
काठमाडौं । नेपाल धितोपत्र बोर्ड, बिमा प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयले बिमा कम्पनीहरूको प्राथमिक सेयर (आईपीओ) प्रिमियम मूल्यमा निष्कासन गर्दा कानुनको पालना गरको बताएका छन् । समितिले सोधेको जवाफ दिँदै तीनवटै निकायले आफ्नो पक्षबाट कुनै पनि कानुनविपरीत काम नभएको दाबी गरेका हुन् ।
प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दा जनतालाई भार परेको भन्दै समितिले नेपाल धितोपत्र बोर्ड, नेपाल बिमा प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयलाई स्पष्ट पार्न भनेको थियो । समितिले गत कार्तिक १६ गते आईएमई लाइफ, सिटिजन लाइफ, रिलायबल लाइफ र सन नेपाल लाइफ इन्स्ययोरेन्सको आईपीओ प्रिमियम मूल्यमा निष्कासन गरेको विषयमा स्पष्ट पार्न पत्र लेखेको थियो ।
धितोपत्र निष्कासन गर्नका लागि बोर्डबाट प्रिमियम मूल्य कायम भएर आएको विवरण प्राधिकरणमा बुझाएको भन्दै यसको प्रक्रियमा कुनै कैफियत नभएको बिमा प्राधिकरणले उल्लेख गरेको छ ।
त्यस्तै, कम्पनी रजिस्ट्रारको कार्यालयले भने प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न दिन आफूहरूको रातारात नियमावली तथा कार्यविधि परिवर्तन गर्न कुनै पनि संलग्नता नभएको जानकारी दिएको छ ।
धितोपत्र निष्कासनसँग सम्बन्धित कामहरूको छुट्टै निकाय भएकाले यसको जवाफ पनि तिनै निकायले दिने पनि कम्पनी रजिस्ट्रारको कार्यालयले उल्लेख गरेको छ ।