म्याग्दी जिल्लाको अन्नपूर्ण - ७ दोसल्ले गाउँका किसानले बिजुलीको झड्का लाग्ने डरले बारीमा सुन्तला पाके पनि टिप्न डराउनु परेको छ । सुन्तलाका बोटले ११ केभी प्रसारण लाइनको नाङ्गो तार छुन थालेपछि फलिरहेका रुख मर्न थालेका छन् ।
यसबाट त्यहाँका सुन्तला कृषकहरू आतङ्कित त भएका नै छन् आर्थिकरूपमा पनि तिनले नोक्सानी सहनुपरेको छ । सम्भवतः यस्तै अवस्था देखेर धेरै ठाउँमा प्रसारण लाइन बनाउन खोज्दा चर्को विरोध भएको हुनुपर्छ । प्रसारण लाइन निर्माणमा सुरक्षा जोखिममा ध्यान नपुग्ने गरेको प्रतिनिधि उदाहरण दोसल्ले हो ।
पहिले त प्रसारण लाइन मुनि परेका अधिकांश जमिनको मुआब्जासमेत दिइँदैन थियो । त्यस मुनिको जमिनमा भने खेती गर्नु पनि जोखिमपूर्ण हुन्छ । उच्च क्षमताको विद्युत् प्रवाह हुने नाङ्गो तारको मुनि परेकैले व्यक्तिको निकै मूल्यवान जमिन खेर गइरहेको छ । अर्थात्, प्रसारण लाइनकै कारण जनताले ज्यानको जोखिम र धनको क्षति सहिरहेका छन् ।
राज्यले चाहेका खण्डमा भने यस्तो जोखिम र क्षति निकै घटाउन सक्छ । सकेसम्म बस्तीको नजिकबाट उच्च क्षमताको प्रसारण लाइन नबनाउने र बनाउनै परे उचित मुआब्जा दिएर त्यस्तो जमिन खाली गराउने गरेमा ज्यान जोखिममा पर्नेछैन भने जमिन खेर गएको गुनासो पनि सुन्नुपर्ने छैन । यही नीति पुराना प्रसारण लाइनका हकमा पनि अपनाउनु न्यायोचित हुनेछ ।
दोसल्लेका किसानले हारगुहार गरेर प्रसारण लाइनको विकल्प अपनाउन सम्बन्धित निकायलाई मनाइसकेका रहेछन् । यसलाई प्रतिनिधि उदाहरणका रूपमा लिएर नेपाल विद्युत् प्राधिकरणले अन्यत्र अप्रिय घटना नहुँदै जनधनको सुरक्षालाई महत्त्व दिने काम गरोस् । बस्ती नजिक उच्च क्षमताको प्रसारण लाइन बनाउन खोज्दा गरिने चर्को विरोध मत्थर पार्ने सम्भवत उत्तम उपाय नै यही हुनसक्छ ।
जनधनको क्षतिपछि उत्पन्न हुने असन्तोषको व्यवस्थापन गर्नुभन्दा पुराना घटनाबाट सिकेर पीडित नागरिकसँग पनि विमर्श गरी पहिले नै मानवीय सुरक्षालाई उच्चप्राथमिकता दिनु बुद्धमानी हुनेछ । विद्युत् आयोजनाबाट हुने लाभको समुचित अंश निर्माण स्थलका जनताले पनि पाउने भए भने आयोजनाप्रति अपनत्व पनि बढ्नेछ भने दीर्घकालीनरूपमा लाभदायी पनि हुनेछ ।