site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मुलुकको समृद्धि र जनताको खुसीका निम्ति एमालेको हातमा मुलुकको ‘बागडोर’ आउनुपर्छ : उपाध्यक्ष पौडेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले मंसिर १४ देखि पुस २ गतेसम्म मध्यपहाडी (पुष्पलाल) लोकमार्ग लक्षित महाकाली–मेची अभियान सुरु गर्दै छ ।

मध्य पहाडी लोकमार्गमा सञ्चालन गर्न लागिरहेको विशेष अभियानलाई प्रभावकारी बनाइ जनतासँग जोडिने अभियानमा एमाले लागेको हो । बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने पुष्पलाल मध्य पहाडी लोकमार्ग अभियान सफल बनाउने कार्यमा पार्टीका नेता तथा कार्यकर्ताहरू लागिपरेका छन् । यात्रामा स्थायी कमिटी, केन्द्रीय कमिटी, पोलिटब्युरोका सदस्यहरूका साथै जनसंगठनका नेता/कार्यकर्ताहरू रहनेछन् । 

यस यात्रालाई नेकपा (एमाले)ले संकल्पको यात्राका रूपमा लिएको एमालेका उपाध्यक्ष विष्णु पौडेलले बताए । उनले एमाले बाहेकका राजनीतिक दलहरूले मुलुकलाई समृद्धि र सामाजिक न्यायतर्फ डोर्‍याउन, नेतृत्व गर्न र अघि बढाउन सक्दैनन् भन्नेकुरा स्पष्ट भइसकेको बताए । मुलुकको समृद्धि र जनताको खुसीका निम्ति एमालेको हातमा मुलुकको ‘बागडोर’ आउनुपर्ने उनको भनाइ छ । 

Argakhachi Cement Island Ad

उपाध्यक्ष पौडेलले एमालेको नेतृत्वमा मध्य पहाडी लोकमार्गमा सुरु भएका विकासका कामहरू सरकार परिवर्तन भएसँगै अलपत्र परेकाले ती विकासका आयोजनाहरू पनि प्रभावकारी रूपमा अघि बढाउन एमालेको सरकार आवश्यक रहेको बताए । 

उनले पुष्पलाल राजमार्ग (लोकमार्ग) को परिकल्पनाकार एमाले भएकाले यस क्षेत्रमा पूर्वाधारको निर्माणसँगै हुने विकासक्रममा महत्वपूर्ण योगदान पुग्ने गरी अभियान सञ्चालन गर्न लागेको बताए । एमालेको नेतृत्वमा बन्ने सरकारले मात्रै देशलाई समृद्धितर्फ लिएर जानसक्ने र मध्यपहाडी क्षेत्रका जनताका विकासका चाहनालाई सम्बोधन गर्नसक्छ भन्ने सन्देश एमालेले यस अभियानअन्तर्गन दिन खोजेको बताए ।

स्थानीय जनतासँग त्यस क्षेत्रका समस्या सुन्ने र समाधान खोज्ने गरी एमालेले अभियान अघि बढाउने उनको भनाइ छ । मध्यपहाडी क्षेत्रबाट भइरहेको बसाइँसराइ, उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारका कामलाई गतिका साथ अघि बढाउने हिसाबले एमालेले देशको विकासको अभियानलाई अघि बढाउने गरी अभियान सञ्चालन गर्ने बताए ।

उपाध्यक्ष पौडेलले भने, "हामीले यसलाई समृद्धिका लागि संकल्प यात्रा भनेका छौँ । घटनाक्रमले के स्पष्ट गर्‍यो भने  एमाले बाहेक अरु कसैले पनि मुलुकलाई समृद्धि र सामाजिक न्यायतर्फ डोर्‍याउन, नेतृत्व गर्न र अघि बढाउन सक्दैनन् भन्नेकुरा स्पष्ट भइसकेको छ । त्यसअर्थमा एमालेको हातमा मुलुकको बागडोर आउनुपर्दछ भन्ने मान्यता हो । त्यो एमालेका निम्ति होइन, मुलुकको समृद्धिका निम्ति, जनताको खुसीका निम्ति आवश्यक छ ।" 

उपाध्यक्ष पौडेलले एमालेले जनताको हित र राष्ट्रको हितलाई हेरेर अभियान सञ्चालन गर्ने बताए । 

उनले भने, "एमालेले अरु चिजलाई हेर्दैन । एमालेको दृष्टि दुई वटा कुरामा केन्द्रित हुन्छ । एउटा जनताको हित, अर्को राष्ट्रको हित । जनता र राष्ट्रको हितमा हामी केन्द्रित भएर काम गर्छौं । हाम्रा नीति, हाम्रा विचार, अभ्यास, संगठन, क्रियाकलाप, मुख्य रुपले जनता र राष्ट्रको हितलाई केन्द्र भागमा राखेर सञ्चालित हुन्छन्, निर्माण गरिन्छ । त्यसले गर्दा हाम्रा विरुद्धमा को छ को छैन ? भन्नेकुरालाई हामी त्यति गणना गर्दैनौँ । हाम्रो ध्यान कहाँ जान्छ भने जनता हामीबाट टाढा नहुन् । जनतासँगको हाम्रो पार्टीको सम्बन्ध कमजोर नहोस् ।" 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्