site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण
बझाङ सदरमुकाम चैनपुर । फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो समय नेपालका सुदूरपश्चिम र कर्णाली प्रदेशमा भूकम्प जाने क्रम बढेसँगै बझाङ सदरमुकाम चैनपुरमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको छ ।

गएको असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएपछि राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरेको हो । केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईले बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण गरिएको जानकारी दिए ।

नेपालमा वि.सं. २०३७ मा ललितपुरको फूलचोकीडाँडामा पहिलो भूकम्प मापन केन्द्र निर्माण गरिएको थियो । बझाङमा अस्थायी भूकम्प मापन केन्द्र निर्माण भएसँगै नेपालभर ४३ स्टेसनबाट भूकम्प मापन हुँदै आएको छ ।

वि.सं. २०७२ वैशाख १२ गते गएको गोरखा भूकम्पपछि मापनका निम्ति विभिन्न देशका सहयोगमा जोखिममा रहेका नेपालका २० स्थानमा भूकम्प मापन केन्द्र निर्माण गरिएका थिए ।

वि.सं. २०७२ पछि नेपाल सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र थाइल्यान्डको सहयोगमा दुई स्थानमा भूकम्प मापन केन्द्र निर्माण गरेको छ । हाल नेपालका झापा, उदयपुर, संखुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, बाजुरा, दार्चुला, सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा, महोत्तरी, दाङलगायत जिल्लाका विभिन्न स्थानमा केन्द्र निर्माण गरिएका छन् । गोरखा भूकम्पअघि नेपालका २२ केन्द्रबाट मात्र भूकम्प मापन गरिन्थ्यो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्प मापन केन्द्र निर्माण भएसँगै देशभर जाने भूकम्पको तथ्यांक मापन गर्न सहज हुने बताए ।

“भूकम्प मापन गर्ने धेरै स्टेसन निर्माण भएसँगै सानाभन्दा साना भूकम्प समेतको मापन गर्न सहज भएको छ,” उनले भने ।

नेपाल हिमालय हिमशृंलामा रहेको मुलुक भएकाले पनि यस क्षेत्रमा अन्तको तुलनामा धेरै भूकम्प जाने गरेको केन्द्रले जनाएको छ । हाल राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतले देशरभरका भूकम्पका बारेमा जानकारी दिने गरेको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ११:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro