site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
१४ किलो सुनको छानबिन गर्न भन्सार विभागद्वारा समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन छानबिन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ । 

बरामद १४ किलो सुनका विषयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो । 

Argakhachi Cement Island Ad

पत्रकार सम्मेलनमा बोल्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा प्रहरी नायव उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना रहेको बताए । 

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद

उनले गएराति भन्सार विभागको टोलीले सुनसहित गोरखाका चन्द्र घलेलाई पक्राउ गरी प्रहरी थुनामा राखिएको बताए । उनले फ्लाई दुबईको उडान नम्बर एफजेड– ५७३ बाट राति ११ः४० बजे काठमाडौं उत्रेका घलेलाई विमानस्थल भन्सारले पक्राउ गरेर अनुसन्धान गरिरहेको बताए । 

उनले विमानस्थल भन्सार प्रमुख डा. टोकराज पाण्डे नेतृत्वको टोलीले मध्यराति विशेष सुराकीको आधारमा खानतलासी गर्दा सात थान विस्कुट आकारको सुन बरामद गरेको बताए । चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखाका अर्का मीनबहादुर घलेलाई समेत पक्राउ गरिएको बताए । 

विशेष सुराकीको आधारमा बाहिरबाट सामान आउँदैछ भन्ने आधारमा केही दिनदेखि अन्तर्राष्ट्रिय उडानहरूमा निगरानीमा रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्