site stats
बाह्रखरी :: Baahrakhari
विचार
मिटरब्याजी अझै कसको संरक्षणमा छन् ?

सिनेमा हेरेजस्तो लाग्छ तर सत्य घटना हो । बाबुआमा, छोराछोरीसहितको मिलेको एउटा परिवार । आमा सरकारी निकायबाट सेवानिवृत्त हुँदा प्रतिमहिना उन्नात्तीस हजार पेन्सन पाउँदी रहिछन् । 

बाबु प्राइभेट क्षेत्रको सेवामा तर सेवानिवृत्त भए पनि उनी निरन्तर काम गरी आर्जन गरिरहेकै रहेछन् । दुईवटी छोरी इज्जतआमदअनुसार विवाह भई आआफ्ना घरमा रहेबसेका छन् । स्नातकसम्मको अध्ययन गरी कुनै निजी कम्पनीको जागिरे एकमात्र छोराले भत्ता आदिसमेत गरी महिनाको पचास हजार जति कमाउँदा रहेछन् ।

यसरी आमा, बाबु, छोराको गरी महिनामा एक लाख रुपैयाँ आम्दानी पनि हुँदोरहेछ जसबाट एउटा सुखी खुसी परिवार चलेको रहेछ । बसोबास निम्ति सानोतिनो भए पनि घर जोडेको र हिँडडुलका निम्ति बाबुछोराकै मोटर साइकल पनि रहेछ ।

एउटा सानो सबल परिवार जोसँग आठ दस तोला सुन र बैङ्कमा दस बीस लाखको बचत पनि पटकपटक गरेर भएको रहेछ । छ महिनाअघि छोरालाई काम गर्दै आएको कम्पनीको जागिरबाहेक अरू थप काम गरेर आमदानी बढाउने जाग्यो । त्यसमा साथीसँग कुरा चल्यो । उनले चाहेको काममा लगानी गर्न थोरै समयका निम्ति साथीले ऋण दिलाउने आश्वासन दिएछ ।

यसरी उसले साहुबाट तीन लाख रकम दिलायो । तर सर्त के राखिएछ भने दुई महिनापछि ऋणीले आफ्नो खातामा पैसा राखी दिने र साहुले ऋणीको खाताबाटै प्राप्त गर्ने गरी पटकपटक एक एक लाख झिक्न तीन थान सही गरेको चेक दिनुपर्ने । त्यसरी नै लेनदेन भयो र चेक आदानप्रदान पनि ।

Global Ime bank

जनसाधारणलाई कानुनको दाउपेच थाहा हुने कुरै भएन । दुई महिनापछि ऋणीले पैसा खातामा राखी दियो, साहुले रकम पायो । 

मामला सकिएको थियो । तर, केही समयपछि साहुले ऋणीलाई उसले सही गरेको खाली चेकबारे ‘बाउन्स’ गरी धम्की दिँदै थप रकम माग्यो ।

ऋणीले आफ्नो तलवबाट रकम दिँदै गयो । यो प्रक्रिया चलिरह्यो । साहुले आफूसँग खाली चेक हुँदा भने जति रकमको अंक भरेर चेक बाउन्स गरी चेक अनादरमा मुद्दा चलाउने र जेल पठाउने धम्की दियो । 

त्यसपछि युवा ऋणी डरायो । महिना, महिनामा बारम्बर ‘व्ल्याकमेल’ गरी जति पटकपटक पनि रकम दिँदै गयो । साहु भने कहिल्यै अघाएन । किनभने ऊ थियो मिटरब्याजी ।

ऋणीले त्यसरी ऋण लिएको विषयमा घरमा आमाबाबुलाई भनेको रहेनछ । त्यो कुरा थाहा पाएपछि साहु, बाबुआमा कहाँ आधा रातमा गएर धम्काए छ । अब दस लाख पाउनुपर्ने भनी दाबी गर्दै तर्साउन थाल्यो । 

जवान छोराको चेक ‘बाउन्स’ हुँदा भएको नोकरी जाने, जेल जाने अनि चलिरहेको बिहेको कुरा पनि बिग्रनेजस्ता डर र बेइज्जत हुने देखेपछि उनीहरू डराए । छोरालाई घर सल्लाह नगरी ऋण लिएकोमा सक्दो गाली गरे । यसरी साहुलाई थुमथुम्याएर आफूसँग भएको आठ तोला सुन बेचेर नगद रकम दिए । एक थान चेक फिर्ता लिएर ढुक्क भएछन् ।

फेरि समस्या केही समयपछि सुरु भयो । किनभने तीन थान चेक थियो । 

अनि एउटा त अझै बाँकी रहेछ । साहुले केही मानिस भेला पारी एक दिन फेरि ऋणीलाई बाटोमा घेरेर उसको मोटरसाइकल र साँचो खोसे । बाटैमा जबर्जस्ती मोटर साइकल बेचेको कागजमा सहीछाप पनि गराए छन् र मोटर साइकल जफत गरेछन् । 


यी सबै गैरकानुनी काम हुँदा बाबुछोरा कानुन व्यवसायी कहाँ सल्लाह गर्न र न्याय प्राप्तिका लागि किन गएनन् ? कारण कानुनी कारबाही गर्न गएमा मिटरब्याजीले ऋणीको परिवारलाई बराबर मार्ने र अपहरण गर्ने धम्की दिएको हुँदा डराएका रहेछन् ।


मिटरब्याजीहरूले विनालिखत कागज आसामीलाई रकम दिँदा रहेछन् । 

तिनको रकम साँवाब्याज उठाउने बल भनेको हतियार, गुण्डा र डर धाकधम्की नै रहेछ । यसपछि पीडित परिवार मुक्ति पाउने आशामा राजनीतिक संगठनको सहरामा गयो । नेताहरूको दबाबबाट केही छुटकारा पाउने आशासहित । दलका नेता पनि गंगाजलले नुहाएको हुने कुरै भएन । स्थानीय नेताले दुई पक्षलाई मिलाउने भनेर बोलाए र छलफल गराए ।

मिटरब्याजीले आफूले ऋण दिएबापत कुनै रकमको साँबाब्याज नपाएको, ऋणीले बरु पचास लाख रकम आफूसँग लिएको भनी बसोबास गरेको ऋणीको घर पाउनुपर्ने थप दाबी गरेछ । यसपछि पीडितहरू बसोबास गरेको घर जग्गा देखाउन दिनदिनै ग्राहक ल्याउन सुरु गरेछ ।

ऋणीहरू अति भएपछि बल्ल प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी लिएर पुगेछन् । त्यसपछि प्रहरी कहाँ कारबाही गर्न भनी पठाइयो । प्रहरीको ठूलो हाकिमको तहतह हुँदै सानो तहसम्ममा पुग्दा, दुवै पक्ष मिलेर आउनु भनी सल्लाह र सुझाव पाएछन् । 

मिटरब्याजी साहु, ऋणीको कब्जा गरेको मोटरसाइकलमा नै सानका साथ ढल्किदै प्रहरी कार्यालयबाट हाँस्दै निस्कियो । हुइँकियो । ऋणीको नाम दर्ता भएको मोटरसाइकल बाटोघाटोमा कागज लिएदिएको लेख्दैमा कानुनको रीत नपुगेको र स्थानीय निकायको रोहवरमा तयार नभएको लिखतबाट ऋणीको हक जाँदैन भन्ने त स्पष्टै छ ।

अझ रोचक कुरा त के रहेछ भने पैसा दिलाउने ऋणी युवाको मित्र नै मिटरब्याजीको भित्रिया मिलुवा रहेछ । ऊ ऋण दिलाएबापत कमिसन खाँदो रहेछ । तसर्थ, उसले प्रहरीसमक्ष ऋणी युवाले साहुसँग पचास लाख रुपैयाँ ऋण लिएको हो भनी ठोकुवाका साथ प्रमाणित गर्न पुगेको थियो । 

मोटर साइकलको जबर्जस्ती कागज बनाउने लेखनदास पनि मिटरब्याजीसँग लेखापढी गरेबापत प्रतिशतका दरले खाने मिलुवा रहेछ । यसरी तीन लाख रकम दिएर पचास लाख असुल गर्न खोज्ने मिटरब्याजीलाई असुलीमा सहयोग गरी वातावरण कसले मिलाई दिएको हो ?

सरकारले मिटरब्याज असुलीविरुद्ध कानुन त बनाएको छ । कानुन बनाएरमात्र हुँदैन । सानालाई ऐन ठूलालाई चैन व्यवहारमा रहिरहने हो भने त्यसको के अर्थ रहन्छ ? 

नागरिकको जीउधनको सुरक्षा राज्यले गर्नुपर्छ । राज्यले असहाय नागरिकलाई कानुनको ज्ञान र कानुनी उपचारको व्यवस्थासमेत गर्न आवश्यक छ । मिटरब्याजको कारण मानिसले आत्महत्यासमेत गरेको उदाहरण छ । कति त घरबारै छाडी भागेका छन् । जनताले राज्यलाई कर तिरेका त्यही शान्ति सुरक्षाका निम्ति त हो । राज्यले मानिस अन्यायमा पर्दा न्याय नदिने नदिलाउने हो भने संविधानको, कानुनको के काम ?

अर्कातिर उल्लेखित परिवारलाई सहकारीले पनि ठूलो रकम लुटेको रहेछ । पन्ध्र प्रतिशत ब्याजको प्रलोभन देखाएको कारणबाट उनीहरूले आफू र आफन्त ज्वाइँ, चेलीबेटीसमेतको पैसा त्यसमा राखिदिन पुगेका रहेछन् । 

सहकारीले सो रकम बेपत्ता पारी दिएकाले आफ्नो त गयो, अरूको पैसासमेत घरवार धितोमा राखेर तिर्दा त्यसको ब्याज महिना महिनामा चुक्ता गर्नु परेकाले नुन र फूको भातको सिताले दिन गुजार्नु परेको छ । 

नेपालमा जो ताकतवर छ, जो टाठोबाठो छ, जोसँग राजनीति गर्नसक्ने क्षमता छ त्यसको मात्र आधार छ । सोझासिधाको हकमा कुनै उपाय छैन । टाठाबाठाहरूलाई महँगी र आर्थिक मन्दी पनि आएको छैन । रोजगारी पाउन र व्यवसाय गर्न पनि तिनलाई बाधा छैन ।

कसैको राम्रा घडेरी छन्, जग्गा जमिन छन् भने कैँटे दाउ लगाएर पुलिस प्रशासन मिलाएर कब्जा गर्न तिनलाई न त धक छ न त लाज छ । 

एउटा समूह छ जो परिवार र घरभित्रको झैझगडा र मुद्दाको खोजी गर्दै हिँड्छ । उस्तै मौका परे परिवारभित्र झगडाको सुष्टि पनि गराइदिन्छ ताकि त्यसैमा खेलेर सम्पत्ति कब्जा गर्न हत्याउन सकियोस् । 

हुनत यो भन्ने हो भने एउटा निकृष्ट दलालको भूमिका हो तर तिनीहरू आफूलाई दलाल भन्न रुचाउँदैनन् । वास्तवमा दलाली एउटा पेसा हो । 

उनीहरू मर्यादित पनि हुन्छन् । तर, यहाँका दलालहरू पैसा र सम्पत्ति प्राप्तिका निम्ति लुटपाट गर्न तत्पर छन् ।

नेपालका जनसाधारण मिटरब्याजीबाट, सहकारीबाट, दलाल र फटाहाहरू सबैबाट पीडित छन् । यिनको भूमिका पुरानो जमानाका ‘सुदखोर महाजन’ जसले एक हजार ऋण दिएबापत पाँच हजारको कागजको लिखत बनाउने गर्थे तिनको जस्तै छ । यतिखेर पनि त्यस्ता सुदखोरहरू छ्याप्छ्याप्ती छन् । 

त्यसका अतिरिक्त स्थानीय सरकारले बाटोघाटो, कुलोपैनीजस्ता निर्माणको निम्ति जनसहभागिताको नाममा जनतासँग बराबर पैसा मागेको देखिन्छ । 

सरकारले दिएको विकासको बजेट बेपत्ता हुन्छ । निर्माणका काममा पैसा जनताको थैलीबाट जाने गर्छ । जनताको आय छैन, रोजगारी छैन, तिनको घर रित्तो छ तापनि तिनले यी ठूलाठालुको इच्छा कहाँबाट पुराउन सक्लान् ?

(कार्की पूर्व प्रधानन्यायाधीश हुन्)
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu