site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसको गण्डकी सम्मेलनमा नेताहरूको नोकझोक
Sarbottam CementSarbottam Cement

पोखरा । नयाँ नेतृत्व चयन भएको दुई वर्षपछि पोखरामा कांग्रेस गण्डकीको प्रथम सम्मेलन मंगलबार भयो । यसअगाडि पनि कांग्रेसले सम्मेलन नराख्न खोजेको होइन । तर, केन्द्रले संघको टिकट वितरण गरेझैँ प्रदेशको टिकट बाँड्ने अधिकार आफूले पाउनुपर्छ भन्ने माग प्रदेश सभापतिले राख्ने भनेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले यसअगाडि डाकिएको सम्मेलनमा आउन इन्कार गरेका थिए ।

गण्डकीका सभापति शुक्रराज शर्मा कांग्रेसको इतर समूहका हुन् । प्रदेश सभापति बनेपछि जोडबलमा प्रदेश सभाको समानुपातिकतर्फ एक नम्बरमा आफ्नो नाम शर्माले राखेका थिए । तर, ३३ प्रतिशत महिला ल्याउनैपर्ने बाध्यताका कारण उनी प्रदेश सभा सदस्य बन्न पाएनन् । पार्टी पंक्तिले टिकट वितरणमा विवेक नपुर्‍याएले आफू सांसद बन्न नपाएको उनको आरोप छ ।

कांग्रेस केन्द्रीय समिति बैठकमा पनि गण्डकीका सभापति चर्कै सुनिन्छन् । अधिकार नपाएको झोक उनले बैठकमा देखाउने गरेका छन । जहाँ उनले चर्को कुरा गर्छन् भने सभापति देउवासँग निकटता छैन । मंगलबारको प्रदेश सम्मेलनमा पनि सभापति देउवासँग उनको भनाभन भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्मेलनमा राखिएको ब्यानरमा 'भ्रष्टाचार' र 'विरासत' शब्द राखिएको थियो । कांग्रेस प्रदेश कार्यसमितिका एक सदस्यका अनुसार ब्यानरमा राखिएका सबै शब्द सभापति शर्माले नै चयन गरेका हुन् ।

तर, ब्यानरका ती दुई शब्दलाई लिएर देउवा रिसाए । देउवाकहाँ कुरा पुर्‍याउने चाहिँ कास्कीकै कांग्रेस नेता कार्यकर्ता थिए । ब्यानरको विषयमा देउवा समूहका नेताहरूले ब्रिफिङ गरिदिएपछि शर्मा र देउवाबीच भनाभन नै भयो ।

Global Ime bank

प्रदेश कार्यसमितिले भने भाषिक अशुद्धताका कारण ब्यानर छोपिएको भनेर वास्तविकता छोप्ने प्रयास गर्‍यो ।

Gandaki-Congress-Sammelan-1702998724.jpg

यो त भयो कांग्रेसको सम्मेलन सुरु हुनुअघिको कुरा । कार्यकर्तामा उत्साह भर्ने, पार्टी रूपान्तरण गर्ने भनेर डाकिएको सम्मेलनमा झन्डै दुई दर्जन नेता तथा पदाधिकारी बोले । यति धेरै वक्ताले मञ्चमा बोलिरहँदा महिलाको नाममा भने प्रदेश उपसभापति कल्पना अर्याल तिवारीले स्वागत गर्नेबाहेक भनाइ राख्ने अर्को महिला नेतृ देखिएनन् ।

मुख्यतः सम्मेलनमा गुट, धर्म, प्रदेशका समस्याका बारेमा विषय उठान भयो । यिनै विषयलाई लिएर नेताहरूले एकअर्कालाई घोचपेच गर्न पनि छाडेनन् ।

अलि भड्काउ र उत्तेजक कुरा केन्द्रीय सदस्य शंकर भण्डारीले गरे । उनले आउँदो चैतमा संविधान नै नरहने सूचना आफूले पाएको र यसको जानकारी पार्टीलाई गराएको भनेर बोले । तर, सूचना कसले दियो भन्नेबारे बोलेनन् । हिन्दु धर्मको बारेमा वकालत गर्दै आइरहेका भण्डारीले पार्टीले पनि सनातन धर्म र प्रदेश खारेजीलाई एजेन्डा बनाउनुपर्ने बताए ।

पार्टी महामन्त्री गगनकुमार थापाले उनलाई जवाफ फर्काए । "हामी सबैले सबै धर्मको सम्मान गर्छौं । तर, धर्मको नाममा ठेकेदारी गर्ने पार्टीभित्र पनि छन् । चैतमा के हुन्छ भन्छन् । चैतमा यो वर्षको अन्त्य हुन्छ । हामीले तर्साउने होइन र तर्सिने पनि होइन । यो संविधान हामीले बनाएको हो । संविधानका प्रावधानहरू बदलिन्छन्, निर्वाचन प्रणाली, प्रदेशको बारेमा छलफल बहस गरौँ । तर, आज हामीले सबैभन्दा ठुलो जिम्मेवारी लिएका छौँ भन्ने नबिर्सौं । उत्तेजना, घृणाको राजनीति जसले पनि गर्छ, तर सम्हालिएर राजनीति गर्ने नेपाली कांग्रेसले हो," गगनले भने ।

प्रदेश सरकारको बारेमा केन्द्रीय सदस्य तथा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि कडा तर्क राखे । संघले कानून नबनाइदिएका कारण आफूहरूले गाली खाने अवस्था रहेको उनको भनाइ थियो ।

“त्यो कानून बनाउने कसले हो ? संघका माननीयहरूले । तर, उहाँहरूको नालायकीपनका कारण हामीले गाली खाइरहनुपरेको छ । कि कानून बनाइदिनुपर्‍यो कि प्रदेश खारेज गरिदिनुपर्‍यो,” उनले आक्रोश पोखे ।

जवाफमा महामन्त्री थापाले आउँदो चैतसम्म ४० कानून बनाउने बताए । 

नेताहरू आक्रामकरूपमा बोलिरहँदा सभापति देउवा भने बिन्दास थिए । उनले सदाझैँ छोटो बोले, पुरानै वाक्य दोहोर्‍याए । प्रदेश संरचना र धर्मबारे छिर्दै छिरेनन् ।

सम्मेलनको सुरुमा नै बोलेका प्रदेश सभापति शर्माले जनता 'दास' र नेताहरू 'मालिक' हुन् भन्ने व्यवहारले देखिइराखेको बताए ।

“शेरबहादुर देउवा दाइ यहाँ हुनुहुन्छ, उहाँ हामी सबैको आदरणीय नेता हो । तर, जनताको दृष्टिमा उहाँ सबैभन्दा पहिलो सेवक हो,” उनले भने, “हामी कोही मालिक होइनौँ, जनता हुन्,” उनले भने ।

सभापति देउवालाई उनले प्रदेश सरकारले अधिकार नपाएको भनेर ध्यानाकर्षण गराए । तर, देउवाले सबैलाई बेवास्ता गरिदिए, बोल्न उचित ठानेनन् ।

पार्टीमा पद्धति बसाल्ने विषयमा केन्द्रीय सदस्य प्रदीप पौडेल, महामन्त्री विश्वप्रकाश शर्माले बोले । 'एज कि एजेन्डा'को विषयमा २०७२ सालमा बहस हुँदैगर्दा आफूले त्यतिबेला आलोचना खेपेको उनले बताए ।

“यो सम्मेलनले राजनीतिक रूपान्तरणको केही सोचाइ बनाएको छ । २०७२ सालतिर सबै ७० वर्ष नाघेकालाई बिदा गर्नुपर्छ भन्ने कुरा आएको थियो । मैले एज होइन एजेन्डाको कुरा गरौँ भनेको थियो । हामीले एज होइन एजेन्डा भन्दै गर्दा ७३ सालमा एमालेले ७० वर्ष नाघेकालाई बिदा गर्ने भन्यो । तर, १० महिनाअघि त्यो हटायो, किनभने बा को उमेर ७० नाघ्यो,” उनले भने ।

Gandaki-Congress-Sa-1702998723.jpg

सभापति देउवालाई पनि उनले व्यंग्य गरे । "प्रधानमन्त्री बन्दैगर्दा दुईपटक मात्र होस्, तीनपटक नहोस् । मन्त्री तीनपटक होस्, चारपटक नहोस् । त्यसो भन्दैगर्दा मलाई सभापतिले अस्ति भन्नुभयो, भाइ यो नीति पहिल्यै लिएको भए त म पहिल्यै बिदा भइसक्दो रहेछु । त्यो नीति थिएन त्यसकारण पाँचपटक प्रधानमन्त्री बन्नुभयो । नीतिले रोकेन । यो पद्धतिलाई सुधार गरेर जानुपर्छ । मैले यो भन्दै गर्दा सभापतिलाई लागिहाल्ला मैले यो नीतिलाई पालना गर्न पाइन कसो गर्ने होला ? भैगो त, महाधिवेशनबाट सभापति म लड्न पाउँदिन, यो प्रधानमन्त्रीको भारी पनि कति बोकिरहने हो कोही त अगाडि सर भन्दिए पुग्छ । यसले राम्रो सन्देश दिन्छ र सम्भावना पनि छ । ढिलोचाँडो यो हुन्छ । यो कांग्रेस बचाऔँ भन्ने कुरा होइन, रूपान्तरणको कुरा हो,” उनले भने ।

सभापति देउवाले भने गठबन्धन बनाएर आफ्नो र पार्टीको जित भएको बताए । गठबन्धनमा अन्य दल जोडिएर कांग्रेसको सिद्धान्त र आदर्श मानेका कारण आफ्नो जित भएको उनले दाबी गरे ।

“हाम्रो पार्टीको सिद्धान्त र आदर्शमा अहिले अरू पार्टी पनि आएका छन । यस मानेमा हाम्रो पार्टीको जित भएको छ,” देउवाले भने ।

अर्का नेता शेखर कोइरालाले पनि प्रदेशलाई कि अधिकार दिनुपर्ने कि खारेज गरिदिनुपर्ने भनाइ राखे ।

“जसरी प्रदेश सरकार चलेका छन्, नेपाली कांग्रेसको प्रदेश समिति पनि अधिकारविहीन छ । त्यो अधिकार केन्द्रले दिनुपर्ने मैले महसुस गरेको छु । मैले यहाँका मुख्यमन्त्रीसँग कुरा गरेँ र हामी एउटै निचोडमा पुग्यौँ । संघीयता राम्रो व्यवस्था हो, तर केन्द्रले प्रदेशलाई अधिकार दिएको छैन भने प्रदेश खारेज गरिदिनुपर्छ । केन्द्रमा बस्ने साथीहरूले, नेतृत्व गर्नेले तल अधिकार नदिने । त्यो पुलिस, कर्मचारी, शिक्षक कुनै पनि अधिकार नदिने हो भने संघीयता कसरी चल्छ, यसमा विचार गर्नुपर्ने मैले देखेको छु । छिटोभन्दा छिटो अधिकार तल दिने हो भने संघीयता फस्टाउन सक्छ,” उनले भने ।

उनले १५औँ महाधिवेशनलाई अहिले नै हतारो नगर्न पनि आग्रह गरे । “तपाईंहरूलाई १५औँ महाधिवेशन लागेजस्तो छ । अधिवेशन धेरै टाढा छ अहिले । हतार गरिहाल्नुपर्ने अवस्था छैन । नेपाली कांग्रेसलाई मजबुत, कसरी एकढिक्का गर्नेतर्फ जाऔँ । यहाँ गुटको कुरा चल्यो, मैले पनि एउटा गुटको नेतृत्व गर्छु । तर, गुटले कांग्रेसलाई कमजोर गराउनुहुँदैन । वैचारिक हिसाबले, विचारको आधारमा अगाडि बढाउनुपर्ने हो, हामीले व्यक्तिको आधारमा अगाडि बढाएका छौँ,” कोइरालाले भने ।

आसन्न राष्ट्रिय सभा निर्वाचनमा उमेदवार छनोटको विषयमा महामन्त्री थापाले पटकपटक मौका पाएकालाई मौका दिन नहुने भन्दै गोपालमान श्रेष्ठप्रति संकेत गरे । श्रेष्ठ राष्ट्रिय सभा सदस्यमार्फत अध्यक्ष हुने तयारीमा छन् । गण्डकीमा यसपटक तीनवटा सिट खाली हुँदै छन् । त्यसमा उमेदवार छनोटको जिम्मा प्रदेश समितिलाई दिइएको बताउँदै पटकपटक मौका पाउनेलाई अवसर दिन नहुनेतर्फ ध्यान दिन आग्रह गरे । 

“गण्डकीका तीनजना उमेदवार छान्ने जिम्मा दिएका छौँ । हामी सबैको मनमा छ, पटकपटक मौका पाएकोले अब त्यो मौका पाउनुहुँदैन, गण्डकी सम्मेलनले त्यो निर्णय गर्दैगर्दा त्यो निर्णय गर्छ कि गर्दैन सम्मेलनमा पक्कै पनि छलफल होला, हामीले त्यो हेर्नु छ,” उनले भने ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  २०:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !