site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विश्वमै बढी अदुवा उत्पादन हुने प्रमुख पाँच राष्ट्रभित्र नेपाल, कुन जिल्लामा बढी ?

काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाल विश्वमै सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रहको सूचीमा प्रमुख पाँच भित्र पर्छ ।  यो संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले तयार पारेको प्रतिवेदनअनुसार प्रमुख पाँचभित्र पर्न सफल भएको हो । 

एफएओका अनुसार भारत, नाइजेरिया, चीन र इन्डोनेसियापछि सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्र नेपाल हो ।  नेपालमा सन् २०२१ मा २ लाख ७९ हजार २०६ मेट्रिक टन अदुवा उत्पादन भएको एफएओले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । 

नेपालमा सबैभन्दा बढी अदुवा उत्पादन सन् २०२० मा भएको थियो ।  उक्त वर्ष २ लाख ९८ हजार ९४५ मेट्रिक टन अदुवा नेपालले उत्पादन गरेको देखिन्छ । 

कुन वर्ष कति उत्पादन

एफएओका अनुसार नेपालले सन् २०१५ मा २ लाख ४२ हजार ५४६ मेट्रिक टन, २०१६ मा २ लाख ७१ हजार ८६२ मेट्रिक टन, २०१७ मा २ लाख ७९ हजार ५०३ मेट्रिक टन, २०१८ मा २ लाख ८४ हजार मेट्रिक टन र २०१९ मा २ लाख ९७ हजार ५१२ मेट्रिक टन अदुवा उत्पादन गरेको थियो ।

सन् २०१९ मा नेपाल विश्वमा सबैभन्दा बढी अदुवा उत्पादन गर्ने राष्ट्रको सूचीमा भारत, नाइजेरिया र चीनपछि चौथो नम्बरमा रहेको थियो । एफएओका अनुसार सन् १९८५ मा नेपालमा १० हजार मेट्रिक टन अदुवा उत्पादन भएको थियो । 

सन् २००० मा आइपुग्दा नेपालमा वार्षिक अदुवा उत्पादन ७४ हजार ९९४ मेट्रिक टन पुगेको थियो ।  सन् २०१० मा नेपालले २ लाख १० हजार ७९० मेट्रिक टन अदुवा उत्पादन गरेको एफएओको विवरणमा देखिन्छ । 

नेपालको कहाँ हुन्छ बढी अदुवा ?

अदुवा संसारमा सबैभन्दा लोकप्रिय मसलामध्येमा पर्छ । यसको स्वाद र औषधीजन्य गुणहरूको कारण विश्वभरी भान्सामा अदुवाको व्यापक प्रयोग हुने गर्छ । नेपालको अदुवा अर्गानिक र कम फाइबरको हिसाबले उच्च गुणस्तरको मानिन्छ । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट अदुवा मुख्यतया भारतमा निकासी हुने गरेको छ । त्यसपछि बंगलादेश, जर्मनी, खाडी राष्ट्रमा नेपालको अदुवा जाने गरको छ । 

नेपालमा उत्पादन हुनेमध्धे ५० प्रतिशतभन्दा बढी अदुवा निर्यात हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नेपालमा करिब दुई लाख परिवार अदुवा उत्पादनमा संलग्न रहेको अनुमान छ ।

नेपालका ६५ भन्दा बढी जिल्लामा अदुवा उत्पादन हुन्छ । पश्चिम नेपालको डोटी, कैलाली, सुर्खेत र सल्यान, मध्य नेपालको पाल्पा, स्याङ्जा र नवलपरासी र पूर्वी नेपालको इलाम, झापा र सिन्धुपाल्चोक जिल्ला प्रमुख अदुवा उत्पादन हुने जिल्लाहरू हुन् ।

सन् २०२२ मा विश्वमा अदुवाको बजार २.९ अर्ब अमेरिकी डलरको रहेको थियो । सन् २०२८ मा यो बजार ४.७ अर्ब अमेरिकी डलरको हुने अनुमान छ । 

नेपालबाट अदुवाको निर्यात 

नेपालले प्रत्येक वर्ष करोडौं रुपैयाँको अदुवा निर्यात गर्ने गरेको छ ।  भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो दुई महिना (साउन र भदौ) मात्र मात्र नेपालले ३३ करोड १ लाख ४८ हजार रुपैयाँको अदुवा निर्यात गरेको छ । 

नेपालले २०८० को साउन र भदौ महिनामा २६ लाख १४ हजार १७८ केजी अदुवा निर्यात गरेको छ । यो अवधिमा भारत र कतारले नेपालको अदुवा आयात गरेका छन् ।  गत आर्थिक वर्ष २०७९–८० मा मा नेपालले १ अर्ब २२ करोड २२ लाख ३३ हजार रुपैयाँको २ करोड ३० लाख १३ हजार ६८२ केजी अदुवा निर्यात गरेको थियो । 

गत आर्थिक वर्ष नेपालले बंगलादेश, भारत, नेदरल्यान्ड्स, जापान, युनाइटेड अरब इमिरेट्स, जर्मनी र कतारमा अदुवा निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।  गत आर्थिक वर्ष नेपालबाट सबैभन्दा ठूलो मात्रमा निर्यात हुने वस्तुको सूचीमा अदुवा २४औं नम्बरमा रहेको थियो । 

आर्थिक वर्ष २०७८–७९ मा नेपालले ६४ करोड १४ लाख ५६ हजार रुपैयाँको १ करोड १९ लाख ५८ हजार ८९३ केजी अदुवा निर्यात गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro