
काठमाडौं । चिकित्सकमाथि भएको कुटपिटको विरोधमा काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालका स्वास्थ्यकर्मीले गौशालास्थित महानगरीय प्रहरी वृत्तअगाडि धर्ना दिएका छन् ।
सोमबार पानी परिरहेका बेला सिनामंगलस्थित अस्पतालबाट नाराजुलुस गर्दै उनीहरू गौशाला पुगेका थिए । प्रहरी वृत्तअगाडि धर्ना दिएर उनीहरु पुरानो बानेश्वर हुँदै सनिामंगलन नै फर्किएका छन् ।
स्वास्थ्यकर्मीले ‘वार कि पार अति भयो अत्याचार’, ‘अहिले नउठे कहिले ?’ लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई ऐनबमोजिम कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
केएमसीको नेफ्रोलोजीको ओपीडीमा कार्यरत इन्टर्न डा. डाक्टर मनीष खड्कामाथि गएको आइतबार दिउँसो कुटपिट गरिएको थियो । कुटपिटमा संलग्न गुल्मीका २२ वर्षीय रुपक गौतम र गुल्मीकै ३४ वर्षीय सरोज गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।