site stats
बाह्रखरी :: Baahrakhari
देश
व्यापारीसित फिरौती माग्ने दुईजना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा व्यापारीलाई धाकधम्की दिएर पाँच लाख रुपैयाँ फिरौती मागेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका घर भई महेन्द्रनगरमा बस्दै आएका ४७ वर्षीय चन्द्रदेव जोशी र दार्चुलाको लेकम गाउँपालिका घर भई भीमदत्त नगरपालिका–३ मा बस्ने गरेका २६ वर्षीय नरेश साउदलाई प्रहरीले पक्राउ गरेको हो ।

Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार पत्रकार सम्मेलन गरी जोशी र साउदलाई सार्वजनिक गरेको छ । उनीहरूका साथबाट खुकुरी, चक्कु, विभिन्न कम्पनीका सिमकार्ड, मोबाइल सेटलगायत सामग्री बरामद गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

“अभियुक्तद्वयले विभिन्न व्यापारीको सूची तयार गरेर डरधम्की दिएर फिरौती रकम माग गर्ने गरेको पाइयो,” उनले भने, “व्यापारीले रु तीन लाख दिने तयारी गरेसँगै हामीले अभियुक्तद्वयलाई नियन्त्रणमा लिएका हौँ ।”

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २५३ बमोजिम आवश्यक कारबाहीका निम्ति मुद्दा प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्