त्यस्ता थोरै मान्छे हुन्छन्, जो शरीरको कदजस्तै इमानमा पनि अग्ला हुन्छन् । नारायण वाग्लेलाई चिन्ने सबैजसो भन्छन्– वैंशमै सेत्तै कपाल फुलेका नारायणको कद जति उँचो छ, उनको निष्ठा र व्यक्तित्व पनि उत्तिकै ओजिलो र उँचो छ । नेपाली समकालीन पत्रकारिताकै धरोहर भन्न सुहाउने । हेर्दा पनि धरहराजस्तै– सेतो र शालिन ।
उनी शब्दको फरुवा चलाउँछन् र शब्दैको खेती गर्छन् । शब्दको बाली निकै फस्टाउँछ । कहिले आख्यान, कहिले राजनीतिक, कहिले अनुभूति– लेखिरहन्छन् ।
एउटा जिज्ञासा थियो– उनी कसरी शब्दसँग साइनो गाँस्न आइपुगे ? कसरी पत्रकार हुँदै आख्यानसँग जोडिए ?
आम समाज र अभिभावकको चाहनाजस्तै उनको परिवारको चाहना पनि फरक थिएन । परिवार भन्थ्यो– डक्टर या इन्जिनियर बन् । उनी भन्थे– बन्दिनँ । यस्ता प्राविधिक विषयतिर उनको त्यतिसारो ‘दिलचस्पी’ थिएन । पढ्न र लेख्न उनलाई मन पथ्र्यो । तर, पत्रकारिता गर्छु भन्नेसम्म सोचेका थिएनन् । त्रि–चन्द्र कलेजमा पढ्दापढ्दै उनी एक्कासि साप्ताहिक पत्रिका ‘जनमञ्च’ पुगे । न पत्रकारिता उनले देखेको सपना थियो, न लक्ष्य । त्यो समय पत्रकारिता पेशाकै रूपमा विकास भइनसकेकाले पनि होला– लेख्ने पढ्ने काम गर्छु भन्ने मनोविज्ञानमा रुमलिँदा पनि पत्रकारिता नै गर्छु भनेर कहिल्यै सोचेनन् ।
पहिलो असाइनमेन्ट
विसं. २०४८ सालको एकदिन । उनी ‘जनमञ्च’ गए । प्रधान सम्पादक मुकुन्द पराजुलीले अह्राए, “तिमी हनुमानढोका जाऊ, त्यहाँ एकजना एड्स लागेकी युवती छिन् । उनको समाचार गर ।”
त्यो बेला अहिलेजस्तो एचआईभी पोजेटिभ भन्ने चलन थिएन । एड्स लागेको व्यक्ति भनिन्थ्यो । एड्स लागेका व्यक्तिलाई सीधै अपराधीझैं दुव्र्यवहार गरिन्थ्यो । एचआईभी/एड्स लागेको व्यक्ति, त्यसमा पनि हनुमानढोका जानु पर्ने । वाग्लेलाई डर लाग्यो । आङ सिरिंग भयो । तर, पनि जागिर खानु नै थियो । उनी फोटो पत्रकार चन्द्रशेखर कार्कीलाई लिएर हनुमानढोका पुगे । जनआन्दोलनमा प्रहरीको लाठी खाएका वाग्लेलाई प्रहरी देख्दै डर लाग्थ्यो । र, पनि सम्पादकको आज्ञा शिरोपर गर्दै उनी हनुमानढोका गए । तर, ती युवतीलाई उपचारका लागि टेकु अस्पताल लगिएको रहेछ । उनी रित्तो हात फर्किए । उनलाई अस्पताल गएर समाचार बनाउनुपर्छ भन्ने चेतना भएन । सम्पादकले पनि केही भनेनन् । उनले पहिलो असाइनमेन्ट गरेनन् ।
“मलाई लाग्छ– ती युवती बेचिएर एचआईभी पोजेटिभ भएपछि नेपाल फर्काइएकी थिइन् । उनी एचआईभी पोजेटिभ हुन् भन्ने थाहा पाएर पुलिसले अपराधी भन्दै पक्रियो । अनि हामी चौथो अंग भनिने पत्रकार उनको फोटोसहितको समाचार छाप्ने अभिलासा बोकेर उनलाई खोज्न गयौं । हामी पीडितलाई थप पीडा दिन खोजिरहेका थियौं,” वाग्ले भन्छन्, “यो घटनाले त्यो बेलाको नेपालको चेतना, त्यो समयको प्रहरी र पत्रकारिताको तहको संकेत गर्छ । ०४८ सालको नेपालको प्रतिविम्ब दिन्छ । या मेरा लागि सिकाइको विषय बन्यो ।”
बादलको आकार
निर्दल गएको– बहुदल आएको, पञ्चायत गएको– प्रजातन्त्र आएको, निरंकुश राजतन्त्र गएको– संवैधानिक राजतन्त्र आएको समय थियो । त्यो समयलाई वाग्ले पत्रकारिताका आँखाले ‘श्याम श्वेत’ भन्न रुचाउँछन् ।
‘जनमञ्च’ राम्रो तलब दिने पहिलो साप्ताहिक पत्रिका थियो । लेख्न पनि पाइने, पढ्न पनि पाइने, सँगै पैसा पनि हात पर्ने । यस्तो समाचार कक्षमा प्रवेश गरेपछि उनी लोभिए । नरोजेको र नसोचेको पेशातिर उनी नजानेरै तानिए ।
नेपाल बदलिएको थियो । बदलावले ठोस आकार भने लिएको थिएन । बादलको आकार जस्तो थियो नेपाल । बदलिएको थियो त केबल पत्रकारिता । संविधानमा ‘समाचार प्रकाशनकै आधारमा पत्रिकाको दर्ता खारेज गरिनेछैन’ भन्ने शब्द थपिएको थियो । संविधानको यो व्यवस्थासँगै पत्रकारितामा निजी क्षेत्रको लगानी वातावरण बन्यो । वाग्ले ०४८ सालमा फर्किए, “यसले बादललाई निश्चित आकार दियो । पत्रकार र पत्रिकाहरूले नयाँ स्वतन्त्र आकाश देख्न पाए । तर, राजनीतिक तरतलताको अवस्था भने उस्तै थियो । कुनै पनि बेला राजाले जनताका अधिकार खोस्न सक्थे । निर्दलीयता पुनःस्थापित हुन सक्थ्यो ।”
जनमञ्चको कार्यकारी सम्पादकका रूपमा योगेश उपाध्याय आए । गोयन्का समूहले ‘काठमान्डू पोस्ट’ नामक पत्रिका प्रकाशन गर्ने भयो । त्यसको सम्पादकमा उपाध्याय गए । ‘जनमञ्च’मा वाग्लेको काम मन पराएरै होला– उनले बोलाए । वाग्ले एक वचनमै गए । उनी नै हुन् ‘काठमान्डू पोस्ट’ को पहिलो रिपोर्टर । “प्रतीक प्रधान पनि पोस्टमै काम गर्न आए,” वाग्ले सम्झन्छन् ।
गोयन्का समूहले अध्ययन गरेर ‘नेपालमा अंग्रेजी पत्रिका मात्रै आर्थिक हिसाबले चल्न सक्दैन’ भन्ने निष्कर्ष निकाल्यो । “प्रतीक मोटरसाइकलमा नेपाली पत्रिका दर्ता गर्न गए । त्यो पत्रिकाको नाम थियो– कान्तिपुर दैनिक,” वाग्ले फ्ल्यासब्याकतिर लागे, “दुइटै पत्रिका एकैदिन पहिलोपटक ठूलो लगानीमा निजी क्षेत्रबाट जुम्ल्याहा जस्तै ब्रोडसिटका रूपमा प्रकाशन आरम्भ भए ।”
नेपाली पत्रिका निस्किन थालेपछि वाग्ले ‘कान्तिपुर’मा काम गर्न थाले । पछि तिनै वाग्ले र प्रधान एकैदिन क्रमशः ‘कान्तिपुर’ र ‘काठमान्डू पोस्ट’ का सम्पादक नियुक्त भए ।
पत्रिका च्यातेको दिन
वाग्लेमा साहित्यिक चेतना बलियो थियो । साहित्यप्रति मोहमात्रै हैन, लोभ पनि थियो । त्यसैले उनी कथा, कविता लेख्थे । ‘जनमञ्च’मा पत्रकारिता गर्दा उनले ‘हार्डन्युज’ लेखेनन् । खासै चासो पनि थिएन । लामालामा फिचर स्टोरी लेख्थे । त्यसमै उनको मन रमाउँथ्यो । उनले लेख्ने फिचर पुरानो ढर्रामा सीमित हुँदैनथे । नवीन प्रयोग गर्न रुचाउने वाग्ले आफ्नै तरिकाले फिचर स्टोरी गर्थे । “म त्यस्ता त्यस्ता समाचार लेख्थें, जुन मैले चाहेर पनि पढ्न पाएका हुँदैनथे,” बुधबार ‘नेपालय’ को आफ्नै कक्षमा उनले सुनाए ।
‘कान्तिपुर’ प्रकाशन भएको पहिलो या दोस्रो अंक हो– उनलाई ठ्याक्कै याद छैन । समाचार पनि पुरानो बसपार्कको हो या बधशालाजस्तै देखिने विष्णुमती किनारको हो– त्यो पनि सम्झना छैन । तर, उनलाई एउटा कुरा भने ताजा छ । त्यो फिचर स्टोरी उनले डेस्क सम्पादकका अगाडि गएर धर्ररर च्यातेका थिए । निकै मेहनत गरेर आफ्नै शैलीमा तयार पारेका थिए त्यो फिचर, जुन उनी आफैंलाई भयंकर चित्त बुझेको थियो ।
पत्रिका प्रकाशन भयो । उनको समाचार पनि प्रकाशित भयो । तर, त्यो समाचार पुरानै ढर्रामा छापिएको थियो ।
युवा उमेर, तन्नेरी जोश थियो । उनको रगत उम्लियो । उनले गाली त गरेनन् तर डेस्कमा पुगेर आफूले लेखेको समाचार किन पुरानो ढर्रामा परिणत गरेको ? भन्दै पत्रिका च्यातिदिए ।
“शायद युवा जोश थियो । मैले आवेशमा आएर पत्रिका नै च्यातिदिएँ । उहाँ अलि पाको उमेरको पुरानो विचारधाराका व्यक्ति हुनुहुन्थ्यो,” वाग्ले सम्झिन्छन्, “तर, त्यसपछि उहाँसँग पनि मेरो खासै गुनासो रहेन । उहाँले पनि केही भन्नुभएन । केही समयपछि नै उहाँ कान्तिपुर छोडेर हिँड्नुभयो । लामो सहकार्य नै हुन पाएन ।”
आकर्षक तलब
‘कान्तिपुर’ मा संवाददाताका रूपमा वाग्लेको तलब ५ हजार रुपैयाँ थियो । “मलाई लाग्छ त्यतिबेला मन्त्रालयका सचिवको तलब ३९ सय रुपैयाँ थियो,” उनले भने, “आकर्षक सुविधाका कारण त्यो बेला गोरखापत्र, राइजिङ नेपाल र राष्ट्रिय समाचार समितिबाट सरकारी जागिर छाड्दै पत्रकारहरू कान्तिपुर र काठमान्डू पोस्टमा काम गर्न आएका थिए । एकातिर आकर्षक सुविधा थियो, अर्कोतर्फ निजी लगानीबाट ब्रोडसिट आएपछि सरकारी पत्रिकाको सान्दर्भिकता कम हुन्छ भन्ने सोच र उत्सुकताका कारण पनि उहाँहरू आउनुभएको थियो ।”
सचेतनाका लागि आग्रह
‘कान्तिपुर’मा संवाददाताका रूपमा जागिर खाँदासम्म वाग्लेले त्यति धेरै धम्की र चेतावनीका कर्कस स्वर सुन्नु परेन । उनको सादगी व्यक्तित्व र निःस्वार्थ/निष्कलंक छविका कारण उनलाई कसैले प्रलोभनको प्रस्ताव पनि गरेन । आफूलाई त्यो जालोमा पारेनन् पनि । यो उनको व्यावसायिक जीवनको सफलता मापन गर्ने एउटा विषय पनि हो ।
तर, समय सधैं सरल हुँदैन । जिन्दगी सधैं सरल रेखामा दौडिँदैन । कहिलेकाहीँ अनायासै बिनाअपराध र कारण पनि वक्ररेखाहरूको बाटो हिँड्नुपर्छ । अनावश्यक उतारचढाव झेल्नुपर्छ । भोग्न गाह्रो होला तर यस्तै घटनाले हो व्यक्तिलाई परिपक्व बनाउने । सहनशील र धैर्यवान बनाउने । अनि त्यही कठोर, निर्दयी समयमा उसको कार्यकौशलता, निर्णय क्षमता, पेशागत दक्षता तथा व्यावसायिकता अंकुराउँछ ।
राजाले ‘कू’ गरे । प्रजातन्त्रको चिरहरण भयो । दलहरू कमजोर भए । शीर्ष नेताहरू नजरबन्दमा परे । जनताका अधिकार खोसिए । नागरिक सञ्चार सम्पर्कविहीन भए । राज्यले पत्रकारितामा धावा बोल्यो । प्रजातन्त्रका सेनानी पत्रकारहरूको मुख थुनियो ।
यी सबै वाग्लेले आफ्नै आँखाले देखेनन्मात्रै, ‘कान्तिपुर’को न्युजरुम हाँकिरहेका बेला त्यसको अनुभूत पनि गर्न पाए ।
वाग्लेसँग त्यो बेलाको नमीठो र रोमाञ्चक अनुभूति छ । द्वन्द्व उत्कर्षमा थियो । सरकार स्वेच्छाचारी बन्दै गएको थियो । पत्रिका बन्द गर्न त संविधानले नै हात बाँधिदिएको थियो, तर कर्फयु लागेका बेला प्रशासनले प्रेस पास नदिएर पत्रिकालाई दुःख दिन थाल्यो । पत्रिका छाप्न र बजारसम्म पुर्याउन नदिने प्रपञ्च रचियो ।
“जुनसुकै बेला हामीविरुद्ध पक्राउ पुर्जी जारी हुन सक्थ्यो । जुनसुकै बेला कुनै पनि अभियोग लगाएर हाम्रा हातमा हतकडी लाग्न सक्थ्यो,” वाग्ले आन्दोलन उत्कर्षको समयतिर फर्किंदै भन्छन्, “माओवादी र राज्य दुवै पक्षबाट हामीलाई चुनौती थियो । यसका लागि मनोवैज्ञानिक रूपमा तयार भएर हामी काममा निस्किन्थ्यौं ।”
राजाको ‘कू’ को प्रत्यक्ष अनुभूत उनी सम्पादक भएकाले गर्थे । त्यसको बाछिटा उनको घरपरिवारसम्म पथ्र्यो ।
विभिन्न सम्पर्कसूत्र तथा हितैसीहरू उनलाई सुनाउँथे, “दुवै पक्षबाट जुनसुकै बेला जहाँ पनि हमला हुन सक्छ । त्यसैले राति नहिँड्नू, एक्लै नहिँड्नू ।”
तर, उनको विचार र मिसन स्पष्ट थियो । त्यसैले उनी डराएर कहिल्यै पनि हिँडेनन् । उनले सतीसाल जस्तै आफ्नो व्यक्तित्व सधैं उचो राखिरहे । आकर्षक मिसन र लोभलाग्दो जिम्मेवारीलाई दायित्वबोध गर्दै उनले आफ्नो पेशाको गरिमालाई गल्न दिएनन् ।
दरबारको फोन
तत्कालीन राजा ज्ञानेन्द्रले जनताका नाममा शाही सम्बोधन गरिरहेका थिए । वाग्लेले टेलिभिजनमा त्यो सम्बोधन हेरिरहेका थिए । टेलिफोनको घण्टी बज्यो । उनले काटे । घण्टी फेरि बज्यो, फेरि काटे । तारन्तार घण्टी बजेपछि उनले उठाए र भने, “म राजाको शाही सम्बोधन हेर्दैछु, एकछिनपछि कलब्याक गर्छु ।”
“ए सुन्नुस् सुन्नुस्, तपाईं राजाको सम्बोधन सुन्दै हुनुहुन्छ, मलाई थाहा छ । तर, तपाईं यो सम्बोधन सकिनेबित्तिकै दरबारमा पाल्नुहोला,” उताबाट आवाज आयो ।
वाग्लेले सोधे, “दौरा सुरुवाल लगाएर कि यत्तिकै आए हुन्छ ?”
“ढाकाटोपी मात्रै लगाएर आए हुन्छ,” उताबाट मसिनो स्वर सुनियो ।
उनले सोचे– दौरासुरुवाल लगाएर जानु परेको भए राजासँगको दर्शनभेट हो । टोपी मात्रै भनेपछि सचिवहरूले मसँग भेट्न खोज्दैछन् ।
राजाको प्रत्यक्ष शासनको समय थियो । दरबारबाट आएको उर्दी नकार्न सकिने अवस्थै थिएन । ‘काठमान्डू पोस्ट’ का सम्पादक प्रतीक प्रधानलाई फोन गर्न खोजे तर फोन लाइन काटिसकेको थियो । उनी दौडिँदै अफिस पुगे । अफिसमा हतियारसहित सैनिकको बाक्लो उपस्थिति थियो । स्वयं उनकै कार्यकक्षमा पनि सेना पुगिसकेको थियो ।
“सम्पादकहरू पक्राउ परिसके भन्ने गलत खबर प्रकाशककोमा पुगिसकेको रहेछ । अब हामीलाई पनि पक्राउ गर्छ भनेर प्रकाशकहरू भागाभाग गर्दै कान्तिपुर आइरहेका थिए,” उनले भने ।
प्रधान पनि कान्तिपुर आइसकेका थिए । उनीहरू दुवै सँगै दरबार गए ।
धम्कीपूर्ण निर्देशन
दरबारका संवाद सचिवले निर्देशन दिन थाले । अधिकारका हिसाबले उनी त्यो बेलाका शक्तिशाली व्यक्ति हुन् । उनले धम्कीपूर्ण भाषा बोले, “तपाईंहरूकोमा सेना परिचालन भइसकेको छ । सहयोग गर्नुभएन भने तपाईंहरू कतै बेपत्ता पारिँदा पनि मैले सहयोग गर्न नसक्ने अवस्था आउँछ ।”
यो धम्कीपूर्ण भाषा सुनेर वाग्लेको दिमाग सननन्न भयो । रिस उठ्यो । बेपत्तै पार्छ भने त नेताहरू पनि त नजरबन्दमा छन्, पक्राउ परेका छन् । त्यसैले बेपत्ता नपार्दासम्म पत्रकारिता नगर्ने भन्ने त हुँदैन भन्ने सोचेर वाग्ले र प्रधान कार्यालय फर्किए ।
कार्यकक्षमा हतियारधारी सेना
दुवै सम्पादकको मनमा ‘यो निरंकुशतासँग झुक्नु हुन्न’ भन्ने त लाग्थ्यो तर अवस्था उनीहरूको पकडबाट बाहिर गइसकेको थियो । सेन्सर अफिसर मेजर पत्रिकाको न्युजरुममै थिए । उनीहरूलाई निर्देशन दिने कर्णेल थिए । फाइनल न्युज उनीहरूले हेर्थे । चित्त नबुझेको कुरा केरेर हटाउन भन्थे । त्यो हटाउनै पथ्र्यो । “जति सकिन्छ सिम्बोलिक रूपमा हामी छाप्थ्यौं । बाँकी जे उनीहरूबाट सेन्सर भएर आउँथ्यो, त्यही प्रकाशित गथ्र्यौं,” वाग्ले भन्छन् ।
राजाको समर्थनमा सम्पादकीय र विचारहरू नछाप्ने नीति बनाएर उनीहरूले विम्ब र प्रतीक प्रयोग गर्दै व्यंग्यात्मक सामग्री छाप्न थाले । केही समयपछि अन्तर्राष्ट्रिय समुदायको व्यापक आलोचनापछि समाचार कक्षबाट सेना त फिर्ता भयो तर उनीहरूले जाने बेलामा प्रकाशकहरूलाई भने, “हामी यहाँबाट अहिले जाँदैछौं । तर, अहिले जस्ता सामग्री छापिरहनु भएको छ, यहाँभन्दा धेरै नछाप्नुहोला । अन्यथा हामी फर्किएर आउन बाध्य हुनेछौं ।” यो धम्कीपूर्ण भाषा वास्तवमा प्रकाशकहरूका लागि नयाँ जिम्मेवारी थियो ।
सेनाको यो धम्कीपछि प्रकाशक र सम्पादक बसेर केही दिन नरम पत्रकारिता गर्ने र बिस्तारै त्यसलाई उल्लंघन गर्दै जाने निर्णय गरे ।
सम्पादकीय, विचार र समाचारमा बिस्तारै वाग्लेको न्युजरुमले शब्द खेलाउन थाल्यो । समाचार जति खेलायो, त्यो त्यति नै बलियो हुँदै जान्छ । त्यस्तै भयो । सम्पादकीय र विचारहरू बिस्तारै राजाविरुद्ध आउन थाले– घुमाउरो भाषामा ।
कृतज्ञ राजनीतिक दल
राजनीतिक दलहरूलाई माओवादीले राजधानीबाहिर पक्षघातजस्तै बनाइदिएका थिए । वाग्ले त्यो समयका दलहरूको अवस्थाबारे भन्छन्, “दलहरूका संगठन मरेतुल्य थिए । उनीहरूको टाउकोमात्रै जीवित थियो, बाँकी शरीर मरिसकेको थियो ।”
काठमाडौंमा राजाले दलहरूलाई हतकडी कि सरकार ? भनेर जिस्काइरहेका थिए । यही बेला माओवादीसँग दलहरू भित्री तहमा संवादमा पनि थिए तर उनीहरूमा संशय पनि थियो । विश्वास गर्ने कि नगर्ने द्विविधामा थिए । मुख्य निजी सञ्चारगृह प्रजातन्त्रको पक्षमा खुलेर लागेका थिए । ‘कान्तिपुर’ लाई आठौं दलको संज्ञा दिइयो ।
“मलाई त्यो समय कुनै दलका शीर्ष नेतृत्वले भेटेर यसो गर्नु पर्यो भनेर भनेनन् । उनीहरू सम्पादकीय लाइनबाट कृतज्ञ थिए ।”
खुला अन्तर्वार्ताको चाह
वाग्ले ठूलो पत्रिकाको सम्पादक मात्रै होइनन्, प्रतिष्ठित सम्पादक पनि हुन् । उनीसँग मानसम्मान छ । इज्जत छ । बाटोमा हिँड्दा उनको सम्मानमा थुप्रै हात छातीसम्म उठेर जोडिन्छन् । समकालीन र आउँदो पुस्ताका पत्रकारहरूका लागि उनी आदर्श अगुवा पात्र हुन् ।
तर, उनी अझै पनि आफ्नै सवारी साधन चढ्दैनन् । सकेसम्म हिँडेरै गन्तव्य पुग्छन् । उनको यो बानी आजको हैन, धेरै पुरानो हो ।
धेरै जिल्ला पुगेका छन् उनी । गाउँ–गाउँ घुमेका छन् । अफिसले पेस्की दिन्थ्यो, त्यही लिएर जिल्ला पुग्थे ।
माओवादी द्वन्द्व सुरु भएको वर्ष थियो । ‘काठमान्डू पोस्ट’का जोगेन्द्रकेशर घिमिरे र वाग्ले रोल्पा, रुकुम, जाजरकोट लगायतका जिल्लाको भ्रमणमा निस्किए । प्रचण्डको अन्तर्वार्ता गर्ने भन्दै उनीहरू गाउँ–गाउँ पुगे । प्रचण्डको नभए दोस्रो तहका नेताको भए पनि लिने भनेर वाग्ले हिँडिरेहका थिए । जाजरकोटमा उनी नेतृत्वको छेउमा पनि पुगिसकेका थिए । भेटको स्थान र समय पनि तय भइसककेको थियो । तर, प्रहरी परिचालन भएको भन्दै माओवादीले नेता भेट्न दिएनन् । अरु जिल्लामा पनि यो प्रयास जारी राखे तर सफल भएनन् ।
विभिन्न सम्पर्क सूत्रमार्फत कुरा त पटक–पटक भयो माओवादी नेतृत्वसँग । तर, शीर्ष नेतासँग भेटर खुला वार्ता गर्ने र उनीहरूको भित्री मनशाय बुझ्ने चाहना भने अधुरै थियो । उनको यो धोको १० वर्ष हुँदा पनि पूरा भएन ।
बाबुरामको इमेल
माओवादी द्वन्द्व उत्कर्षमा थियो । राजाको शासन थियो । दल र माओवादीबीच १२ बुँदे सहमतिका लागि भित्री तहमा छलफल भइरहेको थियो ।
एकदिन बाबुराम भट्टराईले वाग्लेलाई इमेल गरे । त्यसमा सोधिएको थियो, “तपाईं हाम्रो सीएम कमरेडको अन्तर्वार्ता गर्न इच्छुक हो ?”
सुरुमा त उनलाई त्यो इमेल सक्कली यो या नक्कली भन्नेमै शंका लाग्यो । उनले त्यसलाई भेरिफाइ गरे । भाषा मिल्यो, शैली मिल्यो । वाग्लेले हुन्छ भन्ने उत्तर दिए । बाबुरामले दक्षिण आउनुपर्छ भने । वाग्लले ‘म प्रतीकलाई पनि लएर आउँछु’ भने । बाबुरामले ‘ओके’ गरे ।
व्यावसायिक सफलताका लागि प्रचण्डको अन्तर्वार्ता लिने लोभ त उनमा थियो नै, त्योभन्दा पनि ठूलो उत्सुकता भने प्रचण्डलाई चिन्ने र हेर्ने थियो ।
को हुन् प्रचण्ड ? हु इज ही ? के सोच्छन् उनी ? कसरी बोल्छन् ?
वक्तव्यको भाषा चाखपूर्वक पढ्दै आएका थिए । गोली र बारुदसहित आउने प्रचण्डको भाषा उनले १० वर्ष पढेका थिए ।
“१० वर्षसम्म प्रचण्डको वक्तव्य बारुदको धूँवामा आँसु झार्दै पढेको हो । के मान्छे यस्तै कडा हुन् त ? मलाई भेट्ने इच्छा थियो । त्यही इच्छाले डोर्याउँदै मलाई दिल्लीसम्म पुर्याएको हो,” उनले ती दिन सम्झिँदै भने ।
दारी पालेका प्रचण्ड
वाग्ले र प्रधान दिल्लीका लागि विमान चढे । त्यहाँको विमानस्थलमा हड्ताल चलिरहेको थियो । विमानस्थलमा फोहोरै फोहोर थियो ।
उनीहरू होटल पुगे । खाना खाए । सम्पर्क व्यक्ति भनेर नम्बर दिइएको थियो । फोन गरे । ती व्यक्तिले लोकेशन दिए । वाग्ले र प्रधानले ट्याक्सी लिएर लोकेशन पछ्याउँदै गए । आवासीय क्षेत्र आयो । चिन्ह बताएर एउटा घर भनिएको थियो । चोकमा ट्रेकिङ बुट लगाएका एक नेपाली आए । उनैलाई फलो गर्दै वाग्ले र प्रधान एउटा कोठामा पुगे ।
कोठामा बाबुराम भट्टराई र अर्का एकजना व्यक्ति बसिरहेका थिए । १० वर्षअगाडि भेटेका बाबुरामलाई वाग्लेले चिने ।
प्रचण्डलाई भने उनले देखका थिएनन् । नागरिकता लिँदै गरको एउटा फोटो देखेका थिए भने अर्को फोटो उनका साथी नरेन्द्रजंग पिटरले देखाएका थिए । एउटा अँध्यारो कोठाभित्र बोलाएर सानो स्वरमा पिटरले वाग्लेलाई भनेका थिए, “प्रचण्डको फोटो हेर्छौ ? यो फोटो लाने त हैन नै, हेरेको पनि कुरा नगर्ने हो भने बल्ल देखाउँछु ।” वाग्लेले सहमति जनाएपछि पिटरले एकपटक झलक्क देखाएर त्यो फोटो लुकाएका थिए । त्यो फोटो पिटरसँग मात्रै छ भन्ने माओवादीलाई थाहा थियो ।
वाग्ले सम्झिन्छन्, “रोल्पा वा रुकुमको मगर गाउँमा खिचिएको जस्तो लाग्ने त्यो फोटोमा प्रचण्डले ट्र्याक सुट लगाएका थिए । जनसेनाले भव्य स्वागत गर्दै माला लगाइदिएका थिए । चिल्लो, मोटोघाटो उनको फोटो एक साइड मात्रै थियो ।”
त्यसैले वाग्लेले चिने । र, झुस्स दारी पालेको व्यक्तिलाई सोधे, “तपाईं प्रचण्डजी हैन ?”
प्रचण्डले हाँस्दै भने, “हो ।” उनी काखमा तकिया राखेर बसेका थिए ।
करिब दुई घण्टा अन्तर्वार्ता चल्यो । गम्भीर कुरा भए पनि अन्तर्वार्ता रमाइलै भयो । देशको सकसपूर्ण अवस्था रहेका बेला उत्सुकतापूर्ण अन्तर्वार्ता त भयो तर छाप्न सकिन्छ या सकिँदैन भन्ने संशय उनको मनमा थियो । कारण– राजाको शासन थियो । पक्राउ पुर्जी सम्पादकहरूका लागि रेडिमेटजस्तै थियो ।
अन्तर्वार्ता सकेर उनीहरू ट्याक्सी रोकेको ठाउँमा पुगे । ट्याक्सी गुड्यो, पेट्रालपम्पमा पुगेर रोकियो । त्यहाँ वाग्लेले भने, “प्रतीक यो अन्तर्वार्ता छाप्न सकिन्छ ।”
प्रधानले जिज्ञासा तेस्र्याए, “कसरी ?”
वाग्लले भने, “अन्तर्वार्ताको गुदी शान्तिप्रक्रिया सुरु गर्नुपर्ने महसुस माओवादीलाई छ भन्ने हो । त्यसैले यसलाई रोक्नुपर्ने कारण छैन ।”
वाग्लेले ‘कान्तिपुर’मा र प्रधानले ‘काठमान्डू पोस्ट’मा प्रचण्डको सनसनीपूर्ण अन्तर्वार्ता छापे । फोटोसमेत बाहिर नआएका प्रचण्डको अन्तर्वार्ता छापिँदा देशै अचम्मित भएको थियो ।
वाग्ले र प्रधानले त्यो अन्तर्वार्ता कहाँ लिएको हो भनेर उल्लेख गरेका थिएनन् । ‘लोकेसन’ माओवादीकै चाहनाअनुसार गोप्य राखिएको थियो । तर, ‘जनआस्था’ साप्ताहिकले वाग्ले र प्रधानको बोर्डिङपास र सिट नम्बरसहितको समाचार छाप्यो । यसको अर्थ थियो–गुप्तचरको निगरानीमा उनीहरू पहिलेदेखि नै थिए । हैन भने कहाँबाट उनीहरुलाई हामी गएको सूचना कहाँबाट प्राप्त भयो ?
राज्यको निगरानी चर्को थियो । त्यसैले उनीहरू प्रकाशक कैलाश शिरोहिया र विनोद ज्ञवालीलाई मात्रै भनेर दिल्ली गएका थिए । “घरमा श्रीमतीलाई समेत हामीले यो कुरा भनेका थिएनौं,” वाग्ले ती दिन सम्झिँदै भन्छन्, “आएर अन्तर्वार्ता उतार्दा पनि मैले गिरिजाप्रसादको नाम राखेको थिएँ । प्रचण्डको फोटो राख्ने ठाउँमा गिरिजाप्रसाद कोइरालाको फोटो राखेको थिएँ । प्रेसमा जाने अन्तिम समयमा राति १२ बजेमात्रै मैले गिरिजाको नाम र फोटोमा प्रचण्डको नाम र फोटो रिप्लेस गरेको हुँ ।”
दाह्री पालेका प्रचण्डको त्यो फोटो पहिलोपटक सार्वजनिक भयो । त्यो फोटो केही दिनपछि एकजना माओवादी नेताले मागे । वाग्ले माओवादी शान्तिप्रक्रियामा आउँछन् र सहयोग पुग्छ भने ठीकै छ भनेर दिने निष्कर्षमा पुगे । फोटो स्टुडियोमा धुलाउन दिए । पछि त्यही फोटो टिसर्टमा प्रचण्ड कमरेड भनेर आयो । त्यो दाह्री पालेको फोटो वाग्ले आफैंले खिचेका थिए ।
प्रचण्डले हामीलाई फुर्काए, “तपाईंहरूको ठूलो सहयोग छ हामीलाई ।”
वाग्ले भन्छन्, “मेरो साथी प्रतीक बाठो । प्रतीकले प्रचण्डसँग भने– भोलि तपाईंहरू शान्तिप्रक्रियामा आउनुभयो भने पनि तपाईंहरूसँग हाम्रो यही नै संघर्ष हुन्छ । अहिले राजासँग हाम्रो जस्तो संघर्ष छ, भोलि तपाईंहरू शान्तिप्रक्रियामा आएर जनसेना रहेसम्म हाम्रो यही संघर्ष रहिरन्छ ।”
प्रधानको यस्तो जवाफ सुनेका प्रचण्ड केही बोलेनन् । मुसुमुसु हाँसिमात्रै रहेका थिए ।
अन्तर्वार्ता छापियो– ‘हामी रक्तपात रोक्न चाहन्छौं’ शीर्षकमा । पछि बाबुरामले भने, “अरु त सबै ठीकै हो, शीर्षक अलि ठीक भएन ।”
“हामीले त्यो बेला प्रकाशकलाई बचाउनु थियो । तत्कालीन राज्य सत्ताबाट आफू पनि बच्नु थियो । त्यसैले हेडलाइन नरम छापियो । माओवादीले त्यसमा असन्तुष्टि जनाउनु स्वाभाविक थियो । हेडलाइनको अर्थ माओवादीलाई मात्रै शान्तिप्रक्रिया चाहिएको छ, उनीहरू जसरी पनि रक्तपात रोक्न चाहन्छन् र शान्तिप्रक्रियामा आउन चाहन्छौं भन्ने खालको थियो,” वाग्ले भन्छन्, “त्यो बैला मैले धेरै सेल्फ सेन्सरसिप गरेको थिएँ । तौलीतौली शब्द छनोट गर्दै टाइप गरेको थिएँ । मलाइ अझै पनि याद छ ।”
अहिलेको पत्रकारिता
समय र घटनाले वाग्लेलाई धैरै कुरा सिकायो । उनले फरक–फरक व्यवस्थाको उपभोग गरे । फरक–फरक व्यक्तिको संगत गरे । विद्वानदेखि भुइँमान्छेसम्मको जीवन बुझे । राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरममाफर्त जगत, जीवन र परिस्थिति बुझ्ने मौका पाए । त्यसैले त उनी अहिले समाजको सूक्ष्म विश्लेषण गर्न सक्छन्/गर्छन् ।
पत्रकारिता त उनको पेशा नै भयो । दिनानुदिन भोगेको विषय । यसबारे उनलाई धेरै कुरा थाहा छ । हुन त नेपाली पत्रकारिताको वर्तमान अवस्थाबारे बुझ्न र बुझाउन उनले कसैको सहारा लिइरहनु पर्दैन । तर, उनले भन्दा अगाडि नै कसैले अघि सारेको विचारलाई क्रेडिट दिन उनी पछि पर्दैनन् । शायद यही नै हो उनको उच्च व्यावसायिक जीवनको उदाहरण र इमानदारी ।
पी साइनाथबाट प्रभावित छन् उनी । “अहिलेको पत्रकारितालाई मिडियाहाउसले समस्या दिइरहेको छ । मिडियालाई बजारले समस्या दिइरहेको छ र बजारलाई लोकप्रिय धारणाले प्रभावित पारिरहेको छ,” वाग्ले भन्छन्, “पपुलिस्ट विचारहरू पनि यसमा पर्छन् । पपुलिस्ट धारणाभित्र राष्ट्रवाद पनि पर्छ । लोभलालच र महत्वाकांक्षाबाट पत्रकारिता प्रभावित छ । सार्वजनिक सेवाको ह्रास भएको छ । निजी स्वार्थहरू हावी भएको अवस्थाबाट नेपाली पत्रकारिता गुज्रिरहेको छ ।”
पत्रकारिता आवाजविहीनहरूको आवाज हो । तर, वाग्लेलाई भने अहिलेका मिडिया हेर्दा त्यस्तो लाग्दैन । “पपुलिस्ट धारणाले राजनीतिक डिस्कोर्सलाई नै संकुचित बनाएको छ । त्यसले बजारलाई शासन गरेको छ । बजारले मिडियालाई शासन गरेको छ । यो अवस्था भनेको जनउत्तरदायी मिडिया नहुनु हो,” उनी भन्छन् ।
पत्रकारिताको आवाज आज सानो छ । मिडियोको आवाज ठूलो छ । ३० वर्षमा मिडियाले फड्को मार्यो तर पत्रकारिता त्यही मिडियाको चेपुवामा परेर रुन्चे आवाजमा बोलिरहेको छ । वाग्ले गुनासो गर्छन्, “आज पब्लिकलाई सर्भिस दिने सामग्रीको अभाव छ । यही नै आजको पत्रकारिताको समस्या हो ।”
सबैलाई तत्काल पैसा कमाउनु छ । त्यो होडमा मिडिया पनि छन् ।
“पैसा कहाँबाट झर्छ, पत्ता लगाएर हामीले तीर हानिरहेका छौं । यो बजारको होडभित्र नेपाली पत्रकारिता कैदीजस्तो बनेर बसेको छ,” नेपाली पत्रकारिताको वर्तमान अवस्थाबारे विश्लेषण गर्दै वाग्ले भन्छन्, “लगानीकर्ताले हेर्ने पैसा नै हो । तर, पत्रकारले हेर्ने जनसेवा हो । अहिले नेपाली पत्रकारितामा थुप्रै कमीकमजोरी भइरहेका छन् । त्यसलाई आलोचना गर्ने स्वतन्त्र समीक्षकको खाँचो छ । पेशाप्रति निष्ठावान पत्रकारहरूको समूह हुनुपर्छ । हरेक मिडिया हाउसमा पब्लिक सर्भिस पहिलो प्राथमिकता हो भनेर भित्रै संघर्ष गर्ने पत्रकार चाहिन्छ । न्युजरुमको बजेट बढाउनुपर्छ । खोजी स्टोरीका लागि दक्ष जनशक्ति चाहिन्छ । त्यसका लागि तालिम र सेमिनार चाहिन्छ । ‘वाचडग’को भूमिका निर्वाह गर्ने समीक्षक र त्यसको आलोचना सुन्न सक्ने क्षमताको विकास हुन सक्नुपर्छ । मिडिया अध्ययन/अनुसन्धानको प्राज्ञिक क्षेत्र बलियो बनाउनुपर्छ । जसले पत्रकारिताका गल्ती तथा कमीकमजोरीप्रति औंला उठाओस् ।”
वाग्लेका अनुसार पाठक/दर्शकलाई मिडियाले लोभलाग्दो शीर्षकमा जंक फुड खुवाएर झुक्याइरहेका छन् । “रंगीचङ्गी तस्बिर र अनुहार आइरहेका छन् । त्यही मोहपासमा पाठकहरू अल्मलिरहेका छन् । लोकप्रिय सामग्रीमा उनीहरू फसिरहेका छन् । तर, म अन्यायमा छु भन्ने स्वयं अडियन्सलाई नै थाहा छैन,” वाग्ले भन्छन्, “अहिले नेपाली मिडियामा विषयको प्रतिस्पर्धा छैन । व्यापारको प्रतिस्पर्धा मात्रै छ । पत्रिकाका सम्पादकीयहरू एउटैसमेत आउँछन् । भाषा र शैलीमा विविधता होला र त्यसको आत्मामा फरक छैन । आइडिया, सोच, विचार दृष्टिकोणमा प्रतिस्पर्धा र विविधता हुनुपर्छ ।”
उनी अहिलेको पत्रकारिताको ट्रेन्डप्रति असन्तुष्ट छन् । “अहिलेका मिडिया कन्टेन्ट, तत्काल रिट्विट, लाइक र सेयर हुने कन्टेन्तर्फ आकर्षित भए । एउटै सोच लिएर हिँड्ने साँघुरो समाजको बाटोतर्फ नेपाली मिडिया हिँडिरहेका छन्,” अन्तिममा उनले प्रश्न गरे, “यो प्रवृत्तिले हामीलाई कहाँ पुर्याउँछ ?”