
पोखरा । कास्कीको पोखरास्थित छोरेपाटनबाट स्तूप हुँदै पुम्दीकोटतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना हुँदा २५ जनाभन्दा बढी घाइते भएका छन् ।
पुम्दीकोटतर्फ जाँदै गरेको ग१ख ८५८५ नम्बरको माइक्रोबस उक्त सडकखण्डको घैयाखेत भन्ने स्थानमा दुर्घटना भएको कास्की प्रहरीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।
बस दुर्घटना हुनासाथ सुरक्षाकर्मी एवं स्थानीयवासीको सहयोगमा घाइतेको तत्काल उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइसकिएको उनले जानकारी दिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै तत्काल उद्धार गरिएका कारण घाइतेलाई चाँडै अस्पतालमा पुर्याउन सकिएको स्थानीयवासी युवक लामिछानेले बताए । घाइतेको अवस्थाबारे थप जानकारी आउन बाँकी छ । रासस