site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सडकले जोडिए मुस्ताङ र डोल्पा
सांकेतिक तस्बिर।
Sarbottam CementSarbottam Cement

म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक मार्ग खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका सडक सञ्जालसित जोडिएका हुन् ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले चार वर्षको प्रयासमा मुस्ताङ र डोल्पा जोड्ने सडक मार्ग खोल्ने काम सकिएको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“मुस्ताङबाट डोल्पा र डोल्पाबाट मुस्ताङको सिमानामा शनिबार पहिलोपटक ट्याक्टर आवतजावत गरेका छन्,” उनले भने, “हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी अब एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हटेको छ ।”

सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५/७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङदेखि साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । करिब रु २० करोडको लगानीमा ५६ दशमलव पाँच किलोमिटर सडक मार्ग खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

Global Ime bank

गत वर्ष नयाँ ट्र्याक खोल्न मन्त्रालयले रु तीन करोड १७ लाख बजेट विनियोजन गरेको थियो । चालु आवमा नयाँ ट्र्याक खोल्न मन्त्रालयले रु दुई करोड बजेट छुट्याएको थियो । मुस्ताङ–डोल्पा जोड्ने अन्तिम बिन्दुको नयाँ ट्र्याक खोल्न सिखा इञ्जिनियरिङ र पम्फा जेभी कन्ट्रक्सनले ठेक्का लिएको थियो ।

समुद्री सतहदेखि चार हजार मिटरभन्दा बढीको उचाइमा भौगोलिक रुपमा विकट र दुर्गम याकखर्क क्षेत्रमा सडक निर्माण गरिएको हो । एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुँदै याकखर्कको भिर छिचोलेर डोल्पाको सिमानामा सडक पुर्‍याइएको छ ।

डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघि नै सडक निर्माण गरिएको थियो । उक्त सडकलाई आव २०७६/७७ मा रु ११ करोड तथा आव २०७५/७६ मा रु चार करोड बजेट विनियोजन गरिएको थियो ।

मुस्ताङका पूर्वसांसद प्रेमप्रसाद तुलाचनले डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताए । डोल्पा जोड्ने सडकको प्रवेश विन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा गत वर्ष १२० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement