site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पाँच महिनामा तीन खर्ब ८३ अर्ब आम्दानी, चार खर्ब ५२ अर्ब खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ का निम्ति सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणानुसार गएको मंसिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ । २५.८७ प्रतिशत खर्च भएको छ ।

चालु आवका निम्ति सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँबराबरको बजेट ल्याएको थियो । मंसिर मसान्तसम्म आइपुग्दा सरकारको बजेट खर्च चार खर्ब ५२ अर्ब ९९ करोड ५७ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २५.८७ प्रतिशत रहेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पहिलो पाँच महिना अवधिमा चालु खर्च ३१.५३, पुँजीगत खर्च ११.९४ र वित्तीय व्यवस्थातर्फको खर्च १८.५२ प्रतिशत छ ।

चालु आर्थिक वर्षका निम्ति चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँबराबरको बजेट ल्याइएकामा मंसिर मसान्तसम्ममा तीन खर्ब ५९ अर्ब ९९ करोड ५७ लाखबराबर खर्च भएको छ । पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाखबराबरको वार्षिक बजेट रहेकामा हालसम्म ३६ अर्ब ६ करोड तीन लाख रुपैयाँबराबर मात्र खर्च भएको छ ।

यस्तै, वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब सात अर्ब ४५ लाख ३६ हजार रुपैयाँबराबर वार्षिक विनियोजन रहेकामा हालसम्म ५६ अर्ब ९३ करोड ९७ लाखबराबर खर्च भएको छ ।

चालु आवको पहिलो पाँच महिना अवधिमा सरकारको राजस्व संकलन पनि लक्ष्यानुसार हुन सकेको देखिँदैन । चालु आवका निम्ति कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँबराबर राजस्व उठाउने सरकारी लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २६.०७ प्रतिशत अर्थात् तीन खर्ब ८३ अर्ब ९२ करोड ४२ लाख रुपैयाँबराबर मात्र राजस्व संलन भएको छ ।

यो अवधिसम्मको सरकारको आयव्ययको विश्लेषण गर्दा आम्दानीको तुलनामा ६९ अर्ब सात करोड १५ लाख रुपैयाँ बढी खर्च भएको छ । अर्थात्, पाँच महिना अवधिमा ६९ अर्बभन्दा बढीको बजेट घाटा सरकारले व्यहोरेको छ ।

सरकारले चालु आवमा कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख र गैरकर राजस्वतर्फ एक खर्ब १७ अर्ब ६ करोड २१ लाख रुपैयाँबराबर संकलन गर्ने उद्देश्य राखेको छ ।

यसैगरी, ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँबराबर वैदेशिक अनुदान उठाउने सरकारी लक्ष्य छ ।

चालु आर्थिक वर्षको सुरुआती पाँच महिना अवधिमा कर राजस्व संकलन वार्षिक लक्ष्यको २५.८३ प्रतिशत अर्थात् तीन खर्ब ३७ अर्ब १८ करोड ६७ लाख छ । गैरकर राजस्व संकलन वार्षिक लक्ष्यको २२.४२ प्रतिशत अर्थात् २६ अर्ब २४ करोड २५ लाख रुपैयाँबराबर छ ।

चालु आवको मंसिर मसान्तसम्ममा सरकारले दुई अर्ब ७५ करोड ८० लाख रुपैयाँबराबर वैदेशिक अनुदान लिएको छ । रासस

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १४:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro