site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोमसोम थकाली – १
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

स्कुल पढ्दा एउटी बालसखा थिई, ‘माहुरी’ । उसको नाम त अर्कै केही हो क्यारे ! तर, हामी सबै उसलाई माहुरी वा माहुरे भनेर बोलाउँथ्यौँ ।

स्कुल भर्ना भएको दिनदेखि ऊ मेरो लागि माहुरी भई । दसैँतिहारका बेला डिल, बारी र कान्लाभरि फुलेका सयपत्रीका थुँगामा रमाउँदै घुम्ने माहुरी । त्यस्तै चञ्चल थिई अनि त्यस्तै सुन्दर पनि ।

असोजे खरजस्ता लामा कपाल, कपासजस्तो अनुहार, माछाका जस्ता आँखा, दसैँमा आमाले सेलरोटी पकाउँदा ताइबाट निस्केको आवाजजस्तो मुख रसाउने बोली र भर्खरै घोगा हालेको मकैको बोटजस्तो शरीर ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

हो, ऊ त्यस्तै थिई । पाँच कक्षाको अंग्रेजी पढाउने सरले ‘माहुरी र्‍यापुञ्जेल जस्तै छ’ भन्नुहुन्थ्यो । तर, पाँच कक्षामा नपुगुञ्जेल र्‍यापुञ्जेल को हो ? थाहै भएन ।

कहिलेकाहीँ जिस्क्याएर उसलाई र्‍यापुञ्जेल भने पनि यो चरी हो वा केटी, केही संकेत पाइनँ । संकेत नपाएरै पनि मैले माहुरीलाई र्‍यापुञ्जेल भन्न छाडिनँ ।

Royal Enfield Island Ad

पाँच कक्षामा पुगेपछि मात्रै थाहा पाएँ, र्‍यापुञ्जेल लामो कपाल भएकी एउटी सुन्दर युवती हो जसलाई एउटी बोक्सीले अग्लो धरहराको टुप्पाको कोठामा बन्द गरेर राखेकी हुन्छे ।

त्यही र्‍यापुञ्जेलको कथा पढाइरहेका बेलामा खै कुन्नि के प्रसंगमा हो, सरले जोमसोम राम्री छ, र्‍यापुञ्जेलजस्तै राम्री छ भन्नुभएको थियो ।

मैले सामान्य ज्ञानमा मुस्ताङ जिल्लाको सदरमुकाम कहाँ हो ? भन्ने प्रश्नको उत्तर घोकेबाहेक जोमसोम पहिलोपटक नै सुनेको हुँ, त्यो बेला ।

“सर, तपाईं जोमसोम जानुभएको छ ?,” सरले जोमसोम राम्री छे भनेर सुनाउनेबित्तिकै सोधेँ ।

हुन त अंग्रेजी सरसँग प्रश्न सोध्ने हिम्मत हामीहरूसँग कमै थियो । केही सोधिहाल्यो भने कुनै न कुनै अंग्रेजी शब्दको हिज्जे उच्चारण गर्नुपर्थ्यो । र, त्यसो गर्न हामीलाई सिस्नुको मुठो समाउनुजस्तै लाग्थ्यो ।

पहिल्यै पाती गोजीमा ठिक्क पारेर बस्नुपर्ने । तैपनि, मैले सोधिहालेँ । आज हिज्जे उच्चारण गर्नु पर्दैन कि जस्तो अनुमान गर्ने एउटा आधार थियो र मैले त्यो प्रश्न सोधेको थिएँ ।

अंग्रेजी सरकै नेतृत्वमा रहेको भृकुटी सदनले अघिल्लो हप्ता अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता जितेको थियो, भृकुटी सदन र अरनिको सदनको बराबरी अंक भएका बेलामा मुस्ताङ जिल्लाको सदरमुकाम भनेर । र, त्यो उत्तर दिने भृकुटी सदनको टोली नेता मै थिएँ ।

प्रश्न भुईंमा खस्न भ्यायो वा भ्याएन, त्यो कि प्रश्नलाई नै सोध्नुपर्छ कि भुईंलाई । तर, म भने उठ्नुपर्यो बेन्चबाट – र्‍यापुञ्जेलको हिज्जे उच्चारण गर्न । मलाई मृत्युको तौल नाप्नुजस्तै भयो । सकिनँ ।

नसकेको शुभअवसरमा ढाडमा एक मुड्की पिटाइ खाएर बेन्चमा बसेँ । सबै साथीको मुखबाट हाँसो निस्केछ । माहुरीको बाहेक । पुर्लुक्क उसलाई हेरेको, बिचरी पहिलोपटक रजस्वला भएजस्तो गरेर बसेकी थिई ।

‘जोमसोम ऊ त्यो र्‍यापुञ्जेलजस्तै राम्री छ...’ भन्दै गर्दा सरको दायाँ हातको चोरऔँलाले कक्षाको बायाँतिरको तेस्रो बेन्चको छेउमा बसेकी मेरी माहुरीलाई इंगित गर्यो । माहुरीले पुर्लुक्क मलाइ हेरी । मैले भुईंतिर ।

“स्याउ पाकेर बारी राताम्य भएको बेला यज्ञमा बसेकी दुलहीजस्तै देखिन्छे, अनि हिउँ पर्ने बेलामा काँस फुलेको सर्स्युखोलाको फाँटजस्तै देखिन्छे । धेरै राम्री छ जोमसोम । तिमीहरू त्यहाँ गयौ भने त्यहीँ बिहे गरेर बस्छौ,” यति भनेर सर टक्क रोकिनुभयो ।

उभिँदाउभिँदै मरेर पनि नढलेजस्तो । न छाती चल्छ न त नानी नै ।

अंग्रेजीमा एमए गरेका ती सरले भनेको कुरा त्यो बेला बुझेको भए मार्दिनु ! नबुझेरै टाउको हल्लायौँ । कराँतेका शिष्यले गुरुलाई ‘हुस’ भनेजस्तैजस्तै गरी ।

तर, ठ्याक्कै त्यस्तै गरी भने होइन । फेरि सरले जोमसोमलाई केटीलाई जस्तै गरेर सम्बोधन गर्नुभएको थियो । आफ्नी छोरी नभएर हो कि किन हो, उहाँको एकप्रकारको बानी नै पनि थियो त्यो । जुन कुराको बयान गर्नुपरे पनि स्त्रीलिंगी शब्द प्रयोग गर्ने ।

‘आजलाई यत्ति’ भन्दै सर बाहिर निस्कनुभयो । मलाई भने ‘सधैँका लागि यत्ति !’ भए हुन्थ्यो जस्तो लागिरह्यो । किनकि, त्यो दिन मैले हिज्जे उच्चारण गर्न नजानेर मुखबाट ऐया फुस्कने गरी ढाडमा पिटाइ खाएको थिएँ ।

त्यस दिन स्कुल छुट्टी भएर घर फर्कने बेला मेरी र्‍यापुञ्जेल अरू साथीभन्दा अलि पछाडि लागी । मभन्दा पनि पछाडि । लुकीलुकी बोल्नेबाहेक खुलेआम बोल्न र सँगै हिँड्न हामीलाई लाज लाग्थ्यो । त्यो दिन पनि त्यही लाग्यो ।

उसको र मेरो घर जाने बाटो छुट्टिने चोकमा बडहरको ठूलो रुख थियो । अहिले पनि छ । त्यहाँसम्म म र शेखर अघिअघि थियौँ । ऊ त्यस्तै १५–२० मिटरको दूरीमा हुँदो हो । बाटो छुट्टिने बेलामा मैले र शेखरले पालैपालो पछाडि फर्केर हेर्यौं मेरी र्‍यापुञ्जेलललाई ।

उसका आँखामा अचम्मको सपना फुलेजस्तो देखिन्थ्यो । उसले पनि बाटो छुट्टिने चोकमा पुगेपछि माटोको सानो डल्लोले मलाई ताकेरै हानी । मेरो ढाडमै लाग्यो ।

मैले त्यो बेला र्‍यापुञ्जेलको हिज्जे होइन, बटरफ्लाई सम्झेछु । फिस्स हाँसेर ‘बाई’ भनेँ । ऊ भने ‘देव, हामी सँगै जोमसोम जाने है’ भन्दै साङखोलाको ओरालोमा छेकिई ।

त्यही बेला बडहरको ठूलो दाना भुईंमा झरेर फुट्यो ।

सानो घर । दुई कोठा भएको । एउटामा भान्छा अनि अर्कोमा एउटा खाट । त्यही घरमा हुकिर्एको केटो म । मलाई खाटमा सुत्न कहिल्यै मन लागेन । सधैँ बाहिर पिँढीमा सुत्थेँ । मलाई सुत्न मन नपर्ने खाटको सिरानीभन्दा ६ हातमाथि एउटा बाँसको किलो ठोकिएको थियो । त्यहीँ झुन्डिन्थ्यो मेरो मैलो झोला । र, त्यो झोलाले च्यापिरहेको हुन्थ्यो एउटा भित्तेपात्रोलाई । त्यो किलोमा पात्रो फेरिएपिच्छे मेरो स्कुलको कक्षा पनि फेरिन्थ्यो ।

हरेक कक्षाको दायाँतिरको लहरको तेस्रो बेन्चको छेउ मेरो हुन्थ्यो । त्यो मेरो लालमोहर लागेकै जस्तो सिट थियो । र, ठ्याक्कै मेरो बायाँ हातको पारि मेरी र्‍यापुञ्जेलको सिट ।

हरेक साल कक्षा फेरिए । पढ्नुपर्ने विषय फेरिए । पढाउने सरहरू फेरिए । शरीर पनि फेरिँदै गएजस्तो लाग्यो । मनका भाव पनि माघ–फागुनतिरका डुम्रीका हाँगाजस्तै भए ।

तर, एउटा कुरा कहिले फेरिएन – मेरो र मेरी र्‍यापुञ्जेलको बस्ने सिट ।

आठ कक्षाको अर्धवार्षिक परीक्षा । पहिलो दिन सामाजिक विषय थियो । १० बजेर ३५ मिनेट जाँदा म स्कुलमा पुगेँ । ११ बजेदेखिको परीक्षा । मबाहेक अरू सबै साथीहरू पुगिसकेका रहेछन् ।

सिट प्लानिङ नभएको भनेर कराउँदै थिए । उनीहरू कराएको सुनेर मलाई भने आनन्द लागेको थियो । खासमा सिट प्लानिङ नभएको भन्ने खबरले म खुसी भएँ । नत्र माहुरी र म टाढा हुने थियौँ, परीक्षाभरि ।

पेपर बाँडियो । सरसर्ती सबै प्रश्न पढेँ । अन्तिमको प्रश्नमा ‘निम्नमध्ये कुनै एक ठाउँमा एक हप्ताको बिदामा जान पाउनुभयो भने तपाईंको योजना के हुन्छ ? छोटकरीमा लेख्नुहोस् ।’ भनेर तीनवटा विकल्प दिइएको थियो । 
    (क) इलामको चियाबारी, (ख) बर्दिया राष्ट्रिय निकुञ्ज, (ग) तपाईंको आफ्नै छनोटको कुनै पर्यटकीयस्थल ।

प्रश्न पढेर पुर्लुक्क मेरी र्‍यापुञ्जेललाई हेरेँ । ऊ पहिलो प्रश्नको उत्तर लेख्दै थिई, कालो मसी भरेको फ्लेम कलमले । मेरो हेराइ व्यर्थ भयो । आँखा जुधाउनै पाइएन ।    

मैले प्रश्नको क्रमसँगै उत्तर लेख्दै गएँ । परीक्षामा लेख्ने कापी आफैँले लैजानुपर्थ्यो । धेरै पाना सकिएला भनेर छोटोछोटो उत्तर लेखेँ । उत्तरलाई ल्याक्टो चकलेटको खोलजस्तो तन्काउन मन लागेन ।

परीक्षामा प्रथम हुने यो मेरो काइदाको सूत्र पनि थियो । अन्तिम प्रश्नमा पुगेर टक्क रोकिएँ । ‘क’, ‘ख’, ‘ग’मध्ये कुनका बारेमा लेखौँ भनेर सोच्दा निलो स्टारलाइन डटपेनको गोजीमा अड्काउने भाग झिक्दै/राख्दै, राख्दै/झिक्दै गरेको थाहै पाइन ।

गार्ड बसेका सरले १५ मिनेट बाँकी भन्दा पो झसंग भएँ । पुर्लुक्क र्‍यापुञ्जेललाई हेरेँ । नजिक हुनुको फाइदा त उठाउनैपर्यो, जति बेला मन लाग्यो उति नै बेला हेरेर ।

ऊ पनि त्यही प्रश्नको उत्तर सोचिरहेकी हुँदी हो । गौँथलीका जस्ता आँखा मतिर पसारी र मुसुक्क हाँसी । मैले पनि त्यसै गरेँ । हाँस्दा उसको स्ट्रबेरीजस्तो ओठ खुलेर धवलागिरि हिमशृंखला टल्कियो । गार्ड बसेका बुढा सर हामीलाई हेरेर रिसाए, पाकेको अनारजस्ता आँखा बनाएर ।

उसले प्रश्न नं. १३ लेखेर फेरि ‘ग’ लेखी । ठूलो अक्षरको ‘ग’लाई बन्द कोठाभित्र पारी । मैले पनि त्यसै गरेँ । उसले त्यसको उत्तरमा जे लेखी मैले पनि दुरुस्तै त्यही लेखेँ । अर्थात्, उसको उत्तर सुरुसुरु सारेँ, बीचको एउटा शब्दबाहेक ।

जोमसोम मुस्ताङ जिल्लाको सदरमुकाम र नेपालको एक प्रसिद्ध अतिसुन्दर पर्यटकीयस्थल हो ।

यदि, कसैसँग एक हप्ताको बिदामा त्यहाँ घुम्न जाने मौका पाएँ भने म मेरो देवसँग जान्छु । हामी मुक्तिनाथ मन्दिरमा गएर बिहे गर्छौं र उतै बस्छौँ । एक हप्ताको बिदा निहुँ मात्रै बनाउँछु र उतै बस्छु । स्याउ खाएर हिउँमा खेल्न पाएपछि तपाईंको गाली सहँदै पढ्नु त पर्दैन ।

१०–१२ लाइन सारेँ । सार्दा ह्रस्वदीर्घ पनि र्‍यापुञ्जेलले जस्तो लेखेकी थिई, त्यस्तै लेखेँ । त्यो उत्तरमा अरू के–के लेखिएको थियो सम्झन्नँ । तर, यी वाक्य भने अझै पनि मेरो दिमागबाट लर्किएका रहेनछन् ।

मैले बस् देवको साटो माहुरी लेखेँ, त्यै पनि केरेर । पहिले त देव नै सारेछु । सायद चिट चोर्दाको असली मनस्थितिको प्रतिविम्ब थियो त्यो ।

मेरी र्‍यापुञ्जेल ‘जाऊँ’ भन्दै कापी बुझाएर निस्किहाली । सरासर गई । पछाडि नफर्कीकनै । यति बेर मलाई बेन्चमा तानिरहेको चुम्बक पनि लिएर गई क्यार !

बेन्चले मेरो पुट्ठालाई टाँसिरहन सकेन । जुरुक्क उठेँ। डटपेन ज्यामिति बक्सभित्र राखेर कापी बुझाउन गएँ । तर, गार्ड बसेका बुढा सरले कापी बुझ्दै बुझेनन् ।

“अझै पाँच मिनेट बाँकी छ । त्यो गई भनेर तँलाई पनि जान हतार भयो ? सबै प्रश्नको उत्तर लेखे/नलेखेको चेक गर् । फर्स्ट ब्वाई भएर पनि...।”

बुढाले अर्ती हो वा गाली, के हो दिए । जे दिए पनि सित्तैमा दिए । सबैले ‘छुच्चो सर’ भन्थे उनलाई । तर, त्यो दिन उनी छुच्चोजस्तो लागेन । अर्ती दिए पनि, गाली दिए पनि बुढाले मलाई सित्तैमा दिए । पैसा मागेनन् ।

सिटमै फर्किएँ । कापी हेरेँ । अरू होइन, मैले के सारेछु भनेर हेरेँ । अन्तिम वाक्य ननिको लाग्यो । केरूँ कि जस्तो पनि लाग्यो, तर केरिनँ । बरु, अर्को एउटा वाक्य पनि थपिदिएँ त्यसमा–

म मुक्तिनाथ गएर मेरो सामाजिक सरले विद्यार्थीलाई तिमी भन्न सिकून्, नमिठो बोल्न छाडून् र केटीहरूलाई उत्तर नजानेको बहानामा हत्केलामा सिस्नु लगाएझैँ गरेर भर्खर पोटिला हुँदै गएका तिनीहरूका छातीमा सिस्नु नपुर्याऊन् भनेर वर माग्थेँ ।

यति लेखेर कापी बुझाएर निस्केँ । शिक्षकले विद्यार्थीलाई ‘तिमी’ भनेर सम्बोधन गर्नुपर्छ भन्ने आशयले त्यो वाक्य लेखिरहँदा विद्यार्थीले शिक्षकलाई ‘हजुर/तपाईं’को सम्बोधन गर्नुपर्र्छ भन्ने नैतिक शिक्षा सम्झीसम्झी बिर्सिएँ । हो, यसरी जोडियो मेरो र जोमसोमको पहिलो सम्बन्ध ।

अँ त साँच्चि, प्रिय पाठक, त्यो परीक्षाको रिजल्ट के भयो भनेर सोध्दै हुनुहुन्थ्यो क्यारे ! रिजल्ट त्यही भयो, जे हुने पूर्वनिश्चित थियो ।

नम्बर सुनाउन सामाजिक सर कक्षामा पसेपछि पहिलो काम मलाई र मेरी र्‍यापुञ्जेललाई अगाडि बोलाउनुभयो । कालोपाटीको छेउमै उभिन लगाउनुभयो । लुरुलुरु र सुरुसुरु त्यसै गर्यौं ।

एक–दुई मिनेट कक्षामा मौन, मानौँ अब संसारमा प्रलय हुनेवाला छ र यो नै अन्तिम सुनसान हो, मान्छेले अनुभूत गर्न पाउने ! मलाई थकाइ लाग्यो । अडेस लगाएँ कालोपाटीमा । निलो आकासे रङको सर्टको ढाड त पूरै सेतो भयो होला । फेरि अडेस लागिनँ । बिचरा, मेरी र्‍यापुञ्जेलचाहिँ पानी बर्साउन ठिक्क पारेको मेघजस्तै भई ।

सरले नम्बर सुनाउन थाल्नुभयो । सायद सबैको त नम्बर सुनाउनुभयो होला नि, तर मेरो र मेरी उनको रोलनम्बर भनेको सुनिनँ । नभनेरै होला, त्यतिन्जेल नम्बर सुनाएका मध्येमा सबैभन्दा धेरै अंकचाहिँ नर्मदाले ल्याइछ । ४० पूर्णांकको परीक्षामा ३३ अंक ।

अनि, सबैभन्दा कम ? मेरो कि र्‍यापुञ्जेलको ? मेरो ? ए ए, र्‍यापुञ्जेलको पो ? गलत ! तपाईं यहाँनेर नराम्रोसँग चिप्लिनुभयो ! हामी दुवैको बराबर अंक आएछ । ३६ । कम त दुर्गेको पो आएछ । जम्माजम्मी पूरै नौ अंक ।

तर, केटोले योपटक बाजी मारेछ । सात कक्षा पास हुँदा उसको जम्माजम्मी १३ नम्बर थियो, सामाजिकमा । योपटक त अर्धवार्षिकमै ल्याइदिएछ नौ अंक । केटोले केही गर्लाजस्तो लाग्यो त्यो साल । गर्यो पनि । त्यो साल सामाजिक विषयमा फेल नभएरै ऊ नौ कक्षामा पुग्यो क्यार !

फेरि प्रसंग बाहिर गयो कि ? होइन होइन, गएको रहेनछ । हामीलाई हेरेर सर हाँस्नुभयो र एक/एकवटा उपहार दिनुभयो । बाहिर रंगीन पेपरले ढाकिएको थियो । भित्र के थियो भन्ने कि भगवान्लाई थाहा थियो होला कि त त्यही सरलाई ।

मेरो भागमा भएको उपहार अहिलेसम्म दराजमा सजिएकै छ । तर, मेरी र्‍यापुञ्जेलको भागमा के उपहार थियो त्यो अहिलेसम्म पनि थाहा पाएको छैन । उसले भनेकी पनि छैन ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro