site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शेखरलाई वरिष्ठ नेता बनाउन केन्द्रीय समिति बैठकमा माग
फाइल तस्बिर ।

काठमाडौं । ‘सभापति शेरबहादुुर देउवापछि दोस्रो नम्बरको नेता को ?’

यतिखेर नेपाली कांग्रेसभित्र ‘वरीयता विवाद’ पेचिलो बनेको छ । वरीयता विवादका कारण नेताहरूले जिल्लामा हुने कार्यक्रमहरू बहिष्कार गर्ने गरेका छन् । 

अब यो केन्द्रीय समितिका बैठकमा समेत उठ्न थालेको छ । पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले वरीयताको विषयमा कुरा उठाएका छन् । पार्टी कार्यालय सानेपामा बिहीबारदेखि केन्द्रीय समिति बैठक बसिरहेको छ । शुक्रबार दोस्रो दिनको बैठकमा नेताहरूले वरीयता विषयमा जमेर विषय उठाए । 

Dabur Nepal
NIC Asia

पार्टी केन्द्रीय सदस्य रामहरि खतिवडाले वरीयता विवादले पार्टीमा समस्या पारेको धारणा बैठकमा राखेका छन् । बाह्रखरीसँग कुरा गर्दै उनले जिल्लामा भइरहेका सम्मेलनहरूमा वरीयता विवादकै कारण नेताहरूले सम्मेलन बहिष्कार गर्दा नकारात्मक सन्देश गएको विषय बैठकमा राखेको बताए । 

“अब सभापतिज्यूले वरीयताका विषय स्पष्ट पार्नुपर्छ । कसलाई दोस्रो वरीयता दिने प्रस्ट पारेपछि देखिएका विवाद समाधान गरेर अघि बढ्नुपर्छ भन्ने कुरा मैले राखेँ,” उनले भने ।

दुई वर्षअघि भएको पार्टीको १४औँ अधिवेशनले सभापतिमा देउवलाई दोस्रो कार्यकाल दोहोर्‍याउने मौका दियो । देउवाले सभापतिमा दोस्रो चरणमा नेता डा. शेखर कोइरालालाई पराजित गरे । महाधिवेशनपछि शेखर समूह परम्पराको निरन्तरता हुने धारणासहित वरिष्ठ नेताको उपाधि दिनुपर्ने अडानमा छ । तर, पार्टीमा उनलाई पदाधिकारीपछिको वरीयतामा राखिएको छ । यस विषयमा शेखरले केही पनि बोलेका छैनन् । 

तर, वरिष्ठताका आधारमा गोपालमान श्रेष्ठले आफू ‘वरिष्ठ नेता’ हुनुपर्ने भनाइ राखेका छन् । उता उपसभापति पूर्णबहादुर खड्काले पनि आफूले वरिष्ठ नेता पाउनुपर्ने जोडमा छन् । खड्का पक्षका नेताहरू योगदानका आधारमा पार्टीको वरिष्ठ तोकिनुपर्ने अडानमा छन् । यस विषयमा खड्काले पनि केही बोलेका छैनन् ।

यद्यपि, यसबीचमा कोइराला र खड्का दुवै एउटै कार्यक्रममा सँगै भने देखापरेका छैनन् । वरिष्ठता विवादका कारण शेखर मधेस प्रदेशको सम्मेलनमा गएनन् । शेखरले वरिष्ठ पाएको ठाउँमा खड्काले पनि कार्यक्रम बहिष्कार गर्ने गरेका छन् । 

मधेस प्रदेशमा वरिष्ठताको विषयमा अझ धेरै पेचिलो देखियो । शेखरलाई वरिष्ठ बनाउनुपर्ने मागसहितको पत्र उनको समूहले बाहिर ल्यायो । मागबमोजिम अवस्था नबनेपछि शेखर कार्यक्रममा गएनन् ।

पार्टी पूर्वउपसभापति विमलेन्द्र निधिले पनि वरीयतामा मुनि पारिएको जिकिरसहित आसन ग्रहण नै दर्शक दीर्घामा गरे । वरीयताका कारण एक–अर्काको कार्यक्रम बहिष्कार गर्ने क्रम बढेसँगै यसको चर्चा केन्द्रीय समिति बैठकमा बढ्न थालेको हो । 

शुक्रबार केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य चन्द्रमोहन यादवले पार्टी आफ्नै घर व्यवस्थापनमा चुकेको धारणा राखे । मधेस प्रदेश सम्मेलनको विषय उठाउँदै प्रश्न गरे, ‘‘शेखर कोइराला किन नआएको ? विमलेन्द्र निधि किन मञ्चमा नबसेको ? पार्टीको समस्या के हो ?’’ 

यादवको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, “मधेस प्रदेश सम्मेलनले ऊर्जा दिएन । पहिले आफ्नो घर व्यवस्थापन गरौँ ।” 

उता खेलकुद मन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य डिगबहादुर लिम्बुले वरीयता विवाद तुरुन्त निराकरण गर्नुपर्ने धारणा राखे । 

कांग्रेस विधानमा वरिष्ठ नेताका विषयमा केही उल्लेख छैन । अर्थात् विधानले नचिन्ने वरिष्ठ नेता बन्न हानाथाप छ । यस विषयमा शीर्ष नेता नबोले पनि उनी निकटहरूले भने खुलेर कुरा उठाएका छन् । 

व्यवहारमा वरिष्ठ नेता पदको सुरुवात गिरिजाप्रसाद कोइरालाले देउवालाई बनाएर सुरु गरेका हुन् । त्यसपछि सभापति भएका सुशील कोइरालाले आफूसँग महाधिवेशन हारेका देउवालाई वरिष्ठ नेता बनाउँदै निरन्तरता दिए ।

यस्तै, १३औँ महाधिवेशन जितेका देउवाले पनि चुनाव हारेका रामचन्द्र पौडेललाई वरिष्ठ नेता बनाएर निरन्तरता दिए । तर, १४औँ महाधिवेशनपछि देउवाले आफ्ना प्रमुख प्रतिस्पर्धी कोइरालालाई वरिष्ठ नेता दिएनन् ।

शेखर समूहले प्रश्न उठाइरहेको छ, ‘‘गिरिजाप्रसाद कोइरालाले बसाएको परम्परामा आफू वरिष्ठ नेता बन्ने अनि आफूसँग चुनाव हारेका शेखरलाई चाहिँ किन वरिष्ठ नेता बनाइएन ?’’

शुक्रबारको बैठकमा बोल्दै केन्द्रीय सदस्य अर्जुन जोशीले पार्टीमा अनुशासन कायम गर्नुपर्नेमा जोड दिए । उनले वरीयताको विषय स्पष्ट हुनुपर्ने भन्दै आन्तरिक मतभेद छताछुल्ल बनाउन नहुने धारणा राखेको ती केन्द्रीय सदस्यले भने ।

“आन्तरिक मतभेद छताछुल्ल नबनाऔँ । अनुशासन कायम राखौँ,” बैठकमा उनले भने । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  २१:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro