काठमाडौं । जनस्वास्थ्यका दशमध्ये एक प्रमुख चुनौती बनेको छ, एएमआर अर्थात् (एन्टिमाइक्रोबियल रेसिस्टेन्स्) प्रतिजैविक प्रतिरोध । विश्व स्वास्थ्य संगठन डब्लूएचओका अनुसार सन् २०१९ मा विश्वभर १.२७ मिलियन जनसंख्याको मृत्युको प्रत्यक्ष र ४.२७ मिलियन जनसंख्याको मृत्युको अप्रत्यक्ष कारण थियो एएमआर ।
यही अवस्था रहिरहे सन् २०५० सम्ममा वार्षिक एक करोड जनसंख्याको मृत्यु एएमआरका कारण हुने डब्लूएचओको प्रक्षेपण छ ।
नेपालमा सरकारी तवरबाट भएको पछिल्लो अध्ययनले पनि संक्रमणजन्य समस्यादेखि निमोनिया, टाइफाइडजस्ता रोगविरुद्ध पनि एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता कम भएको तथ्य पुष्टि गरेको छ ।
के हो एएमआर ?
मानव शरीरमा भाइरस, ब्याक्टेरिया, फंगसजस्ता सुक्ष्मजीवले विभिन्न संक्रमण र रोग निम्त्याइरहेका हुन्छन् । त्यस्ता रोगको उपचारमा प्रयोग हुने औषधि एन्टिमाइक्रोबियल हुन्, जसमा एन्टिबायोटिक, एन्टिभाइरस, एन्टिपारासाइट, एन्टिरोग, एन्टिफंगल आदि पर्छन् । उपचारको क्रममा प्रयोग भएका एन्टिमाइक्रोबियल औषधिलाई रोग गराउने सुक्ष्मजीवले प्रतिरोध गरेको अवस्था हो एएमआर । अर्थात् औषधिभन्दा सुक्ष्मजीव बलियो भएको अवस्था भएको चिकित्सकहरू बताउँछन् ।
वीर अस्पतालकी प्रमुख मेडिकल टेक्नोलोजिष्ट तथा माइक्रोबायोलोजिष्ट ज्योति आचार्यका अनुसार एन्टिबायोटिक औषधिले रोगको कारक किटाणुहरूको कोषिकासम्म पुगेर नष्ट गर्ने काम गर्छ र रोग निको हुन्छ । तर कतिपय अवस्थामा औषधिले किटाणुलाई नष्ट गर्नुको साटो झनै बलियो बनाएर औषधिलाई निष्प्रभावी बनाइरहेका हुन्छन् । किटाणुले औषधिको प्रभाव पर्न नदिन विभिन्न रसायनहरू उत्पादन गर्न थाल्छन् । किटाणुले आफ्नो स्वरुप नै परिवर्तन गरिदिन्छन् । अहिले विश्व जनस्वास्थ्यको चुनौति बनेको एएमआर यही अवस्था भएको आचार्यको भनाइ छ ।
सामान्य संक्रमणदेखि जटिल रोगमा पनि औषधि निष्प्रभावी बन्दै
एएमआरको असरले नेपालमा पनि सुषुप्त महामारी (प्रतिवेदनमा साइलेन्ट प्यान्डामिक भनिएको छ) को रुप लिइरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)को पछिल्लो सर्वेक्षणले देखाएको छ । एनपीएचएलले सन् २०२२ मा सार्वजनिक गरेको एएमआर सर्भिलेन्स रिपोर्टमा पिसाबको संक्रमण गराउनेदेखि निमोनियासम्मका रोग फैल्याउने ब्याक्टेरियाहरूमा एएमआर बढेको देखिएको छ ।
“अधिकांश महिलामा पिसाबको संक्रमण गराउने इकोली भाइरसविरुद्ध दिइने तीनवटा एन्टिमाइक्रोबियाल औषधि प्रभावकारी नभएको अर्थात् तीनवटा औषधिले काम नगरेको देखिएको छ”, आचार्यले भनिन् ।
त्यसैगरी अस्पतालहरूबाटै हुने संक्रमण (एचएआई) गराउने क्लेब्सिएला नामक ब्याक्टेरियाविरुद्ध पनि मल्टी ड्रग सेसिष्टेन्स् अर्थात् दुईभन्दा बढी एन्टिमाइक्रोबियल औषधिले काम नगरेको देखिएको छ ।
निमोनियाको उपचारमा प्रयोग हुने पेनिसिलिन, मिथिसिलिनजस्ता औषधिमा पनि एएमआर देखिएको आचार्य बताउँछिन् ।
त्यस्तै मौसमी संक्रमण, टाइफाइडजस्ता रोगको उपचारमा बढी प्रयोग भइरहने एन्टिमाइक्रोबियल औषधिहरू प्रभावहीन बन्दै गएको सर्वेक्षणमा देखिएको छ । सात प्रदेशका २६ वटा अस्पतालहरूबाट नमूना संकलन गरी गरिएको सर्वेक्षणमा झाडापखालाजन्य संक्रमणमा प्रयोग हुने औषधिहरूमा भने एएमआर नदेखिएको आचार्यले बताइन् ।
के कारण बढ्दै छ एएमआरको असर ?
विश्वभर एन्टिमाइक्रोबियल औषधिहरूको दुरुपयोग नै एएमआरको मुख्य कारण भएको डब्लूएचओकोे ठहर छ । नेपालको हकमा एन्टिमाइक्रोबियल औषधिहरूको मानव स्वयंले गरेको दुरुपयोग, पशुपंक्षीमा मासुको असुरक्षित प्रयोग र फलफूल तरकारीहरूमा हुने बिषादीका कारण एएमआरको असर बढेको विज्ञहरू बताउँछन् ।
एन्टिमाइक्रोबियल औषधिहरू चिकित्सकले सिफारिस गरेको डोजअनुसार पूरा मात्रा प्रयोग नगर्दा पनि एएमआरको समस्या निम्तिने गरेको विज्ञहरूले बताएका छन् । चिकित्सकको सिफारिसबिना एन्टिमाइक्रोबियल औषधिहरूको प्रयोग गर्नु र चिकित्सक स्वयंले पनि बिरामीलाई यस्ता औषधिहरू बढी सिफारिस गर्नुले एन्टिमाइक्रोबियल औषधिको प्रभाव घट्दै गएको औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्री बताउँछन् । यसबाहेक पशुपंक्षीजन्य मासु र फलफूल तरकारीमा प्रयोग हुने एन्टिमाइक्रोबियल औषधिको प्रत्यक्ष असर मानव स्वास्थ्यमा परिरहेको उनको ठहर छ ।
“चिकित्सकहरूले पनि ल्याब परीक्षण र त्यसको रिपोर्टलाई नकुर्दै एकैपटक दुईतीन वटासम्म एन्टिमाइक्रोबियल औषधि चलाएको देखिन्छ, यसलाई नियन्त्रण गर्न नसके स्थिति भयावह हुन्छ”, क्षेत्री भन्छन् ।
बिरामी स्वयंले फार्मेसीबाट चिकित्सकको सल्लाहबिना औषधि किनेर प्रयोग गर्ने प्रवृत्तिले पनि एएमआरको समस्या थप बढेको उनी बताउँछन् ।
चिकित्सकबाटै हुन्छ एन्टिबायोटिकको दुरुपयोग
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भर्खरै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा चिकित्सकले सिफारिस गरेका औषधिमध्ये ३८ प्रतिशत अर्थात् एक तिहाईभन्दा बढी औषधि एन्टिबायोटिक हुने गरेको देखिएको छ । ८५ प्रतिशत स्वास्थ्यकर्मीले एन्टिबायोटिक औषधि सिफारिस गर्दा जेनेरिक नाम उल्लेख नगरेको पनि प्रतिवेदनमा उल्लेख छ ।
यसलाई परिषद्ले एन्टिबायोटिक औषधिको ‘दुरुपयोग’को रूपमा व्याख्या गरेको छ । डब्लूएचओले एन्टिबायोटिकलाई पहिलो नम्बरमा एक्सेस, दोस्रोमा वाच र तेस्रो रिजर्भ गरी तीनवटा समूहमा वर्गीकरण गरेको छ ।
एक्सेस वर्गमा धेरै उपभोक्ताको पहुँचमा हुनुपर्ने, सबै प्रकारको संक्रमणमा प्रयोग हुने र कम साइड इफेक्ट हुने औषधिहरू पर्छन् । वाच वर्गमा चिकित्सकको सल्लाहमा मात्रै प्रयोग गर्न मिल्ने, अस्पताल पुगेका बिरामीमा मात्रै प्रयोग हुने र कडा किसिमका औषधिलाई राखिएको छ ।
रिजर्भ वर्गमा भने यी दुवै औषधिले काम नगरेको अवस्थामा मात्रै प्रयोग गरिने र सिकिस्त रोगविरुद्ध मात्रै प्रयोग हुने औषधि पर्छन् ।
डब्लूएचओको मापदण्डमा एन्टिबायोटिक औषधिको समग्र प्रयोगमा ६० प्रतिशत एक्सेस ग्रुपको हुनपर्छ । तर नेपालमा भने एक्सेस ग्रुपको प्रयोग ३० प्रतिशत, वाच ग्रुपको ७० प्रतिशतभन्दा बढी प्रयोग भइरहेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवाली बताउँछन् । रिजर्भ ग्रुपको औषधिको प्रयोग भने एक प्रतिशतभन्दा कम देखिएको उनले बताए ।
पशुपंक्षी फार्ममा प्रतिबन्धित एन्टिबायोटिकको लुकीछिपी प्रयोग
पशुपंक्षीमा प्रयोग हुने ‘कोलिस्टिन’ वर्गका औषधिलाई पनि डब्लूएचओले रिजर्भ वर्गमा राखेको छ । नेपालमा यसको दर्ता, आयात तथा पैठारीमा रोक लगाउन औषधि सल्लाहकार समितिबाट तीन वर्षअघि नै सिफारिस भएको छ । छिमेकी मुलुक भारत, बंगलादेशलगायत मुलुकमा पनि हाँस, कुखुरा, माछा आदिमा कोलिस्टिन औषधिको प्रयोगमा प्रतिबन्ध लगाइसकिएको छ । तर अहिले व्यवसायिक पंक्षी फार्म तथा कृषि फार्महरूमा माछा तथा पंक्षीहरूमा प्रयोगका लागि अवैध आयात भइरहेको औषधि व्यवस्था विभागले जनाएको छ ।
यस्ता औषधि लुकीछिपी फार्मसम्म पुग्ने र औषधि खुवाएको अवैध रूपमा विभागबाट प्रेषण गरिएको ‘डब्लूएचओको ग्लोबल एन्टिमाइक्रोबायल रेसिस्टेन्स एण्ड युज सर्भिलेन्स सिस्टम’ (ग्लास) मा सन् २०१६ देखि २०२१ सम्म नेपालमा कोल्स्टीनको अधिक खपत भएको पाइएको छ ।
रिजर्भ वर्गमा रहेका एभिब्याक्टम वर्गका एन्टिबायोटिक पनि नेपालमा बिना सिफारिस प्रयोग भइरहेको विभागको तथ्यांक छ । विशेषगरी कुखुरा फार्महरूमा कोलिष्टिनको खपत धेरै हुने र कुखुरामा यो औषधि प्रयोग गरेको दोस्रो वा तेस्रो दिनमा नै मासुका लागि बजार पुर्याउने गरिएकाले यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा परेको क्षेत्री बताउँछन् । एन्टिबायोटिक खुवाएको कम्तीमा पाँचदेखि सात दिनपछि मात्रै सो कुखुरा मासु खान योग्य हुने उनी बताउँछन् ।
“मासु वा तरकारीलाई राम्रोसँग पकाएर खाँदा बिषादीको मात्रा नष्ट हुन्छ भन्ने हाम्रो बुझाइ छ । तर एन्टिबायोटिकको कुनै न कुनै कण हाम्रो शरीरभित्र रहिरहन्छ । फालिएको फोहोर शौचमार्फत् माटोमा मिल्न पुग्ने एन्टिबायोटिकको अति सुक्ष्म अंशले उब्जनीमा समेत असर पुर्याउँछ”, माइक्रोबायोलोजिष्ट आचार्य भन्छिन् ।
आम उपभोक्ता यसबारे अहिले नै सचेत र सजग नभए अबका केही वर्षपछि अधिकांश एन्टिमाइक्रोबियल औषधिले रोगविरुद्ध काम नगर्ने अवस्था आउने उनको अनुभव छ ।
एएमआर न्यूनीकरणका लागि राज्यले के गर्दैछ त ?
विश्वव्यापी जनस्वास्थ्य समस्याको रूपमा देखिएको एएमआर न्यून तथा मध्यम आय भएका मुलुकहरूमा ठूलो चुनौती बनिरहेको डब्लूएचओको ठहर छ । जसमा नेपाल पनि एक हो ।
औषधि व्यवस्था विभागको तथ्यांकअनुसार नेपालमा करिब एक हजार २०० ब्रान्डका एन्टिमाइक्रोबियल औषधि दर्ता छन् । तीमध्ये हाल ९२ प्रकारका औषधि प्रयोग भइरहेका विभागको तथ्यांक छ ।
नेपालमा चिकित्सक औषधि व्यवस्था विभागले बिनाचिकित्सकको सिफारिस एन्टिबायोटिक (समूह ‘क’ र ‘ख’) का औषधि बिक्री गरेमा कारबाही हुने जनाएको छ । विभागले फार्मेसी अनुगमनमा बिनासिफारिस बिक्री भइरहेको पाइएकाले आगामी दिनमा यस्तो कार्य गर्नेलाई कारबाही हुने भनेको छ ।
चिकित्सकको सल्लाहसबिना यस्ता औषधि प्रयोग नगर्न विभागले अनुरोध गरेको छ । यो वर्गका औषधिहरू जथाभावी प्रयोग गर्दा शरीरमा रोग प्रतिरोधी क्षमतामा असर पुगेर कतिपय अवस्थामा औषधिले काम नगरेको पनि विभिन्न अध्ययनले देखाएका छन् । औषधि ऐन २०३५ को दफा १७ मा समूह ‘क’ र ‘ख’ का एन्टिबायोटिक औषधिलाई बिना प्रेस्क्रिप्सन बिक्री/वितरण गर्न नहुनेमा बर्गीकृत गरिएको छ ।
सरकारले एएमआर न्यूनीकरणका लागि डब्लूएचओको विभागले १०३ प्रकारका एन्टिमाइक्रोबियल औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा रोक लगाएको छ । डब्लूएचओद्वारा सिफारिस नगरिएका एन्टिमाइक्रोबियल औषधि र समिश्रणहरुलाई समेत रोक लगाउने निर्णय गरिएको विभागका महानिर्देशक नारायणप्रसाद ढकाल बताउँछन् ।
विभागको यो निर्णयसँगै नेपाली उद्योगले अब ति औषधि उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्न समेत पाउने छैनन् । १०३ प्रकारका औषधि दर्ता अनुमति नदिने तथा उत्पादन र बिक्री/वितरणका लागि लाइसेन्स समेत नदिने विभागको निर्णय छ ।
हाल बजारमा त्यस्ता औषधिहरू बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न निर्देशन दिएको तीन महिना बितिसकेको महानिर्देशक ढकाल बताउँछन् ।
नेपालले एएमआर न्यूनीकरणका लागि डब्लूएचओको ग्लोबल एक्सन प्लानअनुसार चल्ने प्रतिवद्धता जनाए पनि आफ्नै ‘नेसनल एक्सन प्लान’ भने अझैसम्म लागु गर्न सकेको छैन । सन् २०१७ देखि नेसनल एक्सन प्लान बनाउने तयारी भए पनि अहिलेसम्म तयार भइनसकेको वरिष्ठ औषधि व्यवस्थापक पानबहादुर क्षेत्री बताउँछन् । उक्त प्लान तयार पारी लागु गर्न सकेको अवस्थामा पनि एएमआर न्यूनीकरणमा ठूलो मद्दत मिल्ने उनको विश्वास छ ।