site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दसैँ–तिहारमा प्रहरीले समात्यो ६७ जुवाडे, मुद्दा चलाएर टिका लगाउन दिइयो

काठमाडौं । ललितपुर प्रहरीले दसैँ र तिहारमा जुवातास खेल्ने ६७ जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ परेकाहरूबाट ३३ लाख २२ हजार १३५ रुपैयाँ बरामद भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

चाडपर्वको अवसरमा मनोरञ्जनबाहेक पैसा हारजित हुने खालको जुवातास खेलेको सूचनाका आधारमा उनीहरू पक्राउ परेको एसएसपी शाहको भनाइ छ ।

“हामीले आफ्नै घरमा मनोरञ्जनको लागि तास खेल्नेहरूलाई पक्राउ गरेका होइनौं । पैसा हारजित हुनेखालका जुवातास नियन्त्रण गरेका हौँ,” शाहले भने ।

यसरी पक्राउ परेकाहरूमा ५१ जना पुरुष र १६ जना महिलासमेत छन् । उनीहरूलाई ललितपुर प्रहरीले जुवाविरुद्ध मुद्दा चलाएको छ ।

पक्राउ परेकाहरूको साथबाट प्रहरीले ४५ बुक तास १६ थान कौडा, लंगुरबुर्जा र बाल्टिनसमेत बरामद गरेको छ ।

तिहारमा पक्राउ परेकालाई टीका लगाउन दिइयो
ललितपुर प्रहरीले तिहारमा पक्राउ परेका जुवाडेहरूलाई भने दिदीबहिनीको हातबाट टिका लगाउन छुट दिएको छ ।

अघिल्लो दिन पक्राउ परेका आठजनालाई भाइटिकाको दिन टिका लगाउन घर फर्काएको हो ।

जिल्ला प्रशासनको निर्णयअनुसार नै पक्राउ परेकाहरूलाई मुद्दा चलाएपनि पछि हाजिर हुने गरी छोडिएको हो । प्रहरीले प्रमाण नष्ट नहुने प्रकृतिको मुद्दामा हाजिर जमानीमा छोड्नु सामान्य प्रकृया भएको उनले बताए ।

एसएसपी शाहले भने, “तिहारअघि नै हामीले यो निर्णय गरेका हौँ । जुवातासमा पक्राउ पर्नेहरूलाई दिदीबहिनीको हातबाट लगाउने टिका नछुटोस् भन्ने हो । त्यहीँअनुसार गरेका हौँ । तर, उनीहरूलाई छोडेपनि जुवा मुद्दामा भने दर्ता गरेका छौंँ ।” 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro