काठमाडौं उपत्यकाको केन्द्रबाट ३२ किलोमिटर दक्षिणपूर्वमा अवस्थित पनौती मूर्त र अमूर्त सांस्कृतिक सम्पदाका लागि परिचित प्राचीन सहर हो । रोसी र पुण्यमती खोलाको संगममा अवस्थित पनौती वास्तुकला परिसर रमणीय स्थानमा रहेको युनेस्कोले आफ्नो विश्व सम्पदा क्षेत्रको अस्थायी सूचीमा समावेश गरेको छ ।
एक वर्ग किलोमिटरको सानो क्षेत्रफलमा फैलिएको प्राचीन मानवबस्ती वरिपरि ४० भन्दा बढी मन्दिर र पाटिपौवाहरूसमेत ऐतिहासिक संरचना छन् । परम्परागत नेवार वास्तुकला शैलीमा बनेको इन्द्रेश्वर महादेव मन्दिर सन् १२९४ मा निर्माण भएको हो । उल्लेखनीय अन्य मन्दिरहरूमा १७ औं शताब्दीको ब्रह्मयानी मन्दिर र त्रिवेणी घाटमा रहेको कृष्ण मन्दिर हुन् । त्यसैगरी यहाँ पुरातात्त्विक महत्त्वका मठमन्दिर, शिलालेख, प्रस्तर मूर्तिका साथै बौध्दबिहार चैत्यहरूसहित आधा दर्जन स्तूप र देवताको मूर्तिसहितको सामुदायिक घरहरू छन् । समृद्ध सांस्कृतिक सम्पदाको सहरमा प्रशस्त पाटीहरू, तीनवटा डबली र छवटा ढुङ्गे धाराका साथै तीनवटा सार्वजनिक चोकहरू पनि छन् । यहाँका उन्मुक्त भैरव मन्दिर र अहिल्या मन्दिर नेवारी शैलीको वास्तुकलाको उत्कृष्ट उदाहरण हुन् ।
महादेव र इन्द्रलगायतका देवताले आफूले गरेका पापबाट आफैँलाई शुध्द गर्न पनौतीमा गरिने एकान्तवासका कुरा हिन्दु पौराणिक कथाहरूमा पाइन्छन् । यी कथाहरू पनौतीका तीन नदीको मिलन स्थल त्रिवेणीघाटसँग जोडिएका छन् । तीन नदीमध्ये दुई नदी पुण्यमाता ( जस्लाई भोंखुसी पनि भनिन्छ) र रोसी बगेको देखिन्छन् भने अर्को पवित्र नदी लीलावती अदृश्य छ । बाह्र वर्षमा एकपटक लाग्ने एक महिनासम्म चल्ने पनौती मकर मेलामा टाढाटाढाका तीर्थयात्रीहरू पनौतीमा आउने गर्छन् । पनौती त्रिवेणीमा पवित्र स्नान गर्नाले तीर्थयात्रीको पाप पखालिने जनविश्वास रहेको छ ।
नेवार समुदायको प्रख्यात परिकार 'योमरी' पनौतीमै आविष्कार भएको मानिन्छ भने योमरीपुह्नी पर्व पनौतीबाट सुरु भएको विश्वास छ । किम्वदन्तीअनुसार एक विवाहित जोडी सुचन्द्र र कृतिले योमरीको आविष्कार गरेका हुन् ।
योमरीको नयाँ स्वाद बासिन्दाहरूमा फैलिएको थियो । सबैले रमाइलो मानेर खाने भएकोले यो रोटीको नाम योमरी राखियो जसलाई नेपाली भाषामा 'मनपरेको रोटी' भन्न सकिन्छ । त्यसदम्पतीले धनपति कुबेरलाई योमरी चढाएको जनविश्वास छ । योमरीको स्वादले कुवेर धेरै खुसी भए र कुवेरको आशीर्वादले योमरीपुह्नी मनाउने परम्परा सुरु भयो । योमरी पुह्नी धानबाली काट्ने अन्तिम दिन मनाइने नेवारहरूको पावनपर्व हो । यो पर्व नेपाल सम्वतको थिंलामहिनाको पूर्णिमाको दिनमा मनाइन्छ । अचेल नेवार परिकार पाइने रेस्टुराँहरूको मेनुमा योमरी एक खास हिस्सा बनेको छ । योमरी र योमरी पुह्नी पर्वलाई युनेस्कोको विश्व सम्पदाको अमूर्त सम्पदा सूचीमा समावेश गर्न एउटा सशक्त प्रस्ताव हुन सक्छ । हालसम्म नेपाल सरकारले युनेस्कोको विश्व सम्पदा सूचीमा अमूर्त सम्पदाहरू पेस गरेको छैन ।
वर्षभरी मनाइने चाडपर्व र उत्सव पनौतीका एकसयभन्दा बढी अमूर्त सांस्कृतिक सम्पदा हुन् । पनौतीमा हरेक दिनलाई सम्पदा दिवस भन्नु अतिरञ्जन नहोला । पनौतीका सम्पदा र सांस्कृतिक सम्पदाको संरक्षणमा पुरातत्त्व विभाग, पनौती नगरपालिका र नागरिक समाजको सामूहिक प्रयास सराहनीय छ ।
हिन्दु र बौध्द दुवै धर्मावलम्बीले पनौतीलाई पवित्र नगर मान्छन् । पनौतीलाई महाभारत युगको पाञ्चाल नगर मानिन्छ जहाँ पाण्डवका पाँच दाजुभाइसँग विवाह गरेकी राजकुमारी द्रौपदीको जन्म भएको थियो । पनौतीलाई महाभारत सर्किटको प्रमुख स्थानको रूपमा पुन: परिभाषित गर्ने बलियो सम्भावना छ । नेपाल र भारतमा द्रौपदीसँगै पाण्डवका धेरै मूर्तिहरू छन् । तर, द्रौपदी एकलैको एउटै मूर्ति पनौती नगरपालिकाको खोपासी बजारमा मात्रै छ । सायद, विश्वमा पुरातात्विक मूल्य भएको द्रौपदीको यही एउटा मूर्तिमात्रै हो ।
बौध्द धर्मालम्बीहरूका पवित्र पुरुष राजकुमार महासत्वको जन्मस्थल पनि पनौती हो । राजकुमार महासत्वलाई नमोबुध्द भनेर चिनिन्छ । किम्वदन्ती अनुसार भर्खरै जन्मेका आफ्ना बच्चाहरूले घेरिएकी भोको बघिनीलाई राजकुमार महासत्वले आफ्नै शरीरको मासु काटेर खुवाएर प्राण त्यागेका थिए । बुध्दत्व प्राप्त गर्ने राजकुमार महासत्वलाई बुध्दको अवतार भनिन्छ । महासत्वका अवशेषहरू राखिएको स्थान नमोबुध्द हिन्दु र बौध्द दुवैका लागि पवित्र तीर्थस्थल हो । नमोबुध्द पनौतीनजिकै पूर्वतिरको डाँडामा अवस्थित छ । नमोबुध्दलाई छुट्टै पहिचानसहितको विश्व सम्पदाको मान्यता प्रबल हकदार मान्न सकिन्छ ।
पनौतीको प्राचीन मानव बस्ती एउटै चट्टानमाथि उभिएकोले यहाँ ढिक्की र ओखलको प्रयोग निषेध छ । यहाँ भूकम्पको¬ धक्का महसुस हुँदैन । सन् १९३४ र सन् २०१५ को महाभूकम्पबाट नेपालको ठूलो भूभागमा क्रमशः २०,००० र १०,००० मानवीय क्षति भए पनि पनौतीमा क्षति नगण्य रह्यो । अनेक जात्रा र मेलापर्व मान्ने परम्परा रहेको पनौती वास्तवमा एक जीवित संग्रहालय हो जहाँ सांस्कृतिक र परम्परागत मूल्यहरू अक्षुण्ण राखिएको छ ।
२३ मे १९९६ देखि नै पनौतीका प्रारम्भिक मध्यकालीन स्मारकहरूलाई युनेस्को विश्व सम्पदा क्षेत्रहरूको अस्थायी सूचीमा समावेश गरिएको भए पनि पनौती विश्व सम्पदा सूचीमा समावेश हुनसकेको छैन । पनौतीलाई विश्व सम्पदाको मान्यताले विभूषित गर्न पनौती नगरपालिकालगायत स्थानीय बुद्धिजीवी र समाजसेवीहरू प्रयासरत छन् ।