काठमाडौं । नेपाली कांग्रेसलाई बुझ्न उपयुक्त पर्यायवाची शब्द बन्न पुगेको छ, ‘लथालिङ्ग’ । ‘मासवेस’ भनिने पार्टी न ‘सिस्टम’ भित्र बस्न सक्छ, न त बनाएको ‘सिस्टम’ लागू गर्न सक्छ । कांग्रेस सधैँ ‘भद्रगोल’ मा चलिरहन्छ भन्ने पुष्टि आफैंले बनाएको विधान ‘रद्दीको टोकरी’मा पुग्नुले पनि देखाउँछ ।
१४औं महाधिवेशनपश्चात् दुई जोशिला महामन्त्री र अन्य युवा नेताहरू पदाधिकारीमा विजयी भएपश्चात् पार्टी चलयमान हुने अपेक्षा कार्यकर्तामा थियो । महामन्त्रीद्वयको छवि र अभिव्यक्तिले पार्टीको गिरेको ‘साख’ फर्कने अपेक्षा पनि सँगसँगै थियो ।
तर, पार्टी विधान बमोजिम अघि बढ्न सकेको छ न त पार्टीमा ‘जोशिला महामन्त्री’द्वयले अघि सारेको कार्ययोजना पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छ । कांग्रेस पुरातन ढंगबाटै अघि बढिरहेको छ । गत साउनमा २ देखि १० गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बस्यो ।
बैठकको सुरूवातमै दुई महामन्त्रीका तर्फबाट तयार पारिएको बैठकको एजेन्डा प्रस्तुत गरियो । एजेन्डा प्रस्तुत गर्दै महामन्त्री गगनकुमार थापाले पार्टीलाई ‘सिस्टमेटिक’ बनाउन कार्यतालिका प्रस्तुत गरे । उक्त कार्यतालिकामा पार्टीले वर्ष दिनभित्र सम्पादन गर्ने कार्यक्रमबारे उल्लेख गरिएको थियो । यतिसम्म कि कुन मितिमा कुन कार्यक्रम गर्ने भनी स्पष्ट लेखिएको थियो ।
महामन्त्री थापाद्वारा प्रस्तावित पार्टीको वार्षिक क्यालेन्डर साउन १० मा सम्पन्न भएको बैठकले परिमार्जनसहित पारित गर्यो । बैठकको निर्णय नम्बर–५ मा ‘सांगठनिक कार्ययोजना र कार्यतालिका सम्बन्धमा बैठकबाट प्राप्त सुझावहरूका आधारमा परिमार्जन गरी पारित गर्ने निर्णय गर्दछ’ लेखिएको छ ।
महामन्त्रीले प्रस्तुत गरेको एजेन्डा केन्द्रीय कार्यसमितिले पारित गरेसँगै कार्यतालिका सम्पूर्ण पार्टीको अंग बनेको छ । ‘पूर्ण अपनत्व’ केन्द्रीय समितिले लिएपछि कार्यतालिका महामन्त्रीको मात्र भन्न मिल्दैन । यसरी केन्द्रीय समितिको स्वामित्वको क्यालेन्डरको केही अंशमात्र लागू भएको छ ।
“बीपी साहित्य महोत्सव गरियो । सुर्वण शमशेर इकोनोमिक कनक्लेभ जाजरकोट भूकम्प देखाएर सार्ने मौका मिल्यो,” कांग्रेस कार्यालयका एक सचिव भन्छन्, “अरू धेरै कार्यतालिका लागू हुन्छ भन्ने आशा हो कांग्रेसमा विश्वास गर्न सकिँदैन ।”
क्यालेन्डरअनुसार भएका काम
क्यालेन्डरका केही पनि काम हुँदै नभएका भने होइनन् । पार्टी निर्णय अनुसार पहिलो कार्यक्रम ‘पोलिसी ह्याकाथन’ कार्यक्रम सम्पन्न गर्यो । युवाहरूसँग जोड्न र मुलुकमा विद्यमान बेरोजगारी समस्या र युवाहरुको विदेश पलायन जस्ता ज्वलन्त समस्याहरु नवीन नीति र प्रविधिका माध्यमले काम गर्न भन्दै कार्यक्रम कांग्रेसले आयोजना ग¥यो ।
कार्यक्रमका संयोजक सहमहामन्त्री जीवन परियारका अनुसार, देशमा सकारात्मक सन्देश दिई युवाहरुबीच फैलिएको निराशा हटाउन र पार्टीप्रति युवा आकर्षण बढाउन ‘पोलीसी ह्याकाथन अन गीग इकोनोमी एण्ड क्लाइमेट चेन्ज’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कांग्रेसको निचोड उक्त कार्यक्रमले नेपाली कांग्रेस पार्टी सबै किसिमका युवाहरुबीचमा वैचारिक तथा व्यवसायिक दृष्टिले खुला बहस छलफल गर्न तयार रहेको सन्देश आमयुवाका बीचमा फैलिएकामा ढुक्क छ । असोजको केन्द्रीय समिति बैठकको निर्णयमा उक्त कुरा लेखिएको छ ।
पार्टीले बीपी कोइरालाको ११०औँ जन्मजयन्तीको अवसरमा बीपी साहित्य महोत्सव सम्पन्न गर्यो ।
पार्टीले भदौ २४, २५ र असोज ३ गते गरेर तीन दिनसम्म महोत्सव सम्पन्न गर्यो । महोत्सवले पार्टीलाई जनतामा साझा र लोकप्रिय दलको रुपमा स्थापित गराएको पार्टीको दाबी छ ।
“राजनीतिक दलका नेताहरु, सबै क्षेत्र र आस्थाका विद्वान, बुद्धिजीवी, साहित्यकार, लेखक, कलाकार एवं सामाजिक व्यक्तित्वहरुको उपस्थिति र प्रस्तुतिले हाम्रो पार्टीको प्रभाव जनमानसमा थप लोकप्रिय बनेको महसुस भएको छ,” असोजको केन्द्रीय समिति बैठकको निर्णयमा लेखिएको छ ।
‘कर्नर’मा क्यालेन्डर
क्यालेन्डर अनुसार पार्टी चल्थ्यो भने यतिबेला कांग्रेस ‘जनताको घरदैलो’मा पुग्ने थियो । कांग्रेसले तेस्रो चरणको अभियानअन्तर्गत मंसिर १५ देखि माघ १५ सम्म दुई महिने घरदैलो अभियान चलाउने क्यालेन्डर बनाएको छ ।
तर, यो अभियान क्यालेन्डरमै सीमित पार्ने काम पार्टी पंक्तिबाट भएको छ । पार्टीले क्यालेन्डरमा लेखे अनुसार, पार्टीले साउन २० देखि भदौ १ गतेसम्म आन्तरिक विशेष अभियानअन्तर्गत सम्पन्न गरेको छ । त्यसपश्चात् यावत कारण देखाउँदै दोस्रो चरणको अभियान पार्टीले स्थगन गर्यो । भदौ १० देखि २४ गतेसम्म गर्ने भनिएको समुदायसँग कांग्रेसको संवाद कार्यक्रम स्थगन गरियो ।
“वर्षायाम, अविरल झरी, बाढी पहिरो एवं डेङग्यू र आँखा पाक्ने रोग जस्ता जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने महामारी फैलिएको जोखिमपूर्ण अवस्था मध्यनजर गरी भाद्र १० देखि २४ गतेसम्म सम्पन्न गर्ने भनी निर्धारण गरिएको ‘समुदायमा कांग्रेस’ नामक कार्यक्रम स्थगन गर्नुपर्यो,” पार्टीको असोज ४ देखि ८ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णय नम्बर २ मा लेखिएको छ ।
पहिलो चरणको अभियान नै १० वटा विशिष्ट उद्देश्य राखेर सञ्चालन गरिएको थियो । अभियानको पहिलो चरणमा पार्टीको सदस्यता वितरण, तहगत समितिको क्रियाशीलता, यथार्थ विश्लेषण, संगठन सुदृढीकरण र सबलीकरण गर्ने उद्देश्य राखिएको थियो ।
पहिलो चरणमा ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा प्रतिनिधि खटाइएको थियो । प्रतिनिधिहरूलाई भदौ १५ भित्र आफ्नो प्रतिवेदन पेश गर्ने समयसीमा निर्धारण गरिएको थियो । उक्त निर्णय बमोजिम आफूलगायत धेरै प्रतिनिधिहरूले प्रतिवेदन बुझाइसकेको कालिकोटमा प्रतिनिधि भएर गएका पूर्व केन्द्रीय सदस्य किरण गिरी बताउँछन् ।
त्यसबाहेक पार्टीले दोस्रो चरणको कार्यक्रमका लागि कार्यक्रम तय गर्ने जाकारी गराएको थियो । यस्तै, पार्टीले क्यालेन्डरमा भदौ महिनामा गर्ने भनेको ‘दिवानसिंह राई स्मृति दिवस’मा विचार गोष्ठी, ‘प्रदीप गिरीको स्मरण सभा’, भदौ २४ मा गर्ने भनिएको ‘मानसिक स्वास्थ्य’सम्बन्धी कार्यक्रम आयोजना नै गरेन ।
यस्तै भदौ २९ मा बाल दिवसको अवसरमा गर्ने भनिएको ‘कांग्रेस विपन्न छात्रवृत्ति अभियान’, असोज २ मा गर्ने भनिएको ‘गणेशमान सिंह स्मृति दिवस’ आयोजना गरेन । कात्तिक २४ गते आयोजना गर्ने गरी तयार पारिएको क्यालेन्डर अनुसार, सुवर्ण शमशेर स्मृति दिवसको अवसरमा पार्टीको अर्थनीतिसम्बन्धी दुई दिने ‘आर्थिक कन्क्लेभ’ गर्न सकेन ।
मंसिर ११ मा ‘शेख इद्रिस स्मृति दिवस’को अवसरमा भू–संरक्षण कार्यक्रमदेखि, मंसिर १६ मा पहिचान र विविधताको विषयमा ‘भीमबहादुर तामाङ स्मृति दिवस’मा नीति संवाद गर्ने उसको ‘क्यालेन्डर’ पनि गफैमा सीमित भएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेल क्यालेन्डर कार्यान्वयनमा पार्टी सफल नभएको स्वीकार गर्छन् । जाजरकोट भूकम्पका कारण पार्टी र सबै नेतृत्व पुनर्निर्माण र अस्थायी टहरा निर्माणमा जुट्नु परेकाले पनि क्यालेन्डर प्रभावित भएको बुझाई उनको छ ।
यस्तै पार्टीको आन्तरिक संरचनामा भइरहेको सम्मेलन तथा ऐतिहासिक प्रदेश सम्मेलनको असर पनि क्यालेन्डरमा परेको तर्क उनको छ ।
“कार्यतिालिका हामीले शतप्रतिशत लागू गर्न खोजेका हौं । तर, जाजरकोट भुकम्पका कारण पार्टीको पुरै ऊर्जा त्यतै खर्च गरियो । हाम्रा सबै नेताहरू त्यसतर्फ खटिनुभयो,” पौडेलले बाह्रखरीसँग भने, “हामी महासमिति बैठकपछि गति बढाउँछौं र क्यालेन्डर पूर्ण कार्यान्वयन गराउन लागि पर्छौं ।”
केन्द्रीय सदस्य भन्छन् : व्यक्तिगत स्वार्थ हाबी भयो
विधानसम्मत् ६ महिनामा बनाउनुपर्ने विभाग गठनमा कांग्रेस चुकेकै हो । साउनको कार्यतालिका अनुसार भदौ १५ भित्र सबै विभाग गठन र उक्त विभागलाई पूर्णता दिने भनिएको थियो । तर, ११ विभागको प्रमुख तोक्नेबाहेक अन्य काम हुन सकेन । अर्थात् विभाग गठनका विषयमा पनि विधान र क्यालेन्डर दुबै चुकेको छ ।
कांग्रेस विधान अनुसार, कार्यकारी भूमिकामा सभापति छन् । पार्टी विधानले महामन्त्रीभन्दा मुनिका पदलाई महत्वपूर्ण कार्यगत अधिकार दिएको छैन । सभापतिपश्चात् दुई उपसभापति र दुई महामन्त्रीलाई मात्र विधानले अधिकारको व्यवस्थापन गरेको छ ।
त्यसैले पार्टीको सफलता असफलतामा पाँच पदाधिकारीको भूमिका महत्वपूर्ण हुने गर्दछ । केन्द्रीय सदस्य नैनसिंह महर चाहिँ सभापतिसहित पाँच पदाधिकारीमा व्यक्तिगत स्वार्थ हाबी हुँदा विधान कार्यान्वयन र पार्टी सफलताका एजेन्डा गौण बनिरहेको धारणा राख्छन् ।
“पार्टीको विधानले केन्द्रीय सदस्यदेखि सहमहामन्त्रीलाई सहयोगी भूमिकामा मात्र राखेको छ, कार्यकारी भूमिका दिएको छैन । त्यसमाथिका पदाधिकारीहरू आफैले ल्याएको कार्यतालिकालाई बेवास्ता गर्ने काम भएको छ,” महर भन्छन्, “सबै व्यक्ति व्यक्ति आफै बलियो हुन लागेका छन् । संस्था बलियो बनाउन प्रयत्न गरेको देखिँदैन, अनि कसरी क्यालेन्डर लागू हुन्छ ?”
वास्तवमा पार्टी बलियो बनाउने हो भने सबैभन्दा धेरै जिम्मेवारी केन्द्रीय समितिको छ । अझ बढी सभापति शेरबहादुर देउवासहित उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भूमिका चाहिन्छ ।
विधानसम्मत् अधिकार पाएका यी पदमा आसिनहरूले काम गर्नुपर्ने हो । तर, आफैंले बनाएर केन्द्रीय समितिबाट पारित भएको महत्वपूर्ण एजेन्डाहरू लागू गराउन नसक्नु नेतृत्व असफलता हो । केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल अन्तिम निर्णय गर्ने अधिकार पाएका पदाधिकारी र सभापतिमा कार्यतालिका लागू गर्ने विषयमा ‘सिरियसनेस’ नदेखिएको टिप्ष्पणी गर्छन् ।
तदर्थवाद हाबी हुने पार्टी रूपान्तरण गर्न समय लाग्ने भन्दै उनी प्रणाली बसाउन समय लाग्ने रहेछ भन्ने पुष्टि भएको तर्क गर्छन् ।
“कि कार्यतालिका व्यवहारिक भएन कि संरचनामा कार्यतालिकामा सिरियस भएनन्,” पोखरेल भन्छन्, “प्रणाली लागू गर्न खोजिए पनि नसकेको देखिन्छ । कांग्रेसमा प्रणाली बनाउन समय लाग्ने भयो, तदर्थवादमा चल्ने पार्टी एकैपटक रूपान्तरण हुन्छ कार्यशैली परिवर्तन हुन्छ भन्ने हुँदो रहेनछ ।”
उनी अब कार्यतालिका बनाउँदा एकैपटक संरचना परिवर्तन गर्ने हैन कि विस्तारै रूपान्तरणका खाका निर्माण गरेर अघि बढ्नुपर्ने घटनाक्रमले देखाएको टिप्पणी गर्छन् ।