उनीसँग मोबाइल छ । त्यो पनि चलनचल्तीको एन्ड्रोइड । मोबाइलमै उनी इमेल हेर्छन् । सानोतिनो काम मोबाइलबाटै गर्छन् । मोबाइल नेपाल छिरेको तीन वर्षदेखि नै उनले बोकेका हुन् । तर, उनी मोबाइलमा खासै कल उठाउँदैनन् । उनले आफ्नो सीभीमै लेखेका छन्, “मेरो मोबाइलमा कृपया कल नगरिदिनुहोला, एसएमएसमात्रै गर्नुहोला ।”
किन ?
रामकृष्ण रेग्मी भन्छन्, “तपाईंसँग कुरा गरिरहेका बेला मैले फोन रिसिभ गरेँ भने त्यो तपाईंलाई मैले गरेको अपमान हो । आएको कल रिसिभ गरिनँ भने त्यो कल गर्नेप्रति मैले गरेको अपमान हो । त्यसैले म मोबाइल रिसिभ गर्दिनँ । र, उस्तै नपरेसम्म कल पनि गर्दिनँ ।”
कल नगर्नुको पनि कारण छ– उनीसँग ।
आफूले कल गर्ने तर अरुको रिसिभ नगर्नु पनि न्यायसंगत हुँदैन भन्ने उनलाई लाग्छ । तर, अत्यावश्यक पर्यो भने उनी मोबाइल पनि प्रयोग गर्छन् । बिहीबार पुतलीसडस्थित केसीसी (कान्तिपुर सिटी कलेज) पुग्दा उनी हामीलाई नै पर्खिरहेका थिए । ट्राफिक जाम थियो, केही ढिलो भयो । निर्धारित समयभन्दा १५ मिनेट ढिलो जाँदा उनी हामीलाई नै कुरिरहेका थिए । भन्दै थिए, “साढे १० सम्म कुर्छु, आउनुभएन भने जान्छु भन्ने सोचिरहेको थिएँ ।”
यसको अर्थ थियो– उनी फोन गरेर ‘किन ढिलो ?’ भन्ने पक्षमा थिएनन् ।
रामकृष्णको आफ्नै शैली छ । कतिलाई उनको फरक सोच र फरक व्यवहार उचित लाग्ला, कतिलाई नलाग्ला । तर, त्यो उनको समस्या होइन ।
० ० ०
रामकृष्ण रेग्मीको प्रारम्भिक पत्रकारिताको इतिहास पल्टाउन ०२८ सालतिर फर्किनुपर्छ । पञ्चायतले नेपाललाई गाँजेको समयमा उनको पत्रकारिताले जरा हाल्यो, टुसायो, फुल्यो र फल्यो ।
एकातिर पञ्चायतका पक्षधर तुलसी गिरी थिए, अर्कातिर बहुदल पक्षधर बीपी कोइराला र मनमोहन अधिकारी । प्रेस स्वतन्त्रतालाई पञ्चायतले ०१७ पुस १ गते नै घाँटी निमोठेर हत्या गरिसकेको थियो । पञ्चायतको पक्षपोषण गर्न केही सरकारी सञ्चारमाध्यम खडा थिए । एकातिर समाचार एजेन्सीका रूपमा राष्ट्रिय समाचार समिति (रासस) थियो, अर्कोतिर प्रसारण पत्रकारितामा रेडियो नेपाल र छापामा ‘गोरखापत्र’ दैनिक थिए ।
बेलाबेलामा चिहाइरहन्थे निजी पत्रपत्रिका । राज्यले देखिसहँदैनथ्यो । अभिभावक भनिने राज्यले नै कर्के आँखा लगाएपछि तिनको आयु लामो हुने कुरै भएन । अञ्चलाधीशको एक पत्र नै काफी हुन्थ्यो ।
पत्रिकाको मृत्यु बोकर आएका अञ्चलाधीशका चिठी र पत्रकारलाई दुःख दिन काटिएका पत्र उनले थुप्रै पटक देखे/भोगेका छन् । पञ्चायत ढल्यो, प्रजातन्त्र फर्कियो, गणतन्त्र र संघीय गणतन्त्र पनि आयो तर ती पुराना शासन व्यवस्था र त्यसले दिएका दुःख/सास्ती उनले अझै भुल्न सकेका छैनन् ।
० ० ०
त्यतिबेला न्युरोडमा पढेलेखेका व्यक्ति भेला हुन्थे । रामकृष्णलाई पनि लोभ लाग्यो– अग्रजका कुरा सुन्न । पुग्थे न्युरोड । त्यहाँ साहित्यकार र पत्रकार धेरै भेटिन्थे । त्यहीँ भेटे उनले पत्रकार/सम्पादक गोपालदास श्रेष्ठलाई । भेटघाट बाक्लियो । हिमचिम बढ्यो । गोपालदासले पत्रिकामा समाचार लेख्न आग्रह गरे । पत्रिका थियो ‘कमनर’ । रामकृष्णले लेख्न थाले ।
पहिलो समाचार काठमाडौंको जनजीवनसम्बन्धी थियो । “खुला परिवेश सिर्जना हुँदै गएको समाचार र त्यसले पारेको प्रभाव थियो । सुरुमा जीवनशैली लेखिन्थ्यो, अन्तिममा समाचारको अंश हुन्थ्यो,” उनले ०२८ सालमा आफूले लेखेको पहिलो समाचार स्मरण गरे ।
पत्रपत्रिकाहरू बन्द हुन समय लाग्दैनथ्यो । प्रशासकले फणा फिँजाएर निगरानी गरिरहेको हुन्थ्यो । आज छन्, भोलि छैनन् । उनले काम गरेका पत्रिका अहिले कुनै पनि प्रकाशित छैनन् । रामकृष्णले ‘नेपाल टाइम्स’ र ‘मदरल्यान्ड’मा पनि काम गरे ।
“मलाई अहिले तपाईं कुन पत्रिकामा काम गर्नुहुन्थ्यो भनेर कसैले प्रमाण माग्यो भने केही छैन । पञ्चायतकाल थियो । फरक नाममा समाचार लेखिन्थ्यो । कटिङ राखिएन, पत्रिका सबै बन्द भइसके । अहिलेको जस्तो डिजिटलमा जाने समय थिएन,” उनी विगततिर फर्किए ।
समाचार लेखेकै भरमा उनले राज्यको खप्की भोगे । अहिले गणेशमान सिंहको शालिक भएको रत्नपार्कमा अञ्चलाधीशको कार्यालय थियो । हातमा चिठी बोकेर कैयौं पटक उनी त्यहाँ पुगे । चिठीमा लेखिएको हुन्थ्यो, “समयमा नआए वा अटेर गरे कानुनअनुसार कारबाही गरिनेछ ।”
‘कानुनअनुसार कारबाही’को अर्थ हुन्थ्यो– प्रहरी लगाएर पक्राउ गरिनेछ ।
“अञ्चलाधीशको कार्यालय पुग्थें । तर, उनीहरूले भेट्न समय नै दिँदैनथे । ढोकामा गएर बस्यो, दुई घण्टा कुर्न भन्थे । दुई घण्टा कुर्यो, अर्को तीन घण्टा भन्थे,” उनी सम्झन्छन्, “फोटो खिच्न र समाचारका लागि सूचना लिन गयो भने त्यसै गर्थे । चार घण्टा कुराएर ‘आज मलाई मुड छैन, अर्को दिन’ भनेर फर्काइदिन्थे । उनीहरूको त्यो व्यवहारले पञ्चायतकालमा सञ्चारमाध्यमलाई हेर्ने दृष्टिकोण कस्तो थियो भन्ने अहिले पनि बुझ्न सकिन्छ ।”
० ० ०
गोपालदासले एकदिन रामकृष्णलाई सोधे, “आजको विज्ञापन हेर्नुभयो ?”
“छैन ।”
“हेर्नुस् त, राससमा पत्रकार मागेको छ । तपाईंजस्तो व्यक्तिले राससमा काम गर्नुपर्छ ।”
रामकृष्णले फर्म भरे । परीक्षा दिए । पास भए । रिपोर्टरको जागिर सुरु भयो ।
०३० को दशक, रासस, रेडियो नेपाल र गोरखापत्रबाहेक निजी क्षेत्रका सञ्चारमाध्यम ठूलो लगानीमा खुलेका थिएनन् । सानो लगानीमा खुलेका पत्रपत्रिका पञ्चायतसँग लुकामारी खेलिरहेका थिए । पत्रकारिता पेशा भइसकेको थिएन । पत्रकारिता गरेर जीवन धान्ने कल्पना पनि गर्न सकिँदैनथ्यो । भोक हुनेहरू मात्रै यो क्षेत्रमा रहन्थे, बाँकी पलायन हुन्थे ।
उनी भन्छन्, “अहिले पनि त्यस्तै हो । प्यासन हुनेहरू मात्रै पत्रकारितामा रहिरहन्छन् ।”
सरकारी ‘रासस’मा जागिर थियो । उनमा ‘रासस’लाई सरकारी नभई राष्ट्रिय समाचार समिति बनाउने उत्कट चाहना थियो ।
उनको परिश्रम र दक्षताले वरिष्ठ संवाददातासम्म बनायो । यो अन्तरालमा देशले धेरै परिवर्तन देख्यो । जनमत संग्रह घोषणा भयो । एक वर्षपछि जनमत संग्रह भयो । पञ्चायतले जित्यो । ०४६ मा जनआन्दोलन भयो । प्रजातन्त्र आयो । यी सबै घटना र राजनीतिक व्यवस्थाका साक्षी बसे रामकृष्ण । साक्षी बसेको प्रमाण हुन्– उनले लेखेका समाचार ।
तत्कालीन राजा प्रेसप्रति उदार देखिन्थे, पञ्चहरूको तुलनामा । तर, पञ्चहरू भने निकै कडा । सञ्चारमाध्यमलाई सकेसम्म मुख बन्द गर्न खोज्थे । जनमत संग्रह घोषणाका सुरुका ७ महिना ‘रासस’ले तटस्थ भएर समाचार लेख्यो ।
“तपाईं अहिले पनि राससको इतिहास पल्टाएर हेर्न सक्नुहुन्छ, हामीले त्यो बेलाको राज्य वयवस्थासँग जुधेर तटस्थ समाचार लेखेका थियौं । सरकार केही उदार भएर पनि त्यो सम्भव भयो,” रामकृष्ण सम्झन्छन्, “तर पछिल्लो पाँच महिना भने सरकार कट्टरपन्थी हुँदै गयो । प्रधानमन्त्री सूर्यबहादुर थापा र उनको सरकार प्रेसप्रति अनुदार हुँदै गयो । राससको समाचार कक्षमा पनि त्यसको प्रभाव पर्न थाल्यो ।”
अघिल्लो ६ महिनाका समाचार एकपक्षीय नदेखिएपछि राससका समाचार निजी क्षेत्रका सञ्चारमाध्यमले पनि छाप्थे तर ‘क्रेडिट दिन भने निकै लोभ गर्थे ।’
बीपी, गणेशमान, पुष्पलाल, मनमोहनलगायतका नेता प्रतिबन्धित पार्टीका शीर्ष नेता थिए । उनीहरूका भाषण ‘हट केक’ बन्थे । अन्तर्वार्ताहरू रुचाइन्थे । उनीहरू प्रेसलाई ‘नोटिस’ गरिहाल्थे ।
“अहिलेका नेताहरू प्रेससँग सकेसम्म भाग्न खोज्छन् । क्यामराको मोहले देखिन खोजे पनि उनीहरू इमान्दार भएर सूचना दिँदैनन्, सकेसम्म लुकाउन खोज्छन्,” रामकृष्ण सम्झन्छन्, “तर, बीपी, गणेशमान, मनमोहनलगायतका नेताहरू त्यस्ता थिएनन् । उनीहरूले प्रेस भन्नेबित्तिकै परैबाट नोटिस गर्थे । पत्रकारलाई के कसो छ, सोध्थे । सूचना सधैं इमान्दार भएर दिन्थे । तत्काल दिन नसकिने र नमिल्ने सूचना भए यो अर्को कुनै दिन दिन्छु भन्थे । तर, अहिलेका नेताहरू इरिटेड भएको पाउँछु ।”
० ० ०
अहिलेको जस्तो इमेल, इन्टरनेट थिएन । गाउँका समाचार शहरसम्म आइपुग्दैनथे । समाचार भनेकै शहरका हुन् भनेजस्तो थियो । रामकृष्णलगायतका ‘रासस’कर्मीले ६५ जिल्लामा रिपोर्टर राख्न पहल गरे । गाउँका समाचारलाई राजधानीसँग जोडे ।
उनी आफैं पनि समाचार संकलन गर्न गाउँ–गाउँ पुग्थे । उनलाई लुम्बिनी गएको अहिले पनि याद छ । रामकृष्णले लुम्बिनी पुगेर समाचार लेखे । समाचार लेख्नुभन्दा पनि त्यसलाई तत्काल काठमाडौं पठाउनु महाभारत थियो । उनी हातले कागजमा लेखेको समाचार खाममा शिलबन्दी गरेर भैरहवा विमानस्थलमा पाइलटलाई दिए र फेरि लुम्बिनी नै फर्किए । विराटनगरको रिपोर्टिङको कथा पनि लुम्बिनीको भन्दा फरक थिएन ।
“सूचना हुलाक हुँदै समाचार कक्षसम्म आइपुग्थे । त्यो सूचना हप्ता वा महिना दिनपछि छापिन्थ्यो,” उनी इन्टरनेटविहीन समयको कथा सुनाउँछन्, “गाउँको सूचना काठमाडौं आएर त्यो समाचार छापिएको पत्रिका गाउँसम्म पुग्दा महिनौं बितिसकेको हुन्थ्यो ।”
रेकर्डर हुँदैनथ्यो । रिपोर्टिङ गर्न जाँदा डायरीमै लेख्नुपथ्र्यो । प्रशासकहरू बोल्थे, उनी नोट गर्थे, समाचार बनाउँथे । नैतिकताहीन प्रशासक र पञ्चहरू भोलिपल्ट ‘हामीले बोलेकै छैन, पत्रकारले झुटो समाचार लेख्यो’ भन्थे । कपीको पानामा हातले टिपेका दुई–चार लाइनबाहेक केही हुँदैनथे । त्यसैलाई पत्रकारले प्रमाणको रूपमा राख्नु पथ्र्यो । त्यसलाई कति विश्वास गर्ने/नगर्ने– व्यक्तिमै भर पथ्र्यो ।
पत्रपत्रिका थोरै थिए । प्रसारणमा रेडियो नेपालमात्रै थियो । एफएम रेडियोको जन्म भएकै थिएन । जनताले टेलिभिजनको स्वाद चाख्न पाएकै थिएनन् । पत्रपत्रिकामा बाइलाइन छापिनु समुद्रको मोती फेला पार्नुसरह हुन्थ्यो । पहिलो बाइलाइन छाप्न कम्तीमा ६ महिनादेखि एक वर्षसम्म समाचार कक्षमा संघर्ष गर्नुपथ्र्यो । त्यही संघर्ष रामकृष्णले पनि गरे ।
“म पनि बाइलाइनको सन्दर्भमा कठोर छु जस्तो लाग्छ । तर, हुनुपर्छ । समाचार कक्षामा खारिएपछि मात्रै बाइलाइन दिनुपर्छ भन्ने मेरो मान्यता छ । सुन्दा क्रूरजस्तो लाग्न सक्छ तर पत्रकारलाई नै परिपक्व पार्ने कुरा हो यो,” अहिले एक वर्षमा चार वटा सञ्चारमाध्यम चहार्ने समयमा रामकृष्णको बाइलाइन मान्यता कारागारको कठोर यातनाजस्तो लागे पनि उनको तर्कलाई कम आँक्न सकिँदैन । उनी भन्दै जान्छन्, “अघिल्लो दिन समाचार कक्ष छिरेर भोलिपल्ट बाइलाइन खोज्ने प्रवृत्तिले कमजोर बनाउने पत्रकारलाई नै हो, फितलो हुने समाचार नै हो ।”
‘रासस’मा काम गर्दै गर्दा जर्मनीका लागि पत्रकारितामा ‘पोस्ट ग्य्राजुएट’को फेलोसिप भरे । फेलोसिप पर्यो । उनी दुई वर्षका लागि पत्रकारिता पढ्न जर्मनीतिर लागे । त्यहीँ हो उनले पत्रकारिताको प्राज्ञिक शिक्षा लिएको पहिलोपटक । पत्रकारिताको अभ्यास गर्दै गरेका रामकृष्णले त्यहाँ यसको विश्वव्यापी सिद्धान्त पढे । त्यहीँ हो उनले छुट्टै विभागबाट पत्रकारिताको अध्ययन गर्न सकिन्छ भनेर प्रत्यक्ष देखेको ।
नेपालमा पत्रकारिताको छुट्टै विभाग हुनुपर्छ भनेर केही व्यक्तिले आवाज उठाइरहेका थिए । केही भने यो भाषा भएकाले यसलाई छुट्टै विभाग चाहिँदैन भन्ने तर्क गर्थे । पत्रकारिता छुट्टै विभागको रूपमा विकास हुनुपर्छ भन्नेमा लालदेउजा राई, रामकृष्ण रेग्मी, भारतदत्त कोइराला, गोकुल पोखरेल, राधेश्याम विष्टलगायत थिए । अन्नतः जित छुट्टै विभाग हुनुपर्छ भन्नेहरूकै भयो । ०३३ सालदेखि नेपालमा पत्रकारिताको पढाइ सुरु भयो । एमएमा आरआरबाट पत्रकारिताको आफ्नै विभाग सुरु भयो ।
शैक्षिक क्षेत्रमा रामकृष्णको अर्को योगदान पनि छ । त्रिभुवन विश्वविद्यालयले पत्रकारितामा बीए र एमए अध्ययन गर्न आईए पनि पत्रकारितामै गर्नुपर्ने नियम बसालेको थियो । रामकृष्णलाई भने यो चित्त बुझिरहेको थिएन । उनको मनशाय पूर्वाञ्चल विश्वविद्यालयले बुझिरहेको थियो । बोलायो । छलफल गर्यो । पत्रकारितामा सीधै एमए पढाउने निर्णय भयो । त्यसका लागि उनले एमए पत्रकारिताको कोर्स डिजाइन गरे । विभिन्न बहस र तर्क–वितर्कबीच पूर्वाञ्चल विश्वविद्यालयले पत्रकारितामा एमए कक्षा सुरु गर्यो । १८ वर्षअघिको कुरा सुनाए रामकृष्णले । उनले अहिले पनि पत्रकारिता पढाइरहेका छन् ।
० ० ०
०३२ सालमा ‘रासस’ छिर्दा रामकृष्णसँग एउटा भिजन थियो । ‘रासस’लाई कसरी राष्ट्रिय समाचार समिति बनाउँछु भन्ने विश्वास थियो । उनी त्यहाँको जागिरे हुन्जेल कति काम भए, कति बाँकी रहे । ती आज उनको सम्झनाको पोल्टैमा छन् । पत्रकारितालाई जागिर नठान्ने उनका केही असहमति र असन्तुष्टि रहे । ०५२ सालमा उनले ‘रासस’लाई बिदाइको हात हल्लाए ।
सोध्यौं, “किन छाड्नुभयो रासस ?”
जवाफ उनको छोटो छ, “म अहिले यतिमात्रै भन्छु– मैले ०५२ मा राजीनामा दिएँ । योभन्दा बढी म आफैंले काम गरेको संस्थाबारे भन्दिनँ ।”
उनको अनुहारमा बगेको भाव र शारीरिक हाउभाउ देख्दा लाग्थ्यो– उनी ‘रासस’को तौरतरिकाप्रति सन्तुष्ट थिएनन् ।
‘रासस’बाट राजीनामा दिए तर पत्रकारिताभन्दा बाहिर जीवन गुजार्ने कल्पनासम्म गरेका थिएनन् । ‘आजको समाचारपत्र’का सम्पादक पुष्करलाल श्रेष्ठले बोलाए । सल्लाहकार सम्पादक भएर रामकृष्णले त्यहाँ १७ महिना काम गरे । अहिले त्यसको नाम ‘नेपाल समाचारपत्र’ छ ।
सक्रिय पत्रकारितामै रहँदा उनी पत्रकारिताको तालिम दिँदै हिँड्थे । नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)मार्फत उनी जिल्ला–जिल्ला पुगेर पत्रकारिताको तालिम दिन्थे ।
“एक महिने तालिम दिनुको हाम्रो उद्देश्य हुन्थ्यो– गाउँ–गाउँका समाचार केन्द्रमा आइपुग्नुपर्छ । राज्य सञ्चालकलाई तिनले झक्झक्याउनुपर्छ,” उनी भन्छन्, “हाम्रो उद्देश्य त्यो बेला ७५ जिल्लामै तालिम सञ्चालन गरेर गाउँका समाचारको बाइलाइन स्थानीय रिपोर्टरकै नाममा हुनुपर्छ भन्ने थियो ।”
अहिलेको पत्रकारिता
समाचारको कारोबार व्यावसायिक कारोबारीले गरे । यसले समाचार र पत्रकारिता पेशा सेवाभन्दा पनि व्यवसाय बन्दै गयो । रामकृष्ण स्पष्ट छन्, “पत्रकारिता पेशा वा व्यवसाय त हो । समाचार कक्षबाट उत्पादन हुने सामग्री उपभोग्य वस्तु पनि हो । पत्रकारले उत्पादन गरेको वस्तु आम उपभोक्तासामु पुग्छ पनि । फरक के भने– चाउचाउ कम्पनीले गरेको उत्पादन व्यक्ति वा उपभोक्ताले पैसा तिरेर किन्नुपर्छ । तर, समाचार कक्षको उत्पादन आमउपभोक्ता (पाठक)ले पैसा नतिरेर पनि उपभोग गर्न पाउनुपर्छ । या, सस्तोमा उपयोग गर्न पाउनुपर्छ । जबसम्म यो सोच मिडिया मालिकमा आउँदैन, तबसम्म पत्रकारिता फस्टाउँदैन ।”
समाचारको खेती गरेर घर बसिनसकेको व्यक्ति त बाँच्न सक्ला तर घर बसाइसकेको व्यक्तिलाई भने यो पेशामा लागिरहन १० पटक सोच्नुपर्ने बाध्यता अझै रहिरहनु पत्रकारिताको दुर्भाग्य भएको रामकृष्ण बताउँछन् । पत्रकारितालाई स्वतन्त्र छोडिदिने तर यसलाई लेखाजोखा नगर्ने सरकारी प्रवृत्ति मुख्य दोषी रहेको उनी ठान्छन् । पत्रकारितालाई देखाएर पृष्ठभूमिबाट यसको लाभ लिने मालिकहरूका कारण सञ्चार संस्था बलियो नभएको उनको ठहर छ ।
पत्रकारिताको अलग विभाग छ । पत्रकारितामा विद्यावारिधी गर्नेहरूको संख्यासमेत बाक्लिएको छ । वार्षिक सयौं विद्यार्थी पत्रकारितामा स्नातकोत्तर गरिरहेका छन् । तर, पनि पत्रकारितामा उतिविघ्न आकर्षण छैन । छ त केवल टेलिभिजनको स्क्रिनको ग्ल्यामर । तर, त्यो पनि देखावटी । ९० दिनको एक महिना मान्न कठिन मान्ने मालिक छन् । पत्रकारको पर्दापछाडिको दुःख बीसको उन्नाईस भएको छैन । यो अवस्था रहिरहेसम्म पत्रकारिताप्रतिको आकर्षण पनि झर्दै जाने रामकृष्ण बताउँछन् ।
“अहिलेको आकर्षण अनलाइन हो । ग्याजेटको विकाससँगै अनलाइन फस्टायो । तर, सरकार यसलाई मान्न तयार छैन,” रामकृष्ण प्रश्न गर्छन्, “तपाईंको संस्थालाई कुन सरकारी कार्यालयले पत्र काटेर आफ्नो कार्यक्रममा बोलाउँछ ? कति फ्याक्स र इमेल प्राप्त हुन्छन् ?”
जवाफ हामीले दिनै पर्दैन । उनी आफैं भन्दै जान्छन्, “तपाईंको व्यक्तिगत चिनजानका अधारमा तपाईंलाई कसैले बोलायो भने त्यो फरक कुरा हो । तर जबसम्म यहाँ अनलाइन पनि छन् र यी पनि सशक्त मिडिया हुन् भन्ने सरकारले बुझ्दैन, तबसम्म अनलाइनलाई सरकारले हेर्दैन । सरकारले अनलाइनलाई छोइछिटो गरिरहेको छ । जबकि अनलाइन सशक्त माध्यमका रूपमा अघि बढेको बढ्यै छ ।”
समाचारका लागि समाचारपत्र, रेडियो, एफएम र टेलिभिजनको डेडलाइन कुर्ने समय सकियो । जाँदाजाँदै उनले भने, “अब एनीटाइम इज डेडलाइन ।”