
विराटनगर । हिजोआज मोरङको बेलबारी चर्चामा छ । चर्चाको कारण हो, जंगली हात्ती । विगतमा बेलबारीतिर सानो संख्यामा मात्र हात्ती आउँथे । योपटक एक्कासि छावासहित ३९ हात्ती चारकोसे जंगल र बसोबास क्षेत्र आसपास आउजाउ गरिरहेका छन् । हात्ती आएपछि गाउँलेको दिनचर्या नै फेरिएको छ ।
“हामी त दिनभरि आ–आफ्ना काम गर्छौँ, रातभर हात्ती भगाउन जाग्राम बस्छौँ,” स्थानीय दिनेश गिरी भन्छन्, “हाम्रो रातको निद्रा नै हराएको छ । साँझ परेपछि पुल्ठा बाल्दै, झयाली पिट्दै अनि साइरन बजाउँदै हात्ती धपाउन दौडनुपरेको छ ।” बस्तीतर्फ हात्ती आउन नदिन गरिएका प्रयास खासै सफल बन्न नसकेको उनले सुनाए ।
स्थानीयका अनुसार जंगली हात्तीको बथान विशेष गरी भाउन्ने क्षेत्रमा केन्द्रित हुने गरेको छ । हात्ती दिनभर जंगलमा बस्ने र रात परेपछि बस्ती पस्ने गरेका छन् । आहाराको खोजीमा आउने हात्तीले मकै र केराजस्ता अन्नपात खाने गरेको बेलबारी नगरपालिका–१०, भाउन्नेका तेजबहादुर दाहालले बताए ।
“मैले १० कट्ठा जमिनमा लगाएको मकैबाली सखाप बनाइदियो, हामी त रातभर गस्ती गर्दागर्दै हैरान भइसक्यौँ,” उनले दुखेसो पोखे । पछिल्लोपटक भाउन्नेमा रविन निरौला र तीर्थबहादुर दाहालको घरमा हात्तीले क्षति पुर्याएका थिए ।
बेलबारी–८ र १० मा मात्र बिसौँ बिघा जमिनमा लगाइएको मकै र केराखेती हात्तीले नष्ट गरेको छ । बेलबारी–१० का वडाध्यक्ष गंगाबहादुर याख्खाले राति हात्ती धपाउन सशस्त्र प्रहरी, जनपथ प्रहरी, नगर प्रहरी र स्थानीय खटिने गरेको सुनाए । उनले भने, “भाउन्नेमा दिनहुँ हात्ती धपाउँदा धपाउँदा गलियो ।”
जिल्ला वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले पछिल्लो एक महिनायता बेलबारी क्षेत्रमा जंगली हात्ती केन्द्रित हुँदा २० घरमा क्षति गरिसकेको बताए । उनले भने, “एक्कासि ठूलो संख्यामा हात्ती आएर दिनरात उपद्रो गर्न थालेपछि स्थानीय आतंकित हुनुभएको छ । यो क्षेत्रमा मकै र केराखेती धेरै गरिन्छ । आएको बथान छावासहित भएकोले हुर्काउन यहाँ सजिलो देखेर अन्यत्र जान अटेर गरिरहेको हामीले पाएका छौँ ।”
उनले हात्तीबाट भएको क्षतिको क्षतिपूर्ति स्थानीय र संघीय सरकारबाट समेत उपलब्ध गराउने काम भएको जानकारी दिए ।
तथ्यांकानुसार पछिल्लो एक महिनामा मात्र झापा, मोरङ र सुनसरीका विभिन्न क्षेत्रमा हात्तीको आक्रमणमा परी चारजनाले ज्यान गुमाएका छन् । हात्तीले झापामा दुई, सुनसरी र मोरङमा एक÷एक जनाको ज्यान लिएको जिल्ला वन कार्यालयको तथ्यांक छ ।
घिमिरेले भने, “हात्ती आए सकभर टाढा भाग्नुपर्छ । नजिक गएर जिस्काउने, पुल्ठो लगाउने, भाला रोप्ने गर्दा झन् आक्रामक भई मानिसलाई नै आक्रमण गर्छ ।”
मोरङको लेटाङ नगरपालिका–३ का ५३ वर्षीय कमल माझीको बेलबारी–१०, भाउन्नेमा जंगली हात्तीको आक्रमण परी मृत्यु भएपछि बेलबारीवासी थप त्रसित बनेका छन् ।
हात्ती धपाउन ड्रोनको प्रयोग
हात्ती बस्ती पसेर अन्नबाली खाने र घरमा समेत आक्रमण गर्न थालेका छन् । तिनलाई रोक्न बेलबारी नगरपालिकाले मौरीको आवाज निकाल्ने ड्रोन उडाउन थालेको छ । बेलबारीमा एक्कासि आएका हात्तीलाई जंगलतिर धपाउन निक्कै मुस्किल परिरहेको मेयर दिलप्रसाद राईले बताए ।
यो ड्रोन दुई मानिसले चलाउँछन् । एकजनाले ड्रोन चलाउने, अर्कोले त्यसको निरीक्षण गर्छन् । गाउँमा हात्ती आए उडाएर, छेकेर धपाउने गरिन्छ । ड्रोन चार किलोमिटरसम्म उडेर जान्छ सक्छ ।
ललितपुरको ग्वार्कोस्थित नेसनल रोबोटिक एन्ड रिसर्च सेन्टरले ड्रोन बनाएको हो । यसको निर्माणकर्ता अनिल प्रधान बेलबारी आएर प्रयोग गरेका हुन् । परीक्षण गर्दा मौरीको आवाज निकाल्दै उडाएपछि हात्ती बस्तीबाट भागेका थिए ।
प्रधानले भने, “हामीले परीक्षण गर्दा एकपटकमा १५ वटा हात्ती दौडिएर जंगलतिर भागे । हात्तीलाई मौरीको आवाज मन नपर्ने भएकोले त्यही सेट गरेर उडाउने गरेका हौँ ।”
बेलबारीका वडा नम्बर–१, २, ३, ४, १० र ११ मा हात्ती आउजाउ गर्न थालेपछि नियन्त्रण गर्न नगरपालिकालाई कठिनाइ भइरहेको मेयर राईले सुनाए ।
कोसी प्रदेश सरकारले भने हात्ती र मानिस सँगै मिलेर बस्नुपर्ने भएकाले जंगली जनवारको वासस्थान क्षेत्रमा हस्तक्षेप हटाउने गरी योजना अघि सारेको छ । मुख्यमन्त्री केदार कार्कीले जंगली क्षेत्रमा हात्तीलाई आवश्यक पर्ने खाना र मन पर्ने वातावरण बनाउन प्रयास गरिने बताउँदै आएका छन् ।
झापाको बाहुनडाँगीदेखि कोसी टप्पु क्षेत्रसम्म हात्ती करिडोरबारे अध्ययन भइरहेको कार्कीले बताए । उनले भने, “हात्तीलाई जंगलै भुल्याउने र बस्तीतिर आउन नदिने वातावरण बनाउने गरी योजना हामी बनाइरहेका छौँ ।”
हात्ती किन आक्रामक हुन्छ ?
भारतको पश्चिम बंगाल क्षेत्रबाट झापाको बाहुनडाँगी हुँदै नेपाल छिरेका ६५ भन्दा धेरै हात्तीको साथमा छावा पनि छन् । जिल्ला वन प्रमुख घिमिरेका अनुसार छावा साथमा हुँदा हात्ती अलि बढी संवेदनशील हुन्छन् ।
मानिसले आक्रमण गर्न सक्ने र सुरक्षा गर्नुपर्ने जिम्मेवारीबोध हात्तीले सहजै गर्ने बताउँदै घिमिरेले भने, “मानिसजस्तै समूह अर्थात् परिवारमा बस्न रुचाउने हात्ती बुद्धिमान जनावर हो । समूह वा परिवारका सदस्यलाई आक्रमण भए वा त्यसको जोखिम देखे आक्रामक बन्छन् ।”
असारदेखि पुससम्म लगाइने धेरै अन्नबाली हात्तीलाई मन पर्ने र अहिले त्यो नेपालको पूर्वी भेगमा प्रशस्तै पाइने भएकाले पछिल्लो समय ठूलो समूहमा हात्ती आएको उनले बताए । हात्तीले धान, मकै, गहुँ, केरा र उखु मन पराउने र आइहाले जिस्क्याउने, फोटो खिच्ने वा पुल्ठो लगाउन नहुने घिमिरेको भनाइ छ ।