site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यसरी जलेको थियो संघीय राजधानीमै बहालवाल मन्त्रीको गाडी, कहाँ चुक्यो प्रहरी ?

काठमाडौं । ललितपुरको बालकुमारी शुक्रबार बिहान एकाएक अशान्त बन्यो । प्रर्दशनमा उत्रिएको समूहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार बा२झ ५८६१ नम्बरको ल्यान्डक्रुजर प्राडो जलाएपछि बालकुमारी क्षेत्र तनावग्रस्त बन्यो ।

मन्त्री ज्वालालाई गाडीबाट बाहिर निकालेर प्रर्दशनकारीले गाडीमा आगजनी गरेका थिए । मन्त्रीसहित गाडीमा उनका निजी सुरक्षा गार्ड (पीएसओ) नेपाल प्रहरीका सहायक निरीक्षक बोधराज दनुवार थिए ।

दनुवारले मन्त्री ज्वालाई सुरक्षित स्थानतिर लगेका थिए । गाडीका चालक प्रेमबहादुर शाह एक्लै थिए । प्रर्दशनकारीले सुरुमा गाडीको टायरबाट हावा फुस्काए ।

Dabur Nepal
NIC Asia

Balkumari-Jhadao-(5)-1703857016.jpg
 

त्यसको करिब २० मिटेनपछि मात्रै प्रर्दशनकारीले गाडीमा आगो लगाएको चालक शाह बताउँछन् । गाडीबाट निस्केका मन्त्री पीएसओसहित गाडी जलेको स्थानभन्दा करिब पाँच सय मिटर पछाडि कान्तिपुर गार्डेन पार्टी प्यालेसमा फर्किएका थिए ।

उनी बिहान करिब ९ बजे मन्त्री क्वाटर पुल्चोकबाट एकीकृत समाजवादी पार्टीले नै आयोजना गरेको कार्यक्रममा भाग लिन उक्त गार्डेन पुगेका थिए ।

कार्यक्रम सकेर सिंहदरबार फर्किन लाग्दा उनको गाडीमाथि आगजनी भएको हो । आगजनीपछि भने प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपरेको थियो ।

प्रहरीले दर्जनौँ अश्रुग्यास तथा हवाई फायर गर्‍यो । प्रहरीको गोली लागेर अछामका युवा विरेन्द्र शाह र अश्रुग्यासको सेल लागेर दैलेखका सुजन राउतको ज्यान गएको छ ।

शाहको पाटन अस्पताल र राउतको ललितपुरकै किस्ट मेडिकलमा उपचारका क्रममा निधन भएको हो ।

Balkumari-Jhadao-(4)-1703857015.jpg
 

मन्त्रीको गाडी भीआईपी ‘रुट’बारे रिपोर्टिङबेगर 

संघीय राजधानीको प्रमुख सडकमै बहालवाल मन्त्रीकै गाडी प्रदर्शनकारीले जलाउनु गम्भीर सुरक्षा कमजोरी हो । सामान्यतया भीआईपीको सवारीका क्रममा पहिला नै ‘रुट’ बारे जानकारी लिइएको हुन्छ ।

उपत्यकामा हुने सवारीबारे पीएसओले उपत्यका प्रहरी कार्यालयको भीआईपी रुट हेर्ने ‘गुराँस कन्ट्रोल’लाई जानकारी गराएको हुन्छ । भीआईपी ‘रुट’बारे जानकारी दिन उपत्यका प्रहरी कार्यालयमा एसपीको कमान्डका छुट्टै ‘गुराँस कन्ट्रोल’ टोली राखिएको छ । उक्त कन्ट्रोलले ‘रुट’ पर्ने सम्बन्धित जिल्ला प्रहरी प्रमुख वा कार्यालय प्रखुमलाई जानकारी गराउँछ ।

फिल्ड र ‘रुट’बारे जानकारी पाएपछि मात्रै भीआईपीको सवारी हुन्छ । भीआईपी सवार रुटका केही अवरोध छ भने त्यसलाई हटाउने र गन्तव्यतर्फ पठाउने काम सम्बन्धित जिल्ला प्रहरीकै हुन्छ ।

तर, मन्त्री ज्वाला कार्यक्रम जाँदा र फर्किदासमेत पीओसओले कन्ट्रोल तथा ललितपुर प्रहरीलाई समेत रिपोर्टिङ नगरी कार्यक्रममा भाग लिन बालकुमारी पुगेको खुलेको छ ।

Balkumari-Jhadao-(3)-1703857013.jpg
 

ललितपुर प्रहरीका एक अधिकारीले आफूलाई रिपोर्टिङ नभई मन्त्रीको गाडी प्रर्दशनस्थलमा पुग्दा घटना हुन पुगेको बताए । ‘‘हामीलाई मन्त्रीज्यू कार्यक्रममा सहभागी र निस्कनेबारे कुनै जानकारी आएन । त्यसैले सुरक्षा तयारी गर्न पाएनौँ,’’ ती अधिकारीले भने ।

मन्त्री ज्वालाका पीएसओ असई बोधराज दनुवारले भने रिपोर्टिङ गर्दागर्दै भीआईपी जोगाउनुपर्ने अवस्था आएको बताए । ‘‘अगाडि माहौल शान्त नै थियो । हामी कार्यक्रमबाट निस्केपछि गाडीमा बसेर रिपोर्टिङ गर्दै थियौँ । त्यही बेला भीआईपीलाई जोगाउनुपर्ने अवस्था आयो,’’ असई दनुवारले भने ।

गाडी जलाइएको स्थान र मन्त्री सहभागी कार्यक्रमको दूरी करिब पाँच सय मिटरको अन्तरमा मात्रै छ । अझ मन्त्रीको गाडी कोटेश्वरबाट सातदोबाटो चल्ने एकतर्फी सडक लेनमा गुडेको थियो ।

Balkumari-Jhadao-(2)-1703857013.jpg
 

बिहानैदेखि अशान्त थियो बालकुमारीको माहौल

रोजगार अनुमति प्रणाली (ईपीएस) को आवेदन फारम भर्न नपाएको भन्दै असन्तुष्ट युवाहरूको समूहले बिहानदेखि नै बालकुमारीस्थित ईपीएस कार्यालय घेराउ गरिरहेका थिए । ललितपुर प्रहरीका डीएसपी र सशस्त्र प्रहरी बलका निरीक्षकको कमान्डमा ठूलो टोली ईपीएस कार्यालयको सुरक्षाका लागि खटिएको थियो ।

कार्यालयअघिल्तिर जम्मा भएका करिब तीन हजारको संख्यामा उपस्थित असन्तुष्ट युवाहरूको समूहले कार्यालय तोडफोड गर्ने प्रयास गरे । प्रहरीले अश्रुग्यास प्रहार गरेर भिड तितरबितर गरेको थियो ।

प्रहरीले कार्यालय वरपर हिँड्डुल गर्न निषेध गरेको थियो । त्यही भिड मूल सडक पुगेको थियो । भिडले मन्त्री ज्वालासहित एकान्तकुनामा समेत एउटा सरकारी गाडी तोडफोड गरेको हो ।

Balkumari-Jhadao-(7)-1703857018.jpg
 

उनीहरूले सातदोबाटोस्थित प्रहरी वृत्तमासमेत ढुंगामुडा प्रहार गरेका थिए । गत साउनमा सिप बिल्डिङ (पानीजहाज बनाउने) काममा जान इच्छुकका लागि दक्षिण कोरियाले विज्ञापन खुलाएको थियो ।

कोरियाको मानव संशाधन विकास सेवा (एचआरडी कोरिया)ले त्यतिबेला सिप बिल्डिङका लागि आवेदनमा सर्त राखेको थियो । उसले यसवर्ष मागिने अन्य रोजगारका लागि आवेदन दिन नपाउने गरी विज्ञापन गरेको थियो ।

त्यहीअनुसार त्यतिबेला सिप बिल्डिङमा जान ३५ हजार जनाले आवेदन दिए । आवेदन दिएकामध्ये भाषा परीक्षामा चार हजार ९८ र त्यसपछिको सीप परीक्षणमा तीन हजार ९८९ जनाले पास गरेका थिए ।

तर, उक्त परीक्षा र सीप परीक्षणमा फेल हुनेहरूले फेरि २०२३ मा मागिने अन्य रोजगारका लागि समेत आवेदन दिन माग गर्दै प्रर्दशन गरेपछि स्थिति तनावपूर्ण हुन पुगेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro