site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एकदिवसीय विश्वकप–२०२३ : चम्किन सक्ने पाँच बलर

काठमाडौं । एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि भारतका विभिन्न सहरहरूमा आयोजना हुँदै छ ।

प्रतियोगिताको पहिलो दिन साविक विजेता इंग्ल्यान्ड र न्युजिल्यान्डले प्रतिस्पर्धा गर्ने तालिका छ । विश्वकपको यस संस्करणमा एक एसोसिएट राष्ट्र गरी कुल १० टिम सहभागी छन् । करिब डेढ महिना चल्ने प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ मा हुने तालिका छ ।

विश्वकपअघि भारतीय भूमिमा चम्कन सक्ने पाँच बलरहरू यस्ता छन् :

Dabur Nepal
NIC Asia

रिस टोप्ले (इंग्ल्यान्ड)
रिस टोप्लेको राष्ट्रिय टिम करियर चोटका कारण उतारचढावपूर्ण रह्यो । गत वर्ष इंग्ल्यान्डले ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा लिगामेन्टको चोटका कारण टोप्ले टिममा थिएनन् । टोप्लेले २६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ३८ विकेट लिएका छन् । गत जुलाईमा लर्ड्समा भएको भारतविरुद्ध २४ रन खर्चिएर ६ विकेट लिनु टोप्लेको अहिलेसम्मको उत्कृष्ट बलिङ ‘फिगर’ हो ।

६ फिट सात इन्च अग्ला २९ वर्षीय टोप्लेलाई यही अग्लो कदका कारण पावर प्लेमा ओपनरहरूका लागि समस्या बनाउँछ । यस विश्वकपमा जस बटलरको टिमबाट टोप्ले र क्रिस वोक्सको जोडी नयाँ बलिङ जोडीको रूपमा उदाउन सक्छन् ।

मार्को जान्सेन (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिकाबाट उदाउँदै गरेका मार्को जोन्सेन कदको हिसाबमा ६ फिट आठ इन्चको कदसहित टोप्लेभन्दा पनि अग्ला छन् । २३ वर्षीय युवा पेसर जोन्सेनले टेस्ट क्रिकेटमा आफूलाई प्रमाणित गरिसकेको भए पनि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भने आफूलाई सावित गर्न बाँकी नै छ ।

उनले अहिलेसम्म १४ एकदिवसीय क्रिकेटमा १८ विकेट लिएका छन् । तर, अस्ट्रेलियासँगको एकदिवसीय शृंखला ३–२ ले जित्दा ‘म्याच विनर’ प्रदर्शनप्रेरित जोन्सेन दक्षिण अफ्रिकाको विश्वकप खेल्ने टिममा छन् ।

सेप्टेम्बर १७ मा जोहानेसबर्गमा जोन्सेनको ५–३९ को बलिङ ‘फिगर’ र २३ बलमा ४७ रनको ब्याटिङ प्रदर्शनप्रेरित दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्ध १२२ रनको जित निकालेको थियो । टेम्बा बवुमाको कप्तानीका रहेको दक्षिण अफ्रिकामा मुम्बई इन्डियन्सबाट आईपीएलको अनुभवले जोन्सेनलाई अझ ‘घातक’ बलर बनाएको छ ।

कुलदीप यादव (भारत)
सन् २०१९ को विश्वकपपछि कुलदीप यादवको लय आश्चर्यजनक रूपमा खस्किएको थियो । तर, घरेलु मैदानमा क्रिकेटको महाकुम्भ आयोजनाअघि यादवले आफ्नो स्वभाविक लय फर्काइसकेका छन् ।

२८ वर्षीय अनअर्थोडक्स स्पीनर यादवले यसै वर्षको सुरुआतमा वेस्ट इन्डिज भ्रमणअघि भारतीय टिममा पुनरागमन गरेका थिए । उक्त शृंखलामा यादवले ८.७१ को औषतसहित सात विकेट लिएका थिए । 

त्यसपछि उनी एसिया कपका लागि पनि भारतीय टिममा समेटिए । भारतले प्रतियोगिताको उपाधि जित्दा उनी उत्कृष्ट खेलाडी पनि चुनिए । एसिया कपमा उनले ३.६१ को इकोनोमी रेटसहित नौ विकेट लिएका थिए । भारतभरका स्पिनर मैत्री पिचमा उनी विपक्षी टिमका ब्याटरका लागि विध्वंसकारी बलर बन्न सक्छन् ।

एडम जाम्पा (अस्ट्रेलिया)
छैटौँ पटक विश्वकप जित्ने लक्ष्यसहित भारतीय भूमिमा आएको अस्ट्रेलियाका प्रमुख बलरमध्ये एक हुन्, एडम जाम्पा ।

३१ वर्षीय अनुभवी लेग ब्रेक बलर जाम्पाले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८५ क्याप जितेका छन् । अस्ट्रेलियालाई आवश्यक समयमा विकेट दिन माहिर जाम्पाले क्रिकेटको यो संरचनामा १४२ विकेट लिएका छन् । 

गत महिना दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेटको बलिङमा सबैभन्दा खराब (०–११३) बलिङ ‘फिगर’ मा आफ्नो नाम लेखाए पनि जाम्पा प्याट कुमिन्सको मध्यक्रम बलिङ सम्हाल्ने प्रमुख हतियार हुन् । जान्सेनजस्तै, जाम्पालाई पनि आईपीएलमा राजस्थान रोयल्सबाट प्राप्त अनुभवले अझ प्रभावकारी बलर बनाएको छ ।

मथिसा पथिराना (श्रीलंका)
२० वर्षीय युवा बलर मथिसा पथिरानालाई ‘बेबी मालिंगा’ को उपनामले पनि चिनिन्छ । श्रीलंकन लेजेन्ड लासिथ मालिंगाको जस्तै बलिङ शैलीका कारण मथिसाले यो उपनाम पाएका हुन् । 

मथिसाले गत जुन ३ मा अफगानिस्तानविरुद्ध राष्ट्रिय टिमबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । हालसम्म १० खेल खेल्दा उनले आफ्नो खातामा १५ विकेट राखिसकेका छन् । 

चेन्नाई सुपर किंग्सबाट आईपीएल खेल्ने उनी महेन्द्रसिंह धोनीको रेखदेखमा अझ निखारिएका छन् । आईपीएल– २०२३ मा चेन्नाईबाट १२ खेल खेल्दा उनले १९ विकेट लिएका थिए । मालिंगाकै सफलता लयमा रहेका मथिसा यसपटक भारतीय भूमीमा श्रीलंकन टिमका सबैभन्दा घातक बलर बन्न सक्नेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro