site stats
बाह्रखरी :: Baahrakhari
देश
दुई महिनामा दुर्गमका ज्यान जोखिममा परेका २५ गर्भवती तथा सुत्केरीको हवाई उद्धार 
प्रतिकात्मक तस्बिर

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका २५ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ ।

हवाई उद्धार कार्यविधि, २०७७ बमोजिम गत साउन र भदौमा देशका विभिन्न दुर्गम स्थानबाट उनीहरूको उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मन्त्रालयका अनुसार साउनमा ११ र भदौमा १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको हो । 

दुई महिनामा गोरखा, काभ्रेपलाञ्चोक, ओखलढुंगा, दैलेख, डोल्पा, कालिकोट, संखुवासभा, हुम्ला, रुकुम पूर्व, धादिङ, रुकुम पश्चिम, भोजपुर, सोलुखुम्बु र खोटाङ जिल्लाबाट उनीहरूको हवाई उद्धार गरिएको मन्त्रालयले जनाएको छ । 

दुर्गम स्थानबाट गर्भवती तथा सुत्केरीको उद्धारमा धेरैजसो स्थानमा नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको छ । 
मन्त्रालयका अनुसार यस कार्यक्रम अन्तर्गत हालसम्म ५५२ गर्भवती तथा सुत्केरीको उद्धार गरिसकिएको छ ।
 
आर्थिक वर्ष २०७५/७६ मा २६, २०७६/७७ मा ८७, २०७७/७८ मा १०३, २०७८/७९ मा १६९ र २०७९/८० मा १६७ जना गर्भवती तथा सुत्केरीको दुर्गम स्थानबाट उद्धार गरिएको जानकारी मन्त्रालयले दिएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्