मान्छेले सपना दुई कालमा देख्छ– एउटा दिउँसो, अर्को राति । रातिका सपना त्यही अँध्यारोमा हराएर जान्छन् । दिउँसो देखिने सपनाको चमकले जिन्दगी डोर्याउँछ । नसुती देखिने यस्ता सपना जीवनका निधि हुन् ।
कोही त्यस्ता हुन्छन्, जसले सपना त देख्छन् तर पूरा नभए पनि जिन्दगीप्रति गुनासो गर्दैनन् ।
अमित ढकालले पनि सपना देखेका थिए– पीएचडी गर्ने र राजनीति गर्ने । जीवनको आधा कालखण्ड उनले यही सपना पछ्याए ।
तर, समय कसैको हातमा हुन्न । त्यही समयले उनलाई पत्रकार बनाइदियो ।
आजसम्म कहिल्यै पत्रकारिताको औपचारिक शिक्षा नलिएका अमित पत्रकारिताकै खुड्किलो टेकेर यहाँसम्म कसरी आइपुगे ? समाचार स्रोतसम्मको पहुँच र विषय प्रस्तुतिमा किन यो पुस्ताका पत्रकारहरू उनको नाम लिन कहिल्यै बिर्सिन्नन् ?
समकालीन पत्रकारहरूमा यस्ता थोरै नाम छन्, जसको धरातल बलियो छ र जसले खुट्टा नकमाई लेख्न सक्छन् । अमित ढकाल त्यस्तै नाम हो । चुस्त जनसम्पर्क, शालीन व्यक्तित्व र भाषामा पकड अमितका निधि हुन् । आत्मविश्वासी, निर्भीक र नैतिकवान चरित्र उनका गहना हुन् । उनको यही व्यक्तित्व कलममा पनि झल्किन्छ ।
बिहीबार दिउँसो झम्सिखेलस्थित आफ्नै अनलाइन ‘सेतोपाटी.कम’को कार्यालयमा ‘बाह्रखरी’सँग गफिँदा अमितले जीवनका थुप्रै पाटा उधिने ।
पीएचडी सपना
अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्डमेडल जितेर छात्रवृत्तिमा पीएचडी गर्न अमेरिका जाने, केही वर्ष उतै पढाउने र नेपाल फर्र्किएर राजनीति गर्ने उनको योजना थियो । त्यसका लागि प्रशस्त मेहनत गर्नु थियो । त्यही सपना पूरा गर्न उनले आफूलाई पढाइमा केन्द्रित गरे । केन्द्रीय क्याम्पस कीर्तिपुरमा भर्ना भए पनि पढ्न भने पाटन संयुक्त क्याम्पस जान्थे । पहिलो वर्षको नतिजा आयो । परीक्षाफल राम्रो पनि आयो तर सोचेजस्तो भएन । ७० प्रतिशत अंक ल्याए । तर पोजिसनमा तेस्रो ।
राजनीतिमा मोह
०४६ को अन्तिममा उनले अमृत साइन्स क्याम्पसबाट आईएससी सके । त्यसपछि उनी रत्नराज्यलक्ष्मी क्यापस (आरआर) आए । आरआर विद्यार्थी राजनीतिको केन्द्र नै थियो । स्ववियू सभापतिमा जगन्नाथ खतिवडाको कार्यकाल भर्खर सकिएको बेला थियो । खतिवडा त्रिवि गए । तर, चुनाव हुन सकेको थिएन । अर्को युनियन आइसकको थिएन ।
पढाइभन्दा राजनीति चर्को हुन्थ्यो । राजनीतिकै रंगमा कति विद्यार्थी रमाउँथे । त्यही राजनीतिको जोशिलो रसले प्रायःलाई रंगाउँथ्यो । राजनीति गर्ने सबै राजनीतिज्ञ हुँदैनन् । सबै राजनीतिज्ञ सफल पनि हुँदैनन् । तर, जोशिलो उमेर, उरन्ठ्यौलो बुद्धि अनि अंकुशरहित वातावरण हुँदा विद्यार्थीहरू कलेज राजनीतिमा मज्जाले रमाउँथे । अमित पनि अछुतो थिएनन् । बिहानदेखि अबेर साँझसम्म कलेज । ओठमाथि जुँगाका रेखीसमेत राम्रो बसिनसकेका तन्नेरीहरू ठूलठूला राजनीतिक गफ हाँक्थे । अमित पनि त्यस्तै राजनीतिक बहस र छलफलमा समाहित भए । पूर्णकालीन विद्यार्थी राजनीतिज्ञ भए । विद्यार्थीको काम गरे । राजनीति बुझे, बुझाए । दुई वर्ष बित्यो । पढाइ कम, राजनीति बढी हुँदै गयो । सोच्न थाले– राजनीति त गर्ने तर कसरी ? राजनीतिज्ञको आयस्रोत के हो ? मैले राजनीति गर्न चाहिने आर्थिक स्रोत के हो ?
यी प्रश्नले उनलाई लखेटिरहे ।
“सधैंभरि २४ घण्टे कार्यकर्ता बनेर राजनीति गर्न र राजनीतिको खर्च धान्न बुबाको सम्पत्तिले पुग्दैनथ्यो, घरबाट पैसा ल्याएर पूर्णकालीन कार्यकर्ता बन्ने अवस्था थिएन,” उनले विगत सम्झिए, “यही तरिकाले म राजनीति गर्ने हो भने मलाई सडकछाप कार्यकर्ता बनाउँछन् भन्ने सोचेँ र राम्रो पढेर स्कलरसिपमा पीएचडी गरी फर्किन्छु अनि मात्रै राजनीति गर्छु भन्ने सोचेँ । र, मैले आफूलाई पढाइमा केन्द्रित गरें ।”
सानैमा देखेका बीपी
झापाको ढकाल खानदान पढाइलेखाइ र राजनीतिको महत्व मज्जैले बुझ्थ्यो । अमितलाई उनका बुबाले पढाइ राम्रो होस् भनेर विराटनगर पठाए । उनी अरनिको स्कुलमा पढ्न थाले ।
“०३६ साल जनमत संग्रहको समय थियो । म त्यस्तै सात/आठ वर्षको थिएँ होला । विराटनगरमा बीपी कोइराला आउने भन्ने हल्ला फैलियो । त्यो दिन पनि आयो । मान्छेहरू लाम लागेर बीपीलाई स्वागत गर्न हिँडेका थिए । म भने बीपी देश बनाउने राम्रो र ठूलो मान्छे भनेर बुझ्थें,” अमित सम्झिन्छन्, “०१७ सालमा राजाले खोसेको प्रजातन्त्र पुनर्बहालीका लागि भन्दै राजनीतिक सभा, समारोह र जुलुस हुन्थे । त्यही जुलुसमा म पनि परिवारका सदस्यहरूसँगै ‘आधा रोटी खान्छौं, प्रजातन्त्र ल्याउँछौं’ भन्दै हाफप्यान्ट तान्दै कुद्थें । त्यही बेला हो मेरो मनमा राजनीतिले जरो गाडेको । अमिट छाप पारेको ।”
महात्मा गान्धी र उनले छेडेको भद्र आन्दोलन र त्यसले भारतको राज्य व्यवस्थामा ल्याएको परिवर्तन सानो किताबमा पढेका अमितको बाल मनोविज्ञानले थाहा पाएको थियो, सबैभन्दा ठूलो कुरा राजनीति रहेछ र गर्नुपर्ने राजनीति नै रहेछ । त्यसैको प्रभाव थियो– कलेजमा उनले गरेको राजनीति र सांसद/मन्त्री बन्ने सपना ।
शिक्षक अमित
समयले जसरी उनलाई राजनीतिमा डोर्यायाे, त्यसरी नै किनारामा पनि ल्याइदियो । स्नातक सकेपछि उनले ललितपुरको ईपीएस बोर्डिङ स्कुलमा माध्यमिक तह पढाए । अर्थशास्त्रमा स्नातकोत्तर सकेपछि दुई वर्ष डनबस्को स्कुल पढाए । यतिबेला उनी सक्रिय पत्रकारितामै थिए । बिहान कलेज पढाउने, दिउँसो पत्रकारिता गर्ने । त्यतिबेलै गोल्डमेडल लिएर सार्क स्कलरसिपमा अमेरिका जाने र अर्थशास्त्रको प्राध्यापक बन्ने सपना थियो । त्यो सपनाको भर्याङमा अर्को खुड्किलो थियो– देश फर्किएर पूर्णकालीन राजनीति गर्ने ।
त्यसकै लागि संघर्षरत अमित स्नातकोत्तर पहिलो वर्षको परीक्षा दिएर बसेका थिए । ‘काठमाडौं पोस्ट’का देवराज अधिकारीले पत्रकारिता गर्न आग्रह गरे । अमितले यो आग्रहलाई सिधै नकारिदिए । अर्थशास्त्रका विद्यार्थीलाई पढाइमा सहयोग पुग्ने भन्दै उनले अमितलाई पटक–पटक आग्रह गरे ।
देवराज भन्थे, “पढाइ बिग्रिँदैन । दिनको चार/पाँच घण्टा मात्रै काम गरे हुन्छ । तिमीजत्तिको बुझेको मान्छेले गर्न सक्छौ । तिमीलाई ब्युरो चिफ नै बनाउँछन् होला । लेखन सार्प हुन्छ, तिम्रो पढाइलाई पनि फाइदा हुन्छ । एक महिना गएर हेर, मन परेन भने छोड्देऊ ।”
पटक–पटकको आग्रह र पूरै समय पनि नदिनुपर्ने भएपछि अमितले आग्रह स्वीकारे । अनि सुरु गरे अंग्रेजी दैनिक ‘एभरेस्ट हेराल्ड’मा पत्रकारिता ।
बाटाहरू सधैं सीधा हुँदैनन् । त्यसमा पनि जिन्दगीका रेखाहरू त अक्सर बांगाटिंगा नै हुन्छन् । पीएचडी गरेर राजनीति गर्ने सपना साँचेका अमित समाचार पो लेख्न थाले ।
लेखन शैली विकास हुँदै गयो । राजनीतिक समाचार पनि लेख्न थाले । उनको लेखन अर्थ र राजनीति दुवैमा अब्बल हुँदै गयो ।
‘एभरेस्ट हेराल्ड’ एक वर्षपछि बन्द भयो । तर, निखारिँदै गएको अमितको कलम रोकिएन । ‘काठमान्डू पोस्ट’को इकोनोमिक ब्युरोमा प्रतीक प्रधान थिए । उनलाई थाहा थियो, अमितले राम्रो लेख्न सक्छन् भन्ने । प्रतीकले काम गर्न बोलाए । सम्पादक श्यामबहादुर केसीसँग भेटाइदिए । श्यामबहादुरको बोल्ने तरिका आफ्नै थियो । ‘बोस काम गर्ने हो ?’ भनेर सोधे । अमितले ‘गरौं न सर’ भने ।
सन् १९९७ को जुनतिर अमितले थेसिस लेखिसकेका थिए । पत्रकारिता गर्ने कि पीचएडी सकेर केही समय प्राज्ञिक काम गर्दै राजनीतिमा ‘कमब्याक’ गर्ने भन्नेमा उनी निर्णय गर्न सकिरहेका थिएनन् । तर, त्यो एक वर्षमै पत्रकारिताको मोहले तानिसकेको थियो ।
“पत्रकारिताको नशा पनि बडो गज्जबको हुन्छ । प्रवेश गर्दा कस्तो–कस्तो लाग्ने, छिरेपछि छोड्नै नसकिने । मलाई पनि पत्रकारिताको नशाले समाइसकेको थियो । काम गर्न सुरु गरेँ,” अमितले भने ।
‘काठमान्डू पोस्ट’मा इकोनोमिक ब्युरो चिफ भएर दुई वर्ष काम गरे । उनको लोभलाग्दो राजनीतिक चेतना, सम्बन्ध र विश्लेषण नियालिरहेको एडिटोरियल रुम र व्यवस्थापनले उनलाई दुई वर्षमै चिफ रिपोर्टर बनायो ।
० ० ०
सपना सधैँ रंगीन हुन्छन्, सधैं श्यामश्वेत पनि हुँदैनन् । अमितको जिन्दगीमा रंगीन इन्द्रेणी फैलिसकेको थियो ।
दुई वर्षसम्म ‘भिड्दा नपत्याएको’ अमेरिकाले तेस्रो वर्ष भने उनलाई द्वन्द्व व्यवस्थापन र पत्रकारितामा ‘डबल फुलब्राइट’ छात्रवृत्ति दियो । उनले पत्रकारिताभन्दा द्वन्द्व व्यवस्थापनै पढ्दा राम्रो हुने र ज्ञानको दायरा पनि बढ्ने सोचे । यही लक्ष्यका साथ उनी सन् २००१ मा पढ्न अमेरिका गए र २००२ मा फर्किए । सोही वर्ष अमेरिकामा ‘फुलब्राइट’ छात्रवृत्तिमा पढेर फर्किएका प्रतीक प्रधान र उनको सल्लाह भयो– नेतृत्वमा बस्न पाइन्छ भने ‘काठमान्डू पोस्ट’मा बस्ने, नत्र छोड्ने । व्यवस्थापनसँग कुरा गरे । व्यवस्थापनले ‘बस्दै गर, तिमीहरू नै हो लिडरसिपमा जाने’ भन्ने आश्वासन दियो । पछि प्रतीक सम्पादक र अमित समाचार सम्पादक भए ।
प्रकाशकसँग नोकझोक
राजा ज्ञानेन्द्र शाह महत्वाकांक्षी भए । आफैं शासन गर्न राजनीतिक ‘कू’ गरे । सञ्चारमाध्यममा सेना पठाए । ‘कान्तिपुर’मा बन्दुक भिरेका दुई दर्जन सेना तैनाथ भए । सुरुमा मेजर र पछि क्याप्टेनले समाचारको पेज एफोर साइजमा प्रिन्ट गरेर हेर्थे । राजाको समर्थनमा समाचार तथा विचार लेख्न दबाब दिन्थे । ‘कान्तिपुर’मा प्रधानसम्पादक नारायण वाग्ले र ‘काठमान्डू पोस्ट’मा प्रतीक प्रधान थिए । अमितचाहिँ ‘काठमान्डू पोस्ट’का समाचार सम्पादक थिए । उनीहरू सल्लाह गर्थे– तत्काल विरोधमा लेख्ने अवस्था छैन तर समर्थनमा पनि नलेख्ने । जुन दिन लेख्नुपर्ने अवस्था आउँछ, त्यही दिन राजीनामा दिनुपर्छ ।
“विरोधमा लेख्न सक्ने वातावरण नरहे पनि हामीले समर्थनमा पनि एक शब्द लेखेनौं,” अमित सम्झन्छन्, “राजाले ‘कू’ गरेका थिए । प्रजातन्त्र अपहरणमा परेको थियो । हामी भने मोजाको बारेमा सम्पादकीय लेखेर बसेका थियौं ।”
मोजाका बारेमा लेखिएको सम्पादकीय राजाको कदमको विरोधमा प्रतीकात्मक हिसाबले लेखिएको थियो । मोजा बाक्लो र पातलो खालको हुन्छ । बाक्लो जाडोमा र पातलो गर्मीमा लगाइन्छ । यसका अरु पनि विशेषता हुन्छन् । मोजा फाटेपछि र गन्हाएपछि फ्याँकिन्छ । यस्तै खालको थियो । त्यो सम्पादकीयलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत ‘क्यारी’ गरेका थिए ।
प्रकाशकमा शासकको दबाब पर्दै गयो । प्रकाशक कैलाश सिरोहिया र विनोद ज्ञवाली तथा प्रतीक, नारायण र अमित साँझ घण्टौंसम्म बसेर समाचारका विषयमा छलफल गर्थे । राजाको शासनको आयु आँकलन गर्थे र आफ्नो रणनीति तय गर्थे । ‘डे वान’बाटै राजाको ‘कू’विरुद्ध उभिएका यी तीनै पत्रकार ‘कू’को पक्षपोषण नगर्ने र गर्नुपरेका दिन कान्तिपुरको विकल्प खोज्ने चेतावनी दिन्थे ।
पहिलो सातादेखि प्रतीकात्मक रूपमा लेख्न थाले पनि एक महिनापछि ‘कान्तिपुर’ राजाको शासनविरुद्ध उत्रिसकेको थियो । शाही दबाब थेग्न नसकेर कहिलेकाहीँ प्रकाशक र उनीहरूबीच नोकझोक चलिरहन्थ्यो ।
“मलाई मिति सम्झना नभए पनि घटना र डाइलग याद छ । एकदिन कैलाश सरले भन्नुभयो, ‘हैन, यसरी चल्दैन । तपाईंहरूले हामीलाई सहयोग गर्नुपर्याे ।’ हामीले ‘हुन्छ, सहयोग गरिहाल्छौं नि’ भन्यौं । उहाँले कस्तो सहयोग ? भन्नुभयो । हामीले भन्यौं, ‘राजीनामा दिएर ।’ कैलाश सर हाँस्नुभयो,” अमितले भने ।
प्रकाशकलाई राज्यको दबाब, पत्रकारहरूलाई नैतिकता र स्वाभिमानको दबाब । अवस्था बाध्यात्मक पनि आउला जस्तो थियो । कि प्रकाशकले भनेको मान्नुपर्ने कि कान्तिपुरको विकल्प खोज्नुपर्ने । बाटा यी दुईटा मात्रै थिए ।
एकदिन उनीहरू तीनै जना बानेश्वरको सनसेट होटल पुगे । यदि प्रकाशकले राजाको पक्षमा लेख्ने निर्णय गर्यो भने कान्तिपुर छोड्ने र साप्ताहिक पत्रिका प्रकाशन गर्ने । त्यसमा को प्रधान सम्पादक, को कार्यकारी सम्पादक र को प्रबन्ध सम्पादक हुने भन्दै पद बाँडफाँडसमेत भएको थियो । लामो हाँसो हाँस्दै अमित भन्छन्, “प्रधान सम्पादक नारायण वाग्ले, प्रबन्ध सम्पादक प्रतीक प्रधान र म कार्यकारी सम्पादक हुने कुरा भएको थियो ।”
प्रकाशकलाई पनि थाहा थियो– तीनै जना निस्किए भने न्युजरुममा धेरै रहँदैनन् । त्यसैले पनि हुन सक्छ या प्रकाशकमा आत्मबल पलायो– एकदिन कैलाश सिरोहियाले भने, “हामी तपाईंहरूकै लाइनलाई समर्थन गर्छौं । राजाको विरोधमा लेख्ने ।”
कैलाशले त्यो पनि भनेका थिए, “सन् १९८० को अन्तिमतिर विनोद र मैले बिजनेस सुरु गर्दाताका महिनाको १५ हजार बच्यो भने काठमाडौंमा सर्भाइभ हुन सक्छौं भनेका थियौं । आज जति छ, पत्रकारिताबाटै हो । हामी तपाईंहरूको विचारमा आयौं । तर, राजा कठोर भए र तपाईंहरूले हामीलाई बीचैमा छोडेर गए आजीवन पाप लाग्नेछ ।”
त्यसपछि प्रकाशकले अन्तिम निर्णय लिए– राजाविरुद्ध लड्ने । यो कुरालाई लिएर अमित अहिले पनि ‘कान्तिपुर’प्रति कृतज्ञ हुन्छन् ।
‘कान्तिपुर पब्लिकेसन’का सबै प्रकाशन तथा प्रसारणले राजाको विरोधमा लेख्न थाले । प्रकाशक तथा सम्पादकहरूलाई प्रत्यक्ष/परोक्ष दबाब आई नै रह्यो । दरबारले सरकार र मन्त्रीहरूको विरोध गरे पनि राजा र युवराजको विरोधमा नजान आग्रह गर्याे । तर, उनीहरू पछि हटेनन् । ‘टाइम म्यागेजिन’ले राजा ज्ञानेन्द्रको अन्तर्वार्ता छाप्यो । त्यो अन्वर्तार्ता ‘काठमाडौं पोस्ट’ले ‘क्यारी’ गर्यो । त्यो समय ‘श्री ५ ज्ञानेन्द्र’ लेख्ने चलन थियो । तर, त्यसमा भने ज्ञानेन्द्र भनेर मात्रै छापिएको थियो । त्यसलाई दरबार र सरकारले ठूलै ‘इस्यु’ बनाउन खोजे ।
‘कान्तिपुर’ले आठौं राजनीतिक दलको संज्ञा पायो । अन्तर्राष्ट्रिय समुदायले पनि ‘कान्तिपुर’को कदमलाई सकारात्मक रूपमा लिन थालिसकेको थियो । अमेरिकी सिनेटर राष्ट्रपतिका उमेदवार टम ड्यासल नेपाल आउँदा ‘कान्तिपुर’को कार्यालय नै पुगे ।
सेनाले ‘कान्तिपुर एफएम’को प्रसारणमा अवरोध पुर्याउँदा नेपालका लागि तत्कालीन राजदूत जेम्स एफ मोरियार्टी त्यहीँ पुगेर वास्तकिता जानकारी लिए ।
राजाको शासन व्यवस्थाको विरोधमा रहेको ‘कान्तिपुर’ आन्दोलनको अंग बनिसकेको थियो । वैशाख ११ को मध्यरातमा ‘कान्तिपुर पब्लिकेसन’ जनताले घेरिसकेका थिए । ‘लोकतन्त्र जिन्दावाद !’, ‘कान्तिपुर जिन्दावाद !’ भन्दै सुरक्षामा हजारौं जनता रक्षाकवच भएर सडकमा उत्रिएका थिए । अमित त्यो दिन सम्झिन्छन्, “६ तलामाथिबाट तल हेर्दा तीनकुनेको पूरै सडकमा कान्तिपुरको समर्थनमा जनता थिए । हामीले लिएको सम्पादकीय रोडम्यापको समर्थनको भीड थियो त्यो ।”
तलबमा सौदाबाजी
नेपालमा पत्रकारिता अझै पनि आर्थिक रूपमा सुरक्षित मानिँदैन । त्यसैले पत्रकारिता पेसा बीच सडकको पाटीजस्तै भएको छ, आउने केही समय सुस्ताउने र अर्कै बाटो समात्ने । अंग्रेजी पत्रकारिता गर्नेहरूमा यो झनै गाह्रो छ । अमित स्वयम् भन्छन्, “अंग्रजीमा राम्रो पत्रकारिता गर्ने पत्रकारलाई यही पेसामा जोगाएर राख्नै गाह्रो छ ।”
तर, उनी स्वयं भने कसरी रहिरहे ? राम्रो काम गर्नुपर्छ, राम्रो पैसा लिनुपर्छ भन्नेमा उनी सुरुदेखि नै स्पष्ट थिए । त्यही सिद्धान्तबाट उनले सुरुदेखि नै आफूलाई ‘गाइड’ गरे । पत्रकारिता गर्नेले सम्झौता नै गर्नुपर्छ भन्ने मान्यताबाट सधैं टाढै रहेका अमित व्यवस्थापनसँग सधैँ पैसाका लागि बार्गेनिङ गर्थे ।
“म बिहान ११ बजे अफिस पुग्थेँ । ब्युरो चिफ भएदेखि राति ११/१२ बजेसम्म पेज फाइनल भएर एफोर पेपरमा समाचार हेरी फाइनल नगरेसम्म निस्किन्नथें । काममा मेहनत गर्थें । त्यसको पारिश्रमिक क्लेम गर्थें,” उनी सम्झिन्छन्, “सम्पादकसँग होइन, म मेरो स्यालरीका लागि सीधै प्रकाशकसँगै बार्गेनिङ गर्थें । मेरा केही सिनियरहरूको भन्दा पनि मेरो तलब धेरै थियो । म एक्लैले तीन जनाको काम गरिरहेको छु, त्यसैले तलबमा सम्झौता गर्दिनँ भन्थेँ ।”
‘ट्रेड युनियनको नेता’
तर, उनी आफ्नोमात्रै होइन, राम्रा कर्मचारीको तलबका लागि पनि कुरा गर्थे । ‘काठमान्डू पोस्ट’मा काम गर्ने अमित ‘कान्तिपुर’मा काम गर्ने पत्रकारको तलब समीक्षा गर्नसम्म सुझाव दिन्थे रे !
“तपाईं अहिलेका टप भनिने पत्रकार भनेर जसलाई चिन्नुहुन्छ, तीमध्ये धेरैको तलब बढाउनुपर्छ, अरु मिडियामा गए भने संस्थालाई नै घाटा हुन्छ भनेर लबिङ गर्थें,” अमित भन्छन्, “कैलास सरले चाहिँ ‘तिमी लिडरसिपमा बसेर ट्रेड युनियनको नेताजस्तो काम गर्छौ’ भन्दै जिस्काउनुहुन्थ्यो ।”
‘रिपब्लिका’मा सम्पादक
१२ वर्ष ‘कान्तिपुर’मा काम गरेर अमित सन् २००९ मा अंग्रेजी ‘रिपब्लिका’को सम्पादक भए । करिब ४ वर्ष ‘रिपब्लिका’मा बिताए । नेपालमा व्यावसायिक अनलाइन संस्थागत गर्ने पहिलो सम्पादक/पत्रकार हुन् । ‘सेतोपाटी डटकम’ उनकै न्युज पोर्टल हो ।
“विनोद सर कान्तिपुरबाट बाहिरिँदा मैले उहाँलाई भनेको थिएँ, अब पत्रकारहरूलाई सँगै लिएर यसरी काम गर्ने, यो तपाईंहरूका लागि अन्तिम अवसर हो । अबको १० वर्षपछि राम्रा पत्रकारहरू एकै ठाउँ बसेर तपाईंहरूबेगर नै समाचार अडियन्ससम्म पुर्याउन सक्छन् । तर, मैले त्यो समय भनेको १० वर्ष पनि लागेन,” विनोदसँगै ‘कान्तिपुर’बाट बाहिरिँदाको प्रसंग सुनाउँदै अमित भन्छन्, “तर जब हामीले सेतोपाटी सुरु गर्यौं, मैले भनेको समयअगाडि नै इन्टरनेटको पहुँच सोचेभन्दा द्रुत गतिमा फैलियो । ०१२ सम्म आइपुग्दा अनपेक्षित रूपमा इन्टरनेटका प्रयोगकर्ता बढे ।”
‘सेतोपाटी’ शुभारम्भ
‘सेतोपाटी’ कुनै समय सम्पादकहरूको हबजस्तै बन्यो । कुनै सम्पादकले काम छोड्यो भने ‘सेतोपाटी’ जाने । कसैलाई सम्पादक चाहियो भने ‘सेतोपाटी’बाट ल्याउने जस्तै भयो ।
नारायण वाग्ले र अमितले एकैदिन क्रमशः ‘नागरिक’ र ‘रिपब्लिका’ छोडे । नेपालका सेलिब्रिटी पत्रकार नारायणका लेख पढ्न पाठक व्यग्र प्रतीक्षा गर्थे । ‘कफी गफ’ होस् या ‘पिपलबोट डटकम’– पाठकले रुचाएका थिए ।
“अझै एक/दुई वर्ष अनलाइन पाठक केही कम होलान् । पत्रिकाको जस्तो धेरै पाठकमा हाम्रा सामग्री नपुग्लान् तर त्यसपछि हाम्रो मेहनत खेर जाँदैन भनेको थिएँ,” सेतोपाटी सुरु गर्दाको प्रसंग कोट्याउँदै उनी भन्छन्, “आज पत्रपत्रिकाभन्दा धेरै तिनका अनलाइन संस्करण हेरिन्छन् । म दाबीका साथ भन्न सक्छु, कान्तिपुर पत्रिकाका पाठकभन्दा त्यसको अनलाइन संस्करण धेरैले पढ्छन् र नागरिक भन्दा नागरिक न्युज डटकम धेरैले पढ्छन् । नेपालका पत्रपत्रिकाकाभन्दा बढी पाठक सेतोपाटीका छन् ।”
“तीन सय करोड लगानी गरेको मिडिया र तीन लाखबाट तीन जनाले सुरु गरेको मिडियाको पहुँच र प्रभाव पनि उत्तिकै हुने दिन आयो– इन्टरनेटकै कारण,” उनले थपे ।
अनलाइनका चुनौती
अनलाइन मिडियामा त होमिए तर अमित यसका चुनौती पनि उत्तिकै झेलिरहेका छन् । आजै, अहिले नै र उत्तिखेरै लेख्नुपर्ने भएकाले चुनौती धेरै छन् । “तीव्र गतिको बस क्षति हुन्छ नै । यसमा पनि तत्काल गर्नुपर्ने र अस्वस्थ प्रतिस्पर्धा भएकाले केही कमजोरी हुन्छन् । यसलाई हामी आत्मालोचना गरेर अगाडि बढ्नुपर्छ ।”
जनशक्ति नभएका र भ्युअर्सका लागि नियतवश गलत समाचार सम्प्रेषण गर्ने अनलाइनहरूका कारण राम्रा अनलाइनप्रतिको बुझाइ नकारात्मक रहेको उनी बताउँछन् ।
“तर, हरेक बादलमा सेतो घेरा हुन्छ,” अमित भन्छन्, “अब पाठक पनि सचेत भइसके । कुन अनलाइनले विश्वसनीय समाचार दिन्छ, कसले राम्रो समाचार दिन सक्छ, कसलाई विश्वास गर्न सकिन्छ, कुन सम्पादक कस्तो, धेरैलाई थाहा हुन थालिसकेको छ । बाँकीलाई पनि बिस्तारै थाहा हुँदै जान्छ ।”
एमाले नेता शंकर पोखरेलले आफूसँग सुनाएको अनुभव साटे उनले ।
“एमाले नेता शंकर पोखरेललाई पहिला–पहिला बिहानै पत्रिकाको तलतल लाग्थ्यो रे ! कतिबेला पत्रिका आउँछ र पढौं भन्ने हुन्थ्यो रे ! तर, आजकाल उतिखेरै अनलाइनमा पढ्यो, पत्रिका आउँछ/आउँदैन थाहै नहुने । आए पनि यसो पल्टायो, सकियो । तलतल लाग्नै छाडेछ,” उनले भने ।
अहिलेको पत्रकारिता
अरुको सुझावमा पत्रकारितामा छिरेका र त्यसको नशाबाट मुक्त हुन नसकेका अमित पत्रकारिताबिना खुला समाजको परिकल्पना गर्न नसकिने बताउँछन् ।
पत्रकारिताले देश विकास र व्यवस्था परिवर्तन गर्न सक्छ कि सक्दैन भन्ने मुद्दा लामो समयदेखि बहसको विषय हो । अमितलाई भने यी दुवैमा पत्रकारिताको देन ठूलो लाग्छ । भन्छन्, “धेरै यस्ता उदाहरण छन्, जो समाचारकै कारण अगाडि आएका छन् । एजेन्डा सेट गर्ने र त्यसलाई बहसको विषय बनाइदिने पत्रकारिताले नै हो ।”
पत्रकारिता करिअरले उनलाई धेरै थोक दिएको छ । सबैभन्दा ठूलो कुरा– सन्तोष दिएको छ । कसरी ?
भन्छन्, “कुनै बेला बाबुराम भट्टराईज्यू भन्नुहुन्थ्यो– हिंसा नै अर्को माध्यमबाट राजनीति हो । तर, मलाई लाग्छ– पत्रकारिता नै अर्को माध्यमबाट राजनीति हो । पत्रकारिताले समाजका एजेन्डा सेट गर्छ । दुई अति ध्रुवबाट जोगाएर समुन्नत लोकतन्त्रमार्फत समाजलाई अगाडि बढाउँछ । म यही बाटोमा हिँडिरहेको छु र सबैभन्दा ठूलो सन्तोष पनि यही हो ।”
अहिलेको पत्रकारिताप्रति उनको असन्तुष्टि भने छ । “हार्ड वर्किङ कल्चर कमै पत्रकारमा छ । छिपछिपे पत्रकारिता गर्नेहरू नै धेरै छन् । यसको प्रत्यक्ष प्रभाव देखिन्छ,” अमित भन्छन्, “विषयलाई उठान गरेर छोड्ने प्रचलन हाबी छ । विषयको उठान गरेपछि बैठान गर्नुपर्छ भन्ने जिम्मेवारीबोध हुनुपर्छ ।”
पत्रकारितालाई जनउत्तरदायी बनाउन आम्दानीको कम्तीमा ३० प्रतिशत नागरिकबाट उठ्नुपर्ने तर्क उनी गर्छन् । “अहिले ९० प्रतिशतभन्दा माथि (अनलाइनको त शतप्रतिशत) रेभिन्यु बजारमा रहन्छ,” उनी भन्छन्, “यस्तो अवस्था नसुध्रिएसम्म पत्रकारितामा ब्रह्मले देखेको कुरा लेख्न गाह्रो हुन्छ ।”
त्यसैले ‘सेतोपाटी’ले पाठकबाट प्रतिव्यक्ति स्वेच्छिक १५० रुपैयाँ र विदेशबाट २ डलर लिने व्यवस्था तयारी गरिरहेको अमित सुनाउँछन् । यो व्यवस्था अबको केही समयमै सुरु हुने भन्दै उनले थपे, “बजारबाट प्रभावित नभएको स्वच्छ समाचारको अभ्यासका लागि हामीले नयाँ अभ्यास गर्न लागेको हौं ।”
० ० ०
सपना सबैका आ–आफ्नै हुन्छन् । मेहनत गर्दैमा सपना पूरा हुन्छन् भन्ने हुँदैन । तर, टुटेका सपना लिएर पनि मान्छे सुखी र खुसी हुन सक्छन्– अमित जस्तै ।