कथा काल्पनिक हुन्छ । लेखकले कथालाई कल्पनाभित्र पनि सत्य र यथार्थपरक बनाउन कलात्मक रूपमा प्रस्तुत गर्न चाहन्छ । कल्पना र कलाको प्रयोगले कथा रोचक बन्छ ।
यो मुलुकले भोगेका र जनजनको दैनिकीलाई सादृश्य गरेका धेरै कथा कल्पना पनि होइनन् र कलात्मक पनि होइनन् । यस्ता कथा स्वस्फूर्त रूपमा यसरी बगेका छन् कि कल्पना गर्नेले कल्पना गर्न सक्दैन र कलात्मक बनाउने कला भर्न सक्दैन ।
आफैँमा कारुणिक र मर्मस्पर्शी कथा सत्य बोलिरहेका छन् । भर्खरै जाजरकोटमा गएको भूकम्पले सिर्जना गरेको कथा । कथाका पात्र काल्पनिक होइनन्, कथावस्तुमा अभिव्यक्त भाव काल्पनिक होइन र कथाका पात्रको मुखमण्डलले बोलेको भाषा पनि काल्पनिक होइन ।
कथाले सजीव र सन्देहविहीन भाषा बोलिरहेको छ । कथाको यस सजीवता र सत्यतालाई काल्पनिक बनाउन उद्यत लेखक (शासक) काल्पनिक कथाकै वरिपरि कला भर्दै छन् । आफूभित्र उनीहरूप्रति अपार समवेदना भएको कला भर्ने प्रयास गरिरहेका छन् । चिसो रातलाई बिट मार्ने कम्बल होइन, शब्दको स्निग्धताले भ्रमित गरिरहेका छन् ।
भूकम्पले नछोएका जनता खुला आकाशको चिसोले निमोठिएको यथार्थलाई कला भर्ने काम गरिरहेका छन् । एक महिनाकी सुत्केरी पेटभरि खान नपाएर लखतरान परेकी छे, दुधे बालकले आमाको लाम्टो खोजिरहेको छ, आँखा नदेख्ने हजुरआमा दायाँ गोडा गुमाउँदाको चोटले कराइरहेकी छन् ।
यस्ता सयौँ परिघटना काल्पनिक होइनन् । एउटै परिवारमा चारजना आफन्त गुमाएको अर्को पात्र दीर्घरोगका कारण मृत्युशय्यामा निस्लोट छ, अर्को खुट्टा गुमाएको पात्र छटपटाउँदै छ । यस्ता सयौँ पात्र र घटना कथाको पटकथामा समेटिएका छन् ।
यस्तो कथामा न कलात्मक करुणा चाहिएको छ न यथार्थपरक बनाउन सत्यताको लेपन नै । सत्यकथाका लेखकहरू काल्पनिक विषयवस्तुलाई यथार्थपरक बनाउन तर्क–वितर्क र कला देखाइरहेका छन् ।
तन र मन दुखेका पात्रको तनमनमा मलम लगाउन पनि राजनीति गरिरहेका छन् ।
(कुलेश्वर, काठमाडौं)