site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री प्रचण्ड चीनको हाङजाओमा 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ औपचारिक भ्रमणका लागि चीन पुगेका छन् । उनी जनवादी गणतन्त्र चीन पुगेका हुन् । चीनको औपचारिक भ्रमण सुरु गर्दै प्रधानमन्त्री प्रचण्ड चीनको हाङजाओ पुगेको नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले जनाएका छन् । 

प्रधानमन्त्री प्रचण्ड भ्रमणको पहिलो दिन आज हाङजाउमा हुने १९औँ एसियन गेमको उद्घाटन समारोहमा सहभागी हुनेछन् । आजै उनले हाङजाउमा नै चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेट गर्ने कार्यक्रम छ । 

प्रचण्डले असोज ८ गते बेइजिङमा समकक्षी लि छियाङ्सँग भेट तथा द्विपक्षीय वार्ताको कार्यक्रम रहेको छ ।  

Argakhachi Cement Island Ad

भ्रमणका बेला उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रीकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रहरूको अवलोकन गर्नेछन् । 

नेपालको प्रधानमन्त्रीको हैसियतमा प्रचण्डको यो तेस्रो चीन भ्रमण हो । यस भ्रमणले नेपाल–चीनबीच विद्यमान द्विपक्षीय सम्बन्ध थप उच्च र प्रगाढ हुने उनको विश्वास छ ।  

छोङछिङको भ्रमण पछि नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको छ । 

कोभिड महामारीपछि प्रधानमन्त्रीको स्तरमा हुने पहिलो उच्चस्तरीय भ्रमणले नेपाल र चीन बीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । 

नेपालको पूर्वाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालगायत विविध क्षेत्रमा छिमेकी चीनबाट प्राप्त सहयोगबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

भ्रमणमा कोभिडको कारण नियमित हुन नसकेका द्विपक्षीय व्यापार नाका र परम्परागत सीमा नाकाहरू खोल्ने विषयमा समेत कुराकानी हुनेछ । 
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १०:३८
प्रतिक्रिया दिनुहोस्