
काठमाडाैं । सन् २०२८ मा हुने ओलम्पिक खेलकुदमा क्रिकेटलाई समावेश गरिएको छ । अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकमा एक शताब्दीभन्दा लामो समयपछि क्रिकेटलाई पनि समावेश गरिने भएको हो ।
सोमबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सात वर्षपछि हुने ओलम्पिकमा क्रिकेटसहित पाँच खेलका लागि स्वीकृति दिएको हो । ओलम्पिकमा क्रिकेट समावेशका लागि विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले गरेको प्रस्ताव ओलम्पिक कमिटीले स्वीकार गरेको हो ।
कमिटीले क्रिकेटसँगै बेसबल तथा सफ्टबल, फ्याग फुटबल, स्क्वास र ल्याक्रोसलाई २०२८ को ओलम्पिकमा समवेश गरिने भएको छ । योसँगै ओलम्पिकका १२८ वर्षपछि क्रिकेटमा प्रतिस्पर्धा हुने पक्का भएको छ ।
यसअघि, सन् १९०० को ओलम्पिकमा क्रिकेट समावेश थियो । २०२८ को ओलम्पिकको क्रिकेटमा महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुनेछ । ओलम्पिकमा क्रिकेट ट्वान्टी-२० शैलीमा हुनेछ ।