नेपालमा गणतन्त्रको बीउ रोप्ने राजा को हुन् ? धेरैलाई लाग्छ, तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ गते लोकतान्त्रिक व्यवस्था समाप्त पारी सम्पूर्ण राजसत्ता आफ्नो हातमा लिएका कारण नेपालमा गणतन्त्र आयो । परन्तु यो उत्तर आफैँमा पूर्ण हैन ।
राजा ज्ञानेन्द्रले माघ १९ को कदम चाल्नुभन्दा धेरैअघि उनका दाजु राजा वीरेन्द्रले नेपालमा गणतन्त्र आउने मार्ग प्रशस्त गरेका थिए । यद्यपि, राजा वीरेन्द्रको २०५८ जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्डमा मृत्यु नभएको भए सायद गणतन्त्र आउन अलि समय लाग्थ्यो । ज्ञानेन्द्र शाहले माघ १९ को कदम चालेर गणतन्त्रको गतिलाई ‘फास्ट फरवार्ड’ मात्र गरेका हुन् ।
पहिले राजा वीरेन्द्रको विषयमा अलिकति । जनताका प्रिय राजा । सुन्दर, हँसिलो अनुहार र खाइलाग्दो दोहोरो जीउ । उनलाई मन नपराउने कमै थिए त्यसबखत । वि.सं. २०४७ सालको प्रजातान्त्रिक संविधान जारी भएपछि राजा वीरेन्द्रको लोकप्रियता नेपालमा मात्र होइन संसारभरि बढेको थियो ।
उता, नारायणहिटी दरबारमा भने उनी लोकप्रिय थिएनन् । कमजोर राजाले आफ्नो सत्ता सबै बुझाएर आफू शक्तिहीन भएर बसे भन्ने दरबारका अरौटेभरौटेको सोच थियो । कुनैबेला नारायणहिटी दरबारबाट फोन गरेको भरमा एउटा पियनले सिंहदरबारका सचिवको झाँको झारेर श्री ५ को सरकारका सुब्बा, शाखा अधिकृत र उपसचिवसम्म हेरफेर गर्नसक्थे ।
तिनलाई आफ्नो शक्ति गुमेको पीडा राजालाई शासन गुमेको भन्दा बढी भयो । अन्ततः अरौटेभरौटेले वीरेन्द्रका परिवारको विश्वास जिते र राजा वीरेन्द्र गणतन्त्रको बीउ रोप्न अघि सरे ।राजा वीरेन्द्रलाई त्यस्तो कदम चाल्न गिरिजाप्रसाद कोइरालाको ‘भ्रष्ट सरकार’ र नेकपा एमालेको ‘ध्वंसात्मक क्रियाकलाप’ले ठूलो सहयोग पुर्यायो भनेर यहाँनेर उल्लेख नगर्नु लेखकको व्यावसायिक इमानदारी हुनेछैन ।
राजा वीरेन्द्रले जानीनजानी गणतन्त्रको बीउ रोपेकै हुन् भन्ने रहस्य माओवादीले २०५२ फागुन १ गते सुरु गरेको सशस्त्र विद्रोहपश्चात् विस्तारै खुल्दै गयो । देशैभर कांग्रेसका नेता तथा कार्यकर्तालाई खोजीखोजी सिध्याइयो भने एमालेका नेतालाई रोजीरोजी ‘जन कारबाही’ गरियो । अपवादबाहेक राजा समर्थक राप्रपाका नेता कार्यकर्तालाई न खोजियो न रोजियो ।
राजनीतिक नेता, व्यापारी, कर्मचारी, शिक्षक, सर्वसाधारण जनतासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र अधिकृत हजारौंको संख्यामा हताहत हुँदा पनि राजा वीरेन्द्रलाई आफ्नो जनता मरेजस्तो लागेन । माओवादी हिंसाविरुद्ध नेपाली सेना परिचालन गर्ने जोडदार माग हुँदै गर्दा माओवादी पनि मेरा जनता हुन्, तिनलाई मार्न सेना प्रयोग गर्ने आदेश दिन सक्दिन भनी सुरुक्क पन्छिए ।
राजा वीरेन्द्रले माओवादीलाई बलियो हुन दिएर लोकतन्त्रवादीलाई अक्षम देखाउन खोजेका थिए र त्यसमा उनी सफल पनि भए । तर, आफ्नै परिवारभित्रको व्यवहार मिलाउन नसकेको कारण उनले आफूले रोपेको बीउ आफ्नै परिवारका लागि विष बनेको देख्न पाएनन् ।
ज्ञानेन्द्र शाहले आफ्नै दाइले रोपेको बीउमा मलजल गरे र त्यसको फल सेवन पनि गरे ।
माओवादीले राजालाई धोखा दिए । आफू बलियो भएपछि सेनासँग पनि जोरी खोजे । अनि राजासँग चिढिएका गिरिजाप्रसादलाई अघि सारेर २०६५ सालमा गणतन्त्र ल्याइदिए ।
तर, इतिहास आफैँमा उल्टियो ।
विसं २०५२ सालमा राजालाई माओवादी चाहिएको थियो भने २०८४ सालको निर्वाचनका लागि माओवादीलाई ‘राजतन्त्रवादी’ चाहिएको छ । त्यसैले, अब माओवादी राजतन्त्रको बीउ रोप्न खोज्दैछन् । यो बीउ पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुर्गा प्रसाईंको रूपमा रोपेका हुन् भन्ने अनुमान गर्न गाह्रो छैन । समयकालमा यो अझ प्रष्ट हुँदै जाला ।
विसं २०६४ सालको निर्वाचनमा ६०१ सिटको संविधान सभामा सबैभन्दा ठूलो दलको रूपमा २२० सिट (२९.३ प्रतिशत मत) ल्याएको नेकपा (माओवादी) २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा ८० सिट (१५.२ प्रतिशत मत)मा खुम्चियो ।
त्यस्तै, २०७४ सालमा भएको २७५ सिटको संसद्मा माओवादीले ५३ सिट (१३.६ प्रतिशत मत) ल्यायो भने २०७९ मंसिरमा भएको निर्वाचनमा ३२ सिट (११.१ प्रतिशत मत)मा झर्यो ।
यसमा याद गर्नुपर्ने कुरा के छ भने पहिलो दुईवटा निर्वाचनमा माओवादी एक्लै लडेको थियो तर तेस्रोमा एमालेसँग चुनावी साझेदारी गरेको थियो र चौथोमा नेपाली कांग्रेससँग । अब २०८४ को निर्वाचनमा माओवादीको अवस्था के होला भन्ने अनुमान गर्न कुनै राजनीतिक विशेषज्ञ चाहिँदैन ।
यतिखेर संसद्मा ३२ सिटमात्र भए पनि प्रचण्डको चलाखी र कुनै पनि बेला आफ्नो स्वार्थका लागि केही पनि गर्नसक्ने क्षमताका कारण उनी प्रधानमन्त्रीको पदमा आसीन छन् । तर, उनलाई थाहा छ २०८४ मा हुने निर्वाचन उनका लागि सहज हुनेछैन ।
अझ, बालेन शाह र रवि लामिछानेको राजनीतिक उभारले त माओवादीलाई मात्र होइन नेपाली कांग्रेस र एमालेलाई पनि थर्कमान बनाएको छ ।
यस्तो समयमा देशको अर्थतन्त्र उकास्ने, भ्रष्टाचार कम गर्ने, जनतालाई सेवा सहज ढंगले पुर्याउने काम गरेर पनि माओवादीले २०८४ का लागि आफूलाई तयार गर्नसक्थ्यो ।
अलि जोखिम लिने, क्रान्तिको रोमाञ्चकता चाहिने प्रचण्डका सल्लाहकारलाई यो बाटो सही नलागेको हुनसक्छ । त्यसअतिरिक्त कम्युनिस्ट सिद्धान्तधारीलाई ‘शत्रु’ वा ‘दुस्मन’ चाहिन्छ । त्यही सिद्धान्त घोकेकाहरूले दुस्मन या शत्रु नभेटेमा ‘कुस’कै भएपनि ‘शत्रु कित्ता’ स्थापित गर्छन् ।
त्यसैका खातिर ‘राजतन्त्रवादी’ जन्माउन खोजिएको सजिलै बुझ्न सकिन्छ ।
उनीहरू देशमा यस्तो शत्रु उत्पादन गर्न खोज्दैछन् जसलाई तह लगाउन माओवादी नै चाहिन्छ भन्ने जनतामा विश्वास पैदा होस् । त्यसैले, माओवादीलाई यतिखेर त्यस्तो एजेण्डा चाहिएको छ जसले उसको उपादेयता प्रमाणित गरोस् ।
हुनसक्छ, त्यसैले दुर्गा प्रसाईंजस्तो सबैलाई ‘मार्सी चामल’को भात अनि टिकटकबाट लात पनि खुवाउन सक्ने पात्रको जन्म भएको होस् । कुनैबेला घरजग्गा कारोबार गरेर पैसा कमाएका र ससुरालीको जग्गामा बी. एण्ड सी. अस्पताल खोलेका प्रसाईंलाई कुनै राजनीतिक हतकण्डा नगरी टिक्न गाह्रो भइरहेको थियो ।
उतिबेला व्यवसाय जोगाउन माओवादी बनेका प्रसाईंले प्रचण्ड र केपी ओलीलाई सँगै भेटाएर मार्सी चामलको भातमात्र खुवाएनन्, त्यो फोटो सामाजिक संजालमा पोस्ट्याएर चर्चा पनि कमाए ।
यसैबीच, उनले आफ्नो राजनीतिक रंग बदल्न थाले । अप्ठेरोको बेला माओवादी बनेका उनी नेकपा विभाजनपछि एमालेमा प्रवेशमात्र गरेनन् केन्द्रीय सदस्य नै बने ।
उनको मेडिकल कलेज र अस्पतालमा काम गर्ने मजदुर र कर्मचारीलाई लाइन लगाएर केपी ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गराई उनी ‘हजुर बा’ को पार्टीमा प्रवेश गरे । तर, उनलाई त्यसभन्दा अघि बढ्नु थियो, हतार थियो ।
दमकमा रहेको पूर्वराजाको हिमालय टी इस्टेटमा पुगेर उनले दुईतीनपटक ज्ञानेन्द्रसँग भेट गरे । भेटमात्र गरेनन् उनले सामाजिक सन्जालमा पनि पूर्व राजासँगको आफ्नो निकटता प्रचार गरे । त्यसपछि एक कार्यक्रममा ज्ञानेन्द्र शाहलाई सरिकसमेत गराएर ठूलो राजावादी हुँ भन्ने प्रमाणित गरे ।
विडम्बना, कसैले पनि दुर्गा प्रसाईं पूर्व राजा ज्ञानेन्द्रसित किन निकट भए भन्ने कुरामा प्रश्न गरेन । राजा आफैँ र अरूले समेत उनलाई गतिलो सारथीको रूपमा हेरेर उनको लहलहैमा लागेको देखिन्छ ।
लामै समयदेखि राजतन्त्रको सिन्दुर थापेका राजेन्द्र लिङ्देन र राजतन्त्रवादी बाबुको हिङ बाँधेको टालो ओढेका रवीन्द्र मिश्रसमेत प्रसाईंको चर्तिकलामा मन्त्रमुग्ध भए ।
लिङ्देनले प्रसाईंको ‘लिंगभेद’ पहिचान गरिसकेको हुँदा मंसिर ७ को आन्दोलनलाई समर्थन नगर्ने जनाए । बारम्बार ‘बेबकुफ’ बन्ने सोख पालेका गैरराजनीतिक मिश्र भने प्रसाईंसँग उभिएर राजाको नजिक हुन र लिङ्देनलाई उछिन्न ‘हुँइया’मा मिसिए ।
दुर्गा प्रसाईंजस्ता व्यक्ति गिद्धले जस्तै ‘नयाँ लास नदेखी आफूले खाँदै गरेको पुरानो लास छाडेर हिँड्दैन’ भन्ने साधारण सोच कसैमा पलाएन । त्यो नयाँ लास राजतन्त्रको हो भन्ने प्रमाणित हुन समय लाग्ला । दुर्गा प्रसाईंको राजावादी आन्दोलन जति बढ्यो, त्यति माओवादीको एजेण्डा स्थापित हुन्छ । अब आउने निर्वाचनमा राजावादी खेमा र राजा विरोधी खेमा अर्थात् माओवादी नै मुख्य शक्ति बन्छन् ।
यो एक डरलाग्दो राजनीतिक ‘जोखिम’ हो । राजा वीरेन्द्रले माओवादीलाई समयमै नियन्त्रण गर्न नसके जस्तै माओवादीले राजावादी शक्तिलाई नियन्त्रण गर्न सकेन भने राजतन्त्रको पहिलो सिकार प्रचण्ड र माओवादी नै हुनेछन् ।
तर, राजा ज्ञानेन्द्र शाहको परिवारलाई भने राजतन्त्र आए पनि, नआए पनि पीडा सिवाय केही हुँदैन । दुर्गा प्रसाईंजस्ता पिँध नभएका लोटाले कुनै गन्तव्यमा पुर्याउनुअघि नै पूर्व राजाको परिवारले गणतन्त्रवादीको विरोध खेप्न गाह्रो हुन्छ ।
मुख्यतः पश्चिमा लोकतान्त्रिक देश र भारतले समेत नेपालमा राजतन्त्र रुचाउँदैनन् । यस्तो अवस्थामा सेनाको सहयोगको आशा गर्नु मरुभूमिमा तलाउ पाइन्छ भन्ने सोचेजस्तै हो । राजतन्त्र स्थापित भइहाले पनि लामो समयका लागि हुँदैन भन्ने बारम्बार र विश्वभरि प्रमाणित भएकै छ । राजतन्त्र आयो भने केही समयका लागि राजावादीहरुका लागि दसैँ आउँछ ।
यतिखेर देश लुट्ने कांग्रेस, एमाले र माओवादीप्रतिको जनताको रोषको फाइदा तिनले उठाउँछन् र घोक्रो फुकाएर राजा जिन्दावादको नारा लगाउँदै आफ्नो धोक्रो भर्ने काममा व्यस्त हुन्छन् ।
अर्को, जनआन्दोलनको रेखा नकोरिँदै धोक्रो भर्नेहरू बाटो लाग्नेछन् र अन्त्यमा राजा एक्लै हुन्छन् । तर, त्यसपछि अघि जसरी बाटो नागार्जुनतिरको हुँदैन । फ्रान्सको राज्यक्रान्तिमा राजाको जे अवस्था भएको थियो, त्यही हुनेछ ।
त्यसैले जितेर पनि हारिने यो लडाईंमा पृथ्वीनारायण शाहको सन्तानले अझ बढी दुःख नपाउन् भन्ने सल्लाहमात्र हो ।
अन्त्यमा एउटै आह्वान– ‘राजा नआऊ, ज्यान जोगाऊ’ ।