गरिबी
“आयु द्रोण सुते...।” धनपती दाइले टीका लगाइदिनुभयो । मैले खाम हातमा राखेर खुट्टामा ढोग गरेँ । श्रीमती र छोराले पनि टीका लगाए ।
“के खान्छौ त ?,” सोध्नुभयो धनपती दाइले र भित्र सुन्ने गरी कराउनुभयो, “बाहिर रामजी आएको छ है ।”
भित्र हल्लाखल्ला, रमाइलो भएजस्तै थियो ।
“दाइ, बाबुहरू दुवै आए होलान् नि ?,” मैले सोधेँ ।
“आएका छन् । दसैँमा त आउने भए । भित्र खाना खाँदै रमाइलो गर्दै छन्,” धनपती दाइले भन्नुभयो ।
दाइको घर कम्पाउन्ड निकै ठूलो छ । घरमा काम गर्नेले एउटा गिलासमा दही र प्लेटमा एकएकवटा सेलरोटी ल्याएर दियो ।
“दही अमिलो छ भन्दै थियो हर्केले, कस्तो छ ?,” दाइले भन्नुभयो ।
“अलिअलि अमिलै रहेछ ।” खाइनसक्नुको दही भए पनि मैले खास दोष लगाउन चाहिनँ । हामी धनपती दाइसँग बिदा भएर घरतिर लाग्यौँ ।
“घनपती ठूलो बाबासँग खासमा हाम्रो कस्तो नाता हो रे बाबा ?,” छोराले पोहोरजस्तै यसपटक पनि सोध्यो ।
“मैले पोहोर पनि भन्या हैन ! उहाँको बुबा र मेरो बुबा एउटै हुनुहुन्थ्यो । उहाँ मेरो मान्यवर दाजु हुनुभयो । दसैँमा मान्यजनको हातबाट टीका र आशीर्वाद लिएको राम्रो हुन्छ,” मैले सम्झाएँ ।
“हजुर पनि त नरेश र रमेश दादाको काका हुनुहुन्छ नि, उहाँहरू हजुरसँग टीकाजमरा लगाउन आउनु पर्दैन ?,” छोराले भन्यो ।
“छोरो पनि बुझ्ने भएछ,” उसकी आमाले भनिन् ।
घर आइपुगियो । म आफ्नो भत्कन आँटेको घर हेरिरहेँ ।
०००
पर्व
निकै व्यस्त भएको थियो अन्तर्राष्ट्रिय विमानस्थल । बाहिरबाट आएका हवाईजहाजभन्दा उडेर जाँदै गरेका हवाईजहाजहरू भरिभराउ देखिन्थे ।
“हजुर कता जान लाग्नुभएको सर ?,” मेरो सँगैको सिटमा बसेका भाइले सोधेपछि म उनीतिर फर्केँ । दसैँ नजिकै आउँदै गर्दा हामी बाहिर जाँदै थियौँ ।
“म अमेरिका जान लाग्या । दोहामा ट्रान्जिट परेछ,” मैले भनेँ ।
उनले भने, “पर्व सिध्याएर जानुभएको भए हुने नि ।”
“के गर्नु भाइ, छोराछोरी उतै छन् । चाडको बेला उनीहरू सबै यता आउनुभन्दा म एकजना उतै गए भयो,” मैले आफ्नो बाध्यता सुनाएँ ।
फेरि भनेँ, “भाइ कता जाने हो ?”
“कता हुनु, कतार जान लागेको सर,” उनले भने ।
“अलिपछि गएको भए हुने नि,” उनको भनाइ उनैलाई दोहोर्याएँ मैले ।
“के गर्नु सर, आफूले भनेर नहुने रहेछ । परदेशको खटन,” उनले भने ।
परदेशको दसैँ पनि फरकफरक हुँदो रहेछ, जस्तो उसको र मेरो हुँदै थियो ।