाट हुने काम विनारोकटोक अघि बढ्छ ।

कथम्कदाचित् बोतल्चीलाई बोतलको लालच देखाइएन भने त्यो फायल कति दिनसम्म उसको घर्रामा अड्किने हो स्वयम् उसैलाई थाहा हुन्न । उसको मनोदशा पढ्न माहिर सेवाग्राहीले फाइलको काम हुनेबित्तिकै बोतलको व्यवस्था हुने कुरा कानमा सुट्ट भरिहाल्छन् र समयमै काम पट्याएर बाटो लाग्छन् ।

Royal Enfield Island Ad

दुर्गम गाउँबाट आएका कतिपय अदना सेवाग्राहीलाई यो सूत्र थाहै हुन्न । अनि, पाउनसम्म दुःख पाउँछन् । होटलको खाना र बासले खल्ती रित्याउँछन् ।

ऊदेखि सामुन्ने दिशामा अर्काे कारिन्दाको टेबुल छ । त्यो पनि बोतल्चीकै सहकर्मी हो । सरकारी कर्मचारी नै हो, तापनि शरीरमा अक्सर पीतवस्त्र धारण गर्छ । निधारमा रक्तचन्दनको ठाडो टीका लट्काउँछ । त्यो चन्दन–टीकाको लम्बाइ निकै लामो छ । करिब चारऔँला लामो टीकोले उसको व्यक्तित्वको आभालाई अरूभन्दा पृथक् गराएको छ ।

उसको मुखमा राधे ! राधे ! को स्थायी थेगो झुन्डिबसेको छ । जीवनमा पैसाको पछि लाग्दा कतिचोटि उसले भातपानी बिर्सेको होला, खान सुत्न भुलेको होला । तर, रातो चन्दनको ठाडो टीका लगाउनुमा र राधेराधेको थेगो जप्नुमा न कुनै दिन बिराम छ न कुनै पल विश्रान्ति छ ।

त्यस अड्डामा चन्दन–टीकाबाटै उसको सकल व्यक्तित्वको स्वपहिचान खुलेको खुलेको छ । ऊ अर्थात् रविनन्दन काफ्ले । रविनन्दन काफ्ले अर्थात् चन्दने खर्दार ।

रविनन्दन काफ्ले नाम अड्डाको हाजिरी ढड्डामा अंकित छ । उसको गोजीमा रहेको नागरिकताको प्रमाणपत्रमा लिपिबद्ध छ । उसको कन्तुरमा रहेको नियुक्तिपत्रमा त्यो नाम सुरक्षित छ ।

तर, देख्नेचिन्नेको दिमागबाट वस्त्रको रङ खुइलिएजस्तो उडिसकेको छ । मानिसका दिमागमा ‘चन्दने खर्दार’ नामले एकछत्र आसन जमाइसकेको छ ।

यी विपरीत स्वभावका दुई कारिन्दाले काम फत्ते गर्न आउने ग्राहकलाई फनफनी घुमाएको दृश्य गोचर हुन्छ । सेवाग्राहीहरू चन्दनेको टेबुलमा पुग्नासाथ कुटिल मुस्कानले त स्वागत गर्छ, तर यो कुन खालको मुर्गा हो, यसलाई कतिमा भसाउने हो भनेर तुरुन्तै गम खान थालिहाल्छ ।

ग्राहकलाई कुटिल मुस्कानले स्वागत गरिरहँदा उसका उपर–गिजामा जडित कृत्रिम दन्तलहर थोरै अघिपछि अघिपछि गर्दै चाकाचुली खेलेको दृश्य देखिन आउँछ । दन्तपंक्तिको जडान या रसायन ठिकसित नभएको कुरा जोसुकैले अनुमान गर्न सकिहाल्छ ।

चन्दने शुद्ध निरामिस व्यक्ति हो । धूमपान, मद्यपान र सबै प्रकारका कुलतबाट मुक्त व्यक्ति हो । उसको एउटै लत छ – सानो काम होस् या ठूलो काम, अलिकति भए पनि अतिरिक्त पैसा खानैपर्ने ।

आफ्नो तलबलाई कतैबाट पनि खोट लाउनु हुँदैन भन्ने मान्यता छ उसको । पैसा खानुको कुनै विधि र मापदण्ड छैन । पाँच रुपैयाँदेखि पचास हजारसम्म ग्राहकको थैली हेरीहेरी रकम निचोर्न माहिर छ । उसलाई कुनै जिन्सी कबुलेर हुँदैन । हाताहात्ती नखतै बोल्नुपर्छ ।

बोतल्चीले पाँच हजारको काम पचासै रुपैयाँको एक बोतल ठर्रामा तमाम गरिदिएको दृश्यले कतिपय बेला उसको टुप्पीबाट झ्वाँलो फुट्ने गर्छ । यस्ता दृश्यले अक्सर चन्दने घायल हुने गर्छ । पैसाको दीर्घकालीन महत्त्व बुझाउन खोज्छ । बोतलबाट मिल्ने क्षणभंगुर आनन्द र स्वास्थ्यको हानि सम्झाउन खोज्छ ।

बोतल्ची रन्केर जवाफ दिन्छ, “रविनन्दन दाइ, तपार्इंको कात्रोमा चैँ गोजी सिलाउन लाउनु है केटाहरूलाई !” हाऽहाऽहाऽऽऽ  गर्दै लामो अट्टहास छाड्छ । त्यो घडी चन्दने चुपै रहन्छ ।

बोतल्चीलाई धनको अम्बार उभ्याउनुमा कुनै रुचि छैन । रस पनि छैन । ऊ त ऋणम् कृत्वा घृतम् पिवतेको दर्शनबाट निर्देशित छ । कसैले खाली बोतलमा डुबेर पुग्छ ? भनी प्रश्न गर्यो भने तुरुन्तै जवाफ दिइहाल्छ– उठ् जोगी फट्कार छाला, जता जाला उतै खाला । यस्तो निश्चिन्त मनले बोतलमै रमी बस्छ ।

उसलाई अफिसबाट छुटेपछि हरेक साँझ एकदुई बोतलमा डुब्न पाए पुग्छ । आफ्नै दामली फाँटवाला साथीहरूले कसैले काठमाडौंमा घरेडी जोडिसके । कसैले विराटनगर, इटहरीमा महल उभ्याइसके । ऊ भने अझसम्म छ नंगा फकिर ।

फकिर त के भनूँ, आफ्नै बाउले जोडिदिएको पैतृक जग्गामा टिनले छाएको पुरानो एकतले सेन्टिबेराको घर छ । जमानामा गाडेका सखुवाका खाँवा भित्रभित्रै धमिराले चिरिप्प पारिसकेको छ । तथापि, त्यसैलाई टालटुल पारेर गुजारा चलाइरहेको छ ।

नयाँ घर बनाउनुको कुनै सुरसार छैन । न पुरानो घर गतिलो किसिमले मर्मत गर्नुमा कुनै चासो छ । पत्नीले उसलाई नसम्झा’की होइनन् । ऊ त बिन्दास पाराले सजिलै बोलिदिन्छ, “घर नहुने मान्छेको रुखमुनि त जीविका चलेको छ, मान्छेले लाखौँ वर्ष कहाँ घर बनाएर बसेको थ्यो र ? ओढारमा त गुजारा चलेको थ्यो । यो घर त हाम्रो लागि दरबार हो दरबार । हेर्, मरेपछि केही जाँदैन । नांगै जानु छ । बेकारमा घर भएन, सम्पत्ति भएन भनी के चिन्ता गर्छेस् !”

बोतल्ची बोल्दाबोल्दै मानिसलाई अवाक् तुल्याइदिन्थ्यो । ऊ पनि एक साधारण मान्छे हो । कहिलेकाहीँ विभिन्न दिमागी प्वालबाट तनाव नघुस्ने त होइन, तर जीवनमा सारा दुश्चिन्ता भुल्न एक बोतल दारु उदरस्थ गरिदिन्छ, छिनभरमै सारा समस्या खलाँस हुन्छन् ।

सुरुसुरुमा मानसिक चिन्ता र अशान्ति भुल्नका लागि बोतलको शरणमा गएको हो । अब त ऊ एक जब्बर आदती भइसकेको छ ।

जीवनका तमाम चिज सजिलै छोड्न सक्छ । भुल्न सक्छ । तर, रक्सीलाई अब ऊ छोड्न पनि सक्तैन । भुल्न पनि सक्तैन । अहिले त दुःखमा खाने चिज पनि त्यही रक्सी छ । सुखमा खाने चिज पनि त्यही रक्सी । मानसिक बेचैनी भुल्न पनि बोतलकै शरण पर्छ । चैनको आह्लादकारी क्षणमा पनि रक्सी खाएरै उत्सव मनाउँछ ।

दोपहर भएपछि अड्डामा कुनै तनावको ज्वर मनमा उठ्यो भने कुदेर मगर्नी साइँलीको भट्टीमा छिरिहाल्छ । शुद्ध एक बोतल चढाएपछि उसको व्याख्यामा एक अपूर्व ताजगी प्राप्त गरेर निस्कन्छ । 


बोतल्चीको जन्म आजभन्दा त्रिपन्न वर्षअघि यसै थलोमा भएको हो । यसै थलो अर्थात् उदयपुरको भित्री मधेसखण्डमा पर्ने त्रियुगा उपत्यकाको एक खुँजेली गाउँमा । ऊ जन्मिदा भर्खरै पुरानो उदयपुरगढीबाट यस थलोमा जिल्ला सदरमुकाम सारिएको थियो ।

त्यसबखतमा उसको बाउ बीसबाइसको लक्का जवान थियो रे ! विकट पहाडी थलोबाट आफ्नो ठाउँमा सदरमुकाम सार्न खाजासामलको पोको बोेकेर ऊ पञ्चावती डाँडाको टाकुरी चढेको थियो ।

दुईचार सय युवालाई तत्कालीन अगुवा नेताहरूले सुर्याएर गढी लगेका थिए । रामपुर ठोक्सिलादेखि त्रियुगा फाँटसम्मको बलियाबांगा लाठेहरूले राति नै छापामार शैलीमा अड्डाका कागजपत्र, कुर्सीदराज बोकेर गाईघाट झारेका थिए ।

मालअड्डाको सान्सानो दराज जसमा कागज र ढड्डा फायलहरू कोचिएका थिए, त्यसमा नाम्लो लाएर उसले एक्लै कुदाएको थियो अरे ! प्रत्यक्षदर्शी बुढापाकाहरू सुनाउँछन्– उदयपुरगढीबाट कुदाएको दराज एक बिसौनी टेकान पनि नलाई गाईघाट ल्याएर पाहा पछारेझैँ पछार्यो अरे !

त्यो घडी उसको मुखबाट एक आवाज निस्केको थियो— ल्याइयो मालअड्डा आफ्नै ठाउँमा ! के ठेगान, भोलिका दिनमा यै मालअड्डामा हाम्रा छोरानातिले पनि राज गर्न पाउँछन् कि त !”

इतिहासको संयोग या उसको बोलीमा डाक बसेको पो थियो कि, उसकै छोरा श्यामानन्द त्यै अड्डामा खर्दार हुन पुग्यो र सुरु नियुक्तिमा केही वर्ष बाउले बोकी ल्याएको दराजमा कागजपत्र समाल्न पायो ।

पछि कार्यालयमा स्टील दराजको चलन आएपछि त्यो काठे दराजलाई कतै कवाडीमा लिलाम गरियो, लिलाम गर्नुअघिसम्म त्यो दराजलाई ऊ भावुक भएर मुसार्थ्यो ।

उसको दिवंगत पिताको स्मृतिका लागि जीवन्त निसानी थियो, त्यो दराज । बाबुले आफ्ना सपनाहरू फुलेको दृश्य प्रत्यक्ष देख्न त पाएन, तापनि सदरमुकाम सार्दा र त्यो दराज बोक्ता मनमा जुन कामना गरेको थियो, त्यो पूरा भइसकेको थियो ।

अर्थात्, यै अड्डामा हाम्रा छोरानातिले पनि राज गर्न पाउँछन् कि भन्नुको अर्थ भावी दिनमा खर्दार सुब्बा भएर आफ्ना छोरानातिहरू यहीँ काम पाउँलान् कि भन्ने आशा थियो ।

साँच्चै भन्दा बाउले मालअड्डाको दराज चोरी ल्याउँदा ऊ आमाको गर्भमा हुर्किंदैथ्यो । मालअड्डा गाईघाट सरेको तीन महिनामा उसले धर्ती स्पर्श गरेको थियो । र, दुःखद कुरा यो भयो – ऊ मालअड्डामा खर्दार भएको दृश्य देख्न नपाई उसको बाउले यस धराधामबाट बिदा लिनुपर्यो ।

त्यतिखेर ऊ नौ कक्षामा पढ्दैथ्यो । एक दिन खेत जोत्दाजोत्तै हलोको फालीले कसोकसो उसको कुर्कुच्चो छेड्यो । सामान्य रगत थाम्ने झारपात कुटेर लाइयो । त्यतिखेर अहिलेको जस्तो स्वास्थ्य सुविधा पनि थिएन । जनमानसमा खासै स्वास्थ्य चेतना पनि आएको थिएन ।

घाउ पाक्तै गयो । निको हुने कुनै संकेत देखिएन । त्यतिखेर गाईघाटमा गाडी सुविधा पनि थिएन । गोरुगाडामा लाहान पुर्याइयो । त्यसपछि जनकपुर लगेर जचाउँदा टिटानसको संक्रमण आखिरी विन्दुमा पुगिसकेको रहेछ । अस्पतालले त्यसै फर्काइदियो । घर ल्याइपुर्याएको दुई दिनमा त उसको चोला उठी पनि गो ।

बाउको देहान्तपछि ऊमाथि दुःखदैन्यका असिना ओइरिँदै गए । तथापि, उनीहरूलाई दर्बिलो आडभरोसा दिन काका श्रीनाथ ढक्क उभिए । बाउ गुमाउँदा पनि साख्यै बाउकै भूमिकामा काकाले छाहारी दिएपछि उसको पढाइलेखाइमा कुनै बिराम लागेन ।

दुःखका चर्का घामपानीले चुटेका बखत काका श्रीनाथ ओता लाग्ने छहारी बने । काका जमानामै म्याट्रिक पास गरेर घरनजिकैको स्कुलमा मास्टरी गर्थे । उसको मनमा एउटै भाव के थियो भने– दाजु मरेर टुहुरो भएको भतिजोलाई जसरी पनि मैले पढाइदिनैपर्छ । आफ्नै खुट्टामा उभिएर गरिखान सक्ने बनाइदिनैपर्छ । यसो गरो भने मात्र दाजुको ऋण चुक्ता हुन्छ, नत्र दाजुको आँतले मलाई सराप्छ ।

हुन पनि हो, श्रीनाथलाई मास्टर श्रीनाथ बनाउन दाजुकै मुख्य हात थियो । दाजुले घरमा हलो कोदालो नथामिदिएको भए श्रीनाथ बस्तीपुर गएर पढ्न पाउँदैनथ्यो । श्रीनाथलाई पढाउने बेलामा घरमा ठूलो विवाद उठ्यो ।

आमा काखको कान्छो छोरालाई मरिकाटे पनि बाहिर पढ्न नपठाउने अडानमा थिइन् । बाउ भने साधारण लेखपढ जानी हाल्यो, अब खेतीपाती कसले गर्छ र ? घरमा भ्याइ नसक्नु काम छ, वस्तुभाउको बगाल छ, अब पढ्नु पर्दैन भन्ने विचारमा थिए ।

“म त कालो अक्षर भैँसी बराबर भएँ भएँ, भाइ पनि यही गाईगोरुको मलखाडीमा सडोस् ! हुँदैन एउटा भाइलाई पढाउनैपर्छ । एउटाले पढो भने पनि घर उज्यालो हुन्छ । सबै काम म आफ्नै थाप्लामा लिन्छु, भाइ पढ्न जाओस् !”

श्रीनाथको पढाइको लागि उसले दर्बिलो अडान मात्र राखेन कि सानो टिनको ट्यांका, ओड्ने, ओछ्याउने, पकाउने भाँडाकुँडा, खाजासामलको कुम्लो कुटुरो बोकेर ऊ आफैँ भाइ पुर्याउन बस्तीपुर पुग्यो ।

भाइ बस्तीपुरको छात्रावासमा रहुन्जेल एकचोटि होइन, दुईचोटि होइन, दर्जनौँचोटि चुरे शिशुबारीको बाटो हिँडेर दालचामलको बोरा उसैले खेप्यो ।

कसैले आऽऽऽ तँलाई कति हैरानी भन्थे, ऊ ठाठ्ठाडै स्पष्ट जवाफ दिन्थ्यो, “आजको जमानामा अक्षरको उज्यालोभन्दा ठूलो कुरा के छ र ? एउटा भाइका आँखा उग्रे भने पनि यसले आउने सन्ततिलाई उज्यालो देखाउला । हाम्रा छोरानातिलाई पनि त्यसबाटोमा टुकुटुकु हिँडाउँला ।”

उल्क्याउने, दिलग्गी गर्ने, खसाल्ने मान्छेको कुनै कमी थिएन गाउँमा । कोही भन्थे, “थुक्क नाथु, तँ भाइको कमारो नै भइस् हगि !”

कोही भन्थे, “भाइ पढेर हाकिम हुन्छ, तैँले के पाउँछस् ?”

ऊ हाक्काहाकी उनीहरूको प्रतिवाद गर्थ्यो, “मैले भाइ पढा’को तिमीहरूलाई केको डाह ? जाँतोलाई भन्दा हातोलाई केको सकसक ?” उसको मुखतोड जवाफले उनीहरू आफ्नो बाटो लाग्थे ।

दाजुले आफ्नो निम्ति सातुसामल खेपेको कुरा सम्झेर ‘भतिजो श्यामानन्दलाई जसरी पनि मैले पढाइदिनुपर्छ, नत्र मेरा दाजुको आत्मालाई कदापि शान्ति र चैन मिल्दैन’ श्रीनाथको मनमा हर्दम यही विचारले राज गरेको हुन्थ्यो ।

नभन्दै काकाकै प्रेरणा र छहारी पाएर सदरमुकामकै हाई स्कुलबाट दोस्रो श्रेणीमा एसएलसी उत्तीर्ण गर्यो । पढाइमा असाध्यै जेहेन्दार र मिहिनेती विद्यार्थी थियो । प्रथम श्रेणीमै पास गर्छ भन्ने सबैको अनुमान थियो ।

दुःखद संयोग गणित विषयको परीक्षा हुने दिन ज्वरो आइदियो, भनेजति प्रश्न हल सकेन । एघार नम्बरले प्रथम श्रेणी टेक्न सकेन ।

सत्र वर्षको उमेरमा एसएलसी. गरेको थियो । त्यतिखेर आफ्नो थलोमा कलेज खुलेकै थिएन । काकाले नै तारतम्य मिलाएर राजविराज पढ्न पठाए । आईए पढ्न र लोकसेवा आयोगको तयारी पनि साथसाथै गर्न भनेर अनेकन् अध्ययन सामग्रीहरू जुटाइदिए ।

पढाइमा आगो थियो श्यामानन्द । आईए दोस्रो वर्षको जाँच नदिँदै खरिदार पदमा नाम निकाल्यो । पहिलो पोस्टिङ पूर्वी नेपालको कुनै हिमाली जिल्लामा भयो । जागिरका आरम्भिक दुईचार वर्ष त्यतै गुजार्यो ।

जागिरे जीवनको सानमान र गोजीमा पैसाको चकाचौँधले पढाइको धारा भुल्दै गयो । औपचारिक रूपमा आईए त सकेको हो, तर बल्खुबाट त्यसको ट्रान्सक्रिप्ट पनि निकालेको छैन ।

गर्मी प्रदेशमा जन्मेहुर्केको मानिस । जाडो पटक्कै सहन नसक्ने जिन थियो उसमा । सरकारी जागिर जाडो छ भनेर छोड्न पनि मिलेन । रौसे साथीसंगातीको प्रभाव । घरदेखि टाढाको बसाइ ।

सुरुसुरुमा साथीहरूले भने, “हेर्नाेस् श्यामानन्दजी, तपाईं जहिले’नि आछुछु, आछुछु गर्नुहुन्छ, खास्साको जिउ तताउने दबाई पाइन्छ यहाँ । चौँरीको घिउ र ज्वानुमा झानेको फ्लेवरै अर्काे हुन्छ । तपाईं पल्किनुहुन्छ...।”

उसलाई पनि त्यो दबाई चाख्नाको मन्सुवा भयो । एक दिन अफिसबाट छुटेपछि साथीहरूले आङडिकी लामाको तोङ्बा पसलमा त्यो बोतल–रस सेवन गराए । सुरुमा टर्राे, घाँटी कोक्याउने ! बान्ता होलाजस्तो भो । साथीहरू खुब हाँसे । पहिलेचोटि यस्तै हुन्छ भनी ढाडस दिए ।

समयक्रममा शनैःशनैः बानी पर्दै गयो । साथीहरूकै लयमा लय मिलाउन थाल्यो । बेलुका एक गिलास लाएपछि आनन्दको निद्रा मात्र होइन, दिनभरिका थकान भुल्न थाल्यो । पारिवारिक तनावहरू बिर्सिन थाल्यो ।

तर, उता बसुन्जेल एक सीमामै बसेर पियो । तथापि, ऊ त्यहाँ बसुन्जेल बोतल्ची भइसकेको भने थिएन ।


जागिर गरेको करिब दशबाह्र वर्षसम्म ऊ जिल्लाबाहिरै रह्यो । यसैबीचमा बिहा भयो । बालबच्चा भए । घरायसी व्यवहार आफैँले धान्नुपर्ने अवस्था आयो । काकाको आडअडेसो पनि टुटिसकेके थियो । मास्टरी पेसाबाट अवकाश पाएर आफ्नो भागको खाइनपाइन बेचबिखन गरी मोरङतिर बसाइँ गै’सकेको थियो ।

काका आफ्नो जन्मथलो छोडेर हिँडेपछि उसलाई जसरी पनि आफ्नै गृहजिल्लामा सरुवा मिलाएर आउन कर लाग्यो । बालबच्चा हुर्किंदै थिए, उनीहरूलाई पढाउनु–लेखाउनु थियो । घरखेतीको रेखदेख गर्ने अभिभारा आफ्नै थाप्ला आइलागेको थियो ।

आमा पनि वृद्ध हुँदै गएकी थिइन् । सुगर र प्रेसरको बिमारले बेलाबेलामा दुःख दिइरहन्थ्यो । आमाको सेवा र हेरचाह पनि गर्नु नै थियो । उमेरमै विधुवा भएकी आमाले दुःखका अनेकन् हुरीहुन्डरी व्यहोरेर उसलाई हुर्काएकी थिइन् । ती आमाप्रतिका केही पुनीत कर्तव्यहरू थिए ।

ऊ एक गृहस्थीको रूपमा, एक सरकारी कारिन्दाको रूपमा घरदेखि अड्डा, अड्डादेखि घरसम्मको दिनचर्याको कैदी बन्यो ।

घरीघरी मनमा चल्ने औडाहा र उफान भुल्न रक्सी पिउने हल्का आदत त उसले हिमाली जिल्लामा रहँदै बसाइसकेको थियो ।

उसले बोतलमै अल्मलिएर आफ्नो जीवनको महान् उद्देश्य भुलेको कुरा गर्थे उसका समवयी दामलीहरू । कोही भन्थे, “मान्छे त हिरा थ्यो हिरा ! चमचम चम्कने कोहिनुर हिरा ! तर, रक्सीको बोतलले पार्यो यसलाई किरा !”

कोही भन्थे, “मान्छे त मन्त्रालयको सचिवसम्मै हुने प्रतिभाको थियो । सानो जागिर पाएपछि बोतलमा लहसिएर पढाइ भुल्यो, माथिल्ला पदमा पुग्ने सिँढी भुल्यो । आफूभित्रको खजाना चिन्नै सकेन यसले ।”

हुन पनि सुरुमा ख्यालख्यालमै सिक्यो पिउन । अर्काको लैलैमा हिँड्दाहिँड्दै अर्काको हैहैमा कुद्दाकुद्दै सुरापानको लत समायो । उसैलाई अचम्म लाग्छ, यो चिजले मान्छेलाई यतिसम्म जकडबन्दीमा राख्तो रहेछ !

सुरुका केही वर्ष त ‘आऽऽऽ यो नाथे चिज कुनै पनि समय छोड्न सकिहालिन्छ नि, त्यस्तो के गाह्रो होला र !’ यस्तो भाव आउँथ्यो । अब त यो आदत नशानशामा छिरिसकेको छ । बरु, भात छोड्न सक्छ, निद्रा भुल्न सक्छ । विनाबोतल रहनुपर्यो भने अथाह छटपटीमा पर्छ ।

एककिसिमले यसो भनूँ – ऊ आत्मिक तलबाटै बोतलमै शरणागत भइसकेको छ ।


बोतल्ची बोतलरसको शरणमा गए पनि उसको नियमित दिनचर्या उत्रो असन्तुलन काहीँ देखिँदैन । आफ्नो पेसागत निष्ठामा उसैगरी डटिरहेको छ, जसरी हिजो बोतल नपिउँदा डट्थ्यो ।

ऊ नियमित कार्यालय पनि जान्छ । आफ्नो तोकिएको जिम्मेवारी पनि तदारुकताका साथ वहन गर्छ । घुस्याहा प्रवृत्तिका कर्मचारीले परिव्याप्त अड्डा हो त्यो, ग्राहकसित अरूजस्तो पैसाको कसीकसाउ गर्दैन । तर, एक बोतल ठर्राको याचना गर्न भने चुक्तैन । बोतलपानीको लालची भएकोले नै उसले बोतल्ची उपनाम भिरेको छ ।

अब त सामुन्नेमै कसैले ‘बोतल्ची खर्दार’ भन्दा पनि उसलाई कुनै रिस उठ्तैन । ङिच्च हाँसेर स्वीकार्छ । आजका मितिसम्म त कार्यालयमा एक कर्तव्यनिष्ठ कर्मचारीकै रूपमा अस्तित्ववान् छ । तर, कामबाट थोरै विराम र विश्राम मिल्नेबित्तिकै चिया पिउने निहुमा पन्ध्रबीस मिनेट ओझेल पर्छ र एकाध गिलास सुट्ट चढाइहाल्छ ।

भट्टीबाट फर्किंदा एक ताजगी बोकेर आउँछ । एक अतिरेक ऊर्जाको प्रकम्पनले प्रदीप्त बनेको हुन्छ । उसका औँला कलम समातेर तेज गतिमा दौडिन थाल्छन् । जब उसको हात र औँला लोसे पाराले चल्न थाल्छन्, जग्गा पासको फाइल बोकेर गएको बुझकी लेखनदासले प्रस्ताव गरी हाल्छ, “पैली चिया पिउन जाऊँ खर्साब ।”

जुँगा चल्यो कुरा बुझ्यो भनेझैँ हातको कलम खत्रक्क टेबुलको घर्रामा थन्क्याउँछ, खुलिरहेका मिसिल र मोठका फाइलहरू जस्ताको तस्तै असरल्ल छोडेर बाहिर निस्किन्छ । यसलाई सामान्य मानवीय कमजोरी भन्ने कि अम्मलीको आदत वा स्वभाव ठान्ने आफैँ रनभुल्लमा परिन्छ ।

तर, वचनको पक्का छ बोतल्ची । गर्छु भनेको काम मुन्टाले टेकेर पनि पूरा गर्छ । कहिलेकाहीँ अड्डाको समय सकिँदा पनि आफ्नो फाँटको काम घोप्टो परेर गरिरहन्छ ।

पिउन ढोका लाउन कुरी बस्छ, ऊ मरिकाटे कुर्सी छोड्दैन । अग्रिम बोतल रस पिइसकेको काममा घडीले पाँच बजेको घण्टा हान्दा पनि घडीलाई वास्ताव्यास्ता नगरी काममा जोतिने अचम्मको बानी छ । कहिलेकाहीँ त पिउनलाई पनि झर्काे लाग्छ ।

पिउन सविनय भाकामा दिग्दारीको भाव पोख्छ, “आखिर भोलि पनि त दिन झुल्किन्छ हजुर ! हाम्रा पनि बालबच्चा छन्, घर छ, बाँकी काम भोलि गर्दा हुन्न साब...!”

ऊ कुनै गहिरो स्वप्नबाट झल्याँस्स ब्युँझेजस्तो गरी बोल्छ, “ए, ढिलो भयो हगि ! के गर्नु केटा, अर्काको नुन खाएपछि त्यसको सोझो गर्नैपर्यो कि कसो ! लु त लु, बन्द गर । अब भोलि नै सकाउँला ।”

अफिस छुटेपछि पनि एकचोटि मगर्नी साइँलीको पसलमा ठोक्किन पुग्छ । र, आवश्यक ट्वाक लाएर बिजुली गतिमा चुरोट तान्दै घरतिर सोझिन्छ ।

बोतल चढाएर कसैलाई पनि अमित्थ्य वचन गरेन बोतल्चीले । न कसैलाई अभद्र व्यवहारै गर्यो । पिएपछि झन् शान्त पो बन्छ बोतल्ची । सरदर बोतलजीवीहरू पिएपछि भाँडभैलो मच्चाउँछन् । झैझगडा र दंगाफसाद गर्छन् । यसको विपरीत ऊ प्रशान्तिको एक स्निग्ध गहिराइमा खस्ने गर्छ । झन् मौन झन् निर्विकार स्वरूपमा अवतरित हुन्छ ।

पिएपछि पनि आफ्नो काम सुमुसुमु गर्छ । काम सकिएपछि अथवा कुनै काम नहुँदाको बखतमा गम्भीर मुद्रा धारण गरी चुपचाप टोलाएर आकाशतिर हेर्छ । ब्रह्माण्डीय विराटताको अघि आफूलाई छुद्र गुहेकिरोजस्तो रोजीरोटी जुटाउन गल्लीमा घस्रिरहेको निरीह जीवको रूपमा पाउँछ ।


रक्सीको आदत छुटाउनका लागि पत्नी तथा परिवारजनले अनेकन् उपक्रम गरे । अनेक ओखतीमुलो गरे । कुनै ओखतीले पनि काम गरेन । कसै गर्दा पनि रक्सीको आदत नछुटेपछि सुधार केन्द्र लैजाने योजना बनाए । उसकै अखण्ड जिद्दीले गाडी चढ्नै मानेन । गाडी आँगनमै आउँदा पनि लम्पसार परेर मुढो समान बन्यो । दुईचारजना लाठे भुसतिघ्रेले जबर्जस्ती बोकेर गाडी चढाउँदा पनि फौदारी गरेर गाडीबाटै हामफाल्यो ।

उसका ससुराली खलकबाट बोतल्ची ज्वाइँलाई बोतलबाट मुक्त गराउने एउटा शुभ समाचार पठाए । जसअनुसार पूर्व दार्जिलिङको कुनै पहाडीबस्तीमा एक तान्त्रिक लामा छन् अरे ! उनीसामु जस्तोसुकै रक्सीबाजलाई पुर्याएपछि तन्त्रमन्त्रको बलमा नशा छुटाइदिन्छन् ।

उसले एक गिलास रक्सी फुकेर खान दिएपछि फेरि मरेकाटे रक्सीको तलतल पैदा हुँदैन र ऊ रक्सीको नजिक पर्दा पनि पर्दैन ।

ज्वाइँलाई एकचोटि ती तान्त्रिकसामु लानुपर्छ भन्ने खबर पठाए ।

बोतल्चीको पत्नीलाई मनमा लाग्यो, यस्तो जाज्वल्य मान्छेसामु एकचोटि पुर्याउन पाए कति जाती हुन्थ्यो ! उसको मनमा आशाका अनेकन् आँकुराहरू पलाए । दार्जिलिङ लैजानका लागि भदाहाहरू लिन आए ।

ऊ सुइत्त भाग्यो । कहाँ गयो गयो, भदाहाहरू हिँडेको तीन दिनपछि घर आयो । उसलाई प्राणभन्दा प्रिय छ रक्सीको लत । बरु, ज्यान दिन तयार छ । तर, रक्सी छोड्न तयार छैन । उसका शुभचिन्तकहरूले रक्सी छोडाउन आयोजना गरेका अनेकन् प्रयत्नहरूलाई उसले विफल पारिदिएको छ ।

बोतल्चीका बाजे कुलानन्द बोगटी उहिले यस फेटको नामुद गीतामार्गी थिए । नयाँनयाँ सतसंगीलाई गीता पुजाउने, रागभजन सिकाउने र विम्बा बसाउने कामको अगुवाइ उनैले गर्थे ।

उनले गीता पुजाएका थुप्रै मानिसहरू छन् गाउँमा । उनी मरेर गए पनि उनका गीतामार्गी चेलाहरू बोतल्चीलाई गुरुको नातिका रूपमा उत्तिकै सम्मान र स्नेह गर्छन् ।

त्यस्ता साधु गुरुको नाति जाँडको नशामा डुबेको देख्ता उनीहरूको मनमा नमिठो घाउ लागेको छ । उसलाई नशाबाट छुटाउन पाए गुरुको ऋणभार थोरै हलुका हुनेथ्यो भन्ने भाव सबैको छातीमा छ ।

तर, कुनै पनि उपाय कामयाब बन्न सकिराखेका छैनन् । बोतल्चीकै ढिठ स्वभावले गर्दा सबै प्रयत्न निष्फल बनिरहेका छन् ।

एकरात विम्बा बसिरहेको ठाउँमा सबै गीतापन्थीले मतो मिलाए, जसरी भए पनि गुरुका नाति श्यामानन्द बोगटीलाई यसपालि गीतापुजन गराउनुपर्छ । र, बोतलबाट मुक्त गराउनुपर्छ ।

हुन पनि गाउँमा अनेकौँ बोतल्चीहरू गीता पुजेर सेतो चन्दन र रुद्राक्ष माला धारण गरेपछि रक्सीको नशाबाट मुक्त भएका थिए । वीरु राउत नमातेको रात हुन्नथ्यो । गीता पुजेपछि एक नम्बरको साधु भएर निस्क्यो । मास्टर हरिकृष्ण साँझमा घर फर्किंदा जहिले पनि खुट्टा बांगा पारेर आउँथ्यो । उसले पनि गीतापन्थी भएपछि रक्सी चटक्कै छोड्यो ।

गमबहादुर खत्री, विर्खु कार्की, सन्तलाल गिरी, चित्रमान बस्नेत, पर्शु गुरागाईंलगायत आधी दर्जनभन्दा बढी नामुद जँड्याहाहरू गीता पुजेपछि रक्सी छोडेका उदाहरण छन् । पत्नीले दिनरात करकर गरेपछि खर्दार श्यामानन्द गीता गुरुकोमा गएर गीता गीता पुज्न राजी बन्यो ।

पछिल्लो समय ऊ गल्दैगल्दै गएको छ । वर्षौँदेखि नित्य निरन्तर मद्यपानमा आकण्ठ डुब्नुले बाहिर सही सलामत देखिए पनि भित्रभित्र जराजीर्ण बन्दो छ । अब त आँतले पनि हार्दै गएको छ । हिजोसम्म दर्बिलोसित कलम समात्ने औँलाहरू थोरै अनियन्त्रित हुन थालेका छन् । अर्थात्, देखिने रूपको कम्पन छचल्किन्छ हातमा, औँलामा, खुट्टामा ।

हिजोसम्म परिवारले रक्सी छोडाउन गरेका हरेक प्रयत्न उसले भुस मात्र होइन, ढुस बनाइदिएको हो । तर, पत्नीका आँसु र याचनाले ऊ यसपालि गल्यो । गीता पुज्न मौन स्वीकृति दियो ।

गीता गुरु घरमै आएर गीता पुजाए । घाँटीमा रुद्राक्षको माला लाइदिए । उहिल्यै लाउन छोडेको जनै काँधमा भिराइदिए । निधारमा ठाडो चन्दनटीका लट्काइदिए ।

अब बिहानै उठेर नुहाइधुवाइ गर्नु, गायत्री मन्त्र जप्नु, रुद्राक्षको अर्धमाला गन्नु, नित्य एक अध्याय गीता पाठ गर्नु उसको दिनचर्या बन्यो । घरमा बसुन्जेल माला बाहिर लट्काए पनि अड्डा जाँदा गोलगन्जीमुनि छातीमा माला लुकाएर हिँड्न थाल्यो ।

एक दिन बाटोमा हिँड्दै गर्दा एकजना अजनबी बटुवाले कुरा काटेको सुन्यो, “हेर हेर, कत्रो ढोँग गर्न सकेको, हिजोहिजोसम्मको ट्वाँके बोतल्ची साधु बनेछ साधु ! निधारमा हेर न चन्दन दलेको !”

अर्काेले समर्थन जनाउँदै बोल्यो, “स्वास्नीले बोतल छोडाउन गीता पुजाएको छ अरे क्या ! बिरालोले जति नै निरामिष हुने नाटक गरोस् न, उसले मुसा खान छोड्छ होला र !”

आफूप्रति गरिएका कटु व्यंग्यले ऊ भित्रभित्रै घायल बन्यो । कन्ना पछाडि कुरा काट्नेहरूउपर कुनै मतलब नदिई अगाडि बढ्यो । मानौँ, उनीहरूले खासखुस गरेको आवाज उसले फिटिक्कै सुनेको छैन । यहाँ पनि उसले एक अभिनय कुशलतापूर्वक सम्पन्न गर्यो । तर, आफ्नो कार्यकक्षमा आएपछि विचारमा हजार बिच्छीहरूले दिनभरि नै उसलाई टोकिरहे ।

मनको एउटा पाटो मुखर भएर बोल्थ्यो, ‘ठिकै त हो नि उनीहरूको मूल्यांकन ! मेरी स्वास्नीले, गाउँलेले, गीता गुरुले मलाई रक्सी छोडाउनै त गीता पुजाएका हुन् नि ! यसमा मैले आपत्ति गर्नुपर्ने कुरा के छ र ! कमेजमुनि गीताको माला लुकाएको छु, त्यो एक पाखण्डै त हो नि ! गीता दर्शनप्रतिको प्रेम, भक्ति र आस्थाले भन्दा पनि रक्सीको लतबाट मुक्त हुन सकिएला कि भन्ने आशाले माला र चन्दन धारण गरेको हुँ ।’

मनको अर्काे पाटो उसलाई विपरीत कोणबाट उकास्छ, ‘आऽऽऽ छाड्दे केटा, यो तानाबाना नौटंकी ! आखिरी गीता पुजेर पनि लोकले ट्वाँके भन्न छोडेको होइन । बोतल्चीबाट खर्दार श्यामानन्द कसैले पुकारेका होइनन् । तेरो नाम यसै बिग्रेको उसै बिग्रेको । मनको तलतल कति दबाउँछस् । आखिर रक्सी नखाने पनि रोगी भएका छन् । मर्ने मरिरहेकै छन् । खाने पनि मर्छ, नखाने पनि मर्छ । नखाने मान्छे धर्तीमा अजम्बरी हुने पनि होइन । गीता पुज्दा पनि तँलाई जस दिएका छैनन् । लर्काेसर्काे व्यंग्यवाणले ठुङ्न कसैले छोड्दैन !”

अफिसको बाथरुमभित्र पसेर सरक्क टीका पुछ्यो र मुख धोएर बाहिर निस्क्यो । निधारबाट ठूलो बोझ उत्रेको महसुस गर्यो । त्यसै साँझ पल्याकपुलुक हेर्दै मगर्नी साइँलीको भट्टीभित्र छिर्यो । र, साउतीको स्वरमा गोप्य कोठाभित्र छिरेर दुई गिलास लाएर घर फर्क्यो ।


बोतल्चीले बडा कठिनले बाह्र दिनसम्म शुद्ध गीतापन्थी श्यामानन्द बोगटी हुने चेष्टा गर्यो । तर, यी बाह्र दिन उसका निम्ति दिव्य बाह्र वर्षजस्तो कठिन कष्टकर कालरात्रितुल्य बनेर व्यतीत भए । आँखामा निद्रा परेन । भोजनको थालीबाट भातको गाँस मुखमा हाल्दै छु कि बालुवाको डल्लो हाल्दै छु भेउ पाउन सकेन ।

खुट्टाहरू रक्सी पिउँदाको बखतमा सबल, तन्दुरुस्त रूपमा टेकिन्थे । हातहरू लयबद्ध रूपमा चलेका थिए । नपिउँदाको शारीरिक असन्तुलन रोमरोममा अनुभूति गर्यो । शरीरमा भोकतिर्खाको जलन छैन, तर कुनै अज्ञात अतृप्तिको तिर्सनाले बेचैन छ ।

उसलाई लाग्यो– रक्सी मेरो मुख र घाँटीको तलतलको विषय रहेन अब । यो त मेरो भित्री आँतको अभिन्न वस्तु बनिसकेछ । नशाभित्र बहने रक्तप्रवाहमै घुसिसकेछ । घरीघरी मुटुको धड्कनै बन्द होलाजस्तो, घरीघरी श्वासप्रश्वासको गति नै रोकिएलाजस्तो अनौठो छटपटी र उकुसमुकुसका बीच दिनहरू गुजारेपछि फेरिफेरि बोतलकै पासमा शरणगति बन्यो ।

बाहिर देखिनलाई सारसौँदो रूपमा खडा छ ऊ । परिवार, छिमेकी, अड्डाका कारिन्दा सामु सही सलामत छु भन्ने एहसास दिनु छ । एक अभिनयजस्तो दिनचर्यामा आफूलाई ढाल्न खोज्यो ता’नि । तर, कताकता हाउभाउमा, व्यवहारमा, बोलीमा असन्तुलन छल्किहाल्थ्यो । आखिर नौटंकी जीवन कति दिन टिक्छ र !

बाहिरी निधारमा चन्दन टीको धसिरहेको छ । गलामा मफलरले छोपेर भए पनि रुद्राक्षको माला झुन्ड्याइरहेको छ । पत्नीका आँखामा भ्रम पार्न बिहानबिहान पाठ गरी टोपल्छ । अफिस जाने बेलामा टीको पुछेर निधार समतल पार्छ ।

जुन दिनबाट मगर्नी साइँलीको भट्टी पसलमा गिलास सुइँक्याउन थाल्यो, त्यो दिनबाट पुनर्जीवन पाएको अनुभूति भो । नाडीमा सुतेका समस्त चेतनाहरू उत्तेजित भई ब्युँझेर उठे । उसलाई लाग्यो– अब म मर्दिन, बाँच्छु ।

झमक्क साँझ छिप्पिएपछि अबेर घर आयो । आफ्नो ओछ्यानमा सुट्ट पस्यो । सिरकले गुटुमुटु भएर सुत्यो । पत्नी खाना तयार गरेर बोलाउन गइन् ।

‘आज टाउको दुखेको छ, म खान्नँ, तिमीहरू खाओ !’ भन्यो । पत्नीको मनमा चिसो पस्यो । चुपचाप लुरुलुरु भान्सामा ओर्लिन् ।


तीन दिनपछि ।

ऊ बेलामा घर आएन । जति नै ढिलो गर्दा पनि आठ साढे आठ बजेसम्ममा घर आइपुग्थ्यो । फेरि उसको बानी कस्तो थियो भने जस्तोसुकै अवस्थामा पनि सुत्नलाई घरकै ओछ्यानमा आइपुग्थ्यो । नौ बज्यो । दश बज्यो । ऊ आइपुगेन ।

नोकिया कम्पनीको सानो टिकटिके मोबाइल बोक्थ्यो । चिन्तातुर पत्नीले पटकपटक नम्बर थिचिन् । घण्टी जान्छ, मरिकाट्टे उठ्तैन ।

पल्लो डाँडामा कारागार छ । कारागारको पुलिसले टङटङ टङटङ एघारको घण्टी बजायो । उनी असह्य बेचैनीमा भुईंतला र टाँडमा ओहोरदोहोर गरिरहेकी छिन् । छिमेकी भतिजोलाई गुहारिन् । उसले सजिलै भनिदियो, “आऽऽऽ काकी, चिन्ता नलिनु । कतै साथीभाइकोमा जानुभएको होला । भोलि त आइहाल्नुहुन्छ नि, यति राति अब कता खोज्न जानु ! अनाडी केटाकेटी मान्छे होइन । कतै न कतै टुंगो लागेरै बस्नुभएको होला ।”

उसले केही भएको छैन भनी आश्वस्त त गराउन खोज्यो, तर मनमा औडाहाको आगो दन्किरहेको थियो । त्यो रात छटपटीमै बित्यो ।

बिहान एक टँगालो घाम आकाशमा उक्लिसक्ता पनि खुटखबर केही पाइएन । राति कतै बसेको भए पनि बिहान त घर फर्किनुपर्ने हो ।

सबैतिर खर्दार श्यामानन्द हराएको हल्ला चल्यो । नाता, आफन्तका सबै नम्बरमा फोन घुमाइयो । कसैले पनि आएको कुरा गरेनन् । उसका साथी संगातीलाई पनि सोधपुछ गरियो । कसैले हाम्रो पासमा छन् भनेनन् ।

खोजीका लागि व्यापक रूपमा जनपरिचालन गरियो । एक हुल केटाहरू बाबरी वनको काछैकाछ उत्तरतिर दौडेका थिए । नभन्दै तिनीहरूले बाटाछेउको खोचमा घोप्टो परेको अवस्थामा श्यामानन्द बोगटीलाई फेला पारे । जिउ कक्रिएर खङ्ग्रङ्ङ भइसकेको थियो । विचार गर्दा हिजो बेलुकै प्राण त्याग गरेको अनुमान गर्न कठिन थिएन ।

खोचबाट तीनजना लाठेले मुस्किलले लासलाई बाटोमा निकाले । सधैँ भिर्ने कपडाको झोला काँधमा बेरिएको थियो । झोला निकालेर हेरे । त्यसमा रक्सीको बोतल र रुद्राक्षको माला थियो ।

झोलामा माला र रक्सी देख्नेबित्तिकै एकजना गीतापन्थीले केही नसोची फ्याट्ट बोलिहाल्यो, “बाँच्ता पनि बोतल्चीले गीतावालको बेइज्जतै गर्यो । मर्दा पनि यसले हाम्रो बेइज्जतै गरेर मर्यो ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro