site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वकांक्षी परियोजना बीआरआईले १० वर्षमा के गर्‍यो ? 
Sarbottam CementSarbottam Cement

बीबीसी । चिनियाँ राष्ट्रपति सी चिनफिङले १० वर्षअघि बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) परियोजना स्थापना गरेका थिए । सन् २०१३ सेप्टेम्बर ७ मा बीआरआई स्थापना गरिएको थियो ।  बीआरआई स्थापना गर्नुको उद्देश्य थियो– बाँकी विश्वसँग चीनको नयाँ व्यापार मार्ग स्थापना गर्नु । यो महत्वाकांक्षी परियोजना स्थापना भएको १० वर्ष पूरा भएको छ । 

चीनको राजधानी बेइजिङमा बीआरआई स्थापना भएको १० वर्ष पूरा भएको उपलक्ष्यमा अक्टोबर १७ र १८ (आज र भोलि) विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको सुरुवात भइसकेको छ । 

चीन सरकारले आयोजना गरेको विशेष कार्यक्रममा सहभागी हुन विश्वका १३० देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुख र प्रतिनिधि बेइजिङ पुगिसकेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि बेइजिङ पुगेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यति धेरै राष्ट्रका प्रतिनिधिको उपस्थितिले स्पष्ट पार्छ बीआरआईको महत्व विश्वमा कति छ ।  अर्बौं डलरको यो परियोजनाको प्रभाव कति छ भन्ने पनि बेइजिङको उपस्थितिले दर्शाउँछ । यसको साथसाथै यो उपस्थितिले विदेशमा चिनियाँ कम्पनीले कति लगानी गरेका छन् भन्ने पनि देखाउँछ ।

पछिल्लो एक दशकमा विश्वको तीन चौथाई जनसंख्या रहेका १५० देश बीआरआई परियोजनामा सहभागी भएका छन् । सहभागिता धेरै देशको भए पनि बीआरआईले यो अवधिमा सफलता र असफलता दुवैको सामना गर्नुपरेको छ । 

Global Ime bank

बीआरआईको उद्देश्य 
पछिल्ला दशकहरुमा चीनको अर्थव्यवस्था तीव्र गतिमा अघि बढेको छ ।  यसले चीनमा उत्पादन बढाएको छ । मजदुरको ज्याला पनि बढाएको छ ।  अझ स्पष्ट भन्नुपर्दा मजदुर महंगा हुन थालेका छन् । यी सबै चुनौतीको सामना गर्न चीनले बीआरआई परियोजना सुरु गरेको हो भन्ने विश्लेषकहरु धेरै छन् । 

चीनले आफ्नो ३० खर्ब डलर विदेशी मुद्रा भण्डारणबाट बीआरआई परियोजनालाई रकम उपलब्ध गराउँदै आएको छ ।  अमेरिकाको युर्निभर्सिटी अफ न्यू हेम्पशरको राजनीतिक विज्ञान विभागका प्राध्यापक लरेन्स सी रियर्डनका अनुसार उक्त रकम चीनले सन् १९८० खुला विकास नीति अँगालेपछि जोडेको हो । 

पछिल्लो समय देशभित्र माग कम भएका कारण चिनियाँ निर्माण कम्पनी विदेशमा परियोजना खोजिरहेका छन् । चिनियाँ वस्तुको बजार विस्तार गर्न र देशको रवाफ बढाउन राष्ट्रपति सीले सन् २०१२ मा सत्तामा आएपछि बीआरआई परियोजनालाई महत्व दिएका थिए । 

चीनको सरकारी कम्पनी निर्यातमा लगानी गर्ने कम्पनीहरुबाट फण्ड जुटाउँछन् । यिनीहरु मिलेर विश्वको दक्षिण हिस्सामा कयौं परियोजना सञ्चालन गर्न सम्झौता गरेका छन् । 

विदेशी प्रोजेक्टको छनोट 

चीनले सुरुमा बीआरआईमार्फत पूर्वाधार विकासको काम गरेको थियो । तर अहिले पूर्वाधार विकासको अलवा डिजिटल प्रविधि, सुरक्षा, दिगो विकास लगायतका क्षेत्रमा पनि हात हालेको छ ।  

आधिकारिक आँकडाले भन्छ– आजसम्म चीनले बीआरआई अन्तर्गत ३ हजारभन्दा बढी परियोजनामा लगानी गरिसकेको छ । 

अमेरिकी इन्टरप्राइज इन्स्टिच्युटका अनुसार सबैभन्दा बढी चिनियाँ लगानी भित्र्याउने शीर्ष १५ देशमा छन्– इन्डोनेसिया, पाकिस्तान, सिंगापुर, रुस, साउदी अरब, मलेसिया, युनाइटेड अरब इमिरेट्स (यूएई), बंगलादेश, पेरु, लाओस, इटाली, नाइजेरिया, इराक, अर्जेन्टिना र चिली । 

आर्थिक सहायताको आवश्यकता हेरेर परियोजनाहरु छनोट गर्ने चीनले बताउँदै आएको छ । तर आलोचकहरु यसमा सहमत छैनन् । उनीहरुको बुझाईमा चीनको उद्देश्य विश्वमा आफ्नो पकड बनाउनु रहेको छ । 

युरोशिया समूहमा पूर्वी एशिया मामिलाका विज्ञ जेरेमी चान भन्छन्, “बीआरआई अन्तर्गत लगानी गर्दा आर्थिक पक्ष जतिकै भू–राजनीतिक र कूटनीतिक पक्षलाई पनि ध्यान दिइन्छ ।” 

चानका अनुसार चीनबाट सबैभन्दा बढी रकम लिने १५ देशमध्ये इटली मात्र एक देश हो जसले संयुक्त राष्ट्रसंघको महासभामा सबैभन्दा कम पटक चीनको पक्षमा मतदान गरेको छ । अब इटलीले बीआरआई छोड्ने संकेत गरेको छ ।

अमेरिकी इन्टरप्राइज इन्स्टिच्युटको तथ्यांकले देखाउँछ कि बीआरआई अन्तर्गत हुने लगानी प्रायः ती देशहरूमा जान्छ जससँग रणनीतिक रूपमा सम्बन्ध सुदृढ गर्दा चीनलाई बढी फाइदा हुन्छ । जस्तै इन्डोनेसिया र पाकिस्तान ।

साउदी अरेबिया र यूएई – यी दुई धनी खाडी देशहरू बीआरआई अन्तर्गत सबैभन्दा धेरै चिनियाँ लगानी प्राप्त गर्ने शीर्ष सात देशहरूमा पर्छन् । 

यी तेल उत्पादक देशहरूमा लगानी गर्दा चीनलाई पश्चिमी देशहरुको नीतिसँग प्रतिस्पर्धा गर्न सजिलो पर्नसक्छ ।  जस्तै अमेरिकाद्वारा लगाइने प्रतिवन्ध आदिको सामना गर्न चीनको लागि सहयोगी साबित हुन सक्छ ।

सफल उदाहरण 
बीआरआई अन्तर्गतका केही परियोजनाले राम्रोसँग काम गरेका छन् । यसको कारण एकदमै साधारण छ ।  कुनै देशमा सडक तथा रेलवे जस्ता आधारभूत पूर्वाधार विकासको आवश्यकता हुनसक्छ । 

इन्डोनेसियामा हालै देशको पहिलो तीव्र गतिको रेल सेवाको उद्घाटन भयो, जसको नाम छ– हूश । यो परियोजना ७.३ मिलियन डलरको थियो ।  यो रेल सेवाले राजधानी जकार्ता र बाङ्डुङ सहरलाई जोडेने काम गरेको छ । यी दुई सहरबीचको दुरी ३५० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटमा पूरा गर्न सकिन्छ । यसअघि यो दुरी पार गर्न तीन घण्टा लाग्ने गर्थ्यो ।

कोही–कोही भन्छन् कि त्यहाँ हूशको आवश्यकता थिएन किनभने त्यहाँ पहिले नै सडक र सस्तो रेल सेवा थियो । तर इन्डोनेसिया रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ता तौहिद अहमद भन्छन्, “इन्डोनेसियाका धेरै मानिसहरू बीआरआई परियोजनाहरूको पक्षमा छन् ।” 

लाओसको राजधानी भेन्टियानलाई चीनको युनान प्रान्तसँग जोड्ने रेल सेवा सन् २०२१ मा उद्घाटन गरिएको थियो । यो रेल सेवाले अब भेन्टियानदेखि चीनको सीमासम्मको यात्राको समयलाई घटाएर तीन घण्टामा झारेको छ । योसँगै यात्रुहरू अब एकै दिनमा भेन्टियानबाट कुनमिङ पुग्न सक्नेछन् ।

बीआरआईको सफलताका अन्य धेरै उदाहरणहरू छन् । जस्तै– ग्रीसको पिरियस बन्दरगाह । यो बन्दरगाहलाई युरोपको ‘ड्रयागन हेड’ भनिन्छ । यो बन्दरगाहको ६० प्रतिशत हिस्सामा चीन सरकारको स्वामित्वमा रहेको कम्पनीको नियन्त्रण छ । अहिले यस बन्दरगाहमा जहाजबाट ठूलो परिमाणमा आउने कन्टेनरको व्यवस्थापन भइरहेको छ ।

असफल उदाहरण

बीआरआई अन्तर्गतका धेरै परियोजनाहरू असफल भएका छन् ।

मायामी विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक जुन ट्युफेल ड्रेयर भन्छन्, “यो परियोजनाले कमजोर योजनाका कारण नोक्सानी व्यहोर्नु परेको छ । उदाहरणका लागि, आम्दानीको हिसाबले व्यावहारिक नहुने वा निर्माणको क्रममा उचित सुपरिवेक्षण नगरिएका आयोजनाका लागि ऋण दिइएको छ ।”  

विश्वव्यापी आर्थिक मन्दी, बढ्दो ब्याजदर र उच्च मुद्रास्फीतिका कारण धेरै देशले चीनबाट लिएको ऋण तिर्न कठिनाइ भइरहेको छ । अर्बौंको ऋण तिर्न नसक्दा विकास आयोजना ठप्प छन् ।

यसको उदाहरण श्रीलंकाको हम्बनटोटा बन्दरगाह हो । श्रीलंका सरकारले सन् २०२० मा देश टाट पल्टेको घोषणा गरेको थियो ।  टाट पल्टेको श्रीलंकाले बन्दरगाहलाई प्रयोगमा ल्याउन सकेन । अन्ततः ऋण तिर्न नसकेपछि श्रीलंकाले यो बन्दरगाह चीनलाई ९९ वर्षका लागि भाडामा दिएको छ ।

बीआरआई अन्तर्गत ठूलो लागनी पाउनेमध्ये एक पाकिस्तानले पनि यस्तै समस्याको सामना गरिरहेको छ ।  समयमै ऋण तिर्न नसकेपछि पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग राहत माग्नु परेको छ ।  पाकिस्तानले हालै चीन–पाकिस्तान आर्थिक करिडोरका लागि थप रकमको माग गरेको थियो । उक्त मागलाई चीनले अस्वीकार गरेको छ । 

राजनीतिक अस्थिरता, चिनियाँ कामदारमाथिको खतरा र ऋण तिर्न सक्ने क्षमता नभएको भन्दै चीनले पाकिस्तानको माग अस्वीकार गरेको हो ।  इथियोपिया र केन्यालगायत अन्य धेरै देशहरू पनि यस्तै चुनौतीहरूको सामना गरिरहेका छन् ।

विश्व बैंकका अर्थशास्त्रीहरूको अनुमान छ– बीआरआईले दिएको कुल ऋणको ६० प्रतिशत ऋण दिने मुलुक आर्थिक संकटको सामना गरिरहेका छन् । यसैकारण चीनमाथि ऋण दिएर ‘ऋणको पासोमा फसाउने कूटनीति’ गरिरहेको आरोप लाग्ने गरेको छ ।

जनता के भन्छन् ? 

चीनको बढ्दो प्रभावबाट धेरै देशहरू सतर्क भइरहेको सर्वेक्षणहरूले देखाउँछन् । पाकिस्तानका मानिसहरूले सुरुमा बीआरआईबाट धेरै अपेक्षा गरेका थिए । यसबाट आर्थिक समृद्धि आउने र व्यापार बृद्धि हुने उनीहरुको विश्वास थियो । तर केही वर्ष बितिसक्दा पनि पाकिस्तान र चीनले गरेको वाचाअनुसार स्थानीय जनताको जीवनमा कुनै परिवर्तन आएको छैन ।

पाकिस्तानको बन्दरगाह भएको सहर ग्वादरका बासिन्दाहरू पछिल्लो समय बीआरआई परियोजनाको विरोधमा उक्रेका छन् ।  किनभने मुख्य मरिन ड्राइभमा चार लेनको सडक निर्माण बाहेक धेरै विकास नभएको महसुस उनीहरुले गरिहेका छन् । 

भियतनामले हनोईमा रेलवे परियोजनाका लागि चीनसँग ६७ करोड अमेरिकी डलर ऋण लिएको छ ।  तर भियतनामले आधिकारिक रूपमा बीआरआई अन्तर्गत कुनै नयाँ परियोजना सुरु गरेको छैन । क्याट लिन्ह–हा डोङ रेलवे परियोजना २०११ मा भियतनाममा सुरु भएको थियो, तर यसको काम धेरै सुस्त गतिमा भयो । जसका कारण लागत बढ्यो । यो परियोजना २०२१ मा सम्पन्न भएको थियो ।

क्याट लिन्ह–हा डोङ रेलवे परियोजना निर्माणमा लागेको समयले भियतनामका अन्य आयोजनाका लागि गलत नजिर बसायो । जसले परियोजनामा जनताको विश्वास पनि घटायो ।  चीन यस्ता  नजिर र चिन्ताहरू बारे सचेत छ । राष्ट्रपति सीले अहिले बीआरआई अन्तर्गत ‘साना र सुन्दर’ परियोजनाहरूबारे कुरा गरिरहेका छन् । 

हालैका वर्षहरूमा, बीआरआईका नयाँ परियोजना र विदेशमा चीनको लगानी दुवै घटेको छ । भविष्यमा पनि बीआरआई परियोजनाले यी दुवै पक्षमा आउने चुनौतीहरूको सामना गर्नुपर्नेछ ।

“सवाल यो छ कि एउटा पार्टीले सञ्चालन गर्ने यस्ता विकास परियोजनाको विस्तारलाई चीनले निरन्तरता दिन सक्छ वा सक्दैन ? किनभने चीनसँग ऋण लिने देशहरु उक्त ऋण तिर्न सकिरहेका छैनन्,” अमेरिकाको युर्निभर्सिटी अफ न्यू हेम्पशरको राजनीतिक विज्ञान विभागका प्राध्यापक लरेन्स सी रियर्डनले भने । 
बीबीसीबाट 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement